जाडो दिनहरु
धर्तीमा पाइला टेक्न आतुर घामका कलिला किरणहरुलाई जबरजस्ती छेकिरहेका बाक्ला हुस्सुका झुण्डहरु। छानोमा, पातमा र पिँढीमा थन्क्याइएको साइकलमाथि लचप्पै परेका शीतका थोपाहरु। असाध्यै बिरक्त लाग्दा, दिउँसै तुँवालोले निलेका अँध्यारा दिनहरु। यी सब थिए जाडोका चिनारी। सबलाई झेल्नु थियो एउटा ऊनीको स्वीटर र चप्पलले।
ऊनीको स्वीटर गाउँकी जानकी दिदीले आफ्नै हातले बुनेकी। तिनकै हातले हो गोठालो जाँदा मेरो कान छेडिएको। एक दुई वर्ष त टप पनि झुन्ड्याइयो तर समाजको मुखबाट जब टप लगाउनेहरुभन्दा नलगाउनेहरु भलाद्मी हुन्छन् भन्ने सुनियो तब टपलाई कतै हुर्याइयो। फेरि कहिल्यै भेटिएन त्यो। कान छेडिदिने दिदी टप हुर्याएको केही महिनामा गाउँकै काले केटो टिपेर गायब भइन्। तिनलाई अहिलेसम्म भेट्न पाएको छैन।
भर्खरै काटिएको भटमास बारीमा ठोसाले घोचेपनि घोचोस् तर जान कहिल्यै छोडिएन। साइकल कैंचेमा बसेर चलाउने बेलादेखि सिटमा बसेर चलाउन सक्षम भएसम्म पनि बारीका पाटामा भेटिएका शीला भटमास टिपेर कपी, कलम र चकलेट खाने पैसा त कति जम्मा गरियो कति। त्यतिबेलैदेखि लागेको हो बाले दिएको दुई रुपैयाँभन्दा आफैंले कमाएको एक रुपैयाँमा रमाउने बानी।
हजुरआमाले भने जस्तै मेरो जाडो सधैं बोकाले खाइरह्यो। असाध्यै जाडोको महसुस कहिल्यै भएन। बिहान उठेर पानी लिन भुलभुलेको कुवा पुग्यो। दिउँसो पढ्न भुलभुलेकै स्कुल धायो। साँझ छ बजेसम्म भुलभुलेकै चौरमा फुटबल खेल्यो। यस्तो लाग्थ्यो कि भुलभुले भएन भने म अधुरो हुन्छु। भुलभुले मेरो जिन्दगीको अभिन्न पाटो हो। भुलभुले बिना मेरो यात्रा अधुरो हुन्छ। तर आज १७ वर्ष भयो भुलभुलेको स्कुलको पहिलो बेन्चमा बसेर नेपाली पढाउने सरको कथा नसुनेको, गणितको सूत्र नघोकेको। त्यति नै वर्ष भयो भुलभुलेको फराकिलो चौरमा फुटबलको पछिपछि लागेर प्रत्येक दिन जसो खुट्टा नमर्काएको।
फुटबल खेलेर हरेक दिन घरमा आउँदा आमा चुल्होमा भेटिइनुहुन्थ्यो, मलाई खानाको लागि कुरिरहनुभएको। तर म भने तेल र मट्टीतेल लिएर खुट्टामा घस्न अँगेना छेउ बस्थेँ। आमा कराउनुहुन्थ्यो, ‘भाँँच, भाँच खुट्टो अनि के गरी हिन्दोरछस्।’ म चुपचाप आगोमा खुट्टा सेकाउँदै मालिस गर्थेँ र भोलिदेखि खेल्न नजाने योजना बनाउँथे। तर भोलिपल्ट स्कुलबाट आउने बित्तिकै कोही न कोही साथी आइपुग्थ्यो घरमै लिन। त्यसपछि त नगई नहुने।
जसरी भुलभुले मेरो पर्यायवाची बनेको थियो त्यस्तै पयार्यवाची बनेर खडा थियो मेरो साइकल। जब भइयो छ कक्षा पास, तब घरमा आइपुग्यो साइकल ‘एटलस’। बाले धान बेचेको पैसा खनखन्ती गनेर मेरो लागि भित्र्याएका। साइकल मेसिन मात्र थिएन मेरो लागि, त्यो साथी थियो। त्यसले भित्री मधेशको एउटा फुच्चे केटोको यात्रा सजिलो बनाइदिएको थियो, कतै कुनै रोकतोक बिना चल्ने खोलो जस्तै।
