मेरा आँखा
नग्न फेला पार्दछन् तिमीलाई
र छोपिदिन्छन्
हेराइको न्यानो वर्षाले।
ओछ्यानबाट तिमी उठ्दै गर्दा
तिम्रो हाँसो,
र अझ बढी, तिम्रो शरीर,
र जूनको तिम्रो चोलीसँगै
रातका तिम्रा तिघ्राभन्दा सेता भएर
उघ्रिन्छ स्वरहरूको एउटा खोर
बिहानतिर।
तेर्सिएको उज्यालो,
नागबेली गुन्गुनाहट
निमेषभरमा स्थापित
चर्खेXXXको
सुकिलो लयमा बेरिन्छ।
मेरो दिन
तिम्रो रातमा पुगेर फुट्दछ।
तिम्रो रुवाइ
धुजाधुजा भएर उड्दछ।
रातले तिम्रो शरीरलाई शरीरभित्रै धोएर फिँजाइदिन्छ,
र फेरि एकपल्ट बाँधिदिन्छ।
उभिरहेको क्षण
घुमाउँछ चम्किरहेका आफ्ना पाङ्ग्रा।
कर्दहरूको बगैँचा
छलहरूको उत्सव मनाउँछ।
तिनै प्रतिध्वनित स्वरहरूका बीचबाट
पस्दछ्यौ तिमी कोमलतासँग
मेरा पाखुराहरूको नदीमा।
अँध्यारामा तिमी
पौडिन्छ्यौ
ज्वरोकोभन्दा चाँडो गतिमा।
सुम्सुम्याहटका बीच
तिम्रो छाया छर्लङ्ग देखिन्छ,
तिम्रो शरीर बिलाउँछ अँध्यारामा कतै।
हिच्किचाएझैँ
कसरी, कहिले, किनभने, र
अँऽ, आँऽऽ, ऊँऽऽऽ का
पार नलाग्ने किनारतिर उफ्रन खोज्छ्यौ तिमी।
तिम्रो हाँसोले
जलाउँछ तिम्रा लुगालाई,
र भिजाउँछ
मेरो निधार, मेरा आँखा र मेरा कामनालाई।
तिम्रो शरीरले जलाइदिन्छ तिम्रो छायालाई;
डरको च्यापमा पिङ खेल्न थाल्छ्यौ तिमी।
न्वारानदेखिको तिम्रो त्रास
ढुङ्गेभीरमा मैथुन गर्दै
हेर्दछ मलाई, तिम्रा विस्फारित आँखाबाट।
पहिलेभन्दा उज्यालो हुन्छ तिम्रो शरीर
पहिलेभन्दा अँध्यारो देखिन्छ तिम्रो छाया
हाँस्दछ्यौ तिमी, मरुन्जेलको हाँसो।
ताछिएको घामको कलेजी जिब्रो
तिम्रा अनिँदा बैँसको साम्राज्य चाट्ने जिब्रो
नबाँधिएको केश
पोताहरूले बोलिएका जिब्राहरूको जिब्रो।
तिम्रो पिठ्ठ्यूँमा खुस्किएको
तिम्रा स्तनमा बाँधिएको।
जोसिलो अक्षरमा तिमी लेख्ने लेखाइले
तिमीलाई नग्नता ओढाइदिने लेखाइले
तिमीलाई रहस्यले बेरिदिने लेखाइले
र त्यो लेखाइले, जसभित्र म मुर्दाझैँ गाडिएको हुन्छु;
एउटा छापो लगाएर
छोडिदिन्छ
तिमीमाथिको स्वामित्वलाई।
खुलेका केशसँगै
अनुपम रात तिम्रो शरीरभरि चाकाचुली खेल्छ।
सङ्कोचको दानाभरि पोखिएको
तातो मदिराको अन्ती
सर्पहरूको गुजुल्टो
अङ्गुरको झुप्पो
जूनको चिस्सिएको मनले कठ्याङ्ग्रिएको
हातहरूको वर्षाले
नग्न, मौन बादललाई गुहार्दै
औँलाहरूको बतास चलाइदिन्छ,
तिम्रो शरीरभरि, मेरो शरीरभरि,
तिम्रो शरीरभरि।
खुलेका केश
अस्थिवृक्षका पातहरू,
घामबाट रात पिउने
जरा नदेखिने वृक्षका पातहरू,
मांसपिण्डवृक्ष र मृत्युवृक्षका पातहरू।
गए राति
तिम्रो ओछ्यानमा
हामी तीन थियौँ:
जून, तिमी र म।
मैले उघारिदिएँ
तिम्रा रातका ओठहरू
र
निस्कनै नपाई, रित्तियो ओस।
उन्मुक्त पानीको हतारझैँ
प्रतिध्वनित भयो उज्यालो।
निदाउनु; तिमीमा निदाउनकै लागि निदाउनु,
अझ झन्
कालो, गोरो, कालो गोरो
तिम्रो स्वबीच मेरा आँखा उघार्नका लागि ब्यूँझनु
र अनिँदो घाम हुनुले
झिल्का उठाउँछ तिम्रो स्मरणमा।
(र तिम्रो स्मृतिलाई मेरो स्मरण गराउँछ)
फेरि आकाशसँगै उठ्छ प्रेमसुधा
(साल्भिया तिम्रो नाममै आगाको ज्वाला छ)
जुर्मुराउँदै, थर्थराउँदै।
(उष्ण हिउँको वर्षा)
त्यहीँ छ, मेरो जिब्रो
(तिम्रो गुलाफ
जल्दछ हिँउमा)
अब भने
(तिम्रो यौनलाई थुनिदिएँ मैले)
बिहान भैछाड्यो
तमाम जोखिम बढारेर।
(मूल स्पेनिसबाट इलियट विनबर्गरले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
ओक्टाभियो पाजको परिचयः
ओक्टाभियो पाजको जन्म ३१ मार्च १९१४ मा मेक्सिकोको मेक्सिको सिटीमा भएको थियो।उनको पुरा नाम ओक्टाभियो पाज लोजानो थियो।उनी आमा जोसेफिना, फुपू एमालिया तथा हजुरबुवा इरेनियो पाजसँग मिक्स्कोआक गाउँमा हुर्किए।उनका हजुरबुवा उपन्यासकार तथा प्रकाशक थिए।मेक्सिकी तथा युररोपेली साहित्यले भरिपूर्ण आफ्ना हजुरबुवाको व्यक्तिगत पुस्तकालयका कारण पाज सानै उमेरदेखि साहित्यसँग परिचित भए।
पाजले सत्र वर्षको उमेरदेखि कविताहरू प्रकाशित गराए।त्यसको दुई वर्षपछि उनले 'लुना सिल्भेस्त्री' (उपवनको जून) शीर्षकमा कवितासङ्ग्रह प्रकाशित गराए।सन् १९३५ मा कानूनको पढाइ छाडेर उनी किसान र श्रमिकहरूका छोराछोरीलाई पढाउन मेरिडाको एउटा स्कूलमा काम गर्न थाले।त्यहाँ रहँदा उनले आफ्नो पहिलो लामो कविता 'इन्त्रे ला पिएद्रा ये ला फ्लोर' (ढुङ्गा र फूलका बीच) लेख्न शुरू गरे।सो पुस्तक सन् १९४१ मा प्रकाशित भयो।
सन् १९४३ मा पाजले क्यालिफोर्निया विश्वविद्यालयमा पढ्नका लागि छात्रवृत्ति पाए।पढाइ सकिएर मेक्सिको फर्केपछि कुटनीतिक सेवामा प्रवेश गरेर उनले संयुक्त राज्य अमेरिका, फ्रान्स, जापान तथा स्विजरल्यान्डमा विभिन्न जिम्मेवारी सम्हाले।सन् १९५४ मा मेक्सिको फर्किएका पाजलाई १९५७ मा पेरिस पठाइयो।सन् १९६२ मा उनी भारतका लागि राजदूत भए।सन् १९६८ को आन्दोलनमा तत्कालिन मेक्सिकी सरकारले विद्यार्थीहरूमाथि गोली चलाएको विरोधमा पाजले राजदूत पदबाट राजिनामा दिए र मेक्सिको फर्किए।
उनले सन् १९५७ मा आफ्नो प्रसिद्ध कविता 'पाइद्रा दे सोल' (माणिकरत्न) तथा कवितासङ्ग्रह 'लिबर्ताद बाहो पालाब्रा' (शपथयुक्त स्वतन्त्रता) छपाए।तीलगायत उनले चौध वटा कवितासङ्ग्रह र तीनवटा निबन्धसङ्ग्रहसहित अन्य पाँच वटा पुस्तक प्रकाशित गराए।
सन् १९३८ मा पाजको भेट एलेना गार्रोसँग भयो र सोही वर्ष उनीहरूले आपसमा विवाह गरे।एलेना एक कुशल मेक्सिकी लेखिकाका रूपमा चिनिन्छिन्। उनीहरू सन् १९५९ मा वैवाहिकसम्बन्धबाट अलग्गिए।
ओक्टाभियो पाजले सन् १९९० मा सहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरे।क्यान्सरका कारण १९ अप्रिल सन् १९९८ मा उनको मेक्सिको सिटीमा निधन भयो।