‘मेरो दश वर्षे कार्यकालमा तिमी जस्तो पापी आईमाई मैले कैले पनि देखिनँ। संसारमा तिमी जस्तो आमा पनि हुँदो रैछ। कसरी छोराको हत्या गर्न सक्यौ। त्यो बच्चाको के दोष थियो? लु भन तिमीले छोराको हत्या किन गर्यौ?' प्रहरी निरीक्षकले आक्रामक शैलीमा हत्यारालाई सोधे।
साब, मेरो नाम लक्ष्मी हो। मलाई गाउँमा माइली पनि भन्छन्। म अहिले २६ वर्षकी भएँ। मेरो श्रीमान्को नाम जीत बहादुर हो। हाम्रो छ वर्षको छोरा थियो। मेरो घर यहाँबाट दुई घण्टामा पुगिन्छ। हाम्रो सानो परिवार थियो। मेरो लभ म्यारिज भएको हो। हामी हाँसी खुसी नै बसेका थियौं। उहाँको पैसा आउने खालको काम केही थिएन।
मेरो साथीहरूले सुन र नयाँ साडी लाएर हिंडेको देख्दा मलाईभन्दा बढी मेरो बुढाले पीर मान्नु हुन्थ्यो। प्राय: गाउँमा सबैका बुढा बिदेशमा थिए। उहाँ पनि बिदेश जान्छु र तिमीलाई पनि सुन किन्दिन्छु भनिराख्नु हुन्थ्यो। सुन र नयाँ साडी लाउन कुन छोरी मान्छेलाई मन पर्दैन होला। तर बिदेश जानेहरूको कहिले के कैले के नराम्रो खबर सुनिराख्थे। त्यही भएर बुढालाई बिदेश पठाएर सुन र साडी लाउन पटक्कै मन थिएन।
श्रीमान्को आयश्रोतको नाममा केही थिएन। सासुससुराले दिएकै भरमा गुजारा चलाउनु पर्थ्यो। जब हाम्रो छोरा जन्मियो। त्यसपछि जिम्मेवारी बढ्दै गयो। अरूको बच्चाहरूले नयाँ-नयाँ लुगाहरू लगाएर हिँडेको देख्थेँ। खेलौनाहरू खेलाएर रमाइलो गरेको देख्थेँ। छोराले पनि किन्दिनु भनेर खुब लडिबढी गर्थ्यो। उसको रहर पूरा गर्न नसक्दा भने मरे जत्तिकै हुन्थेँ। त्यसपछि म आफैंले बुढालाई बिदेश जानु भनेर घच्घच्याउन थालेँ।
बूढाले पासपोर्ट बनाएको तीन महिनामै भिसा लाग्यो। उहाँ मलेसिया उड्नुभयो। महिनै पिच्छे पैसा पठाइ राख्नु हुन्थ्यो। प्राय: हामी इमोबाट कुरा गर्थ्यौं। त्यसो गर्दा खर्च कम हुन्थ्यो। उहाँको प्रत्येक छुट्टीको अघिल्लो दिन हामी राति अबेरसम्म कुरा गर्थ्यौं। छोरालाई खुब माया गर्नु हुन्थ्यो। छोरा पनि बाबा भने पछि हुरूक्कै हुन्थ्यो। वर्षदिन त उहाँले फोन गरिराख्नु हुन्थ्यो। पछि कम हुँदै गयो। पैसा पनि घर खर्च मात्र पुग्ने पठाउन थाल्नुभयो। मैले फोन गर्दा आजकाल अलि व्यस्त छु, कामको लोड धेरै छ भन्नु हुन्थ्यो। होला नि त भनेर सम्झेँ।
