‘लेखक पेरुमल मुरुगन मर्यो। केवल प्राध्यापक मुरुगन जीवित छ अब। ...साधारण शिक्षक बनी बाँकी जीवन बिताउन चाहन्छ ऊ। अब उप्रान्त उसको निजी जीवनमा दख्खल नदिनोस्।'
करिब दुई वर्षअघि पेरुमल मुरुगनले आफ्नो फेसबुक वालमा यस्तो लेखेका थिए। सिर्जनाको संसार तरङ्गित बन्यो यसबाट। लेखन दुनियाँबाट सन्यास लिएको घोषणा गर्ने यी लेखकको पृष्ठभूमि के हो? आत्मघाती गोलजस्तो लाग्ने यस्तो भयङ्कर निर्णय लिनुपर्ने बाध्यता कसरी सिर्जना भयो? चोरीको बात लागेपछि लेख्न बन्द गरेका नेपाली लेखक शंकर लामिछानेझैं के मुरुगन पनि नलेखी बसेका छन् त अझै? थुप्रै यस्ता उत्सुकता उब्जिनु अन्यथा थिएन।
पेरुमल-परिधि
दक्षिण भारतको गरीब किसान परिवारमा जन्मे पेरुमल। खेतीबाट घरखर्च धान्न गाह्रो परेपछि उनका बाबुले नजिकैको सिनेमा हलछेउ सोडा बेच्न शुरु गरे। बालक पेरुमल दिनभर बाबुसँगै रहन्थे। त्यही सोडा पसलबाट बाहिरी संसारका विविध रुपरङ्ग नियाल्न थाले। सानैदेखि कवितामा रुचि बढ्न थाल्यो उनको। बाल कविता प्रतियोगितामा सधैं पुरस्कार हात पार्थे। विस्तारै कथामार्फत् तामिल साहित्यमा प्रवेश गरे। यसरी उनी तामिलभाषाका चर्चित लेखक बने।
पेरूमल स्थानीय कलेजमा भाषाविज्ञान पढाउँछन्। उपन्यास र कथाबाहेक केही कविता संग्रह समेत प्रकाशित छन्। कम्युनिष्ट विचारबाट अभिप्रेरित छन् उनी। खुला आकाशमुनि डोरीको खटियामा सुत्न मन पराउँछन्, चन्द्रदर्शन गर्दै। सधैं चप्पल लगाउँछन्। उपन्यासलाई ठान्छन् आफ्नो प्रीय विधा। सामाजिक यथार्थवाद उनको लेखनधार। समाजका कुरीति, अन्धविश्वास र असमानताका घटनालाई नजिकबाट नियालेका छन्। यिनै कटु यथार्थ सधैं उनको लेखनमा आउँछन्।
उनका तीनवटा उपन्यास तामिल भाषाबाट अंग्रेजीमा उल्था भइसकेका छन्। ‘सिजन्स् अफ द पाम’, ‘करेन्ट सो’ र ‘वन पार्ट उमन' शीर्षकमा। यिनै पेरुमलको लेखकीय जीवन असामान्य बनेको छ यतिखेर।
विवादको चूरो
समाजका पेचिला विषय नै पेरुमलका लेखनका कच्चा पदार्थ रहे। तिनै घटनालाई आख्यानमा ढालेर तामिल समाजका विकृति र विसंगतिलाई सार्वजनिक गरेका छन् उनले। पछिल्लो उपन्यास ‘मोधोरुवागान' मा त अझ गम्भीर सन्दर्भ जोडेका छन्। उपन्यासमा सन्तानविहिन जोडी काली र पुनाको कथा छ। उपन्यासको मियोमा कथ्यश्रोतमा आधारित एउटा सन्दर्भ छ। किंवदन्ती अनुसार अर्धनारीश्वर मन्दिर परिसरमा कुनै चाड मनाइरहँदाको एक रात मन मिल्ने केटा र केटीबीच यौन सम्पर्क हुनसक्छ। केटी गर्भवती पनि हुनसक्छे। त्यसरी जन्मिएको सन्तानलाई ईश्वरको असीम कृपा मान्ने गर्छन् सन्तानविहिन परिवार। समाजले पनि गर्वबोध गर्छ त्यस्तो शिशुउपर। महिला पात्र पुनाले पनि त्यही बाटो रोजेकी छन् यसमा। निःसन्तान जोडीप्रतिको सामाजिक हेयभाव तथा धार्मिक कलेवरमा रहेका विसंगतिप्रतिको गजबको व्यङ्ग्य लुकेको छ यसमा।
