सत्ताको स्वाद चाख्न
सत्तामै पुग्नुपर्छ
नमरी स्वर्ग देख्न
सत्ता नै थुत्नुपर्छ
त्यो धूर्तलाई पर्ने चिट्ठा हो
रातो गुलियो मिठ्ठा हो
नपुग्नेलाई के थाहा
सत्ता के हो?
अन्य विविध पाउने
भत्ता के हो?
सत्ताले झुलाउँछ
आनन्दमा भुलाउँछ
सरर विदेश भ्रमण
सुरक्षित वातावरण
जनताको काम भोट दिने
ज्यान दिइ सत्तामा पुर्याउने
सत्तामा पुग्नेलाई
जति खायो त्यति स्वाद
माथिमाथि चच हुई
स्वर्गको मात्र उन्माद
त्यहाँ पुगेपछि छोड्दैन
सत् पसिना ओढ्दैन
देश फाँडेर होस्
एक आपसमा बाँडेर होस्
जसरी जहिले पनि सत्ता नै चाहिन्छ
हजुर बक्सियोसको मर्यादा नै चाहिन्छ
कोही कसरी पुगे
कोही त्यसरी पुगे
जसरी पनि पुगे
सत्तामा तिनै पुगे
दाउपेच जान्ने चाहिँ
छिनछिनै पुगे
कोही श्रीमतीसहित पुगे
कोही चनमतीसहित पुगे
कोही छोराछोरीसहित पुगे
समानुपातिकबिना जीत पुगे
चाकरी चाप्लुसी सबै पुगे
जिब्रो पडकाई सबै भोगे
आखिर पुग्नु नै थियो
सत्ताको स्वाद न हो
जनताको सेवा नगरे
देशको बर्बाद न हो।