अपराधीको अवतारमा
आर्तनादहरुले आन्दोलन मच्चाइरहेका बेला
पाखा–पखेरोले नसिकाएको
अभिशप्त र अलग युग पढ्न
शालीकहरुको उपत्यकामा
हराएको धेरै भयो।
झोलामा ‘माओवाद’का पुस्तकहरु
र, अलिकति बारुद बोकेर
घरको आँगन छाड्ने बेला,
‘नैना’ गाईले
खुब आतंक मच्चाएकी थिई–
शालीकहरुको उपत्यका नजानु भनेर,
तर, मैले मानेन।
खुट्टामा कलमको सपनाहरुलाई
यात्री बनाएर घरको पर्खाल
नाघेको दिन,
तुल्सीका बोटहरुले मगमगाउँदै
खुब विद्रोह गरेका थिए–
शालीकहरुको उपत्यका बहुत खतरनाक छ भनेर,
तर, मैले मानेन।
गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
सहरको श्मशानतिर डोहो¥याउँदा,
आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
काँपेको अँगालाले मलाई बेस्सरी
कसेकी थिइन् आमैले–
शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
तर, मैले मानेन।
म वताससँगै हुत्तिएर पहाडमा
ठोक्किएको दिन,
मेरो चञ्चलताहरु स्तब्ध बनेका थिए।
र स्थीर बनेका थिए,
मेरा आवाजका वर्तनहरु।
साँच्चै, आमा
यो शालिकहरुको उपत्यकामा
मेरो मुटु सित्तिमित्ति चल्दैन आज।
कङक्रिट बिछ्याइएका सडकहरुमा
मेरो पैतालाले ढुङगा र माटोसँ युद्ध गर्नुपर्छ।
यहाँ बनेका अग्ला महलहरुले
चिहानघारीको सँस्कार बिर्सिसकेका रहेछन्।
हो आमा,
यो शालिकरुहको उपत्यकाबाट
बाक्दुलासँगको दौंतरी
म खुब सम्झिरहेको छु,
र, सम्झिरहेको छु,
घर–आँगनको छातीमाथि
खेलेका सयपत्रिका क्रिकेटहरु।