उहाँको तीन वर्षको भिसा सकिन चार/पाँच महिना थियो। कसै-कसैले तेरो बुढा अर्को केटीसँग लागेको छ भनेर सुनाउँथे। म वास्ता गर्दिनथें। खासमा मलाई ज-जसले सुनाउँथे उनीहरूको बुढा पनि अर्कैसँग लागेको छ भनेर सुन्थेँ। छोरो मान्छे हो वर्ष दिनसम्म त्यतिकै त के बसेको होला र भन्ने लाग्थ्यो। बस् आँखाले देख्न नपरोस् भन्थें। सौता चै नहालिदिए हुन्थ्यो प्रभु भनेर प्रार्थना गर्थें। मलाई जे कुराको ठूलो डर थियो आखिर त्यही भएरै छोड्यो।
भिसा सकिएपछि मेरो श्रीमान् नेपाल फर्किए। घर आएको एकसाता पछि नै तल्लो गाउँको केटी भगाएर लगे। उनीहरूको पहिलादेखि नै चिनजान थियो। त्यो केटीलाई म पनि चिन्छु। जहाँसम्म लाग्छ उनलाई हाम्रो परिवारबारे पनि थाहा थियो। उनी कन्ये केटी नै थिइ। तर ब्याइफ्रेन्डहरू थुप्रै थियो भन्नेसम्म सुनेको हो। उनीहरूको जिस्किँदा जिस्किदै फेसबुकबाट लभ परेको रहेछ। अरूको जीवनमा मात्र यस्तो घटना सुनेको थिएँ। आफैंलाई पर्दा त विश्वास गर्नै गाह्रो हुँदोरहेछ। धेरै दिन बाटो हेरेँ। नआएपछि विश्वास गर्न करै लाग्यो।
बुढाले दोस्रो विवाह गरेपछि मेरो दु:खको दिन सुरू भयो। घर, आफन्त र गाऊलेहरूले पनि हेला गर्न थाले। म बाट सबै टाढा हुन थाले। माइतीमा माइतिहरूको आफ्नै बिजोग थियो। पीडामाथि पीडा के दिनु भन्ने लाग्यो। ज्वाँईले केटी भगायो भनेको थाहा पाएपछि दाईले एकचोटी फोन बाहेक कसैले सम्झेनन्।
यो बेला बा-आमा खुब सम्झेँ। उहाँहरू भएको भए रुएर भए पनि दु:ख बिसाउथेँ भन्ने लाग्यो। साथी सङ्गीहरूले बाटोमा, मेलापात जाँदा कुरा काट्न थाले। अगाडि सन्तवना दिए पनि पछाडि ठीक्क पर्यो भन्थे।
बुढाले भएको गरगहना सबै लगे। सासुससुराले पनि वास्ता गर्न छाडे। मसँग छोरालाई खुवाउने पैसा पनि हुन्थेन। कसैबाट पनि सहारा नपाएपछि आत्महत्याबाहेक अरू उपाय देखिनँ। अन्त्यमा म आत्महत्या गर्ने निर्णयमा पुगेँ। मैले पटक-पटक आत्महत्या गर्न खोजेँ तर छोरोको बिजोग हुन्छ भनेर गरिनँ। सोच्थें यदी मैले आत्महत्या गरेँ भने सौताले भोकै राख्छ। पिट्छ। साह्रै दु:ख दिन्छ भन्ने लाग्थ्यो। त्यो सम्झेर मन साह्रै रुन्थ्यो।
बरू एकछिन गाह्रो होला मरे पनि सँगै मर्ने भन्ने लाग्यो र बिष खाएर दुबै जना मर्ने सोच बनाएँ। गाउँमा मुसाको बिष किन्दा शंका गर्छ भनेर बजार आएँ। ५ / ५ प्याकेट गरी दुई ठाउँमा किनेँ। आधा किलो कुखुराको मासु पनि किनेर लगेँ। छोरालाई कुखुराको मासु खुब मन पर्थ्यो। पकाए। त्यसपछि मासुमा बिष मिसाएर खान दिए। सबै खायो।
