१.
ठीक बीस वर्ष पहिले
घर छोडेर सहर हिड्नेबेला बुबासँग भनेथेँ मैले,
'बुबा गाउँमा जस्तो दुःख हुँदैन सहरमा,
जाऊँ हिड्नुस् सहर'
त्यतिबेला
घर नजिकैको बकाइनाको रूख
र, रूखमा लामपुच्छ्रे चराले बनाउँदै गरेको गुँड हेरेर
भन्नुभएथ्यो बुबाले,
'यतै छ कुवामा गला भिजाउने शीतल गीत
यतै छन् नरोपेरै पाखाभरि उम्रने भूईँफूल
कलमजस्तो हलो, कोदालो
खाली कागजजस्तो मलिलो माटो र
रोप्न बाँकी हरिया कविताका बेर्नाहरू यतै छन्।
'बाबु हेर त,
गोठमुनिको चिउरीको बोट
जहाँ जिन्दगी मग्मगाइरहेको सिङ्गो जीवन यतै छ।
भैगो बाबु,
मेरो जिन्दगीको रूख
यहीँको माटो र पानीमा भिजिसक्यो
मेरो रूखको जरा
यहीँको आद्रतामा फैलिसक्यो
म गमलामा अब हरियो पलाउन सक्दिनँ'
त्यतिबेला गाउँको बाटोभरि अमिलो मन पोखेर
म एक्लै सहर छिरेथेँ
२,
आज समयले आफ्नो गोरेटोमा घिसार्दै मलाई
पुर्याएको छ बुबाको स्थानमा
र यतिबेला ताराहरू समेत झुक्किने
विश्वकै विकसित देशमा छ मेरो छोरो
ऊ इन्टरनेटबाट भन्छ,
'बुबा, त्यो सहर उत्तरआधुनिक सपनाहरूको चिहान हो
अभावै अभावका आँशुले बनेको गहिरो तलाउ हो
'त्यहाँ चर्किएका भित्ताहरूबाट
मुश्किलले छिरेका जूनकिरीका किरणहरूपनि चोरी हुन्छन्
कलिलो घाम ब्यूँझिन नपाउँदै
उज्यालो हिड्ने बाटोमा बादलहरू जुलुस गर्छन्
हातमा धारिलो चक्कु बोकेर
सुनाउनेहरूले सधैँ मुटु र माटोको कथा सुनाउँछन्
बुबा, आऊनुस् यतै।'
छोरो रोबटहरूले पकाएको पिज्जा खाँदै
अझै प्रेम पोख्छ,
'आऊनुस् बुबा,
यहाँ, हतार गुडिहिँड्ने फराकिलो बाटो,
थकाई पौडिने स्विमिङ पुल,
पसिना सुस्ताउने समुन्द्र किनार
ऋतुहरू झुक्किने उज्याला रात
खुब मज्जा छ यहाँ
'साँच्चै भनेको बुबा
आउनुस् यतै'
मेटिदिने हो भने सिमानाको रङ
यो पृथ्वीको माटो के फरक छ र?
म उही बीस वर्षअघि पुगेर खोतल्छु
बुबाको हृदयको सन्दुक र प्रेमले सम्झाउँछु छोरालाई
'बाबु, यहीँका मान्छेले दिएका छन् मलाई
टाउको दुख्दा नरम मलमपट्टी खुसीको
भोक लाग्दा पैँचो मुस्कानको।
मैले बोल्ने आवाजको कखरा यतैको हो
मैले चिनाउने आफ्नो परिचयको आयतन
मैले टेक्ने दुई पाइला माटो
र मैले प्रत्येक श्वासमा गुन्गुनाइरहेको अक्सिजन यतैको हो
मैले अभाव खाएर पनि बाँच्न सकेको देश यही हो।
'मेरो छोरा, मेरो राजा
मेरो सिङ्गो आयुको आजसम्म बाँचेको
पूरै चोक्टो यही देशमा छ
मेरो पसिनाले जति उमारेँ आफन्तका अनुहारमा हाँसो
ती पनि यही देशमा छन्।'
…..
छोरालाई समयले हातमा बाँधिदिएको छ घडी
ऊ त्यही घडी हेर्छ
र, हतारको भर्याङ उक्लदैँ
इन्टरनेटबाट छुटिन्छ मसँग
तर जान्दिनँ म,
उसले हिड्ने बाटोमा
पोख्यो कि पोखेन् अमिलो मन
जसरी, बीस वर्ष पहिले एक्लै सहर छिर्दा
बाटोभरि अमिलो मन पोखेथेँ मैले।
३,
छोरोसँग छुट्टिएपछि
प्रश्न गर्छु आफैँसँग
अबको बीस वर्ष पछि
जब छोरो बस्नेछ मेरो कुर्चीमा
त्यतिबेला मेरो नाती (उसको छोरो)यो ब्रमाण्डको कुन कुनामा पुग्ला?
उसले आफ्नो बुबालाई कसरी बोलाउला?
र मेरो छोराले उसलाई के जवाफ देला हँ?
***
[email protected]