म करिब छ वर्षकी थिएँ क्यार, जतिबेला मेरो भाइ ४ वर्ष पुग्नै लागेका थियो। उसलाई छरछिमेकले असाध्धै राम्रा, नाक मुख चटक्कै मिलेको छरितो केटा भन्थे। अरुले जे भने पनि मलाई मेरो भाइ फुच्छे, डल्ले र निर्दोष लाग्थ्यो।
त्यो दिन छिमेकमा खसी काटे। हो तब न बुवाले एक धार्नी मासु बोकेर आउनुभो। हामी बुबाको दौराको फेर समातेर मासु काटेको रमिता हेर्न पुलकित भयौं।
बुवाले मासु काट्ने बम्फक होसियारपूर्वक तासीबाट निकालेर भर्खरै रातो माटो र गोबरले लिपेको घरको पेटीमा ओछ्याएको खोसेलाको पिरामाथि बस्दै रेती लगाउन सुरू गर्नुभो।
सकिएपछि विस्तारै त्यै पेटीमुनिको अलि फराकिलो ठाउँ खोज्दै काठे पिरालाई खुट्टाले घरर्र सार्दै बस्नुभयो।
बुवाले ठूलो नाङ्लोमाथि अचानो राखेर ट्वाक्क ट्वाक्क मासु काट्दै गर्दा हामी रिङ्गै बसेर सिँगान स्वाँक स्वाँक तान्थ्यौं। आँगनमा कुख्राको भालेहरू पोथी र चल्लालाई छिचोल्दै क-क-क गर्दै अचानोबाट उछिट्टिएको मासुको चोइटा खान झ्याम्मिन्थ्यो भने हामी चैं कतिबेला पकाएर खान पाइने होला भनी पालैपालो थुक घुटुक्क निल्थ्यौं।
मैले भाइलाई ओई जा-जा तल्लाघरे पिरिङ र प्याक्चीलाई नि लिएर आ छिट्टो लु त ? भन्नेवित्तिकै एकै सासमा मेरो भाइ बम्फट्टे चप्पलमा इलास्टिक लुज भएको कट्टु एक हातले तान्दै अर्को हातले सिँगान पुछ्दै दगुरे। भाइ पिरिङ र प्याक्ची लिएर आउँदा नआउँदासम्म बुवाले मासु काटिसक्नु भएको थियो।
पिरिङ सधैंभन्दा सुघ्घर देखिन्थ्यो, उसले पुरानै दौरा सुरुवाल भए नि सुकिलो पारी चट्ट ढाकाटोपीसँग मिलाएर लाएको थियो।
बहिनी प्याक्ची पनि पोहोर साल ठूले दमाईले सिलाइदिएको फुलबुट्टे जामामा राम्री पुतलीजस्तै देखिएकी थिई।
म र भाइ उनीहरूको सुकिलो लुगा टुलुटुलु हेरिरह्यौं।
मेरो दाहिने कुमपट्टि फाटिएको भाग, जामाको तल्लो फेरोले छोप्ने प्रयास गरिरहें।
भाइले भन्यो, ‘दिदी अब मेरो चप्पल जोड्ने ठाउँ छैन रे है?ʼ
मैले भनें, ‘कस्ले भन्यो तँलाई?’
भाइले भन्यो, ‘आमाले अस्ति नै कत्ती कुप्पी बालेर आगोमा जोड्न खोज्नु भएको नि, भएन।’
मैले प्रतिउत्तरमा केही भनिनँ। भाइको आँखामा एक अनौठो चमक देखें। म मनमनै मुस्काए मात्र।
दिदी पल्टिँदै उनीहरूलाई सुनाउँदै भनें, ‘थाहा छ आज हाम्रो घरमा थुप्रो मासु पाक्दैछ? भरे पाकेपछि, यै मासु मेरो भाइलाई पस्केर दिन्छु। मेरो भागको मासुको झोल पनि उसैलाई थपनि दिन्छु नि। अनि हिजो देउसी खेलेको पैसा भाइले मलाई दिन्छ। मासु पाकेपछि तिमीहरू फेरि आउनु ल? म आमालाई भन्छु अलिकति दिनु भनेर। अनि हामी गुच्चा खेल्नुपर्छ है।’
दाजु बैनी टाउको हल्लाउँदै घरतिर दौडिए। मेरो भाइ खुसीले दंगदास हुँदै हिजो भेला गरेको चानचुने पैसा गन्न थाल्यो। १,२,३,४,५...। पाँच रुप्पे ६,७,८,९,१० ...। अँ... कति धेरै पैसा मेरो दिदी।
आमा बिहानै हँसिया र डोको बोकी मेलो मा निस्कनु भएको, अबेर भएजस्तो लाग्दैछ अझै आउनुभएन। माथिल्लो थुम्कीसम्म आँखा तन्काउँदै घरभित्र छिर्दा, बुवाले अघि नै आगो जोडेर ठूलो काने कराईमा मासु ओइर्याई सक्नुभएको रहेछ। मासुको हरहर बासनाले भाइ र म हुरुक्कै भयौं। कहीँ नभएको भोक बेस्सरी लागेर आयो। बुवा उता फर्केर सिलौटामा लोहोरोले लसलस गर्दै मसला पिस्दै हुनुहुन्थ्यो।
भाइले आगो ताप्नलाई सुक्कुल तानेर ल्याएँ। हामीसँगै ढेसिएर बस्यौं। बोल्न छोडेर उम्लिँदै गरेको मासुलाई एकोहोरो हेरिरह्यौं।
बुवा, ‘लु नानी! मैले यो मासुमा सबै मसला तसला लगाइसकें।
आगो सानो पारेर झोल सुकुन्जेल बेलाबेला चलाउनु है। पछिबाट यो कित्लीको तातो पानी ठिक्कले खन्याउनु ल छोरी?’
मैले भनें, ‘हुन्छ बुवा! बरु आमालाई भारी बोक्न सघाएर छिटो आउनु है।’
बुवा नबोली खोप्पी बाट नाम्लो निकाल्दै डोको भएतिर निस्कनुभो।
चुलोको छेउमा भड्डु भाँडामा भात पाकिसकेको देखें। अघि बिहानै आमाले पकाएर जानुभएछ।
भाइ - दिदी अब अझै कति मिलेट लाग्छ मासु पाक्नुलाई?
म - अँ ... अब दुई मिनेट जति लाग्छ। ननिँदा नि फेरि।
भाइ - थकित आँखाहरू मुस्किलले उघार्दै, कति हो त्यो भनेको?
म - १ देखि १०० सम्म गन्ती गर त नबिराई। अनि पाक्छ।
भनिसकेपछि साँच्चै मान्छेले कसरी समय हेर्छ होला घडीमा? खुल्दुली लागिरह्यो त्यो रातैभरि। भाइ त १,२,३ गन्दागन्दै ठहरै ढलिहाल्यो निन्द्राले। मैले भाइलाई सुक्कुलमै सुत्न दिएँ। अब मासुको झोल बुलुक बुलुक उम्लन थाल्यो। भाइलाई जोगाउन भनी सुक्कुललाई जोरले तानेर अलि पर सारें।