नासो

  • Get News Alerts

राम्रा कथा:
tata

 

 घरमा चञ्चलाश्री भईकन पनि देवीरमणका सन्तान थिएनन्। सन्तान होस् भन्नाका निमित्त हरएक उपाय गरे। चौतारो चिने, बाटो खने, पशुपतिमा महादीप बाले, गए साल हरिवंश पुराण लगाए, तैपनि सुभद्राको कोख सफल हुन सकेन। जोरीपारीसँग ठोकाबाजी पर्दा धन, बल, बुद्धि सबै कुरामा देवीरमणको जित हुन्थ्यो तर 'अपूतो' भनेको सुन्नेबित्तिकै उनको अभिमान धूलो हुन्थ्यो, आत्मग्लानीले पानी हुन्थे। पुरानो विचारका मानिस थिए, सन्तानबिना आफ्नो वैभवलाई तुच्छ सम्झन्थे।

विचरी सुभद्रा पनि खिन्न थिइन्। छिमेकका आइमाईले छोराछोरी खेलाएको देखेर उनलाई रहर लाग्थ्यो। सन्तानका आशाले सरल नारीस्वभाववश धामीझाँक्रीको बूटीजन्तर बाँधिन्, देवीदेवताको भाकल गरिन्। तीर्थ, व्रत, पूजा, पाठ पनि गरिन्। तर, दैवले नसुनिदिएपछि कसको के लाग्दो रहेछ र?

ज्योतिषीहरू देवीरमाणलाई अर्को विवाह गर्न सल्लाह दिन्थे। परन्तु सुभद्राको आदेशबिना उनी अर्को विवाह गर्न सक्तैनथे। सुभद्र बहुतै पतिपरायण रमणी थिइन्। आजसम्म कहिल्यै उनले देवीरमणको चित्त दुखाइनन्, मनको कुरा जानेर सेवा गर्थिन। सुभद्रा दुलही भएर आउँदाको बखतका भयङ्कर दुःख अहिलेसम्म पनि देवीरमणका आँखाका सामु नाचिरहेको थियो। ऊ अवस्था सम्झँदा गहभरि आँसु हुन्थ्यो। सुखदुःखकी साथी भएर कङ्गाल देवीरमणलाई सुभद्राले धनवान् बनाइन्। अहिले सन्तानका निम्ति सौता हालिदिएर कसरी कृतघ्न बनून्?

फागुन महिनाको बिहानीपखको सिरेटो मुटु छेड्ला भनेजस्तो गर्थ्यो। देवीरमण मण्डपमा बसेका थिए। नयाँ दुलही पनि एकै आसनमा थिइन्। ब्राह्मणहरू ऋचा पढेर अग्नीमा आहुति दिइरहेका थिए। प्रारब्धले यो उमेरमा उनलाई फेरि दुलाहा बनायो। एक दिन यस्तै रीतसँग उनले सुभद्राको पाणिग्रहण गरेथे। सुभद्राको आदेश पाई हो वा नपाई हो आज उनले अघिकै कृत्यलाई फेरि दोहोर्‍याए। यसबाट उनको भलोकुभलो के हुने हो यस कुराको उनैलाई पनि केही ज्ञान थिएन। बाह्र वर्षकी अबोध बालिकालाई ल्याएर उनी शून्य आकाशमा कल्पनातीत मनोमन्दिर निर्माण गर्न खोज्थे। सायद ब्रह्मवादीहरू त्यसैलाई आशापाश या मृगतृष्णा भन्छन् क्यारे?

