जारसँग
आऊ, तिमीसँगै जोडिएको छ त्यस सौन्दर्यको सम्झना
जसले यो मनलाई अप्सराको घर बनाइदिएथ्यो,
बिर्सिएको थिएँ जसको प्रेममा मैले दुनियाँ
त्यसले दुनियाँलाई कथाको संसार बनाइदिएथ्यो।
परिचित छन् तिम्रै गोडासँग ती बाटाहरू
जसमा उनको मदहोश बैँसले गरेथ्यो अनुकम्पा
हिँडेका छन् जहाँबाट उमङ्गका ती झुन्डहरू
गरेथे यी आँखाले व्यर्थै जसको उपासना।
तिमीसँगै खेलेका छन् बतासका प्रेमील ती स्पर्शले
जसमा बाँकी छ सुगन्ध उनका उदाश वस्त्रहरूको
तिमीमा पनि बर्सेको छ त्यस छानाबाट जूनको ओज
जसमा बाँकी छ सम्झना बितेका रातहरूको।
तिमीले नै देखेका छौ त्यो निधार, ती गाला, ती ओठ
पूरै जिन्दगी जसको कल्पनामा लुटाएँ मैले,
तिमीतिरै फर्केका छन् हराएका ती मायावी आँखाहरू
तिमी नै बुझ्दछौ, किन उमेर खेर फालेँ मैले।
समान छन् प्रेमका चोटले हामीलाई गरेका अनुग्रहहरू
यति धेरै अनुग्रह, जो गनूँ भने गन्न सक्तिनँ
मैले यो प्रेममा केके गुमाएँ केके सिकेँ
तिमीबाहेक अरूलाई बुझाऊँ भने बुझाउन सक्तिनँ।
विनम्रता सिकेँ, गरीवहरूको पक्ष लिन सिकेँ
आशा-निराशाका, दु:खदर्दका अर्थ सिकेँ
निर्वलहरूका चोट र व्यथा बुझ्न सिकेँ
चिसा सुस्केराका, र ओइलिएका अनुहारका अर्थ सिकेँ।
कतै रुन्छ कोही असहाय जब
जसका आँशु आँखामा टिलपिलाउँदै निदाउने गर्छन्,
जब झन्टिन्छन् चिलले शक्तिहीनहरूका गाँसमा
पाखुरा भरिएर आउँछन्, कस्सिन थाल्छन्।
जब बिक्छ बजारमा मजदूरको मासु
राजमार्गमा गरीबको रगत बग्छ
वा बढ्दै गरेको भुँडीको बाढी लिएर कसैले
भोकमै रमाइरहेकालाई बगाओ भन्छ,
नसोध, छातीमा कसरी दन्किन्छ आगो
म कसै गरी मन सम्हाल्नै सक्तिनँ।
*
समर्पण
समर्पण
आज प्रति।
आजप्रति र
आजको दु:खप्रति।
आजको दु:ख जीवनका हराभरा वसन्तदेखि रुष्ठ छन्
पहेँला पातहरूको वन
पहेँला पातहरूको वन, जुन मेरो देश हो
दु:खहरूको समारोह, जुन मेरो देश हो।
समर्पण
कारिन्दाका उदास जिन्दगीप्रति
दुखित हृदय र बोलीहरूप्रति
हुलाकीहरूप्रति
टाँगा चलाउनेहरूप्रति
रेलका कामदारहरूप्रति
कारखानाका सोझा मजदुरहरूप्रति
सांसारिक वस्तुहरूका पूजनीय सम्राट र सृष्टी सञ्चालकप्रति ।
जसका बस्तु निर्दयीहरूले फुकाएर लगे
जसका छोरी डाकाहरूले हरेर लगे
जसको एक फोक्टो खेतको आधा बाली साहुले काटेर लगे
बाँकी रहेको सरकारले कर भनेर लग्यो
र जसका गोली शक्तिवानहरूका गोडामुनि धुजाधुजा भएका छन्
तिनीहरू प्रति।
ती दुखी आमाहरूप्रति
जसका बच्चाहरू रातरातभर रुन्छन्
र निद्राको मारमा परेका हातबाट सम्हालिँदैनन्
के भएको हो भन्दैनन्
र जति फकाउँदा पनि फकिँदैनन्।
ती सुन्दरीहरूप्रति
जसका आँखाका गुलाफ
परेला र आँखीभौँका बोटमा बिनसित्ति फुलेर
ओइलाइझरेका छन्।
ती विवाहितहरूप्रति
जसका शरीर
