चुनाव हुन अब केवल दश दिन मात्रै बाँकी थियो। हजार थरीका चुनावी गीतहरु हजार भाकामा प्रसारण गर्थ्यो रेडियोले। आउँदो बिहिवारदेखि चुनावको प्रचार/प्रसार कार्य गर्न नपाउने निषेधाज्ञा रेडियोले फुकेको थियो र साथै सोही उर्दी सुनाउदै गाउँमा फुलचनमा चमारले डिगडिगिया समेत पिटेको थियो। त्यसैले ‘माननीय’ उम्मेदवारहरु तँछाडमछाड गर्दै गाउँ/गाउँ घुम्दैथिए र प्रचार–प्रसार गर्दै थिए।
गाउँमा आज दिउँँसैदेखि खुब चहल/पहल थियो। बजारमा बाइजी ‘वेश्या नर्तकी’को हल्लाले खुब रौनक छाएको थियो। पसलका भित्ताहरु निला,काला र राता रङ्गहरुले रङ्गिएका थिए। कतै छाता छापको तुल झुन्ड्याइएको थियो भने कतै लालटिन र हँसिया छापको। जे होस् खाली ठाउँ कतै थिएन। न इनार, न भित्ता, न रुख। यहाँसम्म कि सेता रङ्गका गाईगोरुको पिठ्यूँसमेत खाली थिएन। मानौं गाउँका यावत् चीजहरु चुनावी मुडमा छन्।
प्रधानपञ्च सोनफी रायका काका नन्दन रायले गाउँका गोठालाहरु र आफ्नै लठैतहरु जम्मा पारेर आज एउटा सानो–तिनो जुलुस पनि निकालेका थिए। जुलुसलाई उसले माधोबाबुको फूलबारीनिर भेटेको थियो। लठैतहरु घोक्रो फुलाएर कराउँदै थिए। ‘अरुसँग नोट लेऊ,छाता छापमा भोट देऊ।’ ‘नन्दन रायको जो भुलेगा, वह पाँच वरस झुलेगा। ’गाऊँ र बजारको परिक्रमा गरी सकेर जुलुस बिसनदेवाको भठ्ठीमा गएर बिसर्जन भएको थियो।
नोट क–कसले बाँडेका थिए, त्यो त उसले त्यति राम्रोसँग बुझ्न सकेको थिएन। तर, नन्दन रायलाई चुनाव लड्न माथिबाट एक लाख रुपैयाँ बकस दिएको गाईं–गुईंचाहिँ उसको कानमा पनि परेको थियो। पोहोर साल निर्दली–बहुदलीको चुनावमा पनि काका भतिजा मिलेर बोरिंगवाला चौरीमा तीन विघा खेत किनेका थिए। त्यो उसले आफ्नै आँखाले देखेको थियो।
कृपा छ–माथिको। नन्दन राय नाता– गोतासहित फले–फुलेका छन्। अस्ति भर्खरमात्र नन्दन रायले उसैकहाँ आएर आधा घन्टासम्म ऊसँग एकान्ती गरेका थिए। एकान्ती गर्दा उनले ‘रुसको पार्टी–पोलिटिक्स यहाँ चल्न दिनु हुँदैन’ भन्दै डटेर माधोबाबुको विरोध गरे र अन्त्यमा ‘यसपालि तँलाई कुनै सरकारी अफिसमा चपरासीमा मिलाइ दिउँला’भनी पूरा–पूर कबोलसहित आश्वासन दिएका थिए। तर नन्दन रायले गाउँलेहरुसँग धेरै कबोलहरु गरे–गाउँमा बस चलाउने, नहर ल्याउने, रातुमा पक्की बाँध बाँध्ने आदिआदि।
अनि चुनाव पनि धेरै पटक जितेर कहिले प्रधानपञ्च बनेर, कहिले जिल्ला पञ्चायतको सभापति बनेर र गएका वर्षहरुमा माननीय भएर (स्मरण रहोस्: त्यस पटक ‘गाउँ फर्क’को पनि ठूलो योगदान थियो) मोज गरे। रातुखोलामा पक्की बाँध त बनेन तर बाढीले सारा चौरी बगर बनाएको सबैका आँखाअगाडि नै छ।
खैर, उसलाई बस र बाँधको के फिकिर ? खेत न पथार भएको मान्छे जो ठहरियो। रह्यो कुरो चपरासी वाला। बौका मुसहर साझा संस्थाको चपरासी बनाइएदेखि उसको घरमा लबघरियाको रासलिला सुरु भएर टोलै घिनाइसक्यो। गोली मारो– चपरासीउपरासी!
