‘चैट चैट।’
ऊ दगुर्यो।
ऊ जस्तै अरू पनि दगुरे।
खेतको आलि आलि चप्पलका डोब बने।
‘ऐया माँ।’
कुमको हड्डीमा उसको कुमको हड्डी ठोकियो।
‘मामपाखा, आँखा देख्दैन,’ रुपेशले उसलाई आँखा तर्यो।
‘मुला... तैंले देख्दैनस्,’ उसले अरू पनि मुख छाड्यो।
दुवैको कुममा अरु कति कुम ठोकिएर चंगा टिप्ट हानिइसके, उनीहरूलाई बाल!
‘खेल्छस् आइजा,’ उसले पाखुरा सुर्कियो। बाउले सुनाएको ब्रुस लीको कथामा जस्तै गरी।
रुपेशको नाकमै ताकेर दिउँजस्तो लाग्यो।
‘साला मुख छोड्ने।’
‘तेरो बाउले छोड्या कि मैले मुख, भन्त ओई।’
रुपेश पछि हटेन, झन् कड्कियो।
उसले झन्डै कान्लाबाट झार्नै आँटेको रुपेशलाई।
फेरि कोही दौडियो कुममा ठक्कर दिएर।
चैट चंगा चैट।
झसंग ब्युँझियो ऊ।
दुकानबाट आएको पहेँलो बत्तीको आँखा खाने लाइट। चर्पीको गन्ध। आज मान्छे निकै गइसकेछन् चर्पीतिर। भरिसक्यो होला।
उसको मनमा एक्कासि सोच आयो, ‘यो होटलको नाम ‘भक्तपुर होटल’ किन राखेको होला!’
ए ए! उत्तर सम्झयो।
मालिकको हजुरबाले काठमाडौं व्यापार गर्न जाँदा नेवार्नी ल्याएको थियो रे। अनि त उसले पनि यही होटल छानेर बसेको।
‘अबे तेरो रात कति लम्बा हुन्छ?’ तिखे मालिक करायो बाहिरबाट।
एकछिन पहिला उठे पनि ऊ यो गाली नखाई कहिले बाहिर जाँदैन। उठेको समय र यो गाली आउने बीचको समय उसलाई बोनस लाग्छ। आधा आँखा बन्द नै राखेर ऊ दुकानमा आयो।
यो तिखे म्यानेजरका आँखा मोटरसाइकलको बत्तीजस्ता छन्। उसलाई हाफ निद्रामै हल्का हाँसो लाग्यो। नाक र मुखको चुच्चो मात्र पखालेर ऊ चियाको दिउरी नजिक पुग्यो।
दसैं लागिसक्यो पानी पर्न छाडेको छैन। चियाको डिमान्ड झन् चर्केको छ। टाँगाको ड्राइभरलाई हेर्यो। त्यसका आँखा झिरजस्ता। उसलाई फेरि खिस्स हाँसो उठ्यो। आँखाले मान्छे टिप्न मिल्ने भए टिप्थे होलान् यताका टाँगावालहरू।
अर्को टाँगावाल आयो, घोडाको पुच्छर निमोठ्दै।
‘पुक्लुक्क पुच्छर निक्ल्यो भने के गर्छस् बे,’ उसलाई यसो भन्न मन लाग्या थियो, भनेन।
चार बजिसकेको छैन। हल्ला गरेको छ बजारले। दसैंमा त दिल्लीबाट आउनेको चाप कस्तो, बाफरे !
यही बेला भजनको आवाज नेपथ्यमा। मन्दिरका घन्टहरू। माँले बालेको धुपको बास्ना। साँझतिर घन्कने धिमे बाजाको धुन। ऊ र उसका साथीहरूको बेतालको नाच। भक्तपुरको गल्ली गल्लीमा।
रिप्लेस गरिदियो उसको कानले बनबासाको हल्ला। हरायो सामुन्नेको बजारको धागो जेलिएजस्ता सिनहरू। छेउको पसलबाट आइरहेको पकौडाको बासना पनि।
दिउरीको चिया गिलासमा हाल्यो। थोरै पोखियो। उसको आँखामा आई गल्लीमा उसँगै लुकेर धिमे बाजामा कम्मर मर्काएकी सिल्पा मैचा।
तातो चिया हाल्दा प्याट्ट फुट्यो सिसाको गिलास।
पासा हल्का मुस्कायो।
मालिकले देखेन गिलास फुटेको।
बिहानै उसको पसलमा झुल्केकी नेपाली टुरिस्टसँग दोस्ती गाँस्दै छ उसको तिखे मालिक।
दिल्ली जान हिँडेको भक्तपुरको सचिन, अन-द-जब ट्रेनिङमा छ। तिखे मालिक कुर्लियो, ‘अबे कस्तो स्लो छ। स्पेसल चाये बना यो म्याडमको लागि।’
केटी नेपाली भए पनि उसलाई खास चासो लाग्दैन। सिल्पा पासा थोडी हो र। फेरि उस्ती हिस्सी पनि छैन।
मालिक यो केटीको लागि मरिहत्ते गरेको सचिनलाई मजाक जस्तो लागिरहेछ।
स्पेसल चायको अर्डर आए पनि उ धेरै दूध थप्दैन।
केटीसँगै कुम टाँस्न पुगिसकेको छ तिखे। गजलको फर्मान त ऊ केटी देख्यो कि गर्छ। सचिनको लागि कोई बडी बात छैन यो सिन।
हातमा कलम बोकेर केटी सचिनलाई सोध्छे, ‘भक्तपुरको मान्छे बनबासामा कसरी?’