छोरा सुत्न लागिराथ्यो। म उसैलाई हेरिराथेँ। खाएको केहिबेर पछि पेट दुखो भनेर रून थाल्यो। ऊ आत्तिए जस्तो गर्न थाल्यो। खाटमा लडिबढी गर्न थाल्यो। ऊ झन् कालिएर रूँन थाल्यो। उसमा अचम्मको डर देखेँ। खाटबाट झरेर मलाई गर्लम्म अँगाल्यो हाल्यो। मम्मी पेट दुख्यो भनिरह्यो। खै के सम्झेर हो कोनि मैले औषधी राखेको बट्टा तिर देखाउँदै औषधी खाने भन्यो। टाउको दुखेको बेला र जूकाले पेट दुखेको बेला त्यही बट्टाबाट औषधी झिकेर दिन्थेँ।
ऊ निको हुन्थ्यो। शायद आज पनि निको हुन्छु भनेर होला औषधी मागिरह्यो। मैले उसलाई सुत्न भने। सुते निको हुन्छ भनेँ। मेरो विश्वास गरेर आज्ञाकारी भई मेरो काखमा सुत्न खोज्यो। तर निदाउन सकेन। रुईरह्यो। निकै बेरपछि मुखबाट फिँज निकाल्न थाल्यो। घरिघरि तिर्खा लाग्यो पनि भन्थ्यो। मसँग जीवनको भिख मागिरह्यो। तर मैले उसको कुनै पनि अनुरोध सुनिनँ सा’ब।
नौ महिना गर्भमा राखि ज्यान जोखिम मोलेर जन्माएँ। राति सुत्दा थिच्चु कि भनेर खुब सजग हुन्थें । पटक-पटक ब्युँझदैं हेर्थें। ऊ कतै लड्छ कि, हतियारले काट्छ कि वा आगोले पोल्छ कि भनेर डर लाग्थ्यो। उसको स-सानो बिमारले पनि मलाई पटक्कै निन्द्रा लाग्दैनथ्यो। तर त्यो दिन ऊ जति सक्दो चाँडो सुतेको हेर्न चाहन्थेँ।
बिस्तारै उसको आवाज कम हुँदै गयो। घरिघरि आँखा खोलेर मलाई हेर्थ्यो। केही आश गरेको जस्तो लाग्थ्यो। आसुँ निरन्तर बगिरहेको थियो। मुखबाट रगत निस्केपछि लामो-लामो गरी सास तान्न थाल्यो। बिस्तारै उसले सास फेर्न छाड्यो।
छोराको शरीर चिसो भएपछि म पनि बिष खाउला भनेर पर्खिरहेँ। चिसो हुन धेरैबेर लाग्यो। त्यतिन्जेलसम्ममा मैले आत्महत्या गर्ने सोँच त्यागेँ। मैले जिन्दगीदेखि फेरि पनि हारेँ। मैले छोरालाई मारे सा’ब। म छोराको हत्यारा हुँ साब। हत्यारा हुँ।
हत्याराको कुरा सुनेर प्रहरी निरीक्षक झन् झन् रिसले चूर भए। ‘थुक्क ज्यानमारा। बच्चाले ज्यानको भिख माग्दा पनि कसरी मार्न सकिस्। तलाई अलिकति पनि दया लागेन है। बच्चाले आमालाई विश्वास नगरेर अब कसलाई गर्ने। तँ जस्तोलाई त सिधै सुट गर्नुपर्ने’, जङ्गिदै प्रहरी निरीक्षक कराए। छेउमा बयान लेख्ने हवल्दारले संयम् हुन आग्रह गर्यो। हत्याराको देब्रेपट्टि छेउमा महिला प्रहरी चुपचाप उभिएर सुनिरहेकी थिईन्। उनलाई पनि भित्रभित्रै रिस उठेको थियो तर सिनियरहरूको अगाडि रिस लुकाएर बसिन्।
प्रहरी निरिक्षकले खाँउलाझैं गरेर सोध्यो ‘त्यसो भए तँ चाइ किन मरिनस्? कि तलाई मर्न डर लाग्यो?'