‘मोधोरुवागान’ छापिएको त २००९ तिरै हो। जसै यसको अंग्रेजी अनुवाद ‘वान पार्ट उमन’ निस्कियो, स्थानीय तामिल मिथकमाथि बाहिरी जगतको चासो बढ्यो। अनि त कथित सभ्य समाज तिलमिलायो। फलस्वरुप दक्षिण भारतका शासक, प्रशासकको आक्रोशको निशानामा परे पेरुमल। असहज दैनिकी गुजार्नु पर्यो उनले।
धार्मिक कट्टरपन्थी र कथित उच्च जातका मानिसहरूको अगुवाइमा एउटा किताब र लेखकविरुद्व लगातार प्रदर्शन, बन्द, हडताल चल्यो। हिन्दुवादी राष्ट्रिय स्वयंसेवक संघको अगुवाइमा उनका किताब जलाइए। पुलिस प्रशासन नै लागि पर्यो उनको विरुद्वमा चलेको विरोधको रापमा घिउ थप्न।
जकडिएर रहेको सामाजिक संस्कारमाथि आक्रमण गरेकै हुन् उपन्यासमार्फत पेरुमलले तर कसैको व्यक्तिगत धार्मिक आस्थामाथिको प्रहार थिएन त्यो। त्यसै मिथक कथाको कारण नारी अस्मिता अनि सामाजिक मूल्यमान्यतालाई धुलिसात पारेको आरोप खेप्नुपर्यो पेरुमलले। मिथकीय उक्त प्रसंगलाई आगामी संस्करणमा हटाउने उनको वाचाले पनि कम भएन विरोध। पछि उनले पुलिस प्रशासनको दवाब झेल्न सकेनन् र लेखनबाटै सन्यास लिने घोषणा गरे।
प्रकाशकलाई उनका किताब नछाप्न तथा बिक्री नगर्न अनुरोध गरे। बिक्री नभएका किताबहरुको क्षतिपूर्ति रकम समेत दिने वाचा गरे। आफ्ना पाठकहरुलाई उनका किताब नपढ्न आग्रह गरे। कुनै साहित्यिक उत्सवहरुमा समेत भाग नलिने जनाए। पुलिस प्रशासनले नेपथ्यमा गरेको चरम अपमान र धम्कीको कारण नै उनले यति कठोर निर्णय लिनु परेको हो।
अर्को ‘टर्निङ्ग प्वाइन्ट’
लेखनबाट बाहिरिने अठोट सार्वजनिक त गरे पेरुमलले तर ह्याम्लेटको जस्तै दुविधामा फसे। लेख्नु र नलेख्नुबीचको आन्तरिक द्वन्द चलिरह्यो उनीभित्र। सुरूका तीन महिना केही नलेखी बसे तर अरु निष्क्रृय रहन सकेनन्। तीन महिनापछि डायरीमा कोर्न थाले, ज्वारभाटाझैं मगजमा निस्केका आफ्ना विचारलाई। आफ्नो प्रीय विधा आख्यानमार्फत् नभई कविताबाट। कति कहालीलाग्दो र कठीनतम भए होलान् ती तीन महीना एउटा प्रतिबद्ध लेखकका लागि?
‘मान्छेहरु मसँग बदला लिन खोज्दैछन्', त्यही अवधिमा आफ्नो पीडा पोखेका थिए उनले।
घटनाको लगत्तै पेरुमलको पक्षमा सचेत समुदाय जुर्मुरायो। लेखक, पत्रकार, सामाजिक संघसंस्था र केही राजनैतिक पार्टीले समेत उनलाई नलेख्न बाध्य पारिएको आरोप लगाउँदै स्थानीय प्रशासनविरुद्व आवाज उराले। अन्ततः अठार महिनापछि चेन्नाई अदालतको फैसला आयो, ‘आफू जे कुरामा सिद्वहस्त हुनुहुन्छ, त्यो काम गर्न छुट छ पेरुमल मुरुगनलाई। लेख्नोस् तपाईं।'
स्वनिर्वासनकालमा डायरीमा कोरिएका कविताहरु बाहिर ल्याए उनका मित्रहरुले। यसरी दुई सय कविता संगृहित ‘काँतरको गीत’ (अ काउवार्डस् सङ्ग) निस्कियो। यही संग्रहको शीर्ष कवितामा उनले लेखे:
काँतरका कारण
कसैमाथि दुःख आइपर्दैन
काँतरका कारण
कहींकतै हुलदङ्गा मच्चिँदैन
काँतरका कारण
केही नासिँदैन पनि
...