जाडोमै हो गाउँमा धेरैको बिहे हुने। केटाको बिहे छ भने जन्ती जान पाउने रहरले म फुरुकफुरुक पर्थेँ। तर, जब जन्ती जानको लागि बसमा अटाइनअटाइ मान्छेहरु चढिसकेका हुन्थे तब चाहिँ केटाकेटीहरु सबलाई झार् भन्ने उर्दी ठूला बडाबाट जारी हुन्थ्यो। त्यस्तो अप्ठ्यारोमा कसरी सिट मुनी लुकेर जन्ती जानुपर्छ भन्ने कुराको विज्ञता हासिल गरेको थिएँ मैले। जन्ती जानु भनेको घरको काम छल्नु हो, एकदिन भनेपनि राम्राराम्रा मान्छेहरुलाई भेट्नु हो र सबभन्दा गज्जब कुरो चाहिँ एकदिनको लागि भएपनि मुखको स्वाद फेर्नु हो। त्यसैले म मात्र हैन सबै केटाकेटीहरु कि त झुन्डेर वा बसको छतमा चढेर भएपनि जन्ती जान पल्केका थिए। त्यसैले त बस चढ्ने बेलामा लाखापाखा लागेपनि मेरा सगोलका धेरै साथीहरु बेहुलीको घरमा पुगेपछि टुप्लुक्क देखा पर्थे।
तर गाउँमा केटीको बिहे छ भने म अलि बढी आलटाल गर्थेँ। कोही केटा बेहुलोको भेषमा ठाँटीएर गाउँको दिदीबहिनीलाई लिन आएको मलाई पटक्कै मन नपर्ने। बिहेघरमा जतिसुकै नाचगान भएपनि साँझपख जब बेहुली अन्माउने बेलमा हुन्छ, तब त्यो घरमा रुवाबासी चल्छ भन्ने कुरा मेरो दिमागमा पहिलैदेखि चलिरहन्थ्यो र त्यही कुराले मलाई रमाउन दिँदैनथ्यो। त्यसैले दिदीबहिनीहरुको बिहे छ भने म उनीहरुलाई अन्माउनुअघि नै बिहे घर छोडेर कुलेलाम ठोकिसकेको हुन्थेँ। कुलेलाम ठोक्न मलाई मेरो साइकलको साथ थियो। कहिलेकाँही साइकलको पछाडि बसेर कुनै अर्को भुरो पनि कुलेलाम ठोक्थ्यो। त्यो भुरो पछि खलासी भयो र अहिले ड्राइभर।
मकवानपुरगढीको मुन्तिर लमतन्न पसारिएको रानीफाँटमा हाम्रो पचास मुरी धान फल्ने खेत थियो। त्यहाँ तिहार सक्दा नसक्दै सबले आआफ्नो धानको कुन्यू खडा गरेका हुन्थे। हाम्रो पनि दुई ठाउँमा स–सानो बुकुरो ठडिन्थ्यो। धान चुट्ने र दाइँ गर्ने काम प्रायः जसो पुसमा हुन्थ्यो। त्यतिबेला नै हो मेरो बासँग अदृश्यरुपमा ठाकठुक पर्ने। बिहानै उठेर छिमेकीको घर घरमा गएर गोरु फुकाउँँदै कम्तीमा दसवटा गोरुहरु खेतमा पु¥याउन कम्ता गाह्रो हुन्नथ्यो। त्यसमाथि गोरु फिटिक्कै नहिंड्ने। कुनैकुनै त भनेको फिटिक्कै नटेर्ने। एउटा गोरु टाढा पुग्दा पनि अर्को आलटाल गरिरहने। कुनै गोरु कसैको सागबारीमा पसेर मुख जोत्न भ्याइहाल्ने, कुनैले त रिसले लात्ता बजाउन पनि पछि नपर्ने।
