नामसँगै जोडियो पूर्णविराम। प्रोफेसरले मोबाइलको स्क्रिनमा अरु एक शब्द पनि लेख्न सकेनन्। त्यसअघि यस्तो कहिल्यै पनि भएको थिएन।
प्रोफेसर शरदको परिचय नै बढी लेख्ने अनि विद्यार्थीलाई नोट लेखाएर कहिल्यै नथाक्ने। लेख्नु अगाडि उनलाई लागेको थियो उनी धेरै कुरा लेख्ने छन्। रिन्याउने छन् मन। तर अचम्म! उनले मोबाइलको स्क्रिनमा त्यही बुधनीदेवी पनि हात कमाउँदै कमाउँदै लेख्न भ्याए।
बुधनीदेवी निख्खर काली छे। आजकल के भा हो प्रोफेसरको मन! उनलाई कालै मात्र मनपर्छ। कालो कारबाट युनिभर्सिटीको गेटमा उत्रँदा उनका खुट्टामा काला जुत्ता टल्किएका हुन्छन्। गलामा कालो टाई, कालै कभर भएको नोट, कालो पेन, कालो छाता आदि। पछिल्ला दिनमा त प्रोफेसर पावरवाला गगल्स लगाउँछन् त्यो पनि कालै कलरको। कपालमा अड्याउन बिचरा कपालै छैन, पढाउने बेलामा उनलाई गगल्स कता राखौं भन्ने अलमल हुन्छ।
बुढा आजकल बढी नै टोलाउँछन्। बिनाकारण मुसुक्क मुस्कुराउँछन्। ह्वाइट बोर्डमा डिमान्ड कर्भ कोर्दा उनको हात थर्थराउँछ अनि रेखा नपत्याउँदो नागबेली बन्छ। कडा स्वभावका सरद सर विद्यार्थीतिर फर्केर आदेश दिन्छन्– मैलेजस्तै स्ट्रेट बनाओ। केटाहरू गलल्ल हाँस्छन् बुधनीदेवी ठुस्स पर्छे।
जति कडा भए पनि चिया खाने बेलामा शरद सरलाई विद्यार्थीकै जमात मन पर्छ। एकदिन रामेले सबैलाई दुध चिया मगायो। सधैँ दुध चिया खोज्ने शरद सरले हतार–हतार भने–चिया त कालै खाने हो। दुध चिया खाँदाखाँदा वाक्कै भइयो।
पहिला त सर भन्थे–कालो चिया पनि चिया हो? असली चिया त दुध चिया हो।
शरद सरले एमए इकोनोमिक्सको पहिलो क्लास सम्झिए। परिचय गर्ने क्रममा बुधनीदेवीले बोलेको सम्झिए–मेरो नाम बुधनीदेवी यादव। घर तराई छ, सर्लाही। तपाईँबाट हामी धेरै कुरा सिक्न यहाँ आएछु।
त्यसै दिनदेखि शरद सरलाई बुधनी असाध्यै मन परी। क्लासमा अरु गुड मर्निङ्ग सर भन्थे, बुधनीदेवी मुसुक्क हाँस्थी। उसका गाला तन्कन्थेँ अनि सेता दाँत टलक्कै चम्कन्थे। कति आत्मिय अभिवादन! काली भएर के भो? मन कति उज्यालो छ। आखिर गोरी त घरैमा छँदै थिइन्।
देख्नेहरू भन्छन्– शरद सरले बुधनीदेवीलाई लाइब्रेरीमा भेट्थे। बुधनीदेवीको पढाइ राम्रो हुँदै जानु, ऊसँग बजारमा नपाइने पुस्तक समेत पाइनु त्यसैका प्रमाण हुन सक्थे ।
शरद सर विदेशका विभिन्न युनिभर्सिटीमा लेक्चर दिन जान्थे। उनको क्लास नभएका दिन बुधनी टोलाएर बस्थी। सीताका अनुसार एकदिन केटी जमातमा ब्वाइफ्रेन्डको कुरा चल्दा बुधनीले भनी रे मलाई ब्वाइफ्रेन्ड बुढा मन पर्छ । पैसा पनि कमाइ हाल्छ सबै काम गरीहाल्छ।’
...