अस्तु, करले होस् वा आन्तरिक प्रेरणाले होस्, उनले विवाहविधि समाप्त गरे। दुलही अन्माउने बेलामा कन्यापक्षका मानिसले रुँदै दुलहीलाई डोलीमा हालिदिए। दुलही पनि डोलीभित्र रुन लागिन्। त्यस बखत देवीरमणलाई साह्रै नरमाइलो लाग्यो। बाटामा बरियाँतीहरू परस्पर ग्रामीण ठट्टा गरेर खित्का छाडी हाँस्थे, परन्तु देवीरमणका कपालमा अर्कै विचारको द्वन्द्व हुन लागेको थियो । मनमनले भने– 'के सुभद्राले साँचो मनले सल्लाह दिएकी हो? सम्मति दिँदा किन अर्कोपट्टि फर्केर 'हुन्छ' भनेकी त? मेरो ज्यादा आग्रह देखेर 'हुन्छ' भनेकी त होइन? ओहो! मानिसहरू आफ्नो तीव्र इच्छामा अरूको सम्मतिलाई कसरी जबरजस्ती तान्छन्। छिः सुभद्राको आजीवन सेवाको पुरस्कार यही हो? म के गरूँ, मलाई के दोष? सन्तानबिना स्वर्गको बाटो छेकिन्छ भन्ने हिन्दू धर्म जानोस्। भोगको लालसाले होइन धर्मका आज्ञाले विवाह गरेको हुँ।' यस्तै तर्क गरेर चित्त बुझाउने कोसिस गर्दथे।

बरियाँत देवीरमणका घरनेर पुग्यो। गाँउले छिमेकीहरू चौतारामा रमिता हेरिरहेका रहेछन्। देवीरमणले एकएक गरी नियालेर हेरे, त्यो हूलमा सुभद्रालाई देखेनन्। बल्ल उनको छातीबाट ढुङ्गो पन्छियो। आज देवीरमणको गति त्यस बालक  छात्रको जस्तो थियो जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरुकहाँ पुग्दछ, अथवा त्यस अपराधीको जस्तो थियो जो परिचित मानिसलाई देखेर लुक्न खोज्दछ।

छिमेकीसँग कुरा गर्नाको बहानाले उनी केही पछि भए, जाँदा दुलही भित्र्याइसकी सुभद्रा दमाईडोलेहरुलाई ज्याला बाँड्न लागेकी रहिछन्। देवीरमणको हृदय गद्‍गद भयो, मनमनले भने, 'सुभद्रा स्वर्गकी देवी हो, व्यर्थै किन शङ्का गरेँ? छिः मानिसहरू आफ्नो कामले कसरी आफैं तर्सन्छन्।'

पाहुनापासासँग कुराकानी गरेर देवीरमण अबेला कोठामा सुत्न गए। पानसमा कडुवा तेलको बत्ती बलिरहेको थियो। नयाँ दुलही खाटमुनि ओछयानमा सुतेकी थिइन्। देवीरमण खाटमा पल्टे, उस ठाउँमा सुभद्राको ओछ्यान देखेनन्। अघि सुभद्राको ओछ्यान देवीरमणको खाटमुनि हुन्थ्यो। आज उस ठाउँमा नदेख्दा बीसौं वर्षदेखि सुतिरहेको कोठा पनि देवीरमणलाई  नौलोजस्तो लाग्यो। एकछिनपछि गृहकृत्य समाप्त गरेर सुभद्रा कोठामा पसिन्, देवीरमणको गोडा मिच्न लागिन्। यो उनको दैनिक काम थियो। सुभद्रा यसमा कहिल्यै त्रुटि हुन दिन्नथिन्। देवीरमण भने, 'सानू! तिम्रो ओछयान खोइ नि?'

'पल्लो कोठामा छ।'

'किन पल्लो कोठामा सारेको?'

