मानिसका लागि यो एक शाश्वत प्रश्न छ– कर्म– स्वतन्त्रता र ईश्वरको अनुकम्पाको उसको जीवनमा कस्तो भूमिका हुन्छ ? यो प्रश्नलाई यसरी पनि हेर्न सकिन्छ– मानिसको जीवनमा प्रारब्ध र प्रयासको के भूमिका हुन्छ? गीताले यो सवालमा समन्वयकारी दृष्टि अपनाउँछ।
गीताका अनुसार मानिसको व्यक्तित्वको आधार त्रिगुण –सत्व, रज र तम हुन्। गीताले यो पनि मान्दछ कि मानिसको स्वभाव, कर्मसामर्थ्य र क्रियाशीलता यीनै त्रिगुणमा निर्भर गर्दछ। तम आलस्यको, रज सक्रियताको तथा सत्व प्रकाशको द्योतक हो। तर यो भनाइको आशय मानिस त्रिगुणको गुलाम हुन्छ र उसको आफ्नो प्रयासको कुनै महत्व नै हुँदैन भन्ने होइन।
वस्तुतः मानिसले आफ्नो प्रयासबाट आफ्नो स्वभावगत संस्कारगत र प्रवृतिप्रदत्त प्रकृतिलाई उदात्तीकरण गर्नुका साथै आफ्नो प्रवृत्तिको उध्र्वीकरणको प्रकृयामा सत्वसम्म पुर्याउँन सक्दछ। यति मात्र नभएर अझ अगाडि बढेर त्रिगुणको बन्धनबाट पूर्णतया मुक्त भएर उ गुणातीत पनि हुन सक्छ। यस कार्यमा सबभन्दा बढी जरुरत सतत् प्रयासको हुन्छ, अभ्यास र वैराग्यको हुन्छ।
कर्म स्वतन्त्रताको सिद्धान्तको अनुसार यो मार्गमा कुनै पनि प्रयास खेर जादैन। गीताले प्रारब्ध कर्म र पुर्नजन्मका दुई अवधारणालाई वर्तमान प्रयाससँग जोडेर कर्म स्वतन्त्रता सिद्धान्तलाई परिष्कृत गरेको छ। यस कारणले गर्दा प्रयासको निरन्तरता जारी रहन्छ। मृत्युको कारणले पनि प्रयासको श्रृंखला टुट्दैन। वर्तमान प्रयासले प्रारब्ध कर्मको पनि क्षरण हुन्छ। त्यसैले वर्तमान प्रयास अगाडिको जीवनमा काम त आउँछ नै, यसका साथै संचित कर्मको खराब पक्षलाई घटाउँदै वर्तमानमा उज्जवल बनाउन सहायक हुन्छ। प्रयास प्रारब्धमाथि हावी हुन्छ। प्रारब्ध कर्म र पुर्नजन्मको सिद्धान्तबाट कुनै मानिसको जन्म कहाँ, कुन परिवारमा हुन्छ र उसको सामाजिक स्थिति के हुन्छ ? भन्ने कुरा तय हुन्छ तर यो सीमाभित्र पनि मानिसको कर्म स्वतन्त्रता रहन्छ। मानिस स्वप्रयासले प्रकृतिप्रदत्त गुणको दायराभन्दा माथि उठ्न सक्छ।
गीताको मत अनुसार कर्मपूर्तिका पाँच कारण हुन्छन् – त्यसैमा दैव एक कारण हो र बाँकी चार अधिष्ठान, कर्ता, इन्द्रिय र चेष्टा हुन्। यस प्रकार मानिसलाई कर्म स्वतन्त्रताद्वारा आफ्नो निर्णायक बन्न सक्ने सम्भावना रहिरहको हुन्छ।
