प्रभाती शान्तिमा पवित्र ध्वनि थपियो ।
मन्दिरको घन्ट बजाउँदाको पहिलो ‘टिङ’पछि उत्पन्न हुने पराध्वनीको आध्यात्मिक तरङ्ग र त्यसबाट प्राप्त हुने अलौकिक आनन्द वर्णन गर्न सक्दिनँ। त्यो गहिरो र बेजोड लाग्छ मलाई।
घर छेउको म्हैपी मन्दिरबाट आएको पवित्र ध्वनीले बिहान चारै बजे व्युझें। र, सात बज्न पाँच मिनेट बाँकीमा म ठमेलको सरस्वती क्याम्पसअगाडि पुगिसकेको थिएँ। छेउैको होटलमा पुग्न एक मिनेट पनि लाग्थेन। केही मिनेट कटाउन चुरोट किनेर सल्काएँ।
‘मैले चुरोट सल्काएको समय कटाउन कि जीवन?’ धुवाँउदै गरेको चुरोट ओठमा च्यापेर म सोच्दै थिएँ । तर, ठिक त्यही बेला त्यसभन्दा बढी म लुसीबारे सोच्दै थिएँ ।
लुसीबारे मैले केही समयअघि एउटा लामै फिचर पढेको थिएँ । त्यो फिचर लुसी कसरी मरी भन्ने बारेमा थियो, ‘लामो अनुसन्धानपछि वैज्ञानिकहरुले निष्कर्ष निकाले, ऊ रुखबाट झरेर मरी । तर, त्यसमा केही वैज्ञानिकको फरक मत पनि थियो।’
त्यसबाहेक अर्की लुसी बेस्टामिन पनि थिई। ऊ फ्रान्सबाट नेपाल यात्रामा आएकी थिई। अघिल्लो वर्ष राजधानी नजिकैको रसुवाको स्याफ्रुबेंसी छोडेर केही घन्टा उकालो लागेपछि मैले उसलाई शेर्पा गाउँमा भेटेको थिएँ। ऊसँग भेट्दाका अनेक स्मृति अहिले पनि मसँग सुरक्षित छन्। खासगरी उसको मुस्कानले मलाई अहिले पनि लखेटिरहेको छ।
चुरोटसँगै सरस्वती क्याम्पसअगाडि म ती दुवै लुसीलाई नभई अर्कै लुसीलाई सोचिरहेको थिएँ । ऊ बेलायती लुसी थिई। उसको पूरा नाम मलाई थाहा थिएन । तर, नेपाल यात्रामा ऊसँगै उसको पुरुष साथी पनि छ भन्ने चाहिँ थाहा थियो ।
सायद उनीहरु विवाहित वा अविवाहित जोडी हुनु पर्छ । नभए साथी–साथी पनि हुन सक्छन् । उनीहरुप्रति मेरो त्यस्तै–त्यस्तै सोचाई थियो ।
सात बज्यो । म होटल छिरें ।
सुनसानजस्तै होटलको फ्रन्ट डेस्कमा उभिएको सेतो सट लगाएको एउटा केटो एउटा विदेशी जोडीसँग असाध्यै सानो स्वरले केही सोधिरहेका थियो । उनीहरु पनि सानै स्वरले केही भनिरहेका थिए । मानौं उनीहरु भर्खरै ‘चेक इन’ भइरहेका छन् ।
म बिस्तारै उनीहरु नजिक गएँ । उनीहरु उभिएरै शान्त सम्वाद गर्दै थिए । म भने शान्तिले छेउको सोफामा बसें । एक छिन शान्तिपूर्वक उनीहरुको कुरा सुनें ।
त्यसपछि फ्रन्ट डेस्कको केटोतिर हेरे झैं गरी अलि अड्किएर केटीलाई सोधें, ‘आर यु लुसी ?’