'भोलि एकादशी हो, सबेरै गण्डकी नुहाउन जान्छु।'

'म पनि उहीँ सुत्छु।'

'उस्! यहीँ सुत्नुभए पनि हुन्छ।'

थाकेर आएका देवीरमणलाई चाँडै निद्रा पर्‍यो। आफ्नो दोलाइँ सौतालाई खापेर सुभद्रा पल्लो कोठामा गइन्। मधुरो बत्तीको धमिलो उज्यालोमा नौली घर्तिनी पात गाँसिरहेकी थिई। नौली देवीरमणकी पुरानो चाकर्नी हो। नौलीको उमेर झन्डैझन्डै सुभद्रासँग मिल्थ्यो। ८२ सालमा स्वर्गवासी महाराज चन्द्रशमशेर जङ्गबहादुर राणाका करुणाले दासजीवनबाट मुक्त भएकी थिई। घरकी पुरानी चाकर्नी हुनाले देवीरमणले नौलीको मोल लिएनन्, आफूखुसी भए पनि नौलीले घर छोडिन। नौली सुभद्राको बालककालदेखिको सुखदुःखकी साथी थिई। विधाताले सुभद्राको निमित्त नौलीरूपी एउटा दुःख पोख्ने भाँडो दिएका थिए। दुवैमा घनिष्ठ प्रेम थियो। नौलीले पात गाँस्दै भनी, 'बज्यै! आज ता साह्रै नरमाइलो लाग्यो होला?'

'किन नौली, किन त्यसो भनिस्? नरमाइलो लाग्नुपर्ने कुरा के छ र?'

'तैपनि, सौता भनेको मुटुको बह हो, आजै ओछयान छौड्नुपर्‍यो भोलि घरै छाड्नुपर्छ कि के जानिसक्नु छ  र!'

'छोड्नुपरे छोडिदिउँला, कुन दौलथको चैन गरेकी छु र? एक पेट खस्रोमसिनो खाएर, दिनरात बुहार्तन सहेकी छु। जुठोचुलो गरिदिए जसले पनि एक गाँस खान दिन्छ। तर सोझीजस्ती छ, पस्नेबित्तिकै ढोगिदिई।'

'सिकाएको हुदोँ हो बज्यै! कुनै दिन नौलीले भनिथी भन्नुहोला! सोझो बाङ्गिन केहीबेर लाग्दैन, अलि दिनपछि बाजेको टुपी समाउनेछिन्।'

'जेसुकै होस्, ईश्वरले बीसासय आयु गरिदिऊन्, फलेफुलेको देख्न पाइयोस् सन्तान भए करले पनि एक अँजुली पानी देला, यिनका हातकाखमा सास जाओस्, सबभन्दा ठूलो सन्तोष यही हो, नौली!'

.

तीनचार वर्षपछिको कुरो हो। एक दिन घरमा बसेर सुभद्रा छोरालाई भात खुवाइरहेकी थिइन्। सुशीलचाहिँ आँगनमा चरिरहेका परेवालाई पक्रने कोसिसमा थियो, सुभद्रा हातमा भातको गाँस लिएर 'को खाइ, को खाइ' भन्थिन्। सुशील मुख बाउँदै दौडेर आउँथ्यो। सुभद्रा गाँस मुखमा हालिदिन्थिन् बालक फेरि दौडेर परेवातिर जान्थ्यो। ती मूक पक्षीहरू पनि बालकसँग आनन्दपूर्वक खेलिरहेका थिए। सुशील गई समाउन खोज्थ्यो। परेवा अलि पर गई बस्थे, सुशील फेरि उहीँ पुग्थ्यो, परेवा फेरि उडेर अलि पर गई चर्न लाग्थे। सुभद्राको 'को खाइ' को आवाज सुनेर सुशील बीचबीचमा एकदुई गाँस भात पनि खाएर जान्थ्यो।

देवीरमण फलैँचामा बसेर यो अनुपम आनन्दप्रद बालक्रीडा हेरिरहेका थिए। उनलाई स्वर्गको डिलबाट पितृहरू पनि यस कुलावलम्बको बाललीला हेरिरहेका होलान् भन्ने भान भइरहेथ्यो। उनी यो शिशु सन्तानका आडमा एक महान् बलिष्ठ शक्ति लुकिरहेको देख्थे। सन्तानेच्छुक देवीरमणले आज यो दिन देख्न पाए। परिवर्तनशील संसारको गति विचित्र छ। परमेश्वर हाँस्नेलाई रुवाउँछन्, रुनेलाई हँसाउँछन्।

