नाम–माघुराम थारू।
गाउँमा बोलाइने नाम–मघुवा।
घर–कालाबन्जर, बर्दिया।
नागरिकताको उमेर–३५।
तर, शारीरिक रूपले एक दशक तानिएर ४५ वर्ष माथि देखिन्छ। उसकी जनेवा (श्रीमती) भेङली र ऊ समान उमेरकै हुन्। तर, जनेवा ऊभन्दा झन् बुढी देखिन्छे। बाह्रै मास चिन्ताको बाक्लो कुहिरोले डम्म ढाकेकाले उनीहरू समयभन्दा पहिले बुढ्यौलीमा प्रवेश गरेझैँ देखिन्छन्।
६ वर्षअघि मुक्ति हुँदा अरु सहकर्मीझैँ माघुराम कमैयाबाट मुक्त कमैयाको श्रेणीमा उक्लिएको छ। उसको परिवार कमैयाभन्दा मुक्त कमैया परिवारको रूपमा चिनिएको छ। नाउँ मुक्त कमैया परे पनि उसको परिवारले समस्यामा जेलिएर अझैसम्म उन्मुक्तिको सास लिन सकिरहेको छैन। यस्तो लाग्छ, उसका परिवारका सदस्यहरू बाँच्नलाई मात्र सास फेर्ने उपक्रम गरिरहेछन् ।
पछिल्लोपटक बर्दिया, नौरंगा गाउँको एक जमिन्दारकहाँ कमैया बसेको माघुरामको बुकुरो त्यही जमिन्दारकै जग्गामा थियो। मुक्ति हुँदा बुकुरोको एउटा खाँबोसमेत ल्याउन नपाएकोले हालको उसको बुकुरो कुखुरा बस्ने जस्तो पनि छैन। यो घर, जहाँ ऊ बसिरहेको छ। मात्र ६ वर्षअघि तयार भए पनि उसको उमेरभन्दा अझ बुढो देखिन्छ। बरु बन्जाराहरूको तम्बुवाल घर राम्रो हुँदो हो, तर माघुरामको घरमा मात्र घरको अस्थिपञ्जर देखिन्छ, जसमा मासु भर्न सकिएको छैन। फाटेको प्लाष्टिकको छानाले शीतको गाना गाउँदा उसको परिवारको हरेक रात निद्रा विथोलिन्छ। टुटेको भित्ताले घरमा चिसो सिरेटो हुल्दा उनीहरूको आङमा भ्वाङ पार्छ।
गेरुवा नदीको किनारमा माघुरामको घर छ। गत वर्षको साउने बाढीले उसको घर बगाएपछि उसको घर नाम मात्रको भएको हो। उसले त्यहाँबाट आफ्नो घर सार्न पनि सकेको छैन, कारण भूमिसुधार कार्यालयबाट रातो कार्ड थमाइएपछि उसलाई बस्ने ठाउँ त्यही देखाइएको थियो। उसलाई देखाइएको जग्गा बाढीको दाइँले बगरमा परिणत भैसक्यो। माघुरामको मन पनि अब त बगरमा परिणत भैसक्यो, उसको मनमा केही उम्रिन सकेको छैन, पुरै बाँझो छ उसको मन।
केही समय पहिले छेदियाको जंगल क्षेत्र कब्जा गरे मुक्त कमैयाहरूले, बस्ने वासको उचित बसोबासको लागि। दवावस्वरूप सो जग्गा कब्जा गरेको भनियो। माघुरामले आफ्नो बुढो बाबुलाई अलिकति ठाउँ रोक्न खटायो त्यहाँ। गेरुवा नदीको किनारमा भएको घरमा त उसले फूलबुट्टा भर्न सकेको थिएन। छेदियाको जंगलमा आफ्नो बाबु बस्ने घरलाई उसले के गरी ताजमहल बनाओस्? अजम्बरीको कंकाल त्यही ठड्याइयो र त्यसमाथि परालले जेनतेन छोपियो। उसको बाबुको जेनतेन जीउ अटाउने भयो। उध्रिएको पुरानो कम्मलले माघुरामको बाबुले जाडो थेग्न सकेनन्। उनलाई छेदियामा बसेको अढाई महिनामै यमराजले आफूकहाँ आउने सहर्ष निम्ता दिए।
माघुरामको बाबु हाँसी हाँसी यमराजकहाँ गएपछि ऊ रुन पनि सकेन। जेनतेन सतगत, काजकिरिया त ग¥यो तर भोजभतेर समेत दिन सकेन। उसले मृत्यु भोज पनि ख्वाउन नसक्ने छोरो भएकोमा आफूलाई सातपल्ट धिक्कार्यो।
माघी आएको छ। वर्ष दिनको चाडलाई कसरी विदा गर्ने? माघुराम चिन्तामग्न छ। जमिन्दारकहाँ कमैया हुँदाको क्षण माघीको पहिलो हप्ता कम्तीमा निस्फिक्री माघी मान्दथ्यो ऊ। माघीमा नाच्दा नाच्दै त उसले स्वास्नी पनि भित्र्याएको हो। खै त्यो पुरानो माघी? ६ वर्षदेखि उसको वस्तीमा मादलको बोली सुनिएको छैन। माघीमा गाइने मंगल गीत धमारको राग उसको मुखबाट झर्नै मान्दैन। उसलाई डर छ, चाडपर्व संस्कृति मेरा छोराछोरीले अब बिर्सिने पो हुन् कि!