उसको आँखामा निद्रा थिएन। निद्रा यसैले थिएन कि,बजारमा ढोल र नगराहरु बज्दै थिए र माइकबाट निस्केको मुजफ्फरपुरबाट ल्याइएकी रातको तीन सय भा.रु. वाली पद्मिनी बाइजीको मृदु स्वर रात्रीको निरवतालाई चिर्दै गाउँभरि गुञ्जायमान भएको थियो। अनि उसको आफ्नै पेटमा ढोल र नगराहरु बज्दै थिए किनभने पानी परेको थिएन र खेतवाला गिरेथहरु चुनावी मुडमा थिए, यसैले अचेल बनी कमाउने भरपर्दो स्रोत थिएन। त्यसपछि ऊ सुतेको गुन्द्रीमा उडुस र उपियाँहरु निरन्तर सलबलाइरहेका थिए। अनि कालो नाङगो जिउमा लामखुट्टेहरु मनपरी म्वाइँ खाइरहेका थिए। बेइमानी लामखुट्टेहरु धपाउँथ्यो अनि, अर्को हातले गुन्द्रीमा उडुस र उपियाँ छाम्थ्यो।
मन्द मन्द हावा पनि चल्दै थियो, त्यसैले गर्मी त्यति सारो थिएन। आकाशमा फाट्–फुट् बादलहरु लागेको हुँदा पूर्णिमाको जून पनि धरतीमा त्यति सारो उज्यालो छरेर आएन।
चुनावको कारणबाट गाउँ तीन दलमा विभाजित भएको थियो–नन्दन राय, माधोबाबु र शर्माजी।
साना–तिना दुई–चार दल अरुहरु पनि नभएका होइनन् तर विशेष जोडतोड र घम्साघम्सी यिनै तीनका बीचमा थियो। जिल्लाभरिमा जम्मा–जम्मी बीसजना उम्मेदवार थिए–सबै हुनेखाने र सुसम्पन्न। जो दारुपानीका भोका थिए–उनीहरुले खुलेआम आफ्नो दल पकडिसकेका थिए, तर गाउँका केही परिवारहरु यस्ता थिए, जो कुनै दलमा लागेका थिएनन्। ऊ पनि त्यस्तै मध्येको थियो। हुन त माधोबाबु र शर्माजीले पनि उसँग एकान्ती नगरेका होइनन्। पच्चीस–पचासको लोभ पनि देखाएका थिए तर त्यो पच्चीस–पचासले जिन्दगी टर्ने होइन, दुई–चार दिनको रमझमका खातिर इमान किन बेच्नु भनी उसले त्यो छुँदै छोएन। पैसा किनेको विश्वास दूरगामी हुदैन र एकअर्काको नजरबाट गिर्ने–गिराउने मात्र हुन्छ भन्ने उसको नीजी ठहर थियो।
बजारमा ढोल र नगराहरु बज्दै थिए।
उसको पेटमा पनि ढोल र नगराहरु बज्दै थिए। ऊ ओछ्यानमा अर्थात् खाली गुन्द्रीमा चलमलाउँदै थियो।
उसकी स्वास्नी चेपकटवालीको पेटमा पनि ढोल र नगराहरु बज्दै थिए र ऊ गुन्द्रीमा अर्ध निद्रामा चलमलाउँदैथी।
भुटवा–उनीहरुको मायाको डोरोको पेटमा ढोल र नगराहरु बजेका थिए कि थिएनन् छुट्याउन गाह्रो थियो किनकि ऊ निस्लोट भएर सुतेको थियो।