एक दिन सुशील तुलसीका मठनेर खेलिरहेको थियो। पिँढिबाट एकातिर लक्ष्मी एकातिर सुभद्राले हात थापेर 'नानी कता, कता, कता' भने। सुशील एक क्षणपछि दगुर्दै गई सुभद्राको छातीमा टाँसियो। सुभद्राको हृदय पवित्र पुत्रवात्सल्यले परिपूर्ण भयो; 'मेरो राजा' भनेर म्वाइँ खाइन्।

सुशीललाई लक्ष्मीले जन्म मात्र दिइन्, केवल सुभद्राले हुर्काइन्। सुभद्रालाई एकछिन छोड्दैनथ्यो। सुभद्रालाई 'आमा' भन्थ्यो, आफ्नी आमालाई 'दुलही' भन्थ्यो, किनकि लक्ष्मीलाई घरमा सबै जना 'दुलही बज्यै' भन्थे। 

.

माघ महिना थियो। किसानहरू बालीनाली थन्क्याई तीर्थ जाने फिक्रीमा थिए। देवीरमणलाई पनि तीर्थ गर्ने इच्छा भयो, मनमनले भने, 'पग चल्दै तीर्थबर्त नगरे कहिले गरूँला? मानिसहरू सम्पत्ति पाएर अन्धा बन्छन्; विवेक बुद्धिलाई खोपामा राखेर दिनरात पैसाका निमित्त हाहाकार मच्चाइरहन्छन्। ती गोठालाहरूको सम्पत्ति एक दिन अग्नि या चोरका निमित्त हुन्छ। अघि गरेको हुँदो हुँ, अहिले एक मानाको सन्तोष छ। अहिले फेरि गर्न सके सन्तानका जरामा मल पर्ला; परत्र बन्ला।' देवीरमण तीर्थ जान तयार भए। उनको एक्लै जाने विचार थियो; परन्तु गाँउका कैयन् बूढाबूढी, विधवा स्वास्नीमानिसहरु पनि तयार भए। देख्दादेख्दै देवीरमणको विशाल आँगन तीर्थयात्राका कुम्ले फौजले भरियो। गाँउका धेरै आइमाईहरू जान लागेको देखी लक्ष्मी पनि 'जान्छु' भनेर जिद्दी गर्न लागिन्। सुशीलचाहिँ देवीरमणको दौराको फेर समातेर रुन लाग्यो। यो बलिष्ठ बालहठलाई देवीरमणले उपेक्षा गर्न सकेनन्। आखिर लक्ष्मी र सुशीललाई पनि साथमा लिए। एक क्षण पछि त्यो तीर्थयात्रीहरूको समूह रानूको पछि माहुरीझैं देवीरमणको पछि लाग्यो। किन्तु सुभद्रालाई 'जान्छ्यौ कि?' भनेर कसैले एक वचन पनि सोधेन।

सुभद्राले मनमनले भनिन्, 'तीर्थबर्त गर्न मलाई पो लैजानुपर्थ्यो। मेरो को छ र, छोरा न छोरी! उसको उमेर थियो, जाँदै गर्दी हो। ऊ छोरो पाएकी स्वास्नी भई, वचन हार्न सक्नुभएन। म टेक्नेसमाउने केही नभएकी अनाथ; मेरो केको खोजी थियो! मानिस बलेकै आगो न ताप्छन्! जसलाई परमेश्वरले ठगेको छ, उसलाई मानिस पनि हेलाँ गर्छन्! ओहो! संसार कति मतलबी छ!' यस्तै तर्क गर्दै सुभद्रा धेरैबेरसम्म एक्लै रोइरहिन्।

