तिम्रो प्रेमले मलाई दु:खी हुन सिकाइदियो।
र म शदीयौंदेखि
मलाई दु:खी बनाउन सक्ने नारीको खोजीमा थिएँ,
त्यस्ती नारी, जसका अँगालोमा भँगेराजसरी लुकेर रुन सकूँ।
त्यस्ती नारी
जसले नूनको फुटेको ढिक्काझैँ टुक्राटुक्रा भएको मलाई
बटुलेर फेरि सग्लो परिदिउन्।
तिम्रो प्रेमले मलाई खराब बानी सिकाइदियो, मेरी प्रिया!
यसले मलाई रातभरिमा सयौँपल्ट कफीको कप पढ्न सिकाइदियो
बुढीबजू कहाँ गएर भाग्य देखाउन सिकाइदियो,
ज्योतिषी कहाँ धाउन सिकाइदियो।
तिम्रो प्रेमले मलाई
घर छोडेर घुम्न सिकायो
र बर्सात्का पानीका थोपामा
मोटरका बत्तीका उज्यालामा
अपरिचितहरूका पोसाकमा
तिम्रो मुहार खोज्न सिकायो।
हुँदाहुँदा तिम्रो प्रेमले मलाई
विज्ञापनका पोस्टरहरूमा समेत
तिम्रो आकृति खोज्न सिकायो।
तिम्रो प्रेमले मलाई
फिरन्ते नारीहरूले पनि आरिस गर्ने
फिरन्ते केशहरू खोज्दै
सबै अनुहार र सबै स्वर अटाएको
एउटा अनुहार, एउटा स्वर खोज्दै
घन्टौँसम्म बरालिन सिकाइदियो।
तिम्रो प्रेमले मलाई दु:खका शहरहरू घुमायो
तिमीलाई भेट्नुअधि
म कहिल्यै दु:खका शहर छिरेको थिइनँ।
आँसुहरू नै मानिस हुन्
दु:ख बिनाको मान्छे त मान्छेको छाया मात्र हो
भन्ने मलाई थाह थिएन।
तिम्रो प्रेमले मलाई
एउटा सानो केटाको जस्तै व्यहोरा सिकाइदियो
घरका गार्हाहरूमा
माझीका नाउहरूमा
चर्चका घन्टीहरूमा
क्रुसिफिक्सहरूमा
खरीले कोरेर तिम्रो अनुहार बनाउन सिकाइदियो।
तिम्रो प्रेमले मलाई
प्रेमले कसरी समयको नक्सा परिवर्तन गर्दछ भन्ने बुझाइदियो।
तिम्रो प्रेमले मलाई
मैले प्रेम गर्दा पृथ्वी घुम्न छोड्छ भन्ने बुझाइदियो।
तिम्रो प्रेमले मलाई
कहिल्यै कल्पनै नगरेका कुराहरू सिकाइदियो।
मैले केटाकेटीका लागि लेखिएका परीकथाहरू पढेँ
म जेनिसका किल्लाहरूमा पसेँ
र सुल्तानकी छोरीले मसँग बिहे गरेको कल्पना गरेँ
तलाउका पानीभन्दा कञ्चन ती आँखाहरू
अनारका फूलभन्दा रहरलाग्दा ती ओठहरू।
मैले उसलाई एउटा देवदूतले झैँ हरण गरेर ल्याएको कल्पना गरेँ
मैले उसलाई मोती र मुगाको हार लगाइदिएको कल्पना गरेँ।
तिम्रो प्रेमले मलाई
विक्षिप्तता के हो भन्ने बुझाइदियो, मेरी प्रिया!
