मैले फेरि यो गरिसिध्याएकी छु।
हरेक दश वर्षमा एकपल्ट
यस्तो गर्ने गरेकी छु मैले।
एक किसिमको डुलुवा जादू,
मेरो छाला
नाजी बत्तीको छाया जत्तिकै चम्किलो।
मेरो दाहिने गोडो
एउटा पेपरवेट।
मेरो अनुहार भविष्यविहीन
मिहिन यहुदी मलमल कपडा।
नेप्किन उधार,
ए मेरो बैरी।
के मैले डर लगाएँ?
नाक, आँखाका खोपिल्टा, दाँतका पूरै सेट
बैराग लाग्दो श्वास
एक दिनमै विलिन हुनेछ।
चाँडै, छिट्टै नै
चिहानले खाएको मासु
हुनेछु म।
म एउटी भर्भराउँदी नारी,
तीस वर्षकी मात्र भएकी छु,
र बिरालाको जस्तो नौपल्ट मर्नु छ मैले,
यो तेस्रोपल्ट हो।
दशकै पिच्छे मरिरहनु
कस्तो दिक्क लाग्दो।
कत्ति बिध्न अनगिन्ति तन्तुहरू!
तँछाडमछाड गर्दै आउनेछ
बदम चबाउने भीड
तिनले मेरा हातगोडा खोलेको हेर्नलाई।
उल्याउनेछ घेरा लागेर।
ए, महिला तथा सज्जनवृन्द!
यी मेरा हात हुन्,
मेरा घुँडा हुन्,
छाला र हाड मात्र हुनसक्छु म।
तै पनि, म त्यही हुँ,
दुरुस्त उही नारी।
पहिलोपल्ट
म दश वर्षकी हुँदा भएथ्यो यस्तो।
तर त्यो एउटा दुर्घटना थियो।
दोस्रोपल्ट
यसलाई सिध्याएर
कहिल्यै नफर्किने विचार थियो मेरो।
बन्द थिएँ म
समुद्री सिपी जसरी।
तिनीहरूले बोलाएको बोलायै गरेर
टाँसिएको मोती जसरी झिक्नु परेको थियो
हतभागी जीवनलाई
मबाट।
मर्नु
एउटा कला हो, अरू कलाहरू जस्तै,
म यो विशिष्टरूपले कुशलताका साथ प्रस्तुत गर्नेछु।
वीभत्स लाग्ने गरी
गर्नेछु म यो,
साँच्चैको झैँ अनुभूत हुने गरी गर्नेछु।
बोलाइएकै थियो मलाई भन्ने ठान्नेछौ तिमीले।
यो एउटा बन्द कोठामा गर्नु निकै सहज हुन्छ।
यो गरिसकेर त्यहीँ रहिरहनु निकै सजिलो हुन्छ।
नाटकीय आनन्दको हुन्छ यो।
छ्याङ्ङ उघ्रेको दिनमा पुनरागमन
उही ठाउँमा, उही अनुहार, उही सुगन्ध।
आश्चार्यले निस्किएका आवाजहरू-
'एउटा जादू!'
मेरो ढोका ढक्ढक्याउँछ।
एउटा संवेग प्रवाहरत छ त्यहाँ।
मेरा चोटहरू हेर्नका लागि,
मेरो मुटु सुन्नका लागि त्यहाँ एउटा संवेग छ –
यो सहजै सम्पन्न हुनेछ।
र त्यहाँ एउटा प्रहार छ, निकै ठूलो प्रहार
एउटा शब्द वा एउटा स्पर्शका लागि
अथवा एक छिर्को रगतका लागि,
वा मेरो केश वा मेरो कपडाको एक टुक्राका लागि।
हजुर, हजुर डाग्डर साहेब!
हजुर, दुश्मन साहेब!
म तिम्रो किताब हुँ,
म तिम्रो सम्पत्ति हुँ,
विशुद्ध अकबरी सुनको वालक।
जो पग्लिएर एउटा चिच्याहट हुन्छ।
म फनक्क फर्किन्छु र जल्दछु
तिम्रो अजङ्गको चासोलाई मैले कम आँके भन्ने नठान।
खरानी, खरानी...
जति खोतले पनि
जति चलाए पनि
मासु, हड्डी, केही छैन त्यहाँ...
एक डल्लो साबुन,
बिहेको एउटा औँठी,
सुन राख्ने बट्टा।
हे ईश्वर, हे राहू
सावधान!
सावधान!
खरानीबाट निस्कनेछु
राताराता केश फिँजार्दै।
र हावा खाएजसरी
खानेछु म मान्छेहरूलाई।
सिल्भिया प्लाथको जन्म २७ अक्टोबर सन् १९३२ मा संयुक्त राज्य अमेरिकाको बोस्टनमा भएको थियो। उनले सानै उमेरदेखि कविता लेख्न थालिन्। उनी एघार वर्षकी छँदादेखि विभिन्न क्षेत्रिय पत्रिकाहरूमा उनका कविताहरू प्रकाशित हुन थाले। उनको पहिलो राष्ट्रियस्तरको प्रकाशन १९५० मा क्रिश्चियन मोनिटरमा भएको थियो।
सिल्भियाले सन् १९५० मा स्मिथ कलेजबाट म्याट्रिक गरिन्। गहिरो अवसाद र आत्महत्याका अनेकौँ कोशिसका बीचैबीच उनले सन् १९५५ मा स्नातकको अध्ययन पूरा गरिन्। स्नातक पूरा गरेपछि फुलब्राइट स्कलरसिपमा पढ्नको लागि उनी इङ्लेन्डको केम्ब्रिज विश्वविद्यालय पुगिन्।
सिल्भियाको पहिलो कवितासङ्ग्रह 'कोलोसस'’(महामूर्ती) सन् १९६० मा इङ्ल्यान्डमा र त्यसको दुई वर्षपछि अमेरिकामा प्रकाशित भयो। उनी फेरि इङ्ल्यान्ड फर्किन् र सन् १९६० र १९६२ मा दुई वटा सन्तानलाई जन्म दिइन्। सन् १९६२ मा प्लाथले 'भिक्टोरिया लुकास' उपनामले 'द बेल जार' शीर्षकको आत्मकथात्मक पुस्तक प्रकाशित गराइन्।
सन् १९५६ मा सिल्भियाको भेट अङ्ग्रेज कवि टेड ह्यूजसँग भयो, र सोही वर्ष उनीहरू आपसी विवाहबन्धनमा बाँधिए। टेडको अर्की महिला आसिया वेव्हिलसँग प्रेम सम्बन्ध चलिरहेको सिल्भियाले सन् १९६२ मा थाह पाएपछि उनीहरू अलग्गिए, तर कानूनीरूपमा सम्बन्धविच्छेद भने गरेनन्।
प्लाथले ११ फेब्रुवरी सन् १९६३ मा आफू बस्ने घरको तल्ला तलामा बस्नेलाई डाक्टर बोलाउने अनुरोध गरेर सानो चिरकटो पठाइन् र यसैबेला आत्महत्या गरिन्।
सिल्भिया प्लाथको जीवनकालमा 'कोलोसस'’मात्र प्रकाशित भएको भए पनि उनी एक महान कविका रूपमा चिनिइसकेकी थिइन्। उनको मृत्युपश्चात् ह्यूजले उनका कविताका तीनवटा सङ्ग्रह प्रकाशित गराए, जसमध्ये'द सेलेक्टेड पोयम्स' (प्रतिनिधि कविताहरू) ले सन् १९८२ को पुलिट्जर पुरस्कार प्राप्त गर्यो।