सर्पले आफैंलाई डस्न थालेपछि
हाम्रा बडाबाको सातो गयो
पोहोर साल त त्यसले माझाघरेलाई मात्र टोकेको थियो
यसपालि त झन् तल्लाघरेलाई पनि टोक्यो
अझ हुँदा हुँदा
आफैंले दुध पिलाएको धामनले
अहिले त आफैंतिर पो फँडा फिजाउन थाल्यो
बडाबाको सातो गयो।
आफैंलाई नजिस्क्याएसम्म
जो सुकैलाई टोकोस्
बडाबा मस्त थिए।
गाउँलेको चित्कारमा उहाँको रौं हल्लेन
निरिहको क्रन्दनले उहाँको दिल पग्लेन
किनकि
सर्प त आफ्नै खोकिलाको थियो
जो जोलाई टोक्यो तिनीहरू उहाँका कोही थिएनन्।
त्यसैले अर्कालाई टोक्दा
बडाबाले सधैं हाई काढेर बस्नुभयो
दृष्टि अलि कमजोर भएकोले
अरुलाई डसेको उहाँले देख्ने कुरा पनि भएन
तर किन हो कुन्नी
आकासमा मढारिएको बादल देख्दा
यसपालि बडाबाको पनि सातो गयो।
उहाँलाई लाग्यो
यो त बडो अनिष्टको संकेत हो।
धामनले कसैलाई पनि नछोड्ने भयो।
आफ्नै काखमा हुर्केको धामनले
अहिले आफैंलाई पनि नछोड्ने भयो।
बडाबाको सातो गयो।
बाहिर रवाफी देखिए पनि
बडाबाको पनि होस् उड्यो।
धामनले आफूलाई निल्ने त्रासमा
साँच्चै बडाबाको पनि सातो गयो
उनको मनमा खड्किइरह्यो
मुला! आफ्नै मान्छे पनि चिन्दैनस्
अब तँलाई ठेगान नलगाई भएन।
बडाबाले धामनलाई गरुडको छाया पार्न खोजे
किनकि बडाबाले सपनामा पनि धामन नै धामन देख्न थाले।
पारी डाँडामा कटवाल कराएपछि
बडाबाको घरको पटाङ्गीनीमा
घरलौरी गर्दै गाउँलेहरू जम्मा भए
परार धामनले लखेटेकाहरू
पोहोर टोकेर आत्तिएकाहरू
मोटाएका किर्ना र अजिङ्गरहरू
दुब्लाएका हड्डी र छालाहरू
सबै मिलेर विन बजाउने निर्णय गरे
केहीछिनमा नै
गाउँभरि विनायोको धुन सुनियो
कराउँदै गरेका स्यालहरूको स्यालहुइँया सुनिन छाड्यो
आकासमा गिद्घहरू देखिन छाडे
झ्याउँकिरीको एकोहोरो कराइसँगै
छरप्रष्ट आकास चुहियो।
त्यसैले आज धामन
विनायोको धुनसँगै लल्याकलुतुक्क परेको छ
सायद केही समय अब यसको रोद्ररुप देखिने छैन
यत्तिकैमा बडाबाको अनुहारमा चमक देखियो
विजय भावमा उहाँले फेरि भन्नुभयो
देख्यौ त केटाहरू हो!
हामीसँग पौठेजोरी खाज्नेको यस्तै हाल हुने गर्छ
गाउँलेहरू छक्क पर्छन्।
उनीहरूलाई थाहै हुँदैन कि आखिर के भैरहेको छ,
उनीहरूलाई सर्प र बडाबा उस्तै लाग्छन्।