लात्ता खाएर भएपनि बल्लतल्ल गोरु खेतमा पुर्याउने बित्तिकै सुरु हुन्थ्यो दाँइ बरादो भन्दै गोरुलाई मियोको वरिपरि घुमाएर पराल माड्ने काम। गोरुहरु खानकै भकारी थिए। पुच्छर निमोठ्यो, लठ्ठीले पिट्यो, भएभरका उपाय लायो। अनि मात्र तिनीहरु बल्लतल्ल मियो वरिपरि घुम्थे। घुम्दाघुम्दै आफैँलाई रिँगटा लाग्न थालिसकेको हुन्थ्यो। आँखा तिरीमिरी भइसकेको हुन्थ्यो। त्यहीबेलामा आमाले डोकोभरी मासको दाल, मन्सुलीको भात र काउलीको तरकारी ल्याउनुहुन्थ्यो। तब मात्र सास आउँथ्यो, भित्र कतै लुकेर बसेको जाँगर आउँथ्यो। स्वःस्फूर्त म कराउँथे, ‘दाँइ बरादो, ह ह.....हो हो....।’ त्यसपछि सबले मतिर पुलुक्क हेर्थे र मुस्काउँथे।
गर्मी दिनहरु
फागुन लाग्दा नलाग्दै ताता दिनहरु सुरु हुन्थे। अनि सुरु हुन्थे मेरो बिहानीको स्कुले र दिउँसोको गोठाले दिनहरु। भैंसी र गोरु लिएर कर्रा र बरौली खोलाको छिपछिपे पानी तरेर म फाँटको खेतमा पुग्थेँ। त्यहीँ भेटिन्थे पल्लवी र रने जस्ता साथीहरु। रने भैंसीमाथि चढेर गीत गाउँथ्यो, ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले।’
रनेले यति दिल लगाएर गीत गाउँथ्यो कि मानौं ऊ गायक नै हो। ऊ आफैं पनि भन्थ्यो, ‘यति दामी गीत अहिले गाइदिन्छु, पछि सिकेँ भने कस्तो हुँला म? म त अरु हैन गायकै बन्ने हो।’ उसको कुरा पल्लवी र मलाई हो झैं लाग्थ्यो। पल्लवी त्यति नबोल्ने। ऊ केबल मलाई हेरिरहन्थी। सानै उमेरमा पनि उसलाई ओठमा लाली लगाउने खुब इच्छा थियो र ऊ आफ्नो इच्छालाई मार्दिन थिई। उसका आँखाहरु गाजल नलगाए पनि सारै राम्रा। त्यही हेर्नको लागि भएपनि मलाई चैतको घामको चुनौती स्वीकार थियो।
जमिनमुनिबाट ज्वालामुखी फुटेर निस्केको तातो वाफ झैं वाफिलो हावाले असिनपसिन बनाएपछि हामी शिवलालको बाटो हेथ्र्यौं। बरफ र आइसक्रिम साइकलममा राखेर शिवलाल त्यही बाटो दिनदिनै हिन्थ्यो र हामीले उसको तीन थान बरफ वा आइसक्रिम किनेर खाएका हुन्थ्यौं। खाइसकेपछि जहिले पल्लवी रिसाउँथी र गनगन गर्थी, ‘मेरो लिपिस्टीकै पुछियो।’रने र म पहिले हाँसे पनि पछि सधैंजसो दोहोरिने त्यही गुनासो सुनेर हाँस्नै छाड्यौं।
आरुका फूलहरु फुल्थे ढकमक्क। आँपका फूलहरु फुल्थे, सुगन्धको मिठास पर परसम्म फैलाएर। सबै बोटबिरुवामा पलाएको ससाना पालुवा देखेर मभित्र पनि नयाँ पालुवा पलाउँथ्यो। यस्तो लाग्थ्यो कि सर्पले झैं म आफू पनि काँचुली फेरिरहेछु। त्यही खुशीले फुरुँग भएर पल्लवी पनि बेलाबेलामा मलाई सताउँथी। एउटा नयाँ वर्षमा उसले मैले नसोचेको कुरा गरी। उसले एउटा रातो गुलाबको फूल भएको पोष्टकार्डमा माया झल्काउने एकदुईटा सायरी लेखेर सिधै मलाई दिई। डराईडराई मैले गोजीमा राखेँ र अलि वर खेतमा आएँ। खेतमा बनाइएको गोठमा अघि देखिनै बा आएर बसेका रहेछन्। के गरुँ कसो गरुँ भयो।
बाले सोधे ‘कता गएर आइस्? गाइवस्तु राम्रोसँग हेर्दैनस् कि क्या हो?’