सुभद्राले बाह्र वर्षको उमेरदेखि देवीरमणको दैलो पोत्न लागिथिन्। यो घर सुभद्रालाई संसारमा सबैभन्दा प्यारो वस्तु थियो। यी बस्तुभाउ यिनकै लालनपालनमा बढेर तरुण भएका थिए। यो घर, यी बस्तुभाउ, यी रूखवृक्ष सबै यिनै सन्तानहीन रमणीका साथी थिए। यिनीहरूसँगको वियोग सुभद्रा एकछिन पनि सहन सक्तिनथिन्। जान  सुभद्रा जान्थिन् कि जाँदैनथिन्, एक वचन सोधेसम्म भए उनको आँसु पुछिने थियो। एक वचन सोधिसम्म दिनाले बखतमा कत्रो काम हुन्छ त्यो कुरा मनोविज्ञान नजानेका देवीरमणलाई थाहा भएन।

मनोमालिन्यको एउटा सानो बीज चाहिन्छ। जो समयमा बढेर आफसेआफ भयङ्कर रूप धारण गर्दछ। त्यस्तै लक्ष्मी तथा सुभद्राका जीवनमा पनि यो तीर्थयात्रा मनोमालिन्यको एउटा बीज हुन गयो।

तीर्थबाट फर्केदेखि दुवैमा बहुधा झगडा हुन लाग्यो। सुभद्राले कुनै प्रश्न गर्दा लक्ष्मी छेड हानेर उत्तर दिन्थिन्। बस, कुरै कुरामा हानथापबाट ठूलो कलह खडा हुन्थ्यो। देवीरमण चुपचाप भएर सुनिरहन्थे। लक्ष्मीलाई ताडना गरून् भने पुत्रवती पत्नी, सुभद्रालाई ताडना गरून् भने धर्म तथा विवेकको हत्या। के गरून्, सांसारिक सुखलिप्साको टर्रो आनन्दको अनुभव गरिरहेका थिए। त्यस बखतमा उनले त्यो प्रबल वाकशक्ति हावा हुन्थ्यो। मानिसको पाण्डित्य अरूलाई उपदेश गर्नमा काम लाग्छ, न कि आफूलाई परिआउँदा।

यो प्रतिदिनको गृहकलहले सुभद्रको कोमल हृदयकुसुम एकदम ओइलायो। उनी कारागारी दुःखी बन्दीझैं भाग्ने मौका खोज्न लागिन्।

.

कालो अन्धकारमाथि पर्खी पर्खी कराउने हुचील पक्षीको विरसिलो 'हुकहुक' शब्द थपिँदा रात्री झन् भयङ्कर प्रतीत हुन्थ्यो। पल्लो गाउँमा कुकुर भुकिरहेको थियो। पृथ्वीमा मानवजातिको दुःखमय अवस्था देखेर अनन्त आकाशमा तारागण पिलपिल गरी रोइरहेका थिए। सुभद्राले आँगनमा आएर हेरिन्, एकछिनपछि त्यो विशाल नभस्थलबाट एउटा लामो ज्योति सल्ल बगेर तलतिर खस्यो। किन्तु यो कालो पृथ्वीमा झर्न नपाउँदै बीचैमा लुप्त भयो। अघि शैशवकालमा एक पटक यस्तै दृष्य देखेकी थिइन्। उस बखत आमासँग सोद्धा 'आकाशका देवगण हुन्, पुण्य सिद्धिनाले स्वर्गबाट पतन भएका' भन्ने जवाफ मिलेथ्यो। आज उही कुरा सम्झिकन, मनमनले भनिन्– 'हो! यो आकाशमा बसेर केही दिन पुण्यभोग गर्ने देवताका झैं म पनि आज सल्ल बगेँ। यिनीहरु पुण्य समाप्त भएपछि स्वर्गबाट चिप्लेर खस्छन्, हामी भोक, प्यास, दुःख, पीरले निस्तेज तथा ढलमल भएर पृथ्वीको पृथ्वीमै खस्छौं। हामी खसिसकेपछिको विभत्स रूप अरू शेष भोका, प्यासा, दुःखीहरूले देख्छन्। देवताहरूचाहिँ पुण्यभोगी हुनाले यो पापपूर्ण जगत्‌मा खस्नुपर्ला भनेर बीचैमा अलप हुन्छन्, मानिसहरूमा र देवतामा केवल यत्ति अन्तर न छ!'