यसले मलाई
सुल्तानकी छोरी नआए जीवन कसरी बिताउने भन्ने सिकाइदियो।
तिम्रो प्रेमले मलाई
हरेक वस्तुमा कसरी तिमीलाई प्रेम गर्ने भन्ने सिकाइदियो।
हिँउदको नाङ्गो रुखमा
सुकेका पहेँला पातहरूमा
वर्षामा, आँधीमा
र
साँझमा हामीले फिक्का कफी खाएको सानो चिया पसलमा।
तिम्रो प्रेमले मलाई
जेसुकैमा
तिमीलाई कसरी प्रेम गर्ने भन्ने सिकाइदियो।
तिम्रो प्रेमले मलाई शरण खोज्न सिकाइदियो,
नाम बिनाका होटेलमा
नाम बिनाका चर्चमा र
नाम बिनाका क्याफेमा शरण खोज्न सिकाइदियो।
तिम्रो प्रेमले मलाई
नौला मानिसहरूको उदाशीलाई रातले कसरी हुर्काउँछ भन्ने बुझाइदियो
यसले मलाई
बेरुतलाई एउटी नारीले झैँ हेर्न सिकाइदियो।
हरेक साँझ आफूसँग भएको सबैभन्दा सुन्दर कपडा लगाउनु
र अपरिचितहरूका लागि आफ्ना छातीमा अत्तर छर्केर हिँड्नुजस्ता
नारीका बानीव्यहोराको अपरिहार्यता बुझाइदियो।
तिम्रो प्रेमले मलाई नरोइकन रुन सिकाइदियो।
यसले मलाई
खुट्टा काटिएको एउटा बालकजसरी
रौच र हाम्राका गल्लीहरूमा कसरी निदाउँदोरहेछ दु:ख
भन्ने बुझाइदियो।
तिम्रो प्रेमले मलाई दु:खी हुन सिकाइदियो
र म शदीयौंदेखि
मलाई दु:खी बनाउन सक्ने नारीको खोजीमा थिएँ
त्यस्ती नारी, जसका अँगालोमा भँगेराजसरी लुकेर रुन सकूँ
त्यस्ती नारी जसले
नूनको फुटेको ढिक्काझैँ टुक्राटुक्रा भएको मलाई
बटुलेर फेरि सग्लो परिदिउन्।
..............................................................
निजार कब्बानीको जन्म २१ मार्च सन् १९२३ मा सिरियाको दमास्कसमा एक मध्यमवर्गीय व्यापारी परिवारमा भएको थियो।उनको पूरा नाम निजार तोफिक कब्बानी थियो।
विद्यालयको पढाइ सकिएपछि कब्बानीले दमास्कस विश्वविद्यालयमा अध्ययन गरी सन् १९४५ मा कानूनमा स्नातक गरे।अध्ययनकै क्रममा उनले पहिलो कवितासङ्ग्रह 'कलिथ लि असमराह' 'सुन्दरीले मलाई भनिन्' तयार गरे।नारी शरीरको प्रचुरतम् वर्णन गरिएका शृङ्गारिक कविताहरू समावेश भएको उक्त सङ्ग्रहले दमास्कसको पुरातनवादी समाजमा ठूलै हलचल ल्याउने सम्भावना देखिएकोले उनले तत्कालिन शिक्षा मन्त्री मुनिर अल अज्लानीलाई पाण्डुलिपि देखाए।अज्लानीले मनपराएर प्रकाशनको लागि स्वीकृति मात्र दिएनन्, उनको त्यो पहिलो सङ्ग्रहका लागि भूमिका पनि लेखिदिए।
कानूनको अध्ययन सकेपछि निजार कब्बानी सिरियाली परराष्ट्र सेवामा प्रवेश गरे र बेरूत, कायरो, इस्टनबुल, मेड्रिड, लन्डन लगायतका राजधानीहरूमा रहेर काम गरे।सन् १९५९ मा संयुक्त अरब रिपब्लिकको गठन भएपछि उनी त्यसको उपमहासचिव भएर चिन गए।सन्१९६६ मा राजिनामा दिएपछि उनी बेरुतमा आफ्नै नाममा स्थापना गरेको प्रकाशन संस्थाको रेखदेखमा लागे।
निजार कब्बानीले 'कलिथ लि असमराह' (सुन्दरीले मलाई भनिन्), 'अन्न्त ली' (तिमी मेरी), 'असआर अह्डिगह अली अल कानून' (कानूनका विरोधमा कविता) तथा 'अलहूब या लकस अली अक्दोअ अल अहमर' (प्रेम रातो बत्तीमा रोकिँदैन) लगायत चौँतीस वटा कवितासङ्ग्रह प्रकाशित गराए।
आफ्नी काकाकी छोरी जाहरासँग र बगदादको एउटा कविता सम्मेलनमा भेट भई नजिकिएकी इराकी महिला बाल्किस अल रवीसँग गरेर निजार कब्बानीले दुई विवाह गरे।कान्छी पत्नी बाल्किस लेबनानी गृहयुद्ध चलिरहेका बेला एउटा बम आक्रमणमा मारिएपछि उनी लन्डन गए र उतै बसे।सन् १९९७ मा निकै सार्है बिरामी परेर अलि बिसेक भएको केही महिनापछि ३० अप्रिल सन् १९९८ मा हृदयाघातका कारण कब्बानीको लन्डन मै निधन भयो।
उनले बिरामी छँदा गरेको इच्छापत्रमा आफ्नो अन्तिम संस्कार दमास्कसमा गरिइयोस् भनेका हुँदा कब्बानीको शवलाई दमास्कस लगेर सदगत गरियो।उनको निधनमा विश्वभरि फैलिएर रहेको सम्पूर्ण अरब जगतले शोक गर्यो, अरबी सञ्चारमाध्यमहरूले हप्तौँसम्म उनको योगदानको चर्चा गरिरहे।