काँतरले
उसको तरवार झिक्न सक्तैन
न त्यसको धार जाँच्न सक्छ
न कुनै रुखमाथि तरवार सोझ्याउन सक्छ
किनकि,
काँतरसँग त तरवार नै हुँदैन।
सन्यासको समय पेरुमलमाथि ठूलो आघात परको थियो। कविताले नै यो आघात सहने साहस थपेको स्वीकार्छन् उनी। संग्रहको मन्तव्यमा उनले लेखेका छन्, ‘स्वनिर्वासनमा रहँदा मसँग फुर्सदै फुर्सद हुन्थ्यो। मनमा आएका विचारलाई कवितामा ढाल्थेँ अनि कागजमा उतार्थेँ। कविता त अचूक औषधि पो रहेछ। साँच्चै भन्नुपर्दा, मरेको मान्छेलाई व्यूँताउने संजीवनी बुटी। कविता नै बन्यो मेरो जीवन रक्षक।'
त्रासको छाँयामुनि स्रष्टा
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने काम नौलो कहाँ हो र? संसारभर विभिन्न कालखण्डमा यस्ता घटना भएका छन्। सर्वविदितै छ ‘सटानिक भर्सेज्’को प्रकाशनसँगै सलमान रुस्दीले टाउकोमा ‘फतवा' लिएर हिंड्नु परेको पीडा। बेलायतमा निर्वासित जीवनमा अभ्यस्त बनीसके उनी अब त। तर पनि पैतृकथलो भारतसँगको उनको त्यो नाता सम्बन्ध उनका लेखाइमा ‘नोस्टाल्जिक’ भावमा छताछुल्ल हुन्छन् घरीघरी। आफ्नो निबन्ध संगालो ‘इम्याजनरी होमल्याण्डस्' मा यो यथार्थ घनिभूत पोखिएको छ। बङ्गलादेशी लेखिका तसलिमा नासरिनको अवस्था झन् कारुणिक छ। ‘लज्जा’ उपन्यासदेखि नै आखेटको निशाना बनिन् उनी। क्रमागत विवाद र विपद झेल्दैछन् अझै पनि उनी। देशविहिनताको उनको पीडा विद्रोही प्यालेष्टाइनी लेखक दार्विस, बार्गौटीहरुकोभन्दा कम छैन। भारत तथा हिन्दुत्ववारे विशद जानकारी राख्ने अमेरिकी लेखक वेन्डी डोनिगरको अनुसन्धानपरक किताब ‘द हिन्दुज् : एन अल्टर्नेटिभ हिस्ट्री'ले पनि भारतमा प्रतिबन्ध खेप्नुपर्यो।
अरबी मुलुकमा स्रष्टा सबैभन्दा बढी सताइएका छन्। सन् असीको मध्यतिर इरानी स्रष्टाहरुको ठूलै दलबललाई कत्लेआम गर्ने योजना बुनेको थियो तत्कालिन सरकारले। संयोगले बाँचे उनीहरु। कालान्तरमा त्यो सरकारी करतुत पर्दाफास भयो। प्यालेष्टिनी कवि अस्रफ फैयादलाई त साउदी सरकारले मृत्युदण्डकै फैसला सुनायो। जन्मकैदमा बदलियो त्यो फैसला विश्वव्यापी प्रतिरोधका कारण। लेखक अहमद नाजी इजिप्ट सरकारको तारो बनेका छन् हालसालै। उनको उपन्यास ‘दि युज अफ लाइफ' लाई यौनसन्दर्भले लतपत उपन्यासको आरोप लागेको छ। हामी कहाँ राणाकालमा ‘मकैको खेती' लेखेवापत कृष्णप्रसाद अधिकारीले ज्यान गुमाउनु पर्यो। पञ्चायत कालका पछिल्ला दिनमा पनि स्रष्टाहरु राज्यबाट सताइएकै थिए। गणतन्त्रको संघर्षमा कृष्णसेन ईच्छुकजस्ता जुझारु स्रष्टा राज्यआतंकको शिकार बने।
सेल्फ-सेन्सरसीपमा पेरुमल
