सङ्घर्ष त रोजेकै हो। शून्यतामा शब्दहरू खोजिरहेछु। भुइँचालोले गर्ल्याम्म लडाएजस्तो गरी सौदाबाजी तगारो बनेको छ। अबको एउटै विकल्प- परिस्थितिजन्य चुनौतीको सामना।
जीवनविज्ञानका हरेक सिद्धान्त खोजी र परिभाषा केलाई उसले, सही वा सत्यको नजिक पुग्न कठिन भयो। जीवनमा दुई चिज महत्त्वपूर्ण थिए- सुविधा र खुसी। भौतिक सुख-सुविधाका लागि कर्म गरी। सम्पत्तिले सुविधा दियो तर खुसी दिएन। सूक्ष्म शरीरले मनको सुख खोज्यो । सायद त्यो मिलेन, चित्त दुखायो कता हो कता।
‘दुलहीका बाबुआमा आउनुपर्यो जग्गेमा,’ पुरोहितको आवाजले सम्झनाको तरङ्ग टुट्यो नर्मदाको।
‘बाबुलाई बोलाउनुपर्यो,’ पुरोहितले फेरि भने। ऊ दुलही नजिक पुगिसकेकी थिई।
दुलहीले पारदर्शी घुम्टोबाट आमालाई पुलुक्क हेरी- न आशा थियो न त निरासा भनी, ‘गुरु, काम अघि बढाउनुहोस्, बाबा आइसिन्न। जरुरी काम पर्यो रे।’
पुरोहितले नर्मदालाई हेरे अनि दुलहीको भनाइलाई निर्देशन मानी विधि र प्रक्रिया सुरू गरे।
अदालती कागजले उसका सबै सम्बन्ध टुटिसकेका थिए तर छोराछोरीको चाहनाका अगाडि ऊ कमजोर भई। टेलिफोनबाटै निम्ता गरी। जिम्मेवारी निर्वाह गर्न अनुरोध गरी। आश्वासन पाई तर साक्षात्कार हुन सकेन।
ऊसँग भिन्न भएको पन्ध्र वर्षपछिको यो अवसर। एउटै खाल्डोमा भएर पनि भेट भएको थिएन। न उसले भेट्ने प्रयास गरी, न त त्यस्तो संयोग नै मिल्यो। छोराछोरी ठूला भएपछि आफैं बाबालाई फोन गर्थे, भेट्थे तर उसले न भेटघाटलाई बन्देज लगाउन खोजी न त सम्बन्ध विस्तार गर्न। लामो समयसम्म फ्रिज भएको उसको मन आज भने पग्लिँदै थियो। अत्यासलाग्दो विस्मातपछि मन फुरुङ्ग पारी, ‘हो, लामो प्रयास र धैर्यतापछिको यो उपलब्धिले साँच्चै जीवनमा ठूलो अर्थ राख्छ। यो खुसी म तिमीसँग बाँड्न चाहन्छु...’ उसको कल्पना कल्पनामै सीमित रह्यो।
‘उसले दिएको पीडामा आहत बनेको मन किन उसैको साथ खोजिरहेछ? के म फेरि सहकार्य खोज्दै छु। ऊसँग नबाँडिएको खुसीले मेरा लागि अर्थ राख्छ र? बाबु-आमा दुबैको भूमिकामा खरो उत्रिएकी छु आज म। सीमान्त आनन्द तर प्राप्तिमा सन्तुष्टि होइन, सन्देह छ तिम्रो साथको...। साँच्चै आज छोरीले तिम्रो उपस्थिति खोजेकी छ। आएको भए पनि हुन्थ्यो नि,’ मनमनै रिसाई अनि सम्झी त्यो रात। त्यतिबेला पनि उसले छोराछोरीको ख्याल राखेका थियो र?
भित्तामा झुन्ड्याएको फ्रेममा ध्यान दृष्टिले हेरी। दसकपछि पनि त्यो फ्रेम जस्ताको तस्तै छ।
लामो समयसम्म हेरी- अनुहार हेरेर फलादेश गर्ने जसरी। स्वर्गेवास भएका आफन्तको आत्माको चिर शान्तिको कामना गर्ने ढङ्गले। अनि कहीँ चिनेचिने, देखेदेखे जस्तो गरी।
परिणाम र पहिचानको संयोजन विन्दु कतै फेला परेन।
आज निर्णयमा पुग्नैपर्छ तर न परिणामको तौल भारी छ, न त पहिचानको।
‘मेरो चाहना, मेरो पहिचान र मेरो आस्थाको धरोहर कसरी भत्किन सक्छ?’
