‘कफी, अमेरिकानो’, वेटरले सोध्न नपाउँदै उसले अर्डर गर्यो। धेरै दिनपछि आज ऊ फेरि लण्डनस्थित थेम्स नदी किनारको त्यो रिभरसाइड क्याफेमा पुगेको छ। यस क्षेत्रको यो निकै शान्त र मनोरम क्याफे हो। फूलहरू र पुराना कलाकीर्तिले सजाइएको यो क्याफे साँच्चै चित्ताकर्षक छ। यति मात्र होइन, त्यस बेलाकी प्रेमिका मार्थालाई लिएर पहिलो पटक डेटिङमा आएको त्यो क्याफे उसका धेरै रोमाञ्चक क्षणहरूको साक्षीसमेत बनेको छ। मार्थाले प्रथम पटक हात समाएर तान्दै ओठ जोड्न खोज्दा शरीरभरि लागेको काउकुति उसले अझै भुलेको छैन। त्यसबेला बसेको कर्नरतिरको त्यो टेबलमा नजर पर्नासाथ उको अझै केही क्षण मुटु ढुकढुकिन्छ, कान राता भएर आउँछन्।
मार्था आज उसको पत्नी बनिसकेकी छ, तैपनि बेला–बेलामा ऊ त्यहाँ गएर प्रेममय जीवनका ती उत्कृष्ट क्षणहरूलाई स्मरणमा ताजा बनाउने प्रयास गर्छ।
जब उसको मन छरपस्ट भएर उदास बन्छ वा सुखद् अनुभूतिले उकुसमुकुस हुन्छ, उसका पाइला अनयासै यतातिर लम्कन्छन्। आज ऊ जन्जिर बाँधिएको कैदीको जस्तै सुस्तरी पाइला चालेर त्यहाँ कफीसँग व्यथा साट्ने प्रयास गर्दै छ। थेम्स नदीमा दोहोरो कुँदेका मोटरबोटले विचलित पारेका पानीका छालजस्तै मनमा दुविधायुक्त तरङ्गहरू उर्लेर उसलाई घायल बनाइरहेका छन्।
‘योर कफी सर,’ कफीसँगैको आवाजले ऊ निद्राबाट ब्यूँझिएजस्तै हुन्छ। वेटरका पाइला मोडिनसाथ फेरि अन्तरमनको द्वन्द्वभित्र हराउँछ। ‘मार्था अचानक किन ममीकहाँ गई? उसकी ममीले छोडिसकेको बुढोसँग फेरि केही लफडा पर्यो कि?,’ कफीको चुस्की लिँदा उठेका लहरसँगै उसका मनमा तरङ्गहरू उठ्छन्। पहाडको चट्टानमा बारम्बार बज्रिरहेका समुद्री छालजस्तै हिजोदेखि उसको मनमा यही प्रश्नको तुफानले पटक–पटक झट्का दिइरहेको छ।
उसकी पत्नी मार्थाको ग्राजुएसन हिजो उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो। विशेष समारोहमा मार्थाले स्नातकको उपाधि ग्रहण गरी। मार्थाकी आमाको चुरीफुरी पनि हेरिसक्नु थिएन। हजारौं विद्यार्थी उपस्थित त्यो भव्य समारोहमा आफ्नी पत्नीले पनि स्नातक उपाधि प्राप्त गरेकोमा ऊ हर्षित नभएको त होइन तर छ वर्षदेखि लण्डनमा हाड छाला घोट्दा पनि आफू स्नातकहरूको लाइनमा बस्न योग्य नभएकोमा भने उसले निकै खिन्नता महसुस गर्यो। अब मार्थाले कमाउने र उसले पढाइ सुरू गर्ने समझदारी अनुसार बेलायती कलेजबाट स्नातक गर्ने वर्षौं पुरानो आफ्नो सपना पूरा हुन्छ भन्ने कल्पना गरेर ऊ आफ्नो चित्त थुमथुम्याउँदै थियो। तर, सुरूकै दिन उसलाई मार्थाले निकै निराशाको अनुभव गराई। समारोह स्थलबाट बाहिर निस्कँदै गर्दा मार्थाले अचानक ‘डियर म आज मम् कहाँ बसेर आउँछु है’ भन्दै आमाको हात समातेर हिँडी।