ऊ जुरुक्क उठ्यो र लामखुट्टे भगाउन घुर धुवाँउन थाल्यो। माइकमा बाइजीको मोहनी स्वर टड्कारो सुनिँदै थियो– ‘लुटि ले लो जोवनमा हमार, छाता में भोट दै दो तुम्हार।’
भोलि पनि बाइजीको नाच छ–माधोबाबुको तरफबाट। बेतियावाली बाइजी आउँदैछे। पद्मिनी बाइको स्वरसँगै उसले भोलि आउने बेतियावाली बाइजी सम्झ्यो अनि माधोबाबुको आकृति उसको मानसपटमा नाच्न थाल्यो। रुसमा धनी–गरीब छैनन्–सब एक छत्त! सब हृष्ट–पुष्ट, हट्टा–कट्टा। सब मोटर चढ्छन्। खान–लाउन दुःख छैन। कसैले ठग्न पाउँदैन, अन्याय अत्याचार गर्न पाउँदैन। मजदुरहरुको शासन छ – कम्युनिस्ट राज छ। माधोबाबु भन्छन्–यहाँ पनि त्यस्तै ल्याउनु पर्छ। रुसमा के छ, त्यो त उसलाई थाहा छैन, तर माधोबाबुलाई उसले राम्रोसँग चिनेको छ। वर्षदिन भयो–उसको दश दिनको बनी झुलाइराख्या छन्। आफू बासमतीको भात खान्छन्, हरुवा–चरुवालाई कोदोको रोटी र ढिँडो ख्वाउँछन्। आफू पोलिस्टर र टेरिकटन लगाउँछन्, हरुवा–चरुवाले दुई वर्षसम्ममा मुश्किलले आम छापको दर्शन पाउँछन्।
उसकी स्वास्नी चेपकटवालीलाई समेत झन्डै लवघरिया बनाएका थिए। त्यस दिनदेखि आवत–जावत बन्द छ।
घर धुवाँइसकेर ऊ पिढीँमा बसेर सोच्दै थियो –‘आखिरमा भोट कसलाई दिन ठिक पर्ला त!’ मनले खाएको मान्छे उसले अझसम्म पहिल्याउन सकेको थिएन। सब उम्मेदवारहरु यस्तो गर्छु, उस्तो गर्छु भन्छन्, डिङ हाँक्छन् तर जितिसकेपछि मुन्टो उठाएर एक नजर हेर्ने पनि छैनन्, फट्कार्ने छन्। माछो, माछो, भ्यागुतो!
बजारमा ढोल र नगराहरु बजिरहेको थियो।
‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो! ‘यी तर्कनाका साथै उसले किसन भैया सम्झ्यो जो अक्सर भन्थे –‘रोजी रोटीको समस्या हल गर्न असङ्ख्य ‘ऊहरु’– चाहे ती मुसहर होऊन् चाहे बाहुन, क्षत्री, कुर्मी, धानुक– एक हुनुपर्छ र सरकारसँग लडाइँ गर्नुपर्छ। यो बाहेक अर्को उपाय छँदै छैन। यो भोट–सोट सब वाहियात हो।’ किसन भैयाको यो भनाइमा उसलाई सोह्रै आना विश्वास भयो। घुरको आँखा पोल्ने धुवाँले चेपकटवाली लगभग ब्युँझी र सोधी, ‘के गर्दैछौ?’