‘तस्बिरमा खोट छैन। निश्चछल छ अधर। उफ्... कहाँ लाग्यो धमिरा फ्रेममा?’
‘सबैभन्दा स्तरीय, महँगो अनि बेस्सरी मन परेको फ्रेममा धमिरा?,’ रोजाइको कमजोरी र भोगाइको पीडा एक साथ मस्तिष्कमा उत्रियो।
साँच्चै आज खिन्न थिई ऊ, ‘कम्तीमा आजको दिन मात्रै केही समय दिएको भए हुन्थ्यो।’
ब्यागमा थियो ल्यापटप तर खोलेर झिक्न मन लागेन। टि-टेबलकै ल्यापटप खोली। इन्टरनेटबाट केही कलेक्सन हेरेर लेटेस्ट बुटिक डिजाइन गर्नु थियो अधबैँसे युवतीका लागि। आफ्नै ल्यापटप किन चाहियो? काम भए पुग्यो।
फेस बुक खुलै रहेछ। कुराकानीकै क्रम थियो। हेर्दै गई, पढ्दै गई, बुझ्दै गई।
फेयरिस्ताको खात....।
‘काली कता गायब?’
‘छैन।’
‘अब त तेरो बानी लागिसक्यो। अफिसबाहिरको गेटमा निस्की, म आइरन्छु।’
‘आज त सपिङ जानुपर्छ है। मलाई सिजनल ड्रेस किन्नु छ।’
‘ओके, जेजे मन लाग्छ किन्नु।’
अनगन्ती माग अनि पूरा गर्ने प्रतिबद्धता।
***
‘पारु कता छौ? भोलि त तिम्रो बर्थ डे है? भन म के दिउँ?’
‘मैले मागेको दिन सक्नु हुन्छ?’
‘भनिहेर न, बाइक किन्दिउँ?’
‘हजुरको मर्जी।’
***
‘डियर, आज त अति भयो। प्लिज नाइट स्टेका लागि जाऊँ न कतै।’
‘मैले सबै मिलाइसकेँ, विदेशीलाई दुई दिन बाहिर लैजानु छ भनेको छु। तिमी सबै रेडी गर। अनि छ नि, त्यस दिनको पिक्चर हेर त कति सेक्सी तिमी...!’
(आपत्तिजनक तस्बिर र भिडियो।)
एकपछि अर्को- च्याट टक निकै तिखा थिए। दृश्य भयानक। मुटु नराम्ररी बाउँडियो। मष्तिस्क खलबल्यायो। हृदय छियाछिया भयो। ल्यापटप झ्याप्प बन्द गरी। अरू सबुत आवश्यकै रहेन। आवश्यकता थियो त केवल हिम्मत, सासह र धैर्यको। अहिले पनि ऊप्रतिको आस्था र विश्वास धरमराएको थिएन। लामो श्वास लिएर आँखा चिम्म गरी अनि पल्टी नजिकैको टु-पिस सोफामा।
नरेशले आफू अनि परिवारलाई कम समय दिएको झन्डै दुई वर्ष भइसकेको थियो। अघिल्लो दिन विदेशी क्लाइन्टसँग ठूलो डिल थियो। यो उसका लागि निकै ठूलो अफर हो। सँगै जाने प्रस्ताव गरी तर नरेशले समय दिएन। नरेश अर्थात् उसको श्रीमान्। नर्मदालाई शङ्का थियो कताकता तर शङ्काकै आधारस्तम्भ कमजोर। त्यसैले अहिलेसम्म चुप थिई।
सोच्थी- कामको व्यवस्तताले होला। स्वनिर्भर बनोस् भन्ने पनि होला। धनसम्पत्ति, सुखसयल! भौतिक दुःख उसले कहिल्यै भोगिनँ अनि मनको सुख प्राप्ति पनि भएन।
‘पेशा र समयको व्यवस्थापनमा मैले गरेको समझदारीलाई कमजोरी ठान्यौ। पेसागत विद्वता र सचेत बन्ने मेरो कोसिसमा टेकेर सिकार खेल्यौ। आत्मनिर्भर बनेँ, स्वाभिमान जोगाएँ। पत्नी भएकै नाताले तिमीलाई कुनै अङ्कुश र जोरजुलुम गरिनँ। यी सबले मेरो जिन्दगीको व्यापारमा नोक्सान पुर्याए। आफ्नै उत्पादन कमसल, ग्राहक आएनन्। बिच्चिए। छिमेकीकहाँ गए। व्यर्थको टाउको दुखाई। अब मेरो सम्पत्ति मात्र मेरो रहेन। धेरैले त्यसमा हिस्सा जमाइसकेछन्। लगभग सार्वजनिक बनेको सामानले मेरो जिन्दगीको व्यापारको स्तरोन्नति गर्छ र?’
