रातको अनन्त गहिराइमा
सुनाउनेछु म तिमीलाई
मेरो जीवनका सपनाहरू।
नाच्नेछ मेरो मन तिम्रा हातमा,
मेरो दु:खले तिम्रा काँधमा थकाइ मार्नेछ।
जीवनका शिखरहरू एक्ला छन्,
अति एक्ला र सारै चिसा छन् !
मेरा रहरहरूलाई भित्रै थुनिदिएकी छु मैले,
ती सबै छोडिएका छन्, मैले ठड्याएको सिङ्गमरमरे शिखरमा।
आज खोल्नेछु म एउटा ठूलो रहस्य
तिम्रो मनसँग मभित्र प्रवेश गर्ने शक्ति छ।
मौनतामा अपरिमित उत्कण्ठाहरू लुकेका छन्।
मलाई सङ्कोच लाग्छ,
तर तिमी भए मात्र छु म।
म सपनाले मर्नेछु;
स्वच्छ र शितल, तिम्रो हृदयका झर्नाबाट सत्य पिउनेछु म।
मलाई थाह छ ,
तिम्रो छातीको कुवामा मेरो तिर्खा मेटाउने सन्तुष्टी छ।
र मलाई थाह छ, यही नै हो
वर्णन गर्न नसकिने
हाम्रो जीवन विनिमयको जादु ।
निःशब्दतामा,
तिम्रो आत्मासम्म आइपुग्छ मेरो आत्मा
प्रतिविम्ब बढाउने ऐनाजसरी।
मौनताको चिसो चिहानमा
कल्पना गरिहेर
मैले देखेको सपनाको प्रेमको!
कल्पना गरिहेर
जीवनभन्दा ठूलो, सपनाभन्दा ठूलो
अनन्तसम्मका लागि कैद भएको प्रेमको।
कल्पना गरिहेर मेरो प्रेमको,
असम्भव र परामानव जीवनको चाहना गर्ने
मेरो प्रेमको कल्पना गरिहेर।
तिमी बुझ्दछौ,
मान्छेको हाडमासुले बाँधिएका ओलोम्पस-सपनाहरूलाई
कसरी बिथोल्छ र निमिट्यान्न पारिदिन्छ यसले।
आफ्ना पखेटा पौडाउनका लागि
विशाल सुनौलो सूर्य वा समुद्री तटजस्तै
उज्यालोले बनेको नीलिमानिसृत हृदय भेटेपछि
उघ्रियो तिम्रो हृदय।
असम्भवलाई अँगालो हाल्ने कल्पना गरिहेर!
चम्किलो!जिउँदो भ्रम!
ईश्वर, सूर्य, फूल, हावा र पूरै जीवनको आशिष् लेऊ
उसो त, तिमी नै जीवन हौ।
मेरो दु:खसँग किनेकी हुँ मैले यो खुसी
धन्य छ मेरा आँखामा दाग बसाउने रुवाइ
गुलाफी ओठबाट सूर्य उदाउँदा
मुस्काउँछन् विगतका सबै घाउहरू।
तिमीले थाह पाउनेछौ मेरो प्रिय!
फूलहरूले भरिएको रात पार गरेर पल्लोपट्टी पुग्नेछौँ हामी
किन डराउँछ मानव भन्ने सुन्न सक्नेछौ तिमीले त्यहाँ
हेर, अनुभूत गर, त्यस अन्त्यविहीन जीवनलाई।
रातभित्र अझै जानेछौँ हामी,
अझैभित्र पस्नेछौँ
जहाँ गुञ्जने छैन ममा कुनै प्रतिध्वनी।
छायामा लुकेको रातको फूलजसरी मीठासले भरिएर
फक्रनेछु म बिस्तारैबिस्तारै
तिम्रा लागि।
...
डेलमिरा अगस्तिनीको जन्म २४ अक्टोबर सन् १८८६ मा उरुग्वेको मोन्टेभिडियोमा भएको थियो।सानै उमेरदेखिनै उनले कविता लेख्न थालिन् र 'ला अल्बोरादा' जस्ता सहित्यिक पत्रिकाहरूमा प्रकाशित गराउन थालिन्। साथसाथै उनले 'जोजो' छद्मनामले पत्रिकाहरूमा नियमित स्तम्भहरू पनि लेख्न थालिन्।
डेलमिरा अगस्तिनीले छोटो अवधी मै ल्याटिन अमेरिकी प्राज्ञिकवर्गबीच चर्चा पाउन थालिन्। उनका कविताका चर्चा गर्ने समलोचकहरूले उनको सौन्दर्य तथा यौवनको चर्चा नगरी कहिल्यै आफ्नो लेखन टुङ्ग्याउन सकेनन्। उक्त 'टेक्स्चुवलाइजेसन' अर्थात् महिला लेखकलाई साहित्यिक वस्तु बनाउने प्रवृत्तिहरूले अगस्तिनीलाई आजीवन पछ्याइरहे।
डेलमिरा अगस्तिनी सोर्ह वर्षकी हुँदा मोन्टेभिडियोको सबैभन्दा प्रतिष्ठित सम्पादकका कार्यालयमा गइन्, उनको पहिलो पुस्तकको पाण्डुलिपी टेबुलमा राखिन् र त्यो प्रकाशित भएपछि जानकारी गराउन आग्रह गरिन्। उनको कुरो सुनेर सम्पादक हाँसे र उनलाई त्यहाँबाट पठाए। त्यसको केहीपछि उक्त पुस्तक प्रकाशनका लागि स्वीकृत भयो। त्यसबेलादेखि मृत्युपर्यन्त तीनवटा कवितासङ्ग्रह तथा अनेकन पत्रिकाहरूमा कविता प्रकाशित गराई उनी स्थानीय तथा राष्ट्रियस्तरमा चर्चाको शिखरमा रहिन्। अगस्तिनीले सन् १९०७ मा 'एल लिब्डो ब्लाङ्को' (खाली पन्ना) र १९१० मा 'क्यान्तोस दे ला माङ्याना' (उषागान) शीर्षकका दुई कवितासङ्ग्रहहरू प्रकाशित गराइन्। उनको मृत्यु पश्चात् सन् १९२४ मा उनका सबै रचनाहरू दुई भाग गरेर प्रकाशित भए।
अगस्तिनीले आफ्ना कवितामा नारीको कामुकता तथा प्रेम र कलाप्रतिको सोच र ग्रहणशिलतालाई नारीका दृष्टिकोणबाट खुलस्तरूपमा व्यक्त गरेकी छन्।
सन् १९१३ को अगस्टमा उनले एनरिक जब रेयससँग विवाह गरिन्। उनीहरूको वैवाहिक सम्बन्ध एक वर्ष नपुगी टुङ्गियो। सम्बन्धविच्छेद भइसकेपछि ६ जुलाई सन् १९१४ मा रेयसले गोली हानेर अगस्तिनीको हत्या गरे र सो बन्दुक आफैंतिर फर्काएर गोली चलाए।