त्यो कुर्सी नै त्यस्तो रैछ कसलाई गर्नु गाली
यता कराउ उता कराउ समय बर्बाद खाली
नेता त्यहाँ कति बसे सबै उस्तै अरे
राजादेखि नेतासम्म सबको एउटै माली ।।
सबै नेता बस्न खोज्ने कस्तो हो त्यो कुर्सी
ज्ञानेन्द्रलाई कुत्कुती भो बसे एकै पाली
उनलाई पनि त्यै कुर्सीले कटायो नागार्जुन
गणतन्त्र ल्यायौं हामीले राजतन्त्रलाई फाली ।।
प्रचण्ड थे नयाँ जोगी धेरै खरानी घसे
सेनापति काण्ड ठूलो दियो नि निकाली
झलनाथका कयौ महिना अर्जुनदृष्टिमै गए
काम केही लछारेनन् फोटो टाँसे खाली ।।
माधव नेपाल महिनौंसम्म काम चलाएर बसे
रहर थियो प्रम हुन, पुग्यो उनको पाली
विना कुर्सीका बाबुराम, थिए कति प्यारा
आखिर कुर्सीले पुर्याईछाड्यो उनको पनि पाली ।।
बाबुरामलाई भन्ने गर्थे जनताका नेता
आखिर कुर्सी बलवान रैछ बनाइदियो जाली
बाबुरामले भन्ने गर्थे शेरबहादुरको जम्बो
आफ्नाले झन् पचास नाग्यो शेरबहादुरलाई ढाली
दलले गर्न केही सकेनन गुहारेछन् पारी
न्यायाधीश नै उत्तम हुने साँचो दियो माली
त्यै कुर्सीले खिलराजलाई बसाई छाड्यो शिरमा
उनले भने चुनाव गरे सबै भ्रमलाई टाली ।।
चुनाव भयो कांग्रेस ठूलो सुशील दाजी आए
तीन दल मिली सम्विधान ल्याए यसै पालि
सम्विधानमा छिमेकीले गिद्देदृष्टि लायो
नाकाबन्दी लगाइदियो मधेसी उचाली ।।
त्यै कुर्सीले मधेसीलाई संसदसम्म ल्यायो
ओलीलाई हराउन ठानी उनलाई जाली
प्रचन्डको बुइ चढी ओलि प्रम भए
काम कुरो एकातिर बोलिरहे खालि ।।
जसोतसो ९ महिना थेगो कुर्सीले ओली
छिमेकीले रुचाएन आखिर दियो ढाली
अनेक तिक्डम लगाएर फेरि प्रचन्ड आए
शेरबहादुरले प्रचन्डलाई माने कुर्सीका माली ।।
कस्तो कुर्सी परेछ त्यो सबैलाई खेलाउने
दलका नेता सबै उस्तै खोज्ने आफ्नै पाली
नबसुन्जेल बसौं बसौं बसेपछि उस्तै
नेता हाम्रा खराब होइनन कुर्सी नै हो जाली ।।।।