म धनिमाया थारू!
आँगनमा चलिरहेछ मेरै चौरासिऔं जन्म दिन
अब एकैछिनमा म मनुख्यबाट देउता हुन्छु ।
देउतालाई सुहाउँछ सुहाउँदैन
मेरो पाखुरामा पुरानो ट्याटुको दाग
पुराना गोनिया, लेहङ्गा, घुरघुट
देउताले मान्छन् मान्दैनन्
पैंचुरी लगाएर नाच्न
खान्छन् खाँदैनन्
चिसो चुलुमा ओसिँदै पाकेको घुँगी
सुहाउँछ सुहाउँदैन मेरो अनुहारमा देउता बस्न।
देउतालाई मन पर्छ पर्दैन
पहिलोपल्ट साहूको खल्यानमा बिटुलिएको वैंश
घाम हिंड्न नसक्ने अनुहारको खोल्खा
स्वयम् म नअटाउने जिन्दगीको फ्रेम।
देउताले देख्छन् देख्दैनन्
छातीमा दुःखको भीर
अँध्यारो लिपिएको आँखाको भित्ता
अक्षरले नभेटेको मगज
आफ्नै पसिनाले भिजेको माटोको गन्ध।
देउताले भेट्छन् भेट्दैनन्
मालिकको धान खेतमा पुरिएको पैतालाको चक्र
खडेरीमा खसेको उमेरको चोइटा।
म देउता भएसी
माघी पर्वमा आउँछन् आउँदैनन् मलाई कम्लरी लिन-मालिक
म देउता-मालिकलाई मन पर्छ पर्दैन
वा राख्छन् मालिकको देउताले म देउतालाई छुट्टै कम्लरी
वा हुन्छु म देउताहरूको देउता कम्लरी।
(कवितासंग्रह 'भागेर भूगोलभरि'बाट)
ट्विटर- @rashayans