रामनन्दको जीवनले फेरि दोस्रो मोडमा प्रवेश गरिसकेको थियो। ऊ पहिलेभन्दा पनि बढी खुसी बटुल्न चाहन्थ्यो। उसलाई बहादुर बाघझंै गर्जिन मन लाग्थ्यो। उसलाई स्वतन्त्र चराझैं उड्न मन लाग्थ्यो।
उसलाई सन्काहा सिंहझैं आक्रमण गर्न मन लाग्थ्यो। ऊ आफ्नो इच्छामा आघात परेको सहनै सक्दैनथ्यो। उसले जति खुसीको कल्पना गरेको थियो, त्यति नपुगेको आभास गर्न थाल्यो। हो, ऊ यो दोस्रो विवाहबाट पनि सन्तुष्ट हुन सकेन।
अतीत चट्टान बनेर धसिरहेको थियो, उसको मुटुलाई। ऊ घायल थियो। विक्षिप्त मन लिएर ऊ आफैंभित्र रोइरहेको थियो। पश्चातापको ज्वालाले दन्किरहेको थियो उसको छाती। जति–जति दिन बितिरहेथ्यो विगतको याद उति नै बढी आँखाको पर्दा अगाडि फिल्मको दृश्यझैं घुमिरहेथ्यो।
पहिली श्रीमती अर्थात् सरला, जो एक पतिभक्त नारी थिइन्। जसको मायाले रामनन्दको जीवनलाई चम्काएर पोतिदिएको थियो, उनैको मायालाई उसले खरानी बनाएर समाप्त पारिदियो। सरला सोझी थिइन्। उनको लागि पति नै सबथोक थियो। हरपल उनी पतिकै सेवामा लिप्त हुन्थिन्। पतिको हरेक क्रियाकलापमा उनी चासो राख्थिन् र आवश्यकता अनुसार मद्दत गर्थिन्। उनलाई थाहा थियो उसको पतिलाई कस्ता खानेकुरा मन पर्छ भनेर। उनलाई थाहा थियो उसको पतिलाई कस्ता पोशाक मन पर्छ आदि÷इत्यादि। उनी पतिको मनोभाव बुझेर त्यसै अनुरुप नै आफूलाई परिणत गर्थिन्, यस्तो कि जसको कुनै अस्तित्व नै छैन। उसको पति अर्थात् रामनन्द सायद देवताजस्तै थियो। सायद पूजनीय नै थियो।
वैवाहिक जीवनको केही वर्षपश्चात् नै समयले परिवर्तनको मोड लिन थाल्यो। समयसँगै रामनन्दको बानी व्यवहारमा पनि विस्तारै परिवर्तन आउन थाल्यो। पहिले–पहिले उसको समय घरमा बढी र बाहिर कम बित्थ्यो तर अब विस्तारै त्यो सबै उल्टिदै थियो। ऊ घरमा थोरै र बाहिर धेरै समय बिताउन थाल्यो। सरलाले सम्झाउन थाली, तैपनि उसको चालचलनले परिवर्तनको संकेत दिएन। ऊ झन्झन् बढी बाहिरतिर नै झुल्न थाल्यो। सरला एक्लैले घरको सारा काम भ्याउने गर्थिन्। त्यो त केही थिएन तर उनीहरूको एउटा पसल पनि थियो। उनले यो दुबै हेर्नुपथ्र्यो। रामनन्दको घरमै नबस्ने बानीले सरला दिक्क बनिन्। यो टन्टा सम्हाल्न नसक्ने देखेर रामनन्दले एउटी काम गर्ने केटी ल्याएर राख्यो।
सरलालाई शारीरिक श्रमबाट त केही राहत भयो तर मानसिक पीडाले उनी ग्रसित हुन थालिन्। उनी आफ्नो साथमा श्रीमानको उपस्थितिको चाहना राख्थिन्। दुःख–सुखका कुरा गर्न रुचाउँथिन्। पारिवारिक प्रसंगहरूलाई सुन्दर भविष्यको कल्पनामा समायोजन गराउँथिन्। तर, रामनन्द पहिलेको जस्तो थिएन। उसलाई सरला धेरै बोलेकोमा झिँजोर लाग्न थाल्यो। सरला भन्थिन्, रामनन्द सुन्थ्यो मात्रै। भलाकुसारी र परामर्श भन्ने कुरा क्रमशः घट्दै जान थाल्यो। श्रीमानको यस्तो व्यवहारले उनलाई उदासिन बनाउन थाल्यो। उनको मनभित्र प्रश्न उब्जिन थाल्यो– श्रीमान् किन र केका लागि बाहिरतिर नै बढी भुल्छन्?