‘पानी खान नि नपाउनु,’ मैले घोसेमुन्टो लाएर नै भनेँ।
बा एकछिन मेरो आडमा ठिंग उभिएपछि सरासर बेलघारीतिर लागे। सायद केही काम थियो उनको। त्यसपछि मैले त्यो पोष्टकार्ड धुजाधुजा पारेर च्यातेँ।
डर दुई कुरासँग लाग्थ्यो। एउटा बासँग। अर्को हावाहुण्डरीसँग। यो हावाहुण्डरीलाई चैतवैशाख लागेको कसरी थाहा हुने क्या। त्यहीबेलामा त्यो दोहोर्याइतेहेर्याइ हाम्रो घरको ढोका ढकढकाउन आइपुग्थ्यो। त्यो पनि बिस्तारी हो र? घरको जस्तामा ढुंगाले हानेजस्तो डयाङडयाङ डुङडुङ गर्दै हावाहुण्डरी आएपछि म ओढ्नेले मुख छोपेर सासै नफेरी पल्टिन्थेँ। प्रायः राती आउने हावाहुण्डरीपछि बिहान उठेर हेर्दा आँप, कटहर, अम्बाका पातहरु घरको आँगनभरी हुन्थे। कहिलेकाँही त कसैका ड्रम र टिनका छाना पनि घरसम्म आइपुगेका हुन्थे। भोलिपल्ट ती मान्छेहरु टिन र ड्रम खोज्दै घरै आइपुग्थे।
जस्तोसुकै सुख्खा भएपनि भुलभुलेको कुवामा पानी टनाटन। दस गाउँका मान्छेहरु उताको मूल सुकेर पानीको लागि आउँदा पनि हाम्रो कुवा भरिभराउ हुन्थ्यो। म आमालाई सघाउन साइकलमा दुईवटा गाग्री बाँधेर भुलभुले पुग्थेँ र पानी ओसार्थें। साइकलमा पानी लिन जाँदै गर्दा एकदिन पल्लवी बाटैमा भेटिई। उसलाई हेर्ने ध्याउन्नमा साइकल ढुंगामा ठोक्काएर लडाएँ मैले। साइकल मात्रै लडाए त हुन्थ्यो, एउटा गाग्री पनि कच्याककुचुक भयो। साँझ आमाको त्यस्तै मन कुच्याउने गाली पनि खाइयो।
पानी पर्ने दिनहरु
‘पानी परेन खै यो साल?’