पत्नी ग्राजुएसन भएको खुसीमा उसले आफ्नो प्रिय क्याफे रिभरसाइडमा सरप्राइज डिनर जाने तयारी गरेको थियो। तर, मार्थाको अचानकको निर्णय सुनेर ऊ आफैं पीडायुक्त सरप्राइजमा पर्यो। मन थामी नसक्ने गरी विचलित भो, शरीर चिसोले कक्रिएजस्तै। सधैंजसो दैनिक दुई–तीन पटक फोनमा कुराकानी भइरहन्थ्यो तर यस बीचमा भने उसले सम्पर्क नै गरिनँ। फोन गर्दा पनि म बिजी छु, पछि गर्छु है, भनेर विच्छेद गरी। उसको बोलीमा ‘डियर’, ‘हनी’जस्ता मायालु शब्दहरू पनि मिसिएका छैनन्, बरु छोटा र निरस वाक्यमा कुरा टुंग्याउँछे। हिजो नभ्याए पनि आज कसो नआउली त भन्ने आशमा ऊ थियो। खुसी बाँडेर सँगै डिनर गर्ने सोचले एसएमएस पठाउँदै ऊ क्याफेतिर लागेको थियो। तर, निकै अबेरसम्म न ऊ आई न जवाफ आयो। ऊ निकै हतास बन्यो। मनमा पहिलो पटक मार्थाप्रति नकारात्मक भावना उर्लिएर आए।
‘उसले मलाई छोड्ने विचार त गरिनँ?,’ एक मनले कुभलो चितायो। ‘हत् त्यस्तो विचार त उसलाई के आउला र? उसको लागि मैले त्यत्रो त्याग गरेको छु। अब मेरा लागि उसले गर्ने बेला त्यस्तो धोका त पक्कै नहोला। तर, उसको फोन किन आएन त?,’ ऊ फेरि असरल्ल पर्छ। यस्तै प्रसंगले उसको मनमा शंकैशंकाको बादल मडारिएको छ। बरफको ढिक्काले छाती थिचिरहेजस्तो पारेको छ। फोन सम्पर्क नै हुन नसकेपछि ऊ क्याफेबाट उठेर बाटो लाग्यो। मेट्रोमा बस्नासाथ उसको मन पुराना दिनतिरै बरालिन पुगे।
उसले सम्झदै गयो, करिब छ वर्षअघि स्टुडेन्ट भिसामा लण्डन छिर्दा निकै रमाइलो अनुभव भएको थियो। सुरूका एक–दुई दिन अलि न्यास्रो भए पनि नेपालीहरूसँग सम्पर्क बढेपछि भने निकै सुरक्षित र उन्मुक्त भएको महसुस गर्यो। उनीहरूले बसोबास र यातायातका लागि मात्र होइन लण्डन घुमेर आनन्द लिने काममा पनि निकै सहयोग गरे। बा ले काठमाडौंको घडेरी बेचेर दिएको रकमले खल्ती निकै न्यानो पारेकै थियो, कहिले कुन रेष्टुराँ, कहिले कुन क्याफे। साथीहरूले भनेजस्तो ठाउँहरुमा पुर्याउँथे। रोकटोक गर्ने पनि त कोही थिएन। पिन्जडाबाट फुत्केको चरीजस्तै ऊ निस्फिक्रीसँग लण्डनका रेष्टुराँ, पब, कन्सर्ट, थिएटर, सिनेमा हलहरूमा मध्यरातसम्म बसेर रमाइलो गर्न थाल्यो।