‘के खाँचो तिम्लाई’ भन्दिउँ जस्तो लाग्छ उस्लाई। भन्दैन।
ऊ नबोलेको देखेपछि केटी झन छक्क पर्छे।
मोटा लुगाले छोपिएर पो रैछ। नजिकबाट त केटी हिस्सी नै लाग्यो उसलाई। अनि उस्को छक्क परेको अनुहार छक्कमै पज गरिदियो सचिनले, जवाफ नदिएर।
मालिकले रिल घुमायो केटीका अनुहारको। गजल फर्माएर।
साला बतमिज तिखे ! भिलेन खेल्यो।
सिल्पाभन्दा निकै सिनियर छ केटी। तर उस्लाई मनपर्यो। बरु त्यो तिखेसँग कुम नटाँसे हुने नी।
मनमनै सल्लाह फुरायो।
यता चिया उम्लियो दिउरीमा।
टक्क टेबलमा चिया राख्दै गर्दा उस्ले आँखा चिम्सा पारेर मालिकको कापीमा हेर्यो।
‘दुनिया हमे मिलने नहीँ देगी मगर ये दिया
हम प्यार के सौदाई हें हम प्यार करेँगे’
उस्! गिलास टेबलमा राखेर ऊ फर्क्यो।
उसको तरिमाङ सिमराको। तरिबाले व्यापार गर्न जाँदा उडाएर ल्याएको। अनि त सचिन हिन्दी बुझ्छ नि। उस्को कजन नै जिग्री दोस्त...
छोएला कचिला भन्न पर्यो र। उसको माँले त राँगाको पुच्छरको पनि आइटम बनाइदिन्छ। मो मो? माँलाई त बिर्सनुपर्ने भएको छ। मुला मो मो। तैपनि उसको मुख रसाँउछ। तर दसैंमा मो मो कोइ खान्छ। समेबजीको सेटमा निनीको घरको ऐला। माँले साँधेको बफ। आँखा चिँम्लेर उस्ले जिब्रो पड्काएको तिखे मालिकले सुनिहाल्यो।
‘अबे नवरथा लागेदेखि तेरो खोपडी खुस्के जस्तो भएको छ। काठमाडौं जा अनि मात्र फर्केर दिल्ली रवाना हो।’
मिठो लाग्यो मालिकको बात उसलाई। तर नसुनेझैं गर्यो।
भुइँचालोमा भत्केको छ उस्को घर। घरमा पुरिइन् उसकी माँ। बा त दुई साल पहिला बितेको।
यो साल उसले बनाई छोड्छ घर, सिल्पालाई आफ्नी पनि।
मामपाखा! कतै त्यो रुपेशले सिल्पा त उडाएन?
सिल्पाको बाचा सम्झ्यो। ढुक्क भयो। उसकी माँ जस्तै मायाँ गर्छे सिल्पा।
भर्खर चौबिस त हान्यो सचिनले। साढे चौबिसकी न हो सिल्पा पनि।
सुर्ता पर्ने बेला भएको छैन।
बनबासा बसेर उसले दिल्ली नियालेको पनि त जम्मा तीन महिना त भो।
बा जस्तै डकर्मीको काम गर्छे। सचिनले पनि त उसकी माँ ले जस्तै मिठो मिठो पकाँउछ।
मुला यो होटलको ट्रेनिङ त नाम मात्रको। दिल्लीमा लक्ष्मीनगर छ रे नेपालीको अखडा। उसले रिसर्च गरिसकेको छ।
उस्को ठेला पनि बुक भइसक्या छ दिल्लीमा। बस्ने जगह पनि। धादिङको दोस्तले गरिदिएको। उस्ले बनबासामै गरेको दोस्तीयारी त्यो बाहुनसँग। अहिले काम लागेको छ।
अब त बनाबासाको भोलुम हल्का डाउन भयो।
नवमी भइसक्यो।
बस नं ३६३२। उत्तराखन्ड परिवहन निगम।
सचिनले झोला टिप्यो साँझमा।
तिखे मालिकले हात हल्लायो र पुछ्यो बाहुलाले आँसु।
झ्यालमै थियो उस्को सिट। भक्तपुरको आकाशमा उडेको मनको चंगा बेर्दै ल्यायो लट्टाइले।
र, उडाउँदै गयो अजनबी आकाशमा!