शरद सरलाई जवानी नआएको पनि होइन। पहिल्यै आयो, त्यत्तिकै गयो। त्यो पोस्टकार्ड साट्ने जमानाको जवानी असाध्यै असहज। प्रतिकूल समयमा जन्मिनु परेकोमा शरद सरको मन नराम्ररी पोल्छ अचेल। धेरै केटीले शरद सरको अटो भरे। सायरी पनि लेखे। तर उनको मन भरेनन्। प्रेम र प्रणयका एक शब्द पनि लेखेनन्।
जब अतीत सल्बलाउन थाल्छ, जब शरद सर १८÷२० वर्षका थिए। उनलाई उनका सेता कपाल एकाएक काला भएझैँ लाग्छ। मन चङ्गाजस्तै उड्न थाल्छ। चाउरिएका अंगप्रत्यंग सल्बलाउन थाल्छन्। कौतुहलमय काउकुतीले कसो गरुँ कसो गरुँ हुन्छ। अनि सम्झन्छन् उही बुधनीदेवीलाई ।
लाइब्रेरीको पल्लो कुनामा एक दिन बुधनीदेवीले कस्तो–कस्तो अनुभव गरी। शरद सर उसलाई युरोप टुरको बारेमा सुनाउँदै थिए। युरोपको समाज, विश्वविद्यालय, रहनसहन, कल्चर आदि। उनी भन्दैथिए– त्यहाँ त शिक्षक र विद्यार्थी जति आत्मीय साथी कोही हुँदैनन्। यही कुरा बुधनीदेवीको मनमा बस्यो। अनायासै शरद सर उसको आत्मीय साथी बने। ऊ शरद सरको असिस्टेन्ट बनेर देशविदेश घुमेको कल्पना गर्न थाली। थाहा छैन उसले आफ्नो उमेर बढाई वा शरद सरको उमेर घटाई। सरप्रति उसको प्रेममय दिलचस्पी बढेर गयो।
त्यो दिन सम्झिएरै बुधनीदेवी शरद सरको सम्मुख भई। आँखा जुधाई र विस्तारै लयदार वाक्य बोली–
साथी हुनुको सम्बन्धले सरलाई म मेरो कमरामा खाना खुवाउँछु। सरले मिलाइ हाल्नुप¥यो।
शरद सरका आँखा ठूला मात्र भएनन् मन पनि तन्कियो। उनले मुटुको तेज धड््कन महशुस गरे। मुख उज्यालो भयो। उनले मार्कर समाते झैँ निसङ्कोच बुधनीदेवीको हात समाते र भने– अवश्य, अवश्य आउँछु।
देख्नेहरू भन्छन्, त्यो दिन उनी विश्वविद्यालयको क्वाटरमा जाँदा सुसेल्दै, उफ्रँदै, कम्मर मरकमरक पार्दैै गुन्गुनाउँदै गए रेः
‘थोडा सा प्यार हुवा हे, थोडी हे बाँकी ...’
शरद सर खाना खान आउने अघिल्लो रात बुधनीदेवीलाई पटक्कै निद्रा परेन। उसका मनमा अनेकन मिठानमिठा कुराहरू खेल्न थाले। उसले हिँडेको चौरस्ताभन्दा फराकिलो सडकमा थिई ऊ आजकल। अझै शरद सरले वर्णन गरेको संसार कति फराकिलो हुँदो हो? उसलाई शरद सरकै हात समातेर घुम्न मन लाग्यो। शरद सरको अथाह ज्ञानको भण्डारमा उसलाई लुट्पुटिन मन लाग्यो। कति रमाइलो कल्पना।
सोच्दासोच्दै त्यो दिन ऊ दुःखी पनि भई। शरद सरको कपाल फुलेको उसलाई मन परेन। शरद सरको कपाल किन झ¥यो? ऊ चिन्तित भई।
सोच्दासोच्दै आधी रातमा निदाइछे ऊ। उसले शरद सरसँगै समुद्रको बीचमा आङ तन्काएर घाम तापेको सपना देखी। ब्युँझेर उसले कल्पना गरी – शरद सरलाई टिसर्ट र हाफ प्यान्टमा कस्तो देखिएला?
