दसैं आउँदै गर्दा बच्चाहरु आमाबुवाको हात समाएर, नयाँ लुगा पाएर फुरुक्क परेको अस्पतालको झ्यालबाट हेरिरहँदा आफ्नो दसैं खल्लो लागेर आउँछ। एकैपटक कुनै जादुले मलाई पनि त्यही उमेरमा पुर्याएर आमाबुवासँगै हिँडाइ दिए हुने झैँ लाग्छ। हरेक वर्ष दसैं आउँछ र फरक अनुभव दिएर जान्छ। पिङ अहिले पनि छन्, नयाँ लुगा छन्, दक्षिणा छ, सबै छ, धेरै नै छ तर खल्लो छ, अनुभवविहीन।
परालको टौवा मुनी नाम्लोको पिङ हालेर मच्चिनुको मज्जा म आधुनिक लिङ्गे र रोटे पिङ्गमा पाउन सक्दिन। दसैं आएपछि घरमै खसी काटेर मासुको झोलमा हात डुबाउँदै खाएको स्वाद म अहिलेको दैनिक सहज हुने ‘मटन भेराइटीज’ मा पाउँदिन। गाउँघरमा कोइलीको कुहुकुहुमा रमाउने यो मन अहिले भेन्टीलेटरको टुटुमा बानी परेको छ। दसैं आएपछि उतिबेला छुट्टै रौनक हुन्थ्यो गाउँघरमा। दाइ काठमाडौं बस्ने। दसैंमा दाइ घर आउँदा कस्तो लुगा ल्याइदिनु हुन्छ भनेर कल्पिदैँ मन फुरुंग हुन्थ्यो। दाइ आउने दिन गन्दाको मज्जा नै बेग्लै हुन्थ्यो ।
बाबाआमाको आँखा छलेर गाउँ भरीका साथी भेला भई घर पछाडि लगाएको पिङ्ग खेल्दा रात परेको पत्तो नै हुँदैन थियो। उता पल्लो घरमा खसी काटेर रक्ति खान बोलाउँदा खुसीले मनै प्रफुल्ल हुन्थ्यो। दसैंै आएसंगै गाउँ र घर वरपरको सरसफाई बाटो घाटो मर्मत गर्नेका साथै रातोसेतो कमेरोले घर लिप्ने जस्ता काम हुँदा यस समयमा सबै जना ब्यस्त पनि हुन्थ्यौँ। दसैंैका बेला छर छिमेकमा प्रतिस्पर्धा नै चल्थ्यो कस्को घर राम्रो र सुन्दर बन्ने भनेर। यो समय साँझमा घरबाट हराउने म मात्रै हुन्नथें। साँझ परेपछि पानी लिन जाँदा गल्लीमा रहेको रुखको हाँगामा डोरीले बाँधेर हालेको पिङ्गमा घण्टौ हराएका क्षणहरु स्मृृतिको मानसपटलमा अहिलेपनि ताजै छन्।
अझ विजया दशमीको दिन आफन्तको घरघरमा टिका थाप्न जादाँ पाएको काटेको एक टुक्रा केरा र मेवाको स्वाद अझै मुखबाट हटेको छैन। घर आएर दक्षिणा पाएको थोरै भएपनि पैसा गन्दाको मज्जा र आनन्द अहिले मासिक तलब थाप्दा कदापी पाउन सकिदैँन। उसबेला टिका थापेर लिइने आशिर्वादको महत्व थाहा थिएन। आर्शिवाद भन्दा पनि नयाँ लुगा, टिकापछि पाईने दक्षिणा अनि विद्यालयले दिने छुट्टी बढी प्राथमिकतामा पर्थे।
टिका लाएर सबैले दक्षिणा दिन्छन् र माइजुले बनाएको खसीको सुकुटी मिठो हुन्छ भनेर रमाउँदै थकानको महसुस सम्म नगरी घण्टौं हिडेर मामाघर गईन्थ्यो। जहाँ पनि सानालाई दिने दक्षिणा कम नै दिने चलन हुन्थ्यो। अरुको भन्दा कम पैसा पाउँदा मन सारै भारी भएर आउँथ्यो अनि लाग्थ्यो कहिले ठूली भएर धेरै दक्षिणा लिनु।
आहा त्यो बालापनको दसैं, त्यो गाउँघरको दसैं, अनि त्यो रमाइलो दसैं। अहिले पनि दसैं आउँछ तर आजभोलिको दसैंमा त्यो खुसी भेट्टाउन सक्दिन म। अहिलेको दसैं मैले अनुभव गरेको त्यो मीठो दसैंभन्दा बिलकुल फरक लाग्छ। समय, उमेर, साथीहरु उही रहेनन् र यीसंगै आफ्ना खुसीहरु पनि उही रहन सकेनन्। यो परिवर्तन मेरो मात्रै त हैन तर शहर र गाउँको दसैंमा निकै फरक हुनेरहेछ। हरेक उमेर समुहको अलग दसैं हुने रहेछ।
मेरो दसैं अहिले पेशासँग जोडिएको छ। मेरो काम र समयसँग जोडिएको छ। दसैं आयो भन्नासाथ अस्पतालका ईन्चार्जहरुमा नर्सहरुको काम गर्ने समय तालिका बनाउने बिषय फलामको च्युुरा चपाउनु जस्तो हुन्छ। यता हामीजस्ता अस्पतालमा कार्यरत नर्सलाई छुट्टी पाइएला की नपाईएला भन्ने चिन्ता। टिकट पाउनै सास्ती हुने त्यहाँ माथि सुरक्षितरुपमा घर पुगिएला या नपुगिएला भन्ने चिन्ता। घरमा कसलाई के किन्दिने, कसरी फर्कने, काम भ्याउन हतार गरी आइपुग्ने चिन्ता। ठूली भएर यो धेरै दक्षिणा पाउन यो चिन्तै चिन्ताको दसैं आउनुभन्दा बेफिक्री मन बोकेको थोरै दक्षिणा पाउने बालापनको दसैं नै वेश।