सुभद्राले काखीमुनि एउटा सानो पोको च्यापेकी थिइन्। यस्तो अन्धकार रात्रिमा पनि कसैले देख्छ कि भनेर ओढ्नेले छोपेकी थिइन्। यस बखत उनको जीवनधार त्यही पोको हुन आयो। अहो! कुन बखत यो विशाल आशालता कसरी एउटा सानो ठाउँमा सीमित भएर बस्छ! परमेश्वर! मनुष्यलाई किन आशामा झुन्डयायौ? प्रभु! आशाको बदला सन्तोष दिएको भए यी अनाथ प्राणीहरू सुखमा कति नजिकै पुगिसक्थे!

केहीबेरपछि अश्रुपूर्ण नयनले प्यारो गृहलाई सदैवका निमित्त नमस्कार गरेर अनाथिनी सुभद्रा त्यो कालो अन्धकारमा विलीन भइन्। यो करूणाजनक दृश्य सधैं जागा भइरहने विश्वको चतुर चौकीदारबाहेक अरू कसैले देखेन।

.

पशुपतिनाथका मन्दिर वरिपरि तिल राख्ने ठाउँ थिएन। 'सद्‌बीउ' छर्ने यात्रुहरूको छिचोली नसक्नु घुइँचो थियो। यस्तैमा पश्चिम ढोकानिर अकस्मात् सुभद्रालाई देखेर नौलीले गहभरि आँसु पारेर भनी, 'ओहो बज्यै! हेर, कति दुब्ली, चिन्नै नसक्ने हुनुभएछ! अलिबेरसम्म त ठम्याउनै सकिनँ, कहाँ बस्नुभएको छ हँ?'

'यहीँ पर गौरीघाटमा, फुपूकहाँ।'

 'खर्चबर्च नलिईकन आधारातमा हिँड्नुभएछ। थाहा पनि पाइनँ। यतिका दिनसम्म के खाएर गुजारा गर्नुभो?'

 'फूपुलाई सरकारबाट एउटा हन्डी बक्सेको रहेछ, त्यसबाट दुई जनाले गुजारा चलाएका छौं। घरको हाल कस्तो छ नौली?'

'बज्यै घरको हाल के भनूँ, सम्झँदा पनि आँसु आउँछ। छ महिना भो, दुलही बज्यै बिरामी हुनुहुन्छ।'

'के हुन्छ?' सुभद्राले साह्रै उत्सुकताका साथ सोधिन्।

 'तपनि जरो छ; 'छाती दुख्छ' भन्नुहुन्छ। रातभर खोकिरहनुहुन्छ। गोरखा मूलका डाग्डर सुबिदारलाई देखाउँदा 'थाइसी' भने कि 'खाक्सी' भने अहिले सम्झन सकिनँ, साह्रै नराम्रो रोग हो अरे, सुकेर हाडछाला मात्र छ। बोकेर बाहिरभित्र गराउनुपर्छ।

 'सानो बाबु कस्तो छ नि?'

'कस्ता हुन्थे, जीउभरि खटिरा छन्; तेल लाउन हुँदैन; 'आमा कहिले आउनुहुन्छ?' भनेर बराबर तपाईंलाई सम्झिरहन्छन्।'

'भात को पकाउँछ नि?'

