बिहान ११ बजेको हुँदो हो, पुरानो कपडामा एकजना पाको उमेरका पुरुष केही कामले एउटा सरकारी अड्डामा छिरे। उनलाई हाकिमले भित्र जान दिएनन्, त्यहीँ झ्यालबाट .... .... हातले इशारा गरे, उनीचाहिँ फोनमा व्यस्त थिए। हातमा सानो कागजको पोको पारेका ती पुरुष खुट्टा गलुन्जेल उभिए तर हाकिमले फोन राखेनन्, झन मस्कीमस्की गफ गर्न थाले।
‘ए सर, लौन’ ती पुरुष फेरि झ्यालबाट खुम्चिएको निधार लगाउँदै आग्रह गरे। एकैछिन है हात र आँखाले इशारा गर्दै पर्खिन भने हाकिमले। आफू पनि कामले उनैलाई भेट्नु थियो, उनको पारा देख्दा फ्यात्त कागजात उनको टेबुलमा फाल्दिन मन लाग्याथ्यो तैपनि आफ्नो काम सकाउनु नै थियो।
ती बुढा मान्छेलाई बाहिर बस्न भने पनि मलाई उनले भित्रै कुराएका थिए। चानचुन आधा घण्टाको वार्तापछि फोन राखे। यसो पुलुक्क मेरो मुखतिर हेरे। ‘ओहो! तपाई यही हुनुहुन्छ कुराएँ है। सरी..... अँ साँच्ची के अरे काम भन्नुस् त ?
बल्ल उनलाई फुर्सद भयो । बस्नोससम्म पनि भनेका छैनन् उभिँदा उभिँदा खुट्टाका गोलीगाँठासमेत गलिसक्यो। अझ बुवा उमेरका पुरुष बाहिर झ्यालमा उभिएको मभन्दा पहिलेदेखि हो।
‘मेरोभन्दा पहिले बाहिर उभिने बाको काम गर्दिनुस् सर’, मैले ती पुरुषतर्फ देखाएँ। तर उनले पटक्कै सुनेनन्, यी