यो विषयमा एक शंका के रहन्छ भने– प्रारब्ध कर्म र पुर्नजन्मको सिद्धान्तलाई भाग्यवाद, नियतिवादले समर्थन गर्दछ। प्रारब्धलाई प्रयासबाट हटाउन सकिन्छ। यदि प्रारब्ध कर्म र संचित कर्म विपरित नै भएता पनि वर्तमान प्रयासबाट संशोधन गर्न सकिन्छ। वर्तमान प्रयास भविष्यमा गएर प्रारब्ध र संचित कर्म बन्दछ। वस्तुत्ः प्रारब्ध कर्म पनि हाम्रो प्रयासको एक संचित रुप हो। त्यसैले कर्म सिद्धान्त भाग्यवाद र नियतिवादको समर्थक हुने प्रश्न नै उठ्दैन। गीताले मानिसको स्वप्रयासमा अटल र अटुट विश्वास गर्दै स्पष्ट उद्घोष गरेको छ –जुन मानिसको जस्तो श्रद्धा हुन्छ, निष्ठा हुन्छ, उ त्यस्तै बन्छ।
गीताले छैठौं अध्यायमा मानिसका लागि सांस्कृतिक र आध्यात्मिक आरोहको स्पष्ट आव्हान गरेको छ– हे मनुष्य ⁄ शरीरका माध्यमबाट आफ्नो आत्माको उद्धार गर। यसका लागि मानिसको पुरुषार्थ र प्रयास नै एक मात्र निहितार्थ कारण छ।
अर्को महत्वपूर्ण प्रश्न छ– यो मार्गमा ईश्वरानुकम्पाको भूमिका के हुन्छ ? गीताको अन्तिम अध्यायमा कर्मस्वतन्त्रता र ईश्वरनुकम्पाको अद्भूत तालमेल छ। कृष्णले अर्जुनलाई भन्छन् –मैले तिमीलाई गुह्यज्ञान दिएँ, अब तिमी आफूलाई उचित लागको गर ! त्यतिबेला कृष्णले के पनि भन्छन् भने उनले सबै धर्मलाई छाडेर कृष्णको शरण परुन्। यस प्रकार गीताकारको यो विश्वास झल्किन्छ कि मानिसको जीवन दुवै पहलुबाट चल्दछ्न– आफ्नो प्रयास र ईश्वरको अनुकम्पा। यो मार्गमा ईश्वरमा समर्पित गरेर कर्म गर्नु, फलाशक्ति होइन, अकर्ताभावको बोध गर्नु ईश्वरको सतत महसुस गर्नु, ईश्वरको भूमिकालाई स्वीकार गरेको ठर्हछ। तर मानिस ईश्वरको हातको कठपुतली होइन, उसलाई स्वप्रयासको अधिकार छ किनकी मानिस केवल शरीर र दिमागको पुतला नभएर मूल रुपमा परमात्मास्वरुप हो।
ईश्वरको अनुकम्पाको अर्को दोस्रो भूमिका पनि छ। उसका सामु जाति, धर्म लिङ्ग आदिको भेद महत्वहिन हुन जान्छ। अतः गीताले यो मान्दछ की, ईश्वरको पनि परिवर्तनकारी भूमिका हुन्छ, जुन आफैंमा एक क्रान्तिकारी परिकल्पना हो। यस प्रकार ईश्वरको अनुकम्पा र मानिसको कर्म स्वतन्त्रता मिलेर व्यक्तिगत, सामाजिक र जागतिक परिवर्तनको सम्भावना बनी रहन्छ। तर ईश्वर अनुकम्पा कुनै मन्त्र, जादु, टुना होइन। प्रयास, पश्चाताप र प्रायश्चितबाट नै ईश्वरनुकम्पा प्राप्त हुन्छ। त्यसैले ईश्वरनुकम्पा पनि मानिसको स्वप्रयासकै एक हिस्सा हो।
(शनिबार विमोचन हुने शंकर तिवारीद्वारा अनुवादित गीताज्ञान प्रवेशिका को अंश)