‘यस ! आइ एम लुसी’, स्वर थोरै उचालेर उसले भनी । उसको आवाजमा अर्कै प्रकारको संगीत मिसिएको लय थियो ।
मलाई अघिल्लो दिन नै बताइए अनुसार उनीहरु त्यही दिन काठमान्डुका केही ठाउँ घुम्नेछन् र त्यसका लागि उनीहरुलाई मैले साथ दिनु पर्नेछ । र, अन्नपूर्णको उन्नाइस दिने राउन्ड ट्रेकिङको लागि त्यही मध्यान्ह उनीहरु काठमान्डुबाट लम्जुङको बेशीशहरतिर लाग्ने छन् ।
अघिल्लो साँझ मात्र काठमान्डु आइपुगेका उनीहरु त्यसैका लागि यहाँको यो पहिलो बिहानै ‘चेक आउट’का लागि गफिइरहेका रहेछन् ।
हामी सिधै स्वयम्भुतिर हुइकियौं । ड्राइभर तुलसीले कारको स्पिकरमा नेपाली लोकभाका सानो स्वरले बजाइ नै रहेको थियो। शब्दहरु नबुझे पनि उनीहरु संगीतको तालमा बेला–बेला अचेतन वा अर्धचेतनमा औलाहरु चलाइरहेका थिए ।
संगीतमा स्वर थप्दै बाटोमा मैले मसँगै यात्रा गर्दै गरेकी लुसीलाई मैले पढेकी लुसीबारे सोधें । ड्राइभरले भोलुम कम गर्दैगर्दा उसले त्यसबारे केही थाहा नभएको बताई । ऊसँगै भेटिएको रोबलाई पनि त्यसबारे केही थाहा रहेनछ ।
उनीहरुलाई उनीहरुकै आग्रहमा इन्टरनेसनल न्युयोर्क टाइम्सबाट साभार गर्दै सेतापाटीमा प्रकाशित नेपाली अनुदित ‘३२ लाख बर्ष पुरानो रहस्यः लुसी कसरी मरिन् ?’ शीर्षकको फिचर–सार सुनाएँ।
‘हजुरआमा लुसी’बारे सुनेर लुसी खुशी भई । लुसीभन्दा बढी रोब खुशी भयो ।
उनीहरु खुशी भएको देखेर मलाई अझ बढी खुशी मिल्यो। खुशी भन्ने चीज ‘मल्टिप्लाई’ हुन्छ भन्ने त्यहाँनेर फेरि चरितार्थ भयो।
त्यसपछि सामुन्नेकी लुसीले आफ्नोबारे बताउन थाली, ‘तिमीले एउटा लुसीबारे यति धेरै बतायौ । तर, म तिमीसँग काठमान्डु यात्रा गरिरहेकी लुसीबारे भन्छु । म आफ्नैबारे भन्छु । अल्छी नमानी सुन है । म लुसी हास्लर । मैले संगीतमा मास्टर्स् गरेको छु । संगीत मेरो योग्यता हो । पेशा र प्यासन हो । म खासमा हार्प बजाउँछु ।’
हार्पबारे त्यसअघि मलाई थाहा थिएन । हार्प तारहरुले बनेको घुमाउरो वाद्ययन्त्र रहेछ, जसलाई औलाका चाल र तालहरुबाट बजाइँदोरहेछ ।
लन्डनका नामी संगीत गुरुद्धय जुलिया म्याकन्डर र मार्गरेट नाइटबाट हार्प अध्ययनको सुरुवात गरेकी लुसीले रोयल कलेज अफ म्युजिकमा डेनियल पेरेटकी शिष्याको रुपमा त्यसलाई निरन्तरता दिई । त्यहाँबाट ऊ रोयल नर्दन कलेज अफ म्युजिक गई । प्रसिद्ध हार्पवादक इरा जोन्सकी विद्यार्थी भएर उसले सन् २००६ मा उच्च नम्बरसहति ब्याचलर गरी ।
मे २००८ मा लुसीले रोचस्टरस्थित इस्टम्यान स्कूल अफ म्युजिकबाट मास्टर्स् गरी । जहाँ उसले अन्तराष्ट्रिय रुपमा ख्यातीप्राप्त हार्पवादक क्याथलिन ब्राइडबाट हार्पवादनसम्बन्धी गहिरो प्रशिक्षण लिन पाई । त्यहाँ उसले त्यो वर्षको सर्वश्रेष्ठ संगीत (हार्पवादन) पुरस्कार पनि पाई।
त्यसबीचमा ऊ चल्तीका हार्पवादक भइसकेकी थिई । स्वतन्त्र हार्पवादकको रुपमा लन्डन र आसपासका क्षेत्रमा ऊ सक्रिय हुन थाली । लन्डनका अर्केष्ट्राहरुमा ऊ अनिवार्य जस्तै भई । बेलायतको बीबीसी सिम्फोनी अर्केष्ट्रा, द लन्डन फिर्लामोनिक अकेष्ट्रा, द सिटी अफ लन्डन सिन्फोनिया आदिमा समेत उसले हार्प बजाई । सन् २००८ मा अमेरिकन विन्ड सिम्फोनी अकेष्ट्रा (पिटस्वर्ग, पेन्ससेल्भेनिया) सँग ऊ व्यवसायिक संगीत यात्रामा निस्की । त्यसक्रममा उसले विश्वका विभिन्न शहरमा एकल हार्प प्रस्तुति पनि दिई । सबैले वाहवाही गरे ।
निकै बर्षदेखि ऊ स्थानीय स्कुलमा हार्पकी प्रशिक्षक छे । यो उसको सानै उमेरदेखिको सपना पनि थियो ।