ऊ बिहानैदेखि फुरुङ्ग थिई। उसलाई तयारी गर्नुथियो शरद सरको आगमनको। उसले कोठा चिटिक्क बनाई। कचौरामा गेडागुडी भिजाई अनी बजारतिर लागि। बजारमा ऊ तरकारी पसल गई, त्यसपछि माछा पसल गई, कस्मेटिक पसल गई र फर्किँदा कपडा बजार हुँदै घर फर्किई।
बाह्र–एक–दुई ...।
घडीले साँझको छ बजायो। नभन्दै शरद सर बुधनीदेवीको ढोकामा टुप्लुक्कै आइपुगे। बुधनीदेवी ‘गूड आफ्टरनुन सर’ को पोजिसनमा उहिल्यै ढोकामा खडा थिई। कोठा खानेकुराको बास्नाले मगमगाइरहेको थियो।
ढोकाबाट छिर्नासाथ रातो पेपर¥याप गरिएको गिफ्ट शरद सरले बुधनीदेवीको हातमा थमाइदिए। खाना खाने बेलामा शरद सर र बुधनीदेवी आमुन्नेसामून्ने बसे। बुधनीदेवीले बनाएका परिकारहरूको प्लेट र कचौराले भुइँ ढाक्यो।
‘यो मछलीको चट्नी, यो धनियाँको चट्नी, यो मसरुम करी, यो गेडागुडीको रस ...।’
आम्मा... बुधनीदेवी कति सिपालु!
‘खाना कस्तो छ सर?’ मिठो मुस्कानका साथ बुधनीदेवीले भनी, ‘मलाई मिठो बनाउन आउँदैन।’
त्यही बेला शरद सरलाई बुधनीदेवीले प्रश्न गरेको यादै भएन। उनी उसैलाई हेर्दै थिए। टन्न खाँदै झनझन अतृप्त बन्दै थिए। मुसुमुसु हाँस्दै थिए।
खाना खाइवरि हिँड्ने बेलामा बुधनीदेवीले एउटा पोलिथिनको ब्याग दिँदै भनी–सर यो तपाईँको लागि।’
शरद सर र बुधनीदेवीको आँखा जुध्यो। शरद सरलाई अचम्मैसँग लाज लाग्यो।
...
ता बुधनीदेवीले शरद सरको गिफ्ट खोली। रातो वानपिस थियो। उसले लजाउँदै लगाएर ऐनामा हेरी। उसलाई ऐनामा त्यति राम्री त्यसअघि कहिल्यै देखिएको थिएन। टिमिक्कै मिलेछ, उसलाई शरद सरले पछाडिबाट सुम्सुम्याए जस्तै काउकुती लाग्यो।
यता शरद सरले बुधनीदेवीको गिफ्ट हेरे। कालो मेहन्दी र कपाल उमार्ने मलम थियो। ऐनाअगाडि उभिएर आफैंलाई हेरे। चाउरिदै गएको अनुहार, फूलेको कपाल, कपाल झरेको तालु र खुइँलिदै गएको आकर्षण। बुधनीदेवीलाई किनिदिएको वानपिस सम्झिएर खंग्य्रांगखुुंरुंग भए। लाजसँगै डर पनि लाग्यो उनलाई। उनले उनकै श्रीमतीले सपिङ गर्ने पसलबाट किनेका थिए वानपिस। कस्तो बुद्धि!
यत्तिकैमा झसङ्ग हुने गरी श्रीमतीले बोलाइन्– समृद्धिका बाबा, यता आइस्यो त।’
उनी थरर्र कामे। आफैंले आफैंलाई घृणा गरे।
...
त्यसको झण्डै एक महिनापछि बुधनीदेवीसँग धेरै कुरा गर्ने मनसायले उनले मोबाइलको म्यासेज बक्स खाले। धेरै कुरा भन्न खोजे, भन्नै सकेनन्। धेरै कुरा लेख्न खोजे, लेख्नै सकेनन्। हात कमाउँदै ‘बुधनीदेवी’ लेखेका थिए उताबाट म्यासेज आयो –कपाल उम्रियो सर?
श्रीमतीले फेरि बोलाइन्– समृद्धिका बाबा, यता आइस्यो न।’ शरद सर फेरि खंग्रङ्ग भए।