उनले एक दिन काम गर्ने केटीलाई पिछा गर्न अह्राइन्। बाहिरतिर भुल्ने कारण थाहा पाइन् कि ऊ त जुवातासमा पो दिन काट्दो रहेछ। व्यापार राम्रै चले तापनि घरमा पैसा नअडिनुको रहस्य बल्ल पत्ता लगाइन्। भित्रभित्र रिस पनि उठिरहेको थियो। भरे घरमा आएपछि केही भन्नुपर्ला भनेर रिसलाई थमाएर बसिन्। बेलुकी रामनन्द आइपुग्यो। सधैँ सरलालाई भेटिहाल्ने रामनन्द आज सुरुसुरु सुत्ने कोठातिर गएको थियो। सरला केही आश्चर्य मान्दै ऊ भएतिर गई। श्रीमान्को हालत बिजोग थियो। किनभने उसले त रक्सी पनि पिएर आएको थियो। उनले गन्धले नै थाहा पाइहालिन्
‘तपाईंले आज यो के गर्नु भएको?,’ यति भनेर सरला रुन थालिन्। रामनन्दले सम्झाउन थाल्यो। तर, सरला रुन थामिइनन्।
‘आज साथीको घरमा पार्टी थियो, उनीहरूको मन राख्नको लागि मात्रै छोएको थिएँ तर जबर्जस्ती गरेर धेरै नै खुवाए, नरोऊ के, अबदेखि नखाउँला नि त।’
त्यहीँ बसेर केहीबेर रोइसकेपछि सरला रुँदै बाहिरिइन्। भोलिपल्ट बिहानै उठेर उसले श्रीमानलाई खुबै सम्झाइन्। त्यो दिन रामनन्द घरमै बस्यो। फेरि अर्को दिनदेखि पुनः गायब। यसरी नै दिन बित्दै गए। कहिले साथीहरूको पार्टी, कहिले साथीको जन्मदिन, कहिले साथीको विवाह यस्तैयस्तै बहानाले उसको रक्सी खाने बानी पनि बढ्दै जान थाल्यो। सरला हरतरहले भ्याएसम्म सम्झाउन थालिन्। सकेसम्म सम्झाइरहन्थिइन्।
तर... अहँ कुनै पनि तरिकाले रामनन्दलाई बदल्न सकिनन्। रामनन्दको जीवनमा अब जुवातास र रक्सी सामान्य बन्दै जान थाल्यो। श्रीमतीले सम्झाउँदा पहिले त झर्केर कराउँथ्यो मात्रै। अब त मुक्का पनि हान्न थाल्यो। बिचरी सरला अब प्रहार खप्ने अचानो बन्न थालिन्। तैपनि उनको धर्म एवम् कर्तव्य रामनन्दलाई बदल्ने भरमग्दुर प्रयासबाट हरेश खाइनन्। प्रयत्न गरिरहन नै थालिन्। तर, सूर्यको रंग बदलिनेवाला थियो होला तर सरलाको लाख बिन्ति र आँशुले पनि रामनन्दको बानी व्यवहार बदलिएन। बेकसुरमा उनको जीउ निलडामको साझा चौतारी बनेको थियो। ऊ सरलालाई स–सानो कुरामा पनि मुक्का र लात्ती प्रहार गर्ने गर्थ्यो।
एक दिन उसले रामनन्दलाई पछ्याइन्। उसको तास खेल्ने घर पत्ता लगाइन्। रामनन्द साथीहरूसँग बसेर तास खेलिरहेको बेला अचानक सरला त्यहाँ देखा परिन्। रिस र आँशुको समिश्रणसँगै जलेकी सरला बमझैं पड्किन थालिन्। तासको पत्तीहरू च्यातेर जथाभावी मिल्काउन थालिन्। उनी गर्जिइन्।