माघीको पहिले सुरुवात सुवर मर्ना दिन (सुंगुर मार्ने दिन)। अहँ उसले छोराछोरीलाई एक टुक्रा मासु पनि ल्याउन सकेन। १ गते माघे संक्रान्तीका दिन एकाबिहानै गेरुवा नदीमा नुहाउन हिँड्यो। उसले जलदेवतासँग प्रार्थना ग¥यो, ‘हे जलदेवता, मेरो कल्याण गर्ने भए मात्रै पानी भित्रबाट निस्किन्छु। होइन भने, तिम्रै शरण परेर जलसमाधी लिन्छु। मलाई मारेको पाप तिमीलाई लाग्नेछ।’
एक मिनेट पनि नहुँदै ऊ पानीभित्रबाट आथा थु... थु... गर्दै किनारमा आइपुग्यो। एक हूल मान्छे किनारमा आगो ताप्दै गफिइरहेका थिए। धेरैजसोले गए राती माघी मनाएको, सुंगुरको मासु अघाउन्जेल खाएको डकारेर वर्णन गरिरहेका थिए। हूलमध्ये केहीको भने उसको झैँ निन्याउरो अनुहार थियो। उसले तुलना ग¥यो, म खानै नपाएर बोल्न सकेको छैन, उनीहरू राती बढी खाएर बोल्न नसकिरहेका होलान्।
माघुराम गह्रुंगो मन लिएर घरतिर पाइला डो¥यायो। माघी कसरी मनाउने भनी तनावले उसको पाइला उठ्न सकिरहेको थिएन। के सुरले हो, ऊ गेरुवा नदीको पुल पार गरेर कोठियाघाट बजारमा छि¥यो। बजारमा खासै चहल पहल थिएन। दुई साल पहिले माघुले एक होटेलमा दुई दिन काम गरेको थियो। ‘पाछे कौनो दिन काम कै डेम, वेन आझ माघी मनाइक लग सय रूपैयाँ सापटी डि मालिक।’ माघुले होटलेसँग सय रूपैयाँ सापटीको अनुनय ग¥यो तर, होटले गलेन। उनीहरूको वार्तालाप एक वयोवृद्धले सुनिरहेका थिए।
मानपुर टपराका जमिन्दार थिए त वयोवृद्ध जमुनासिंह। उनले माघुरामसँग अनौठो प्रस्ताव राखे, ‘तिमीलाई रकमको खाँचो रहेछ, मलाई काम गर्ने मान्छे। तिम्रो घरमा दसबाह्र वर्षकी छोरी छे? नभए मकहाँ कमलरी पठाइदेऊ। म तिमीलाई भने जति रकम दिन्छु।’
माघुराम अनकनायो, ‘बा टे हजुर, लकिन भख्खर सात बरस लग्लिस। औरे घरका काम करे सेकी?’
छोरी भख्खर सातौं वर्षमा टेकेकीले अरु घर काम गर्न सक्दिन कि! भन्ने माघुरामको भनाइलाई भूईंमा झर्न नदिँदै जमुनासिंहले सय सयका दस थान ताजा गैंडा उसको हातमा थमाइदिए, ‘के धन्दा मान्छौ तिमी? काम गाह्रो छैन, नेपालगंजमा मेरा छोरीज्वाईंकहाँ बस्छे तिम्री छोरी। हाम्रो नातिसँगै तिम्री छोरी पनि बोर्डिङ स्कुल जान्छे। विस्तारै भात भान्साको काम सिकी हाल्ली। जम्मा तीन जनाको परिवारमा त्यहाँ काम नै के छ र? लौ, तिम्री छोरीको तलब वार्षिक ५ हजार भयो। खुसीले माघी मनाऊ।
हजार रूपैयाँ माघुरामले धेरबेर ओल्टाई–पल्टाई हे¥यो। भारी मनले बोल्यो, ‘छाई कमलह्रिया लगैना, एकचो जन्नीसे सल्लाह लेहे परि कि हजुर।’
जमिन्दार जमुनासिंहले उसको काँध थमथमाउँदै भने, ‘स्वास्नीसँग के सल्लाह गर्नुप¥यो, मैले तिम्री स्वास्नीलाई पनि चिन्छु नि, कति सोझी छे विचरी! तिमीलाई आफ्नै मान्छे ठानेर पो भनेको त। नत्र त आफ्नी छोरी कमलरी दिने कति छन् कति!’