यसरी उसले आफ्नो संगीत जीवनको संक्षिप्त र सुक्ष्म तर समग्र कथा सुनाएपछि उसको जीवनको प्रेम कथा पनि सुन्ने उत्सुकता प्रकट गरें ।
‘आठ बर्षअघि एकजना साझा साथीले आयोजना गरेको एउटा क्रिसमस पार्टीमा हामी भेटिएका हौं । त्यति बेला रोब आफ्नो गर्लफ्रेन्डसँग थियो । तर, म त्यही विन्दुदेखि ऊप्रति आकर्षित भएँ’, एक सासमा लुसीले भनी ।
पछिल्लो समय रोब एउटा बैंकमा कम्प्युटर सफ्टवेयरसम्बन्धि काम गर्छ । त्यसताका भने ऊ क गर्दै थियो कुन्नि ? तर, ऊ त्यति बेलै पनि जे काम गथ्र्यो, बडो कलात्मक र सुन्दर तरिकाले गथ्र्यो ।
पार्टीमा लुसीलाई क्रिसमस केकले असाध्यै प्रभावित गर्यो । ऊ त्यो केक कसले बनायो होला भन्नेमा मात्र ‘फोकस्ड’ भई । उसको सारा ध्यान यदि केहीमा थियो भने त्यही केकमा मात्र थियो ।
उसको उत्सुकतामा अधैर्य थपिएको थियो। अन्तिममा उसले पत्ता लगाई, त्यो सुन्दर क्रिसमस केक बनाउने अरु कोही नभएर रोब थियो। ऊ केकसँगै रोबप्रति पनि आर्कर्षित भई। तर, रोबप्रतिको उसको आकर्षण केकसँग जति गहिरो भइसकेको थिएन।
फेरि संयोगले ६ महिनापछि एक्कासी उनीहरुको भेट भयो। त्यही बेला उसले थाहा पाई, केक त बहाना मात्र थियो। केकसँग भन्दा धेरै बढी गुना ऊ रोबप्रति आर्कषित भइसकेकी रहिछ।
त्यो यस्तो क्षण थियो, जहाँ म बुद्धबारे बोल्दै थिएँ। भन्दै थिएँ, ‘बुद्धको मनमा प्रश्न थियो, किन मान्छे गरिब हुन्छन् ? किन मान्छे रोगी हुन्छन् ? किन मान्छे बृद्ध हुन्छन् ? किन मान्छे मर्छन् ? अर्थात यी सब प्रश्नलाई यसरी संक्षेपीकरण गर्न सकिन्छ: किन दु:ख छ ? दु:खका कारण के हुन् ?’
म भन्दै थिएँ, ‘बुद्धले आफैले आफैसँग प्रश्न गरे । अन्तिममा उत्तर पाए, असिमित चाहना नै दुखको कारण हो । हामी भोको छैनौ तर पनि खान छाड्दैनौ । हामीसँग पर्याप्त सम्पति छ तर पनि हामीलाई त्यतिले पुग्दैन । यी र यस्ता अति इच्छा नै दुखको कारण हुन् । मध्यमार्ग नै जीवनको सन्तुलित मार्ग हो ।’
स्वयम्भुका सिंढीहरु उक्लदै गर्दा मैले बुद्धत्व प्राप्तिका चरणहरुबारे पनि बताउँदै थिएँ, ‘हामी त्यसलाई थर्टिन स्टेप भन्ने गर्छौं । हामी प्रत्येकले ती स्टेपहरू पार गर्ने हो भने हामी पनि बुद्ध बन्न सक्छौं ।’
‘म बुद्धका ती स्टेपहरु भन्दैछु र त्यसभन्दा बढी मलाई तिमीहरुका प्रेमका स्टेपहरु सुन्न मन छ । पहिलो स्टेप आठ बर्षअघिको त्यो क्रिसमस पार्टी थियो । दोस्रो स्टेप ६ महिनापछिको तिमीहरुको भेट । अनि तेस्रो स्टेप ?’,
‘त्यसपछि डेटिङ’, निकै बेरदेखि लुसी र मेरो कुराकानी सुनी मात्र रहेको रोबले भन्यो ।
‘त्यो तेस्रो स्टेप भयो । अनि चौथो स्टेप ?’, मैले रोबतिर हेरेर सोधें ।
‘तीन बर्षअघि हामी लिभिङ टुगेदरको निणर्यमा पुग्यौं’, दुवैले एकै स्वरमा उत्तर दिए ।
‘पाँचौ स्टेप ?’ मैले सोध्न छाडिनँ।
‘एक बर्षअघि हामीले हामीले दुवै परिवारको मञ्जुरी र उपस्थितिमा बिहे गर्यौं’, उनीहरुले फेरि एकै स्वरमा उत्तर दिए ।
‘र, अहिले तिमीहरु अन्नपूर्ण ट्रेकिङका लागि काठमान्डौं आइपुगेका छौ। यो तिमीहरूको प्रेमको छैटौं स्टेप हो। यसलाई हनिमुन ट्रेकिङ भन्दा पनि फरक पर्दैन । किनभने, वैवाहिक जीवनको एक बर्ष बिताइसके पनि तिमीहरुको एकअर्काप्रतिको हाउभाउ हेर्दा तिमीहरु अहिले पनि सुरुवाती प्रेमकै मजा लिइरहेका जस्ता देखिन्छौ । होइन त ?’
एक छिनपछि सानो तर तीखो स्वरमा भन्यो, ‘हार्प बजाउन पाएपछि लुसीलाई केही चाहिंदैन । कुनै दिन मलाई छाडी भने पनि अचम्म हुने छैन ।’
त्यसो त रोबले पनि त हार्प बजाउने लुसी भेटेपछि आफ्नी गर्लफ्रेन्ड छोडेको थियो।