'कहिले बाजे आफैं पकाउनुहुन्छ, कहिले चमेना खाएर सुत्नुहुन्छ। एक दिन बार्दलीमा बसेर एक्लै रोइरहनुभएको रहेछ, 'आफूले चिनेको चौतारो पापिनीले आफैं भत्काएर गई' भन्नु हुन्थ्यो। केके भनूँ बज्यै! बस्तुभाउका हाडछाला मात्र छन्, खेलबारी अधियाँमा दिएको छ। आसामीपात एक पैसा उठ्दैन; नोकरचाकर चार दिन टिक्दैनन्, सबै भताभुङ्ग छ।'

 नौलीका कुरा सुनेर सुभद्राको हृदय काटियो। मनमनै भनिन्, 'छि:! 'सौताको रिसले पोइको नाक काट्नु' भनेको यही हो। उमेरदार थिई, के खाऊँ के लाऊँ भन्ने बेला थियो, मीठो खाई राम्रो लाई भनेर मैले चित्त दुखाउन नहुने। उसलाई लिएर तीर्थ जानुभो त त्यसले के भो र? फर्कनुभएपछि अर्को साथी लिएर म जाँदी हुँ। कहिलेकाहीँ अलि झर्केर बोल्दथी लौ, अलि झडङ्गे स्वभावकी थिई, स्वभावै त्यस्तो, एक ठाउँमा भएपछि कहिलेकाहीँ आमाछोरीमा पनि त ठाकठुक हुन्छ। एकै घरमा बस्न नसके कटेरो बारेर बस्दी हुँ। मैले साह्रै बेबुझको काम गरेँ। जोरीपारीले के भन्दा हुन, आफ्नो त्यत्रो दौलथ छोडेर यहाँ एक छाक खाएर बसेकी छु। त्यसका जीउमा केही भइदियो भने त्यस चिचिलो बालकको के गति होला? पितृले के भनलान्? चित्त दुखाए पनि आमाले दुखाई; त्यो बालकले के बिरायो? अघि कहिलेकाहीँ एकदुई छाक भात पकाउनुपर्दा दिक्क मान्नुहुन्थ्यो। आजकाल दिनहुँ कसरी पकाउनुहुँदो हो? इत्यादि मनोवेदनाले सुभद्राको हृदय छियाछिया भयो; आँसु झार्दै भनिन्, 'नौली! त्यस्ता बेलामा तैँले पनि छाडेर आइछेस्।'

'बज्यै! जन्मभर अर्काकी दासी भएर बस्नुपर्‍यो, चारोटा अक्षता भए पनि छरेर आऊँ भनेर बाजेसँग बीसै दिनको बिदा मागेर आएकी।'

 'कोसँग आइस्?'

 'रातमाटे भँडारी पण्डितकी जहानसँग।'

 'कैले जान्छेस्?'

'भोलि बिहानै। बज्यै! बिन्ती छ, घर जाऔँ तपाई नभए बाजेको जहाजै डुब्छ!'

.

मैलो बिछ्याउनामा सुतेकी लक्ष्मी जीवनको शेष घडी गनिरहेकी थिइन्। देवीरमण रोगीका सिरानमा बसेर बखतबखतमा चम्चाले पानि ख्वाउँथे। बालक पुत्र सुशील आमानेर बसेर यो चिर मातृवियोग हेरिरहेको थियो। लक्ष्मी कहिलेकाहीँ सुशीलको मुखपट्टि हेरेर बर्रर आँसु झार्थिन्। मधुरो बत्तीको धमिलो प्रकाशमा रोगीको कोठा स्मसानजस्तो देखिन्थ्यो। त्यस्तैमा दैलो उघारेर नौलीले देवीरमणलाई ढोगिदिई। नौलीलाई देखेर देवीरमणको दुःखको लहरी केही शान्त भयो। देवीरमणले भने, 'नेपालबाट कहिले आइपुगिस् नौली?'

 'बाजे, आउँदै छु, दुलही बज्यैलाई कस्तो छ?'