‘तपाईंहरू सब जानुस्, तपाईंका श्रीमतीहरू पनि श्रीमानको न्यानो साथको प्रतीक्षामा छन्। तपाईंका श्रीमतीहरू पनि तपाईंहरूको आचरणको कामना गर्दै रोइरहेका छन्,’ उनी बौलाहीझैं भ्याङ्गभ्याङ्गती फर्किहालिन्।
रामनन्द शिर झुकाएर कुखुराझैं झोक्रायो। अरु सबै स्तब्ध थिए। त्यो दिनको खेल रद्द भयो। सबै आ–आफ्ना बाटो लागे।
रामनन्द रिसले मुर्मुरिएको थियो। घरमा जाँदा सरला थिइनन्। उसले वियरको बोत्तल खोल्यो र ग्लासमा राख्यो। अचानक सरला त्यहाँ देखा पर्छिन्। उनी फटाफट आइन् र वियरको बोत्तल र ग्लास बोकेर एकातिर लगेर मिल्क्याइदिइन्।
‘अब यस्ता कुनै पनि कुरा यो घरमा निषेध छ।’
‘ए, अब तँ म माथि पनि हैकम चलाउने भइस् होइन?’
‘म यो घरमा शान्ति–सुव्यवस्था चाहन्छु।’
‘मेरो कुनै पनि व्यवहारलाई तैंले सम्मान गर्नुपर्छ।’
‘हरेक कुराको सीमा हुन्छ।’
‘आफ्नो अनुकूलताको शासन गराउन चाहन्छु।’
‘कुनै पनि तानाशाहको विरुद्धमा विद्रोह किन हुन्छ, तपाईंलाई थाहा छैन?’
‘हरेक तानाशाहले विद्रोहलाई दबाएकै हुन्छ।’
‘तानाशाहले सधैं हारेको हुन्छ।’
‘तर, म सधैं जित्ने छु।’
‘तपाईंले अब आफूलाई बदल्नै पर्छ,’ सरला चिच्याइन्।
‘ए, तँ अझै चिच्याइरहन्छस्?’
‘जबसम्म तपाईं बदलिनु हुने छैन, तबसम्म म चिच्याइरहनेछु।’
दुबैको चर्काचर्कीले घर नै थर्थरी हल्लाइरहेथ्यो। रामनन्द रिसले बौलाहाझैं हुन थाल्यो। अचानक ऊ भान्सा कोठातिर पुग्यो। सरला पछिपछि गइन्। रिस र अपमानले बौलाएको रामनन्दले त्यै किचनको ‘राइस–कुकर’ उठाएर सरलाको टाउकोमा बजारिदियो। सरला डङ्ग्रङ्गै बजारिइन्। काम गर्ने केटी त्यो दृश्य देखेर गुहार–गुहार गर्न थालिन्। मान्छेहरू अचानक त्यहाँ आएछन्। कोहीले रामनन्दलाई गाली गर्दै लात्तै–लात्तले भकुर्न थाल्यो। कोहीले सरलालाई उठाएर अस्पताल लगे।
सरलालाई अस्पतालमा लगिएको केही घण्टापछि नै होस् खुल्यो। टाउकोमा गहिरो चोट लागेको रहेछ। अस्पतालमै केही दिन बसेर उनले आफूलाई निको त पारिन् तर उनी फेरि फर्किएर रामनन्दको घरमा कहिल्यै गइनन्। कसैलाई पनि थाहा भएन कि त्यसपछि सरला कहाँ गइन् तर जहाँ गइन् उनी स्वतन्त्र र स्वच्छ जीवनको खोजीमा पक्कै पनि गइन्।
त्यसको केही वर्षपछि नै रामनन्दले दोस्रो विवाह गरेको थियो। उनी थिइन् प्रेमा। तर, सरला र प्रेमाको व्यवहारमा आकाश–पातालको फरक थियो। सरला रामनन्दको जीवनप्रति खुबै ख्याल राख्थिन् तर प्रेमामा फिटिक्कै चासो थिएन। जतिबेला सरलाले रामनन्दले सुमधुर प्यार अनि साथ चाहिरहेकी थिइन्, त्यतिबेला उसले त्यो कुरा सरलालाई कहिल्यै दिएन। तर, अहिले उसलाई त्यही उनको आवश्यकता परेको छ, जुन प्रेमाबाट पाउन सकिरहेको थिएन।