उसलाई लण्डन त्यति सुन्दर होला भन्ने लागेकै थिएन। वास्तवमा त्यसबेला लण्डन उसका लागि सपनाको सहर नै थियो। यस्तो सुन्दर र भव्य सहरभित्र कठोर हृदयहरू पनि हुर्किएका होलान् भन्ने त उसको कल्पनामै थिएन। व्यापार, फेसन, संस्कृति, राजनीति, शिक्षा, सञ्चार, मनोरञ्जन, कलालगायत दृष्टले लण्डन विश्वविख्यात नै छ। ठूला–ठूला हरियाली पार्कहरू र पार्कमा देखिने परीहरूको चहलपहलले आगन्तुकहरूलाई निकै रोमाञ्चित बनाउँछ। यस्तै रोमाञ्चित बन्नेहरूमध्ये ऊ पनि थियो। ती पार्कहरूमा अंगालो मारेर चुम्बन गर्न कुनै रुख वा फुलको बुट्टामा छलिन जरुरी थिएन। हरियालीपूर्ण ती पार्कहरू उसलाई खुला सिनेमा घरजस्ता लाग्थे। ऊ भरपुर आनन्द लिएर बसिरहेको थियो।
एक दुई महिना त उसका लागि लण्डन हाई हाई नै भयो। तर, तीन महिनापछि भने उसले अलि पैसाको कमी महसुस गर्न थाल्यो। साथीहरू पनि घट्दै गए। उसले बुझ्दै गयो– काम गरेर पैसा नजोगाई लण्डनको खर्चिलो जीवन र महंगो शिक्षा निकै दुरुह हुन्छ नै। उसले त्यहाँको रेष्टुराँमा केही घण्टा काम पायो तर काम उसलाई सहज भने लागेन।
कमाउन कति कठीन हुन्छ भन्ने उसले पहिलो पटक महसुस गर्यो। पढाइ एकातिर, काम अर्कोतिर। पढ्ने सोच्ने त समय नै पुगेन। ऊ निकै आत्तियो। घरबाट पैसा आउने स्थिति थिएन, उसले पढाइ घटाएर काम गर्ने समय बढायो। कलेज नियमित नगएपछि भिसा म्याद पनि थपिएन। पढाइ पूरा हुन उसलाई अझै दुई–तीन वर्ष बस्नै पर्ने थियो। यस्तै समस्याले पिरोलिएपछि ऊ साथीहरूकै सल्लाहमा स्थानीय युवतीसँग विवाह गर्ने उदेश्यले प्रेमको चक्करमा पर्यो। नभन्दै उसले सोचेजस्तै सफलता मिल्दै गयो। मार्थासँगको प्रेम सम्बन्ध लगन गाँठो कसिने तहसम्म पुगेपछि उसको लण्डन बसोबास सहज हुने भयो तर उसले तीन वर्षसम्म मार्थाको पढाइको लागि काम गरेर बस्नुपर्ने भयो।
पढाइ पूरा नगरी फर्किने कुरा भएन। इज्जतको पनि त सवाल छ। अर्कोतिर बाबुआमाले दु:ख गरेर त्यतिकै पैसा पठाएका होइनन्। उनीहरूलाई निराश बनाउनु पनि त भएन। यस्तै सोच्दै उसले मार्थासँग विवाह गर्यो।
तीन वर्षसम्म निकै दु:ख गरेर मार्थालाई खर्च जुटायो तर आफू नेपालबाट ल्याएको सर्टिफिकेटमै चित्त बुझाइरहेको थियो। अब आफ्ना लागि पनि सकारात्मक दिन सुरू हुन्छन् भनेर ऊ ढुक्क थियो। तर, मार्थाको हिजोको अनौठो व्यवहारले उसलाई विचलित बनाएको छ। ऊ थकित शरीर लिएर मेट्रो स्टेसनबाट निवासतिर लाग्यो।