‘म त सुत्न सकिनँ। घुर धुवाँएर बसेको छु।’
चेपकटवाली पनि आँखा मिच्दै पिँढीमा आएर बस्दै बोली– ‘नाच खुब जमेको जस्तो छ। आधा रात त बितिसक्यो होला।
’हँ त्यस्तै होला।’ऊ आकाशतिर हेर्दै बोल्यो।
‘अब त भोट हाल्ने दिन पनि आइसक्यो।’
‘आओस्। के मतलब–भोट सोटसँग।’ ऊ अझ पनि आकाशतिर हेर्दै थियो।
‘यसपालि जित्नेले त दुःखीहरुको कल्याण गर्ला कि ?’ निराशाको दहमा उब–डव भइरहेको उसको मनमा किञ्चित आशाको त्यान्द्रो पलायो। ‘गर्छ कल्याण !’ पैसाको खोलो बगाउनेले पहिले बगेको खोलो फर्काउँछ कि जनताको कल्याण गर्छ।’ यस पटक समस्याको पोको उसले चेपकटवालीको सामु फुकाएर राखिदियो।
चेपकटवाली अकमक्क परी, केही जवाफ दिन सकिन। स्वास्नी अकमकिएको देखेपछि उसले फेरी सम्झाउँदै भन्यो–‘लौ अब तैं विचार गर , टाढा किन जानु ।’ हाम्रो यै टोलको कुरो गरौं न । टोलमा इनार थिएन। त्यै नन्दन रायलाई हजार चोटी भन्यौं–हामीलाई इनार चाहियो। उसले ‘हुन्छ, हुन्छ’ भन्यो, तर इनार खनिएन। जब सब मुसहर एक भएर उठ्यौं र ‘गाउँमा आएको बेला अञ्चलाधीशलाई घे¥यौं, तब बल्ल आएर रकम निकासा भयो र इनार खनियो। किसुन भैयाले यो बुद्धि नसिकाएको भए त न अञ्चलाधीस घेरिन्थ्यो न इनार खनिन्थ्यो। हो कि होइन, भन त?’
चेपकटवालीले मुन्टो हल्लाउँदै उसको कुरामा सहमति जनाई र फेरि सोधी–‘आजकाल त किसन भैया पनि आउन छाडे। बडा असल मान्छे छन्। उनीहरु कसलाई भोट दिन्छन् ?’
‘फुर्सद पाएनन् होला। उनीहरु भोट सोटको झमेलामा छैनन्। उनले साफ भन्दिए – गरीब, गरीबएक भए मात्रै रोजी रोटीको समस्या हल हुन्छ र गरिव दुःखीको कल्याण हुन्छ।’
‘त्यसो भए हामी पनि भोट नहालौं।’
अनासय बौका मुसहर तथानाम गाली गर्दै फतफताउन थालेको सुनियो । ऊ जुरुक्क उठेर बाटोतिर निस्कियो। धमिलो उज्यालोमा दुईजना मान्छे लुङ्गी सम्हाल्दै भागेको देख्यो उसले। बौका मुसहर फतफताउँदै थियो– ‘साला ! रण्डीखाना है ? अपना माई–बहिन ...।’
‘को थियो रे ?’ गला सफा गरेर खकार्दै सोध्यो उसले–नाच हेर्न गएको थिस् क्यारे?’
‘को हुन्थ्यो ? शर्माजी र माधोबाबु।’ एकछिन घरमा बसिन् भने.. ‘बौका रिसले गर्जँदै थियो।
‘भरठ्ठाले डँडाल्नुमा दिनुपर्थो दनक। ऊ सुस्त–सुस्त बौकाको झुपडीतिर लाग्यो।
बौका अझ पनि फतफताउँदै थियो र तथानाम गाली गर्दै थियो।
‘के छ त ? भोट कता तिर?’
‘दुः, यी सालेहरुलाई भोट दिएर के गर्नु?’
माने–दारु पानी सबको, तर भोट कसैलाई पनि हैन अर्थात् माछो–माछो भ्यागुतो!’
‘अँ..., माछो, माछो–भ्यागुतो!’
‘माछो, माछो–भ्यागुतो!’
‘ठीक ! माछो, माछो–भ्यागुतो!’
(साझा प्रकाशनद्वारा प्रकाशित माछो माछो कथासंग्रहबाट)