 'तेल त अघि नै सिद्धिसकेको थियो, अब बत्ती निभ्न बाँकी छ।'

 'बाजे, यस बखतमा ठूली बज्यै भए सबै कुराको सम्भार हुने थियो, के गरूँ, 'जाऊँ' भनेको मान्नु भएन।'

 'के तैँले भेटिस् र?'

 'पशुपतिनाथको मन्दिरनिर भेटेथेँ।'

 'कस्ती थिई?'

'एकदम दुब्ली, मैला लुगा लगाएकी, मायालाग्दी।'

'कहाँ बसेकी रैछ?'

 'गौरीघाट फुपूकहाँ बसेकी छु। फुपूलाई सरकारबाट एक हण्डी बक्सेको छ, त्यसैबाट दुई जनाले गुजारा चलाएका छौं, भन्नुहुन्थ्यो।'

 देवीरमणका दुवै आँखाबाट आँसुका धारा बगे। मनमनले भने, 'यत्रो सम्पत्तिकी मालिक्नी भईकन सुभद्रा नेपालमा एक छाक खाएर बसेकी छ। उसमा पनि दुब्ली, मैला लुगा लगाएकी, मायालाग्दी। हरे परमेश्वर! म पापी हुँ, मेरो जीवनलाई हजारबार धिक्कार छ! सुभद्रा मेरी गृहलक्ष्मी हो, ऊ गएदेखि विपत्तिको बादलले घेरिरहेछ! हामीलाई नभए पनि यो बालक सन्तानलाई सम्झनुपर्ने, सबैलाई चटक्कै बिर्सी' इत्यादि दुःखमनाउ गरेर आँसु झार्दै भने, 'नौली! तँ आइछेस्, घरको सम्भार राखेस्, म भोलि बिहानै नेपाल जान्छु।'

 त्यस्तैमा सुभद्रा घरभित्र पसिन्। अत्यन्त दुब्ली, निदाउरी, मलिन, झुत्रा लुगा लगाएकी, मुखमण्डलमा असीम करूणा तथा संयम झल्किरहेको थियो। सुभद्राको शारीरिक अवस्था देखेर देवीरमणको हृदय टुक्राटुक्रा भयो। दुवै हातले मुख छोपेर रुन लागे। पतिलाई दण्डवत् गरेर सुभद्रा लक्ष्मीको सिरानमा बसिन्।

 नौलीले भनी, 'ओहो! बज्यै आइपुग्नुभयो।'

 नौलीको स्वर सुनेर लक्ष्मीले आँखा उघारिन्। सुभद्रालाई आफ्ना सिरानमा बसेको देखेर, सुस्तरी लरबरिएको स्वरले भनिन्, 'दिदी! तपाईंको दर्शनलाई एक मुठी सास झुन्डिरहेको छ।'

 लक्ष्मीको बचन सुनेर सुभद्राको हृदयको मैलो एकदम साफ भयो, भनिन्, 'बाबू, मैले आफ्नो कर्तव्य बिर्सिछु!'

 लक्ष्मीले सुभद्राको छातीतिर देखाएर भनिन्, 'त्यहाँ साह्रै कडा चोट लागेको छ!'

 सुभद्राले आँसु झार्दै भनिन्, 'निको भो बा! अस्ति नै निको भइसक्यो, सानो तिलको दाना जति पनि बाँकी छैन!'

 त्यसपछि 'दिदी, तपाईंको नासो!' भनेर लक्ष्मीले सुशीलको हात सुभद्राको काखमा राखिदिइन्। छोरालाई काखमा लिएर सुभद्रा रुन लागिन्। यी सबै सुभद्राको निमित्त जिन्दगीभर सम्झँदै रुँदै गर्ने खुड्काहरू थिए।

 निभ्ने बेलाको बत्तीझैं लक्ष्मीको मुख एक क्षणका निमित्त तेजोमय भयो। अनि पछि अन्धकार! लक्ष्मी यो दुःखमय संसारलाई छोडेर अनन्तमा पुगिन्। देवीरमण, नौलीहरू पनि रुन लागे।

 

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट