(भारतीय राष्ट्रपति महामहीम प्रणब मुखर्जीको नेपाल भ्रमणको उपलक्ष्यमा हिन्दी साहित्यका प्रसिद्ध कथाकार सुदर्शन को कथा ‘हार की जीत’ को नेपाली अनुवाद )
आमालाई आफ्नो छोरा र किसानलाई आफ्नो लहलहाँउदो खेत हेरेपछि जुन आनन्द आउँछ, त्यही आनन्द बाबा भारतीलाई आफ्नो घोडालाई हेर्दा आउँथ्यो। भगवद्-भजनबाट बाँकी रहेको समय घोडालाई अर्पण हुन्थ्यो। त्यो घोडा निकै सुन्दर थियो, निकै बलवान थियो। उसको बराबरको जोडा पुरै इलाकामा थिएन। बाबा भारती त्यसलाई ‘सुल्तान’ भनेर बोलाउँथे, आफ्नो हातले सुमसुम्याउँथे, आँफै दाना ख्वाउँथे अनि त्यसलाई हेरेर प्रसन्न हुन्थे। उनले आफ्नो धन-सम्पति जग्गा-जमीन सबै छोडिदिएका थिए, यहाँसम्म कि उनलाई शहरको जीवनबाट समेत घृणा थियो। अहिले गाउँबाट बाहिर रहेको एउटा सानो मन्दिरमा बस्ने गरेका थिए अनि भगवानको भजन गर्थे। उनलाई ‘म सुल्तान बिना बाँच्न सक्दिन’ भन्ने भ्रान्ति भइसकेको थियो। उनी उसको चालबाट मुग्ध थिए। भन्थे ‘चाल यस्तो छ कि मानौँ बादल देखेर मयूर नाचिरहेको होस्’। साँझपख एकपटक सुल्तानमा चढेर जबसम्म आठ दश मीलको चक्कर लगाउँदैनथे तबसम्म उनलाई चैन आउँदैनथ्यो।
खडगसिँह त्यस इलाकाको प्रसिद्ध डाँकू थियो। मानिसहरु उसको नाम सुनेर थरथर हुन्थे। एक कान दुई कान मैदान हुँदै सुल्तानको कृति उसको कानसम्म पनि पुग्यो। उसको हृदय उसलाई हेर्न चन्चल हुन थाल्यो। एक दिन दिउँसोको समयमा बाबा भारतीकहाँ पुग्यो अनि नमस्कार गर्दै बस्यो। बाबा भारतीले सोधे, ‘हालखबर के छ खडगसिँह ?’
खडगसिँहले झुक्दै उत्तर दियो, ‘हजुरको दया छ।’
‘यतातिर कति कामले आयौ ?’
‘सुल्तानको चाहनाले तानेर ल्यायो।’
‘विचित्रको जनावर छ। हेर्यौ भने प्रसन्न हुनेछौ।’
‘मैले पनि निकै प्रशँसा सुनेको छु।’
‘उसको चाल देखेपछि तिमी मोहित हुने छौ।’
‘भन्छन् हेर्दा पनि निकै सुन्दर छ रे।’
‘कुरै नगर न ! जसले उसलाई एकपटक हेर्छ हृदयमा उसको चित्र अँकित हुन्छ।’
‘धेरै दिनदेखिको अभिलाषा थियो आज उपस्थित हुन पाएको छु।’
बाबा भारती र खडगसिँह तबेलामा पुगे। बाबाले घमण्डका साथ घोडा देखाए, खडगसिँहले आश्चर्य मान्दै हेर्यो। उसले सैकडौँ घोडा देखेको थियो तर यस्तो चिटिक्क परेको घोडा उसले कहिल्यै देखेको थिएन। सोच्न थाल्यो, भाग्यको कुरा हो। यस्तो घोडा त खडगसिँहसँग हुनुपर्ने हो। यो साधुलाई यस्ता चीजबाट के लाभ ? केही बेरसम्म आश्चर्यका साथ चुपचाप उभिइरह्यो। त्यसपछि उसको हृदयमा हलचल हुन थाल्यो। बालक जस्तै चँचल हुँदै भन्यो, ‘तर बाबाजी, यसको चालै नहेरी यसै के भनौँ र खै ?’
अरुको मुखबाट सुन्नका लागि उनको मन चँचल भइरहेको थियो। घोडालाई खोलेर बाहिर लगे। घोडा वायु-वेगले उड्न थाल्यो। उसको चाल देखेपछि इर्ष्याले खडगसिँहको मुटु जल्यो। आखिर उ एउटा डाँकू थियो र आफूलाई मन परेको वस्तुमा आफ्नो अधिकार सम्झिन्थ्यो। उसँग बाहुबल थियो अनि मानिसहरु पनि थिए। जाँदा जाँदै उसले भन्यो, ‘बाबाजी, अब यो घोडा म तपाइसँग रहन दिन्न।’
बाबा भारती डराए। अब उनलाई रातमा नीँद आउन छोड्यो। सम्पूर्ण रात तबेलामा बिताउन थाले। प्रत्येक क्षण खडगसिँहको भयले सताइरहन्थ्यो, तर कैयौँ महिना बीतिसके पनि उ आएन। अब चाहीँ बाबा भारती केही असावधान समेत हुन थाले र यस भयलाई एउटा झूठो दुःस्वप्नका रुपमा लिन थाले।
साँझको समय थियो। बाबा भारती सुल्तानको पीठमा बसेर बाहिर घुम्न गइरहेका थिए। यतिबेला उनका आँखामा चमक थियो, मुखमा प्रसन्नता। कहिले घोडाको शरीरलाई हेर्थे, कहिले उसको रँगलाई अनि मनैमन दँग पर्थे। एकतिरबाट अचानक आवाज आयो, ‘ए बाबा, यस गरीबको पनि केही कुरा सुन्दै जाउ।’
आवाजमा करुणा थियो। बाबाले घोडा रोके। उनले देखे कि एउटा अपाङ्ग मानिस रुखको छाँयामा बसेर कहराइ रहेको थियो। उनले सोधे, ‘तिमीलाई के दुःख पर्यो ?’
अपाङ्ग मानिसले हात जोड्दै भन्यो, ‘बाबा म दुःखी छु। ममाथी दया गर्नुहोस्। रामवाला यहाँबाट तीन मील टाढा छ, मलाई त्यहाँ पुग्नु छ। घोडामा चढाएर लानुस्, भगवानले तपाँइको कल्याण गर्नेछन्।’
‘त्यहाँ तिम्रो को छ?’
‘तपाँइले दुर्गादत्त वैद्यको नाम त सुन्नु भएको होला। म उनैको सौतेनी भाई हूँ।’
बाबा भारतीले आफू घोडाबाट उत्रिएर त्यस अपाङ्ग मानिसलाई घोडामा चढाए अनि आँफै लगाम समाएर विस्तारै विस्तारै हिड्न थाले। अचानक उनलाई एउटा झट्का जस्तो लाग्यो अनि हातबाट लगाम छुट्यो। जब उनले देखे कि त्यो अपाङ्ग मानिस घोडाको पीठमाथी तनक्क तन्केर बसेको छ अनि घोडालाई दौडाउँदै लिएर जाँदैछ, तब उनी आश्चर्यचकित भए। उनको मुखबाट भय, विस्मय अनि निराशा मिश्रीत चित्कार निस्क्यो। त्यो अपाङ्ग मानिस डाकू खडगसिँह थियो। बाबा भारती केही बेरसम्म चुप लागेर बसे अनि केही समयपछी पूरा बल लगाएर चिच्याउँदै भने, ‘एकछिन पख।‘
आवाज सुनेर खडगसिँहले घोडा रोक्यो अनि उसको गर्दनमा मायापूर्वक हातले मुसार्दै भन्यो, ‘बाबाजी, अब यो घोडा तपाँइलाई दिन्न।’
‘तर एउटा कुरा सुन्दै जाउ।’ खडगसिँह रोकियो।
बाबा भारती नजिक गएर उसलाई यसरी हेरे जसरी बगरेलाई बाख्राले हेर्छ अनि भने, ‘यो घोडा तिम्रो भइ सक्यो। मैले यसलाई फिर्ता गर्न भन्दिन। तर खडगसिँह, खाली एउटा प्रार्थना गर्छु। यसलाई अस्वीकार नगर ल, नत्र मेरो मन दुख्नेछ।’
‘बाबाजी, आज्ञा होस्। म तपाइँको दास हूँ, मात्र घोडा दिन्न।’
‘अब घोडाको नाम नलेउ। मैले यस विषयमा तिमीलाई केही पनि भन्ने छैन। मेरो प्रार्थना यति मात्र हो कि यो घटना कसैसँग पनि प्रकट नगर्नु।’
आश्चर्यले खडगसिँहको मुख खुलाको खुलै रह्यो। उसले सोचेको थियो कि उसलाई घोडा लिएर यहाँबाट भाग्नु पर्नेछ तर बाबा भारती स्वयँले उसँग यो घटना कसैसँग पनि प्रकट नगर्न भन्दैछन्। यसबाट के प्रयोजन सिद्ध हुन सक्छ ? खडगसिँहले निकै सोच्यो, टाउको दुखायो तर केही पनि बुझ्न सकेन। उसले हार खाँदै बाबा भारतीको मुखमा आँखा गाडेर सोध्यो, ‘बाबाजी यसबाट तपाईलाई के डर छ ?’
यो सुनेर बाबा भारतीले उत्तर दिए, ‘मानिसहरुलाई यदि यस घटनाको बारेमा थाहा भयो भने उनीहरुले दीन-दुखि माथी विश्वाश गर्न छोड्ने छन्।‘ यति भन्दा भन्दै उनले सुल्तानतिरबाट यसरी मुख फर्काए कि मानौँ उससँग उनको कुनै सम्बन्धै छैन।
बाबा भारती त्यहाँबाट गए। तर उनका शब्दहरु खडगसिँहका कानमा उसैगरी गुन्जिरहेका थिए। सोच्थ्यो कति उच्च विचार, कति पवित्र भाव ! उनलाई यस घोडासँग प्रेम थियो, यसलाई हेरेर उनको मुख फूल जस्तै मुस्कुराउँथ्यो। भन्थे, ‘यो बिना म बाँच्न सक्दिन।’ यसको चौकिदारीमा उनी कैयौँ रात अनिँदो बसे। भजन भक्ति छोडेर चौकिदारी गरिरहे। तर आज उनको मुहारमा दुखको एउटा रेखा समेत देखिँदैन। उनलाई केवल यति पीर थियो कि मानिसहरु दीन-दुखिमाथी विश्वास गर्न नछोडिदिउन। यस्तो मानिस, मानिस हैन देवता हो।
रात्रिको अन्धकारमा खडगसिँह बाबा भारतीको मन्दिरमा पुग्यो। चारैतिर सुनसान थियो। आकाशमा ताराहरु पिलपिल गरिरहेका थिए। केही पर गाउँमा कुकरहरु भुकीरहेका थिए। मन्दिर भित्र कुनै शब्द सुनिइरहेको थिएन। खडगसिँहले सुल्तानको लगाम समातेको थियो। उ विस्तारै विस्तारै तबेलाको गेटमा पुग्यो। गेट खुलै थियो। कुनैबेला त्यहाँ बाबा भारती स्वयँ पहरा दिइरहेका हुन्थे, तर आज उनलाई कुनै चोरी, कुनै डकैतिको डर थिएन। खडगसिँह अगाडी गएर सुल्तानलाई उसको स्थानमा बाँधी दियो अनि बाहिर निस्केर सावधानीपूर्वक गेट लगाइदियो। यतिबेला उसको आँखामा भलाईको आँसु बगिरहेको थियो। रात्रिको तेस्रो प्रहर बितीसकेको थियो। चौथो प्रहर शुरु हुने बित्तिकै बाबा भारती आफ्नो कुटीबाट बाहिर निस्केर चिसो पानीले स्नान गरे।
त्यसपछि सपनामा हिँडे जस्तै उनका खुट्टाहरु तबेला तर्फ अघी बढे। तर गेटमा पुगेपछि उनलाई आफ्नो भूल महशूस भयो। साथै घोर निराशाले गर्दा खुट्टाहरु मन-मन जति गह्रुँगो भएको अनुभव भयो। उनी त्यहीँ अडिए। घोडाले आफ्नो स्वामीको पदचाप थाहा पाएर जोडसँग ‘हीही’ गर्यो। बाबा भारती आश्चर्य तथा प्रसन्नताका साथ दगुर्दै भित्र गए अनि आफ्नो प्यारो घोडालाई अँगालो मारेर यसरी रुन लागे जसरी धेरैदिन देखि बिछोड भएको आफ्नो छोरासँग भेट भएको बाबु रुन्छ। पटक पटक उसको पीठमा हात राख्थे, पटक पटक उसको मुख थपथपाउँथे। त्यसपछि सन्तोषपूर्वक भने, ‘अबदेखि कोही पनि मानिसले दीन-दुखिलाई देखेको नदेखै गर्ने छैन।’