आडम्बरी ओछ्यानमा प्रेमविहीन सजिँदासजिँदा दिक्क भएका छन्।
र समस्त विधवाहरू प्रति।
बाटाहरू, गल्लीहरू र चोकहरूप्रति
जसका अपवित्र फोहरलाई
जून राती धाईधाई सफा गर्ने गर्छ।
पछ्यौराका रङ
चुराहरूका छन्छन्
केशको सुगन्ध
र
रहरले भरिएका छातीहरू आफ्नै पसिनामा जल्दाको गन्ध
जसको छायामा मिसिएर खलबल गर्ने गर्छन्।
ती पढ्नेहरूप्रति
जो दुन्दुभी र विशुद्ध दु:खका ढोकाहरूमा
किताब र कलमका माग लिएर हात फैलाउँदै पुगे
तर फर्किएर घर आएनन्।
ती निष्काम अबोधहरूप्रति
जो निश्छलताका साथ
आफ्नो सानो दीयोमा ज्वालाको ज्योति लिएर त्यहाँ पुगे
जहाँ बाँडिरहेका थिए घटाटोपहरू अन्त्यविहीन रातका छाया।
ती कठीनताप्रति
जसका छातीमा आगतको उज्यालाका मोतीहरू
झ्यालखानाको उद्धिग्न रातको छटपटाइमा
जलेर खरानी भए।
भविष्यका ती असल मानवहरूप्रति
जो फूलको सुगन्धझैँ
आफ्नो कुरामा आफैँ निमग्न छन् ।
...
फैज अहमद फैजको जन्म १३ फेब्रुवरी सन् १९११ मा तत्कालिन भारतको सियालकोट (हाल- पाकिस्तान)मा एउटा जमिन्दार परिवारमा भएको थियो।
सन् १९१६ मा उनी एउटा प्रसिद्ध विद्यालय मौलवी इब्राहिम सियालकोटीमा भर्ना भए।उनले स्कोच मिसन हाइस्कूलमा उर्दू, फारसी र अरबी पढे। फैजले लाहौरको सरकारी कलेजबाट अरबी भाषामा स्नातक गरे र सन् १९३२ मा अङ्ग्रेजीमा स्नातकोत्तर गरे। सन् १९३५ मा उनले लाहौर कै ओरिएन्टल कलेजबाट अरबीमा पनि स्नातकोत्तर गरे। अमृतसर तथा लाहौरका कलेजहरूमा प्राध्यापन गरे। सन् १९४२ मा उनले शिक्षण पेशालाई त्यागिदिए र भारतीय बेलायती सेनामा आबद्ध भए। दोस्रो विश्वयुद्धमा उनले सेनामा गरेको सेवाका कारण बेलायती सरकारबाट पदक पनि पाए। सन् १९४७ मा भारत विभाजनपछि उनले सेनाको जागिर छोडे र 'द पाकिस्तान टाइम्स' नामक अङ्ग्रेजी पत्रिकाको सम्पादक भए। सन् १९५१ मा फैज रावलपिन्डी काण्डमा सहभागी भएको आरोपमा सुरक्षा ऐन अन्तर्गत पक्राउ परे। उनलाई जन्मकैदको सजाय दिइयो तर चार वर्षपछि छाडियो।
फैज अहमद फैजले 'नक्श-ए-फरियादी' (पुकारको चित्र), 'दस्त-ए-सबा' (वनको बतास), 'जिन्दाँनामा' (झ्यालखानावर्णन) लगायतका कवितासङ्ग्रहहरू प्रकशित गराए।
सन् १९३८ मा फैजको भेट पाकिस्तान बस्दैआएकी बेलायती लेखिका तथा पत्रकार एल्स जर्जसँग भयो।उनीहरू एकअर्काप्रति आकर्षित भए र सन् १९४१ मा आपसमा विवाह गरे।
जेलबाट छुटेपछि जुल्फिकर अलि भुट्टोको सरकारले फैजलाई राष्ट्रिय कला परिषदमा नियुक्त गर्यो। फैजले सन् १९६३ मा लेनीन शान्ति पुरस्कार प्राप्त गरे। भुट्टोलाई सत्ताच्यूत गरेर जिया उल हक शक्तिमा आएपछि फैज निर्वासित भएर लेबनानको बेरुत गए।सन् १९८२ सम्म निर्वासनमा बसेर उनी पाकिस्तान फर्की लाहौरमा बसे।
फैज अहमद फैज २० नोभेम्बर १९८४ मा लाहौरमा दिवंगत भए।