मान्छेहरुको यस्तै गुनासो सुन्दासुन्दै बादलहरु बहुला भएर तरलरुपमा जमिनमा खस्न थाल्थे। पानी नपरुन्जेल फुर्सदमा झिँगा मारेर बसिरहेका मान्छेहरु एकाएक सलबलाउँथे। त्यतिखेर मान्छेलाई लामखुट्टेले दुःख दिदैनथे। गाउँमा लामखुट्टे जन्मिएकै थिएनन्। थिए त केबल झिँगा र भुसुना।
खुसी भएर मान्छेहरु खेत जोत्न थाल्थे, आली लगाउन थाल्थे। घरतिरै हल्लिरहेका मान्छेहरु खेतका गरागरामा रंगीचंगी पुतलीजस्ता देखिन्थे।
पानीले सिँचिएर बारीमा काँक्रा, घिरौँला, लौका, झिँगनी, फर्सीका लहराहरु घरको छानो र मचानमाथि चढ्ने सुरसार गर्थे। रामतोरियाँ फुल्न सुरु हुन्थ्यो। आफ्नै बारीमा भएभरका तरकारीहरु फल्न थाल्थे। हरिया मकैका बोटहरु हावासँगै सुसाउँथे।
खेतमा रोपाइँ चल्थ्यो। घुम ओढेर धान रोपिरहेका रोपारहरुको मुखबाट असारे भाका गुन्जिन्थ्यो। दाँदे लगाउँदै, बाउसे गर्दै गरेका पुरुषहरु त्यसलाई चुनौती ठानेर असारे भाकामै गीतको उत्तर फर्काउँथे। छिनमै गीत सुन्न आउनेको भीडले खेत छोपिन्थ्यो।
कर्रा र बरौली खोला बाढी आएर हैरान। तर्नलाइ पुल थिएन। खेत रोपेर आउने रोपारहरुलाई तार्न बाउसेहरु खोला छेउ उभिएका हुन्थे। हामी केही केटाकेटीहरु धमिलो भेलमा हाम्फाल्थ्यौं। बा र आमाको आँखा छलेर हामी त्यस्ता बाढी त कति तथ्र्यौं कति।
टिभी हेर्न अर्कैको घर गइन्थ्यो। मान्छेहरु धेरै भएर कहिलेकाँही त हेर्न पनि नपाइने। अर्काको घरको आँगनमा उभिएर विश्वकप फुटबलको म्याच हेर्दै गर्दा थाहा भएको थियो मलाई आफू एसएलसी पास भएको कुरा। त्यसको केही दिनमै म आफूलाई मनपर्ने सब कुरा छोडेर, साथीभाइसँग बिदा भएर नाइटबसमा काठमाडौं हानिएँ। साइकललाई घरको एउटा कुनामा थन्काएँ र चाबी बालाई दिएँ।
न जाडो न गर्मी दिनहरु
बारीका अम्बा कसले खाइदिओस्। बोडी र भुँइकटहर कसले लगिदेओस्। त्यसमाथि पारिलो र त्यसैत्यसै उडुँझैं लाग्ने दिनहरु। आँगनको डिलमा फुलेका मखमली र सयपत्रीहरु। पारी मकवानपुर गढीलाई बेलाबेलामा भुँइ कुहिरोले छोपेको हेरिरहुँ लाग्ने दृश्य। दशैं र तिहारको आगमन। म सबभन्दा खुसी हुने दिनहरु त्यही शरदका सुन्दर दिनहरु थिए।
लाहुरेहरु घर फर्किन्थे। गाउँबाट धेरै युवाहरु ‘इन्डिया’ जाने हुनाले तिनले हामीलाई हिन्दी सिकाउँथे। त्यहीँबाट त हो नि हिन्दी फिल्म हेर्न सिकेको। तिनीहरुले हिन्दी फिल्मको वर्णन यसरी गर्थे कि गएर हलमा फिल्म हेर्दा, फिल्मभन्दा पनि तिनीहरुको वर्णन नै गज्जब लाग्थ्यो। एकमहिना मात्रै पनि ‘इन्डिया’ बसेको किन नहोस् ऊ ‘अच्छा’, ‘लेकिन’, ‘और’, ‘कल’ जस्ता शब्दहरु प्रयोग गर्न थालिहाल्थ्यो, अनि म त्यो कुरा सुगाले झैं रट्थेँ।
