बालक जो थिएँ
सोचेका सम्पूर्ण हरकतहरू गर्न सक्दिनथेँ।
बाल्यकाल यसरी उड्थ्यो
कि उड्थ्यो मेरो कल्पना—
धर्तीमा किन खस्नु पर्यो हँ यो झरी?
निथ्रुक्कै भिजाएर किन चुम्नु पर्यो?
— मेरो कलिलो गाला
हावामाथि तैरिंदै तैरिंदै
सागरसम्म पुग्ने बाटो
हिँडे के बिग्रन्थ्यो यो झरीको?
आकाशमा चराझैं उडिदिए
हुन्थ्यो नि यो डुम्रे खोलो पनि?
आखिर किन छेक्छ हँ यसले सधैं
मेरो मामाघर जाने बाटो ।
के यिनीहरूको चाहिँ मामाघर हुँदैन?
बुइँगलका प्रत्येक घैंटाभित्र
एक–एक वटा स्वर्ग लुकेको हुन्थ्यो
जतिबेला म पुतलीझैं फूलको पछिपछि दौडन्थेँ
— कपासझैं हावा–हावा उडिहिड्थेंँ
घैंटोको स्वर्गमा पस्दै गर्दा—
यस्तो लाग्थ्यो
कि मेरी आमाले जाँतो घुमाउँदा मात्र
घुम्दो हो पृथ्वी ।
दर्शन ढुङ्गोको झिल्को देख्दा लाग्थ्यो—
उस्तै उस्तै हुँदो हो
हामीले खेल्ने गट्टा
र ईश्वरको चम्किलो आँखा ।
यस्तो पनि लाग्थ्यो
कि मैले खल्र्याङ्खुट्टी खेल्ने मैदान
आफ्नै छातीमा मुटुझैं टाँस्न पाए
कस्तो हुँदो हो ?
मानिसले
पाइला चाल्न सुरु मात्र गर्नु परोस्
आफैं हिँडून् बाटाहरू
र पुर्याऊन् गन्तव्यसम्म लाग्थ्यो ।
सोच्थें— भैंसे खोलाको लेउमुनि
ढुङ्गा, बालुवा र झिक्राले बारेर
किन बनाउँदैनन् ?
मान्छेले जस्तो सुरक्षित घर
माछा, गँगटा र चेपागाँडाहरू ?
विशाल गङ्गा नदी समेट्न सक्ने महादेवले
किन समेट्दैन—
सम्पूर्ण मानव जातिको आँसु
आफ्नो जटामा?
र, लाग्थ्यो—
प्रार्थना गरेर होइन भगीरथले झैं
कि आफ्नै पसिनाका बीउहरू छरेर
आँसुका यावत् झरनाहरू समेट्ने
आधुनिक महादेवको जटा
किन नउमारुँ म आफ्नै बारीमा?
बालक जो थिएँ
कल्पनाको गल्ली–गल्ली चहार्दै
हिँड्न मात्र सक्थें।