माघुरामले हजार रूपैयाँ बडो जतनका साथ लिएर हिँड्न थाल्यो। जमुनासिंहले भने, ‘ए पख, पख, लौ एक बोत्तल रक्सी पनि लैजाऊ। अनि यो गेरुवा नदीको ठूलो माछा पनि लैजाऊ। एक किलोभन्दा बढी छ। यत्ति भए तिमीलाई माघी मनाउन पुगिहाल्ला नि। योचाहिँ मेरो तर्फबाट तिमीलाई सित्तैमा। माघी धुमधामसाथ मनाएर भोलि ठीक १० बजे यही होटेलमा आउनु छोरीलाई लिएर।’
माघुरामले माछा र रक्सी लिएर घरतिर पाइला बढायो। यसपाली उसको वेग रेलको इन्जिनझैँ दौडियो। टाढैबाट जनेवालाई हका¥यो, ‘सुन्ले, हेर मै का नल्ले बटुँ? सुख्लीक डाई।’
उसको छोरीको नाम सुख्ली रहेछ। आफूले ल्याएको माघीको सामाग्री जनेवाको अगाडि राख्यो। बुढासँग एक रूपैयाँ पनि थिएन। बिहान बिहानै माछा र बोत्तलको रक्सी कसरी आइपुग्यो? स्वास्नीले इशारामै प्रश्न गरी। माघुरामले धेरैबेर छोरीलाई बन्धकमा राखेर आएको भन्न सकेन।
उता होटलेले जमुनासिंहलाई भन्दै थियो, ‘त्यति सात वर्षकी फुच्चीलाई वार्षिक ५ हजार रूपैयाँ ज्याला त धेरै भएन र हजुर? फेरि वोर्डिङ पढाइदिने कुरा पनि गर्नुभयो।’
जमुनासिंहले जुँगामा ताउ लाउँदै भने, ‘तपाई पनि साहुजी। यी सोझा थारूहरू यस्तै हुन क्या। भन्नु र गर्नुमा त फरक छ नि। उसकी छोरीलाई भोलि ल्याउन त दिनोस्। कसरी काम गराउनुपर्छ, हामीले जान्या छ। उसलाई अब कुनै थप रकम पनि दिनुपर्दैन। देख्नु भएन बोनसमा रक्सी र माछा दिएको। त्यही उसको छोरीको वार्षिक ज्याला पनि भयो। उसको छोरीको भाग्यमा बोर्डिङ त के सरकारी स्कुलमा पनि पढ्न लेखेको छैन। विचरी कसरी पढ्छे। हा हा हा...! ठूलो स्वरमा हाँस्दै जमुनासिंहले अगाडि भने, ‘खै ल्याउनुहोस् एक बोत्तल बियर र फ्राइ माछा। हामीले पनि त माघी मनाउनुप¥यो नि।’
यता असलियत थाहा पाएपछि अश्रुमिश्रित स्वरमा माघुरामको जनेवा आफ्नो ठरुवा (लोग्ने) लाई सत्तोसराप गर्दै थिई, ‘कुछ काम नै पाके छाई बेँच्के अइलो। जाऊ यी रूप्या घुमा आऊ। मैं भुँखे मर्जैम बेन अपन छाईहे नै बेचम।’ (अरु केही काम नपाएर छोरी बेचेर आउनु भयो। म बरु भोकै मरुँला, बरु अरु घर छोरी कमलरी पठाउँदिन। जनेवाले त्यसो भनेपछि माघुरामले सम्झायो, ‘कर्रा काम नै हुइन्, स्कूल फेन पह्रा डेहक लग बटाँ (गाह्रो काम छैन रे! फेरि स्कूल पनि पठाइदिने भनेका छन्।)
माघुरामकी स्वास्नी सिंहिनीझैँ गर्जिइ, ‘हुइल, हुइल मैं अपन आँखीले डेख्ले बटँं। आनक घर कमलह्रिया लागल छाइनके दशा। अगर रुप्या नै घुमैवो टे मोर मरल मुह डेख्बो। आब फेन रिनके बोझा नै बोक्जाई।’ (भयो, भयो मैले आफ्नै आँखाले देखेकी छु। अरु घर कमलरी लाग्ने छोरीहरूको दशा। यदि रूपैयाँ फर्काएनौ भने मेरो लास देख्नेछौ। अब फेरि ऋणको भारी बोक्नु छैन हामीलाई।)
माघुरामको जनेवा अलाप–विलाप गर्दै रुन थाली। मौकाको फाइदा उठाउँदै बिरालोले माछा उडायो। माघुरामले बिरालो धपाउन जाँदा बोतलको रक्सी ढल्यो। माघुरामले बिरालोको मुखबाट माछा त फिर्ता ल्याउन सकेन नै, यता वबेतलको रक्सी पनि ढलेर पुरै निख्रीसकेको थियो। माछा खाएर सन्तुष्ट देखिने बिरालो, ढलेको रक्सीको बोत्तल, फर्काउनुपर्ने हातको रूपैयाँ हेर्दै माघुरामको मनले भन्यो, ‘यी बरसके माघ फेन फिक्कल हुइना हुइल। (यो वर्षको माघी पनि अलिनो हुने भयो।)
[email protected]