ऊ एउटा के कुरामा खुसी छ भने उसलाई प्रेमाले सरलालेझैं खान, पिउन, ढल्न र मनपरी गर्नबाट कहिल्यै पनि रोकेकी थिइन। ऊ आफूले चाहेसरी स्वतन्त्र उड्न भने पाइरहेकै थियो। जुवातास, रक्सी र तरुनीमा नै लम्पट भएको रामनन्दलाई प्रेमाले थाहा पाएर पनि बेखबरझैं बसिदिन्थिन्। रामनन्द आश्चर्यचकित थियो। किन प्रेमाले मलाई सरलालेझैं रोक्न चाहँदिनन्? आफैंमा प्रश्न उठ्थ्यो।
एकदिन ऊ घरमा पसेको मात्रै के थियो दंगदास पर्यो। प्रेमाको हातमा रक्सीको ग्लास थियो। काम गर्ने केटीसँग गफ गर्दै पिइरहेकी थिई। रामनन्दलाई खुब रिस उठ्यो।
‘ए, तिमीले यो के गरेको?’
‘किन अचम्म लाग्यो? मैले त सँधैं पिइराख्थें,’ उनी हाँस्दै भन्छिन्।
‘ए, तिमी श्रीमती भएर पनि रक्सी पिउन सुहाउँछ?’
‘श्रीमान्ले जे–जे गर्छ त्यो सबै गर्न सुहाउँछ?’
रामनन्दको मुटुमा भयानक धक्का पर्यो। उसलाई यो दोस्री श्रीमतीले निर्धक्कसँग चुनौती दिइरहेकी थिई। ऊ नरम हुन थाल्यो।
‘हेर प्रेमा, तिमीले तिमीले आफूलाई बदल्नुपर्छ।’
‘श्रीमानज्यू, तिमीले मलाई भनेको कि आफैंलाई?’
रामनन्दको मुटुमा फेरि छुरा प्रहार भयो। ऊ यो प्रहारले रन्थनिन थाल्यो। ऊसलाई अब प्रेमाले पनि टेर्न खोजेकी हुन् कि भन्ने लाग्यो र मुर्मुरिन थाल्यो। ऊ झन्–झन् चिच्यायो, ‘प्रेमा तिमीले आफूलाई सम्हाल्न सिक।’
‘मलाई निरंकुशता मन पर्दैन बरु समानता मनपर्छ,’ उनले हाँस्दै भनिन्। यो हाँसोले रामनन्दको छाती जलायो। उसको रगत उम्लिन थाल्यो। उसले मुड्की कसेर जुरुक्क उठ्यो, प्रेमा पनि उठिन्। विवाद चर्किन थाल्यो। दुबै जना हार्ने पक्षमा थिएनन्। अचानक रामनन्दले दुईचार मुक्का सकुञ्जेलको बल लगाएर हान्यो। (तर के भयो त?) अहँ प्रेमालाई कत्ति पनि लागेन। उसले फेरि पनि प्रहार गर्यो, अहँ अझै लागेन। ऊ सशंकित, आक्रोशित अनि त्रसित पनि देखियो। प्रेमा हाँस्न थालिन्।
‘श्रीमानज्यू, म पनि त कराँतेकी खेलाडी हुँ नि।’
रामनन्दको ओठ तालु सुक्यो। उसले पहिलोपटक श्रीमतीबाट हार खायो। कहिल्यै हार नरुचाउने रामनन्दले यसपालि अस्वाभाविक पराजय भोग्यो। ऊ मुर्मुरिदै भित्र गयो। खाटमा डङ्ग्रङ्ग लडेर सुत्यो।