फेरि उसको मनले सोच्यो, नजिकै आउँदै गरेको म्यारिज डे मा हिराको नेकलेस किनिदिन मार्थाले गरेको आग्रहमा आलटाल गरेकाले पो रिसाइ कि? मार्थाको पढाइ सकेपछि जम्मा भएको केही रकम ऊ आफ्ना बाको उपचारका लागि नेपाल पठाउन चाहन्थ्यो। पैसाको अभावमा उसका बाले साधारण अप्रेसन पनि गर्न सकेका थिएनन्। आफूले त्यत्रो रकम लिएर पढ्न आएको छ वर्ष बितिसकेको छ। बा–आमाको लागि भनेर एक पैसा पनि पठाउन सकिएको छैन। लण्डन बस्ने चक्करले गर्दा यतै विवाह गर्नु परेको र दुःख गरेर कमाएको पैसाले उसलाई पढाउनु पर्ने बाध्यता आएकोमा उसलाई कहिलेकाहीँ साह्रै पीडा महसुस हुन्थ्यो।
चार वर्षमा पढाइ सकेर बा–आमाको सेवा गर्न नेपाल फर्किने आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेकोमा उसलाई निकै हिनताबोध हुन्थ्यो। त्यसैले ऊ केही रकम पठाएर बा–आमालाई खुसी बनाउन चाहन्थ्यो। तर, बा–आमाको मायाभन्दा पत्नीको माया नै गह्रौं भयो। मार्थालाई खुसी पार्न उसले भित्रदेखि मन कुड्याउँदै नेक्लेस किनेर निवासमा पुग्यो।
कोठामा पस्नासाथ उसलाई केही गडबडी भएको आभास भयो, तर के भन्ने तुरुन्त यकिन गर्न सकेन। ओछ्यानमा पल्टियो। सानो कागजको डल्लो तकिया छेउमा देखेर उसले तलतिर हुत्यायो र जीउ छोडेर पल्टियो।
उसले कोठाको चारैतिर आँखा घुमायो। ह्याङ्गरमा मार्थाका दैनिक लगाउने कपडा थिएनन्, र्याकमा पुराना जुत्ता मात्र थिए। सेफ उघारै थियो। मार्थाले प्रयोग गर्ने ठूलो सुटकेस र्याकमा थिएन। एक्कासि दिमाग शून्यजस्तै भयो। यताउता चल्न सकेन। कोठामा ठूलै चोरी भएछ भन्ने लाग्यो। धेरै दु:ख र व्यथा सहेर जम्मा गरेका महंगा सरसामान एक्किसी गायब भएको देखेर ऊ अर्धमुर्छितजस्तै भयो।
पहिला उसले मार्थालाई फोन गर्ने प्रयास गर्यो तर सम्पर्क हुन सकेन। हतारिएर बाहिर निस्कन खोज्यो। उसको हात फेरि अघि फालेको कागजको डल्लो उठाउन पुग्यो। हतारमा उसले त्यसलाई हातमै लिएर बाहिर निस्क्यो। ऊ छिमेकी कोठाको मानिससँग सोध्ने प्रयास गर्दै थियो। उसले काजको डल्लोभित्र केही छ भन्ने अनुभव गर्यो। खोलेर हेर्यो आफूले विवाहका बेला मार्थालाई लगाइदिएको औंठी थियो। उसको मुटुको ढुकढुकी बढ्दै गयो। उसलाई मार्थाबाट धोका पाएँ भन्ने आभास भइरहेको थियो। कागजमा केही लेखिएको उसले देख्यो।
हतारमै पढ्यो। त्यहाँ लेखिएको थियो, ‘मैले त अर्को केटा भेट्टाएँ, उसँगै जाँदैछु, सरी ल। लामो समय सँगै बस्न साथ दिएकोमा धन्यवाद। मेरो वकिलले डिभोर्स पेपेर लिएर आउँछ सही गरिदऊ है।’
शरीरबाट हाड निकालेजस्तै अनुभव गर्दै ऊ थचक्क बस्यो। मुख छोपेर रुनुबाहेक केही सुझेन। अन्धकारमय भविष्यबीच आँखा निस्तेज बने। आफू बेबकुफ बनेको कथा बिजुलीको झड्काजस्तै उसको मस्तिष्कमा दोहोरियो। आज उसलाई त्यो लण्डन साह्रै कुरुप र निष्ठुरी लाग्यो। बाई लण्डन भन्नबाहेक उसले केही सोच्न सकेन।