छिमेकी देश भारतमा ‘हिन्दूत्व’का हिमायतीबाट बारम्बार दलित, आदिवासी, मुसलमान तथा अन्य निमुखा समुदाय प्रताडित भइरहेका छन्। मोदी सरकारको आगमनसँगै आम जनजीवनसँगै सृजनात्मक संसारमा समेत प्रत्यक्ष परोक्ष तगारो तेर्स्याइएकै छ। केही लेखक समेत मारिए हिन्दु कट्टरपन्थी तथा गौ–रक्षक समूहबाट। यसैको प्रतिरोधस्वरुप उदय प्रकाश लगायतका भारतीय लेखकहरुले एकेडेमी अवार्ड जस्ता प्रतिष्ठित पुरस्कार समेत फिर्ता गरे। दक्षिण भारतीय समाज अझ उग्र छ धर्म/संस्कारको मामलामा। त्यही भूगोलका लेखक पेरुमलको मनोदशा पनि अस्थिर छ यतिखेर। अदालतको निगाहमा उनलाई लेख्ने अधिकार त दिइयो तर पर्दापछाडि बुनिन सक्ने राज्य सरकारका तानावाना र षडयन्त्रबाट उनी भयभीत छन् अझै।
‘लेख्नबस्दा एक प्रकारको सेन्सरले नियन्त्रण गरिरहेको भान हुन्छ मलाई,’ अझ खुलस्त पार्छन् पेरूमल, ‘पहिलेको जसरी लेख्न सक्दिन होला अब। लेखे पनि मेरो शैली पहिलेजस्तो नहोला। यथार्थवादी लेखनधार मेरो नरहला पनि।' उनी आफैंमाथि संशय गर्छन्। आफ्नै स्वत्वसँग सम्झौता गरी ‘सेल्फ सेन्सर'सहित उनले लेख्न सक्ने सम्भावना बढेको छ। रक्षात्मक देखिन्छन् उनी आफ्नो दोश्रो लेखकीय इनिङ्गस्मा।
अधिकांश दोश्रो इनिङ्गस्को खेल बडो रोचक हुन्छ एकदिवसीय क्रिकेटमा। ‘डु अर डाई'को स्थितिमा खेलाडीहरु आक्रामक बन्छन् खेलको नतिजा आफ्नो पोल्टामा पार्न। तर सामाजिक कुरीतिप्रति शून्य सहनशीलता भएका यी स्रष्टा अन्यमनस्कभावमा छन् पछिल्लो समय। लेखनबाट स्वनिर्वासनमा रहँदाका डेढ वर्षको अवधिमा पल-पल मर्दै बाँचे सायद उनी। अदालतको फैसला ‘लाइफलाइन' सिद्व भयो उनको लेखन जीवनमा। आफ्नै फेसबुक स्टेटसलाई उल्टाउँदै उनी लेखन जीवनमा फर्केका छन्, फूटबल जीवनबाट सन्यास लिएको घोषणा गर्ने अर्जेन्टिनी खेलाडी लियोनल मेसीजस्तै।
निश्चय नै खुसीको खबर हो यो। तर, आफ्नो पहिलो इनिङ्गस्मा जस्तो यथार्थपरक र धारिलो लेखनबाट अलग रहने उनको स्वीकारोक्तिले दुखेको छ धेरैको मन। त्यसो त आफ्नो लेखनको ‘ग्र्याण्ड पर्पज' देख्दैनन् उनी। आफूले लेखेका विषयले संसार बदल्न सक्छ भन्ने लाग्दैन उनलाई। तर सामाजिक चेत र विवेकसम्पन्न लेखकले प्रतिकुलतालाई चिर्दै विसंगतिविरुद्व लेख्नुले धेरै फरक पार्छ। ठीकै भनेजस्तो लाग्छ जर्मन कवि तथा नाटककार वर्तोल्त व्रेख्तले, ‘असहज परिस्थितिमा पनि गीत गाउन सम्भव छ। तर त्यतिखेर तिनै प्रतिकूलताबारे नै गाउनु पर्छ।'
पेरुमलले पनि परिवर्तित सन्दर्भमा पनि असहजतालाई पन्छाउँदै पहिलेजस्तै सामाजिक कुप्रथाको शल्यक्रिया गर्नुपर्ने अपेक्षा त गर्न सकिन्छ। थाहा छैन, एउटा विद्रोही लेखक पेरुमलको यो सम्झौता कति प्रत्युत्पादक हुने हो तामिल समाज परिवर्तनको बाटोमा!