दशैंमा बाबियोको डोरी बाटेर पिङ हालिन्थ्यो। बाबियो काट्न हामी साथीहरु मिलेर बन छिथ्र्यौं। ठूलो पहाडको भित्तामा ज्यानको बाजी लगाएर काट्नुपथ्र्यो बाबियो। एकभारी बाबियो लिएर घर फर्कँदा ठूलै काम गरेको महसुस हुन्थ्यो। त्यसैले घरघरमा गएर पिङको लागि बाबियो उठाउन सारै गाह्रो। मान्छेहरु दिनै कचकच गर्ने। हामी पनि के कम, नदिएसम्म लिसो टाँसिए झैँ टाँसिइरहन्थ्यौं। अनि लिसो बनेर उठाएको बाबियो साइकलमा लोड गरेर भुलभुले चौर पुरयाउँथ्यौं पिङको लागि।
खानभन्दा बढी खेल्ने हतारो। देउसी भैलो र पिङ खेलेर बित्थे दशैं तिहार। साँझदेखि भोलिपल्ट बिहानसम्म लगातार देउसी भैलो खेल्ने जाँगर। नेपाली गीतहरु क्यासेटमा बजाएर कम्मर पनि मर्काइयो। भोलिपल्ट टिका लगाउने दिनमा बहिनी तयार भएर बस्दा त आफूचाहिँ सुतेको सुतै। फेरि बाआमाको गाली। आँखा मिच्दै उठ्यो र टिका थाप्यो। देउसी खेलेर जम्मा गरेको पैसा बहिनीलाई सुम्पियो र गर्वले छाती तनक्क तन्कायो। केही कुराको ठेगान नभएको अहिलेकोभन्दा पनि निकै अस्तव्यस्त दिनहरु बाँचियो।
काठमाडौंको कैदी भएपछि...
काठमाडौंको कोठामा आफूलाई कैद गर्न थालेपछि घर जाने बाटोहरु लामो भएजस्तो लाग्यो। यताको लक्ष्यले मभित्रको गाउँलाई पाखा लगाइदियो। छ महिना, नौ महिना हुँदै वर्ष दिनमा गाउँ पुग्न थालेँ। केही वर्षसम्म ठीकै थियो। तर केही वर्षपछि बाले प्रत्येक चोटी फोन गर्दा नयाँनयाँ कुरा सुनाए।
‘यसपाली दाइँ गोरुले हैन ट्याक्टरले गर्ने भइयो।’
‘तेरो साथी रने त अरब हानियो नि।’
‘पल्लवीको बिहे यही मंसिरमा भयो।’
‘अहिले त बरौली र कर्रामा पुल बन्यो नि।’
‘घरमा टिभी ल्याएँ है मैले। अब तँ दशैंमा आउँदा अन्त हेर्न जान पर्दैन।’
‘केबल जोडियो है घरमा। तेरी आमाले हिन्दी सिरीयल हेरेर हैरान छ।’
‘आज झुल किनेर ल्याएँ। लामखु्ट्टे लागेर हैरान।’
‘असारे गीत गाउने शेरबहादुर लो बिते नि।’
‘पहिलो पल्ट यसपाली भुलभुलेको कुवा सुक्यो नि।’
‘अनि छ नि, तेरो साइकल थियो नि त्यो सारै पुरानो भयो। मैले कवाडीलाइ बेच्दिएँ है....।’
जे जे सुनाए बाले, सबै सुन्ने हिम्मत गरेँ। केही कुराले खुसी भएँ, केही दुखी। रने र पल्लवीको यादमा म कतै हराएँ। रनेको गायक बन्ने सपना एकाएक अरबको मरुभूमीमा विलिन भयो। पल्लवीको मायाको कुरा हावासँगै उड्यो। मेरो दिमागमा भएको एउटा सुन्दर गाउँ अब रहेन। त्यो बिस्तारै भत्कियो, कवाडीमा पुगेको मेरो साइकलको हरेक पाटपुर्जा जस्तै छिन्नभिन्न भयो।
त्यही कुराले थिलोथिलो भएर म पनि थलिएँ। फेरि सम्हालिएँ। सोचेँ यो धर्तीमा केही कुरा दिगो छ्रैनन्, सब बदलिन्छन् समयसँगै।