आधी रातसम्मको मन्थनपछि ऊ निष्कर्षमा पुगी। साथीहरूबाट उसले यस्तै घटनापछिका नतिजा सुनेकी थिई। भनेकी पनि थिई- फेसबुकको कुराकानी हेरेर पनि झगडा गर्छन् त? अझ सम्बन्ध विच्छेदसम्म! ‘ओ माई गड’ त्यस्तो पनि हुन्छ! माया खोसिने र साझेदारीमा परिणत हुने भयमिश्रित आशङ्काको विजारोपण सायद त्यतिबेला नै भएको हुनुपर्छ उसमा। आज त सप्रमाण फेला पारी।
खोट मैमा थियो, रोजाइ गलत। जति नै दक्ष र सम्पन्न भए पनि के भयो? कामवासनाको कमजोरीमा तिम्रो विद्वता र सम्पन्नतामा मखिया लागेछ। बिग्रिएको बीऊ कसरी अङ्कुरण हुन्छ र भण्डारण गर्न सक्छु? ‘राजनीति सम्भावनाको खेल’ भन्ने गर्थे नेताहरू तर यहाँ त हरसम्बन्ध घाटानाफाको सम्भावनै सम्भावनाको खेल रहेछ, जहाँ स्नेह र भावना निमोठिएको पत्तै हुँदैन। सत्ताको चलखेलजस्तै समय समयमा सम्बन्धको निकटताले पनि बाजी मार्ने र पल्टा खाने गर्दो रहेछ। आमनागरिकले नबुझेको सत्ताको पल्टाबाजीजस्तै यो निरीह जिन्दगीले पनि सम्बन्धका परिवर्तित रङहरूलाई नादान बनी हेरिरहँदो रहेछ। धनी बाबुका बिग्रेका छोरी। उद्योगी, व्यवसायी नवकिशोरी... सबै वर्गसँग स्तरअनुसारका कुराकानी। नवयुवती र नवयुवकले गर्ने र सोच्ने सबै शब्द र चाहना व्यक्त थिए फेसबुक च्याट टकमा।
सम्बन्धको उत्तरदायित्व र इमानदारीका हरबुझाई स्खलित हुँदै गए। नरेशप्रतिको उसको बुझाई अब कमजोरीको रूपमा ऊमाथि नै भारी पर्यो।
कठोर निर्णयसँगै सङ्घर्षशील समयको कल्पना गरी- महिला भान्सामा..., सन्तानको भविष्य..., पुरुष...!
मस्त निद्रामा रहेका छोराछोरीप्रति एक दृष्टि फ्याँकी। सायद सोची- तिमीहरू मेरा कमजोरी होइन, सम्पत्ति हौ। दुई भिन्न पलङमा निदाएका छोराछोरीलाई एउटैमा सारी अनि गम्लङ्ग अँगालो हाली।
त्यति नै बेला मोबाइलमा म्यासेज आयो। मध्यरातको १२ बज्न चार मिनेट बाँकी थियो। ‘सरी डियर, आज म घर आउन सकिनँ। विदेशीलाई छोड्न मिलेन।’
उदाउँदो सूर्यसँगै ऊ नरेशसँग भिन्न भई। कठोर निर्णयपछिको सङ्घर्षशील समय आजको यथार्थ हो उसको।
***
‘साह्रै सुखसयलमा राखी छोराछोरीलाई। बाबु भएर पनि के गर्यो र त्यसले? कन्यादानमा त आएन। उसकी पनि छोरी नै हो।’
‘हैन यो कात्तिक मास किन बिहे गरेको? एक्ली आमाले पालेको, बढेकी छोरी। त्यसै हतार गरेका पक्कै छैनन्।’
‘कलकलाउँदो समयमा लोग्ने छोडेर बसेकी आमा, खै? मलाई त शङ्कै लाग्छ- कस्ती आमा कि कस्ती छोरी?’ निम्तालुका खासखुस नचाहेरै सुनी।
खपिसक्नु भएन, सास थामेर भित्र पसी। आँखाबाट बरबरी झर्न थाले आँसुका ढिका। ढोका थुनेर खुब रोई। ‘कात्तिकमा बिहे गर्नु हुन्न’ भन्दा उसले आफ्नो प्रेम गुमाएकी थिई। ‘प्रेमिल साथ र काखको अभाव छोरीमा देख्नु नपरोस्’ भन्ने कामना छ उसको। ऊ सधैँ सम्झिरहन्छे जीवनको पूर्वघटना।
‘परिवारले कात्तिकमा बिहे गर्न दिएन। भागेर बिहे गर्न आँट भएन । सौरभ उच्च शिक्षाका लागि विदेश गयो। पारिवारिक दबाबकै कारण वर्ष दिनपछि उसको बिहे नरेशसँग भयो।’
बाहिर छोरीको बिहेको रौनक। ऊ कोठाभित्र आन्तरिक तरङ्गमा हेलिएकी।
‘सब कुरा छ मसँग तर प्रेम छैन,’ छातीमा मुड्की बजारी। घरै उचाल्ने गरी रुन मन लाग्यो तर रुने समय थिएन। कस्तो विडम्बना! हाम्रो समाज न उन्मत्त हाँसो हेर्न सक्छ न त सीमान्त रुवाई। चेन्जिङ रुममा छिरी, ढोका थुनी र सबै गहना फुकाली। जरीजडित महँगो सारी फुकाएर तुरुन्तै अर्को सारी लगाई। शृङ्गार गरी, सेल्फी स्टिकमा क्यामेराको पोज मिलाई- क्लिक। सारी उही थियो। उसका निधारमा धर्सा देखिन थालेको निकै भइसक्यो। कपुर राखी पत्रिकामा बेरेर टिनको बाकसमा राखेको सारीले पनि २८ वसन्त पार गरिसकेको थियो तर उस्तै। न कतै चाहुरिएको थियो न त कतै खुम्चिएको।
‘तिमीले उबेला रिल घुमाएर खिचेको फोटो जस्तै छ जीवन, जस्ताको तस्तै। अब त तिमीले पनि आवश्यकता चिन्नेछौ,’ भित्रभित्रै खुसीले पुकलित भई ऊ।
***
‘हजुरलाई पनि हाजिर हुन आउने म्याद तामेली पठाउँ?’ फोटोसहितको स्टाटस अपलोड गरी।
कुनै बेला फेसबुकले पारिवारिक सम्बन्ध बिग्रियो। आज ऊ फेरि त्यही फेसबुकबाट पहिलो प्रेम खोज्दै छे। पुरानो प्रेमी।
‘समय, परिस्थिति र बाध्यताबीच मन किन यति साह्रै बेचैन भएको? सायद त्यसैले यो मन हो।’ आफैंले आफैंलाई उत्तर दिई। धैर्य गर्ने क्षमता पटक्कै छैन। उडिरहन्छ मन कताकता। बादलभित्र पसेर कुतकुती लाउँछ।
‘भन, कुन अदालत हाजिर हुँ,’ तुरुन्तै इनबक्समा कमेन्ट आयो।
‘प्रेम अदालत!’
‘आरोप?’ संक्षिप्त प्रश्नमा काउकुती लाउने जिज्ञासा!
‘धोका।’
‘ओ, केको मुद्दा, अनि केको सजायँ?’
‘भोको राख्न पाइन्छ?’
‘कारबाही नि?’
‘बिहे।’
‘यो उमेरमा?,’ उसले दर्जन स्माइलीसाथ जवाफ दियो।
‘मायाको मुद्दा, प्रेम अदालतमा! उमेरको हदबन्दी लाग्दैन यहाँ,’ उसले पनि तुरुन्तै जवाफ फर्काई।
‘हाजिरी?’
‘आजै।’
‘सजाय कार्यान्वयनको म्याद?’
‘अहिले नै।’
ऊ तुरुन्तै दुलही बनी। मण्डपमा सात फेरा लिएर बिहे गरे उनीहरूले। कल्पनाको संसार निकै विशाल थियो- हनीमुन गोवामा!
***
‘दुलही अन्माउने बेला भयो। सगुन ठीक पार्नु!,’ कसैले ढोका ढकढकायो। उसको कल्पनाको संसार ढल्यो गर्ल्यामगुर्लुम! जसका लागि स्टाटस राखिएको थियो, उसको पत्तो थिएन।
तुरुन्तै लुगा फेरेर निर्देशन अनुसार बाहिर निस्की। उसको पूरै ध्यान हातको मोबाइलमा थियो।
संघारबाट छोरीलाई सगुन दिएर बिदा मात्र गरेकी थिई। ट्वाङ्ङ म्यासेज आयो इनबक्समा।
‘सरी डियर! हाजिर हुन असमर्थ छु। प्रेम अदालतको अस्तित्व निमिट्यान्न पार्ने निर्णय तिम्रै थियो।’