नझार पर्दा एकछिन;
पर्ख, कथा अझै बाँकी छ।
पर्ख,
नझार पर्दा एकछिन।
अहिले त भर्खर फुटेको छ काँचो माटो,
अहिले त मात्र शरीर ढलेको छ।
केवल पात्र पराजीत भएको छ अहिले त।
अब बल्ल सल्किन थाल्नेछन् मनका दु:खहरू,
अब बल्ल धड्किन थाल्नेछन् मनका चोटहरू।
अझै त ज्यूँदैछ संवेदन।
जोगाऊ यो ज्वाला,
जो थकित भएर झरेको छ भर्खरै पात्रको हातबाट।
यो आगो जोगाऊ,
अब यहीँबाट शुरू हुनेछ नयाँ यात्रा
फेरि आँधी बनेर।
उठ्नेछ फेरि कुनै पात्र यहीँबाट
यही उज्यालो बोकेर।
पक्कै भेटिनेछ गन्तव्य कहीँ न कहीँ।
पर्ख,
नझार पर्दा एकछिन।
***
गुलजारको जन्म १८ अगस्ट सन् १९३६ मा तत्कालिन भारतको पञ्जाब (हाल पाकिस्तान) मा एक सिख परिवारमा भएको थियो।गुलजारको वास्तविक नाम सम्पूरण सिँह कालरा हो।
विशेषत: हिन्दी-उर्दूमा कलम चलाउने गुलजारले पञ्जाबी, तथा अन्य कतिपय भारतीय भाषा खरीबोली, हरियाणवी, मारवाडी तथा ब्रज भाषामा पनि लेखेका छन्। गुलजार भारतीय हिन्दी सिनेमाका लोकप्रिय तथा मर्मस्पर्शी गीतहरूका रचयिता तथा फिल्म निर्देशक पनि हुन्। गुलजारका केही कविताहरू 'चाँद पुखराज का', 'रात पश्मिनेँ' तथा 'पन्ध्र पाँच पचहत्तर' (पन्ध्र पाँच पचहत्तर), 'कुछ और नज्मेँ' (केही अरू कविताहरू) लगायतका कवितासङ्ग्रहहरू तथा छैँया छैँया (छैँया छैँया) लागायतका गजल तथा गीतसङ्ग्रहहरू प्रकाशित रहेका छन्।
सन् १९६३ मा गुलजारले सङ्गीतकार एस.डी.बर्मनको एउटा फिल्ममा गीत लेखेर फिल्मी गीतकारको रूपमा बलिउड प्रवेश गरे। गुलजारले हालसम्म एक सय सत्र वटा फिल्मका लागि सयौँ गीतहरू लेखेका छन्। उनका अढाइ दर्जन गीतहरूले हालसम्ममा फिल्मफेयर एवार्डलगायत विभिन्न उपाधिहरू प्राप्त गरेका छन्। सन् २००८ को हलिवुड फिल्म स्मलडग मिनेनियरको गुलजारद्वारा लिखित गीत 'जय हो' ले एकेडेमी एवार्डको उत्कृष्ट मौलिक गीतको उपाधि जित्यो। सोही गीतले सन् २०१० मा ग्रामी एवार्डको एउटा उपाधी प्राप्त गर्यो।
गुलजारले 'आनन्द' लगायतका अनेकौँ फिल्महरूमा सम्बाद लेख्नुका साथै 'इज्जत' लगायतका दुई दर्जन जति फिल्मको निर्देशन गरेका छन्।
गुलजारले पहिलो विवाह विच्छेद गरेर बसेकी अभिनेत्री राखीसँग विवाह गरे।एउटी छोरी जन्मिएको एक वर्षपछि उनीहरू अलग्गिए तर कानूनीरूपमा अहिलेसम्म सम्बन्धविच्छेद गरेका छैनन्।
गुलजार हाल भारतको मुम्बईमा रहेर कृयाशिल छन्।