त्यसपश्चात रामनन्दले प्रेमामाथि कहिल्यै हात उठाउने प्रयास गरेन। बरु चिच्याउँथ्यो, थर्काउँथ्यो। यी कुनै पनि कुराले प्रेमालाई कुनै असर पारेन। बरु पे्रणाको व्यवहार नै रामनन्दको भन्दा बढ्न थाल्यो। अब गृहयुद्धले विकराल रुप लिँदै गइरहेको थियो। रामनन्दलाई घरमा बस्नै मन नलाग्ने हुन थाल्यो। ऊ हप्तामा दुई दिनमात्रै सुत्न आउँथ्यो। त्यसपछि कता हो कता, दुबैलाई दुबैको वास्ता थिएन। ऊ जुवातासमा सम्पत्ति उडाउँथ्यो, ऊ रक्सीमा चुर्लुम्म डुब्थ्यो र तरुनी लिएर कुलेलाम हिँडिदिन्थ्यो। यस्तो लाग्थ्यो कि ऊ नयाँ–नयाँ तरुनी लिएर प्रेमाको अघि बस्ने गथ्र्याे। तर, पनि प्रेमाले को र किन कहिल्यै भनिनन्। रामनन्दलाई प्रेमाको कुनै वास्ता थिएन। बरु ऊ त भोगविलासमा नै रम्न रुचाउँथ्यो। प्रेमा र रामनन्दबीच मन खुलेर कुराकानी हुन पनि छाड्यो। उनीहरूको मन थियो त केवल आ–आफैंसँग थियो।
एक दिन रामनन्द एक्लै घरमा आयो। कोठामा छिर्नै लाग्दा गाइँगुइँ आवाज सुन्यो। कोही लोग्ने मान्छे बोलेको स्वर स्पष्टै थियो। झ्यालको घेरोबाट उसले देख्यो। श्रीमती नग्न थिई। आफ्नै श्रीमती र पराई पुरुषबीचको त्यो क्रियाकलाप उसले अब हेर्नै सकेन। उसको रिसले अब प्रचण्ड तापक्रम लिन थाल्यो। उसको छाती ह्वारह्वार्ती जल्न थाल्यो। आँखामा क्रोधको आँशु भक्भकी उम्लिन थाल्यो। उसलाई यो सारा संसार नै ध्वस्त पारुझैं लाग्यो। उसले कल्पनासम्म पनि नगरेको दृश्य आँखासामु देख्न पुगेको थियो। असह्य वेदनाले मुटु छियाछिया परेको थियो।
ऊ रन्थनिएर भान्सा कोठामा पुग्यो र हातमा छुरी लिएर ब्वाङ्ग! ब्वाङ्ग! ढोकामा लात्ती हिर्काएर ढोका फुटाल्यो। प्रेमा र उक्त पुरुष खङ्गग्रङ्गै हुने गरी झस्किए। सामुन्नेमा रामनन्द क्रोधले जलेर हातमा छुरा लिएर थर्थरी काँपिरहेको थियो। दुबै त्रसित भएर बेडमाथि नाङ्गै खडा भइरहेका थिए। रामनन्दको आँखामा अचानक सरलाको दृश्य देखापर्यो। रामनन्दको मनमा अचानक सरलाको बोली गुन्जियो, ‘तपाईंका श्रीमतीहरू पनि तपाईंहरूको सही आचरणको कामना गर्दै रोइरहेका छन्।’
उसलाई अब खपिनसक्नु पीडाले विक्षिप्त पारिदियो। उसले बाघझैं गर्जिएर अचानक छुरा प्रहार गर्यो। कठै ! एउटा जिन्दगीलाई लाशमा परिणत गराएर सदाको लागि समाप्त पारिदियो। त्यो जिन्दगी अरु कसैको नभएर रामनन्दको आफ्नै थियो। अर्थात् अरु कसैमाथि नबज्रिएर त्यो छुरा रामनन्दको आफ्नो हातबाट आफ्नै घाँटीमा बज्रिएको थियो।