साब ! सोचेकि थिएँ बिष खाने बित्तिकै मरिन्छ भनेर। तर त्यती सजिलै मृत्यु पनि काँ हुँदोरछ र। छोरो निकै बेर छट्पटाइ रह्यो। धेरै बेर रोइरह्यो। उसको पीडा देख्न सकिनँ। मन भत्भती पोल्यो। सोचेँ त्यती साह्रो पीडा त सौताले पिटे पनि हुँदैन थियो भन्ने लाग्यो। भोकै राखे पनि त मार्दैन थियो होला नि। बाऊले केही नगरे पनि मार्न त दिदैनथ्यो होला नि भन्ने लाग्यो। छोराले दुई/चार वर्ष सहेको भए मागेर भए पनि खाईहाल्थ्यो भन्ने सोचेँ। त्यसपछि मर्ने योजना त्यागेँ।
किनकि मेरो गाउँमा थुप्रै महिलाहरू मेरै जस्तो सोंच राखेर बसेका छन्। उनीहरूलाई पनि भोलि बुढा वा बुढीले छाडे मेरै जस्तो सोंच राख्ने छन्। उनीहरू कै कुरा सुनेर नै मैले यस्तो सोंच बनाएँ। मैले गलत गरेँ। उनीहरूलाई सुनाउन मात्र भए पनि म बाँचेको हो। आफ्नो गलत निर्णयको शिकार छोराछोरी बनिनु हुन्न भन्ने लाग्यो। आफूले त छोरा गुमाएँ गुमाएँ तर अरूले आफ्नो सन्तान नगुमाओस् भन्नलाई जिउदो लास तपाईँको अगाडि उभिएको छ। मलाई मर्न रत्तिभर डर छैन। म त त्यस दिनदेखि नै मरिसकेको छु। मलाई संसारको जुनसुकै सजाय दिए पनि कम हुन्छ साब।
त्यसो भनेपछि अब भने भक्कानिएर रुँन थालिन्। उनको कुरा सुनेपछि प्रहरी निरिक्षक खङ्ग्रङ्ग भए। बयान लेख्ने हवल्दार पनि एकछिन रोकिए। उभिरहेकी महिला प्रहरिले पनि पिलपिल आसुँ झारिरहेकी थिईन्। त्यसपछि इन्स्पेक्टरलाई केही सोध्न मन गरेन। हत्याराले हत्या कबूल गरिसकेको थियो। जीवनमा यस्तो पनि केस देख्नु पर्दोरहेछ भनेर टोलाइरह्यो।
एकछिन पछि प्रहरी निरीक्षकले हत्याराको हतकडी खोलिदिएर जेलभित्र राख्न महिला प्रहरीलाई आदेश दिए। हत्यारा महिला जेलको ढोकामा छिर्नै लाग्दा फर्किएर भनिन् 'साब मेरो एउटा अन्तिम इच्छा छ। हजुरलाई बिन्ती चढाउँछु।'
भारी स्वरले प्रहरी निरीक्षकले भन्यो 'हजुर भन्नुहोस्'
साब, अब मेरो दिल र दिमाग मेरो बसमा छैन। कुनै पनि बेला काम नगर्न सक्छ। मैलेजस्तै सन्तान मारेर आफू पनि मरेको समाचारहरू पढेको छु। यो गलत हो भन्न चाहन्छु। यो ठूलो पाप हो भन्न चाहन्छु। यहाँ हात खुट्टा नहुनेले पनि गरेर खाएको छ। परिवार पालेको छ। यही सन्देश दिन बाँचेर आएको हुँ। हजुरले मेरो कथा पत्रिकाहरूमा छपाई दिएर सारा जगतले थाहा पाओस् भन्ने इच्छा छ साब।
'हुन्छ, अवस्य' भनेर प्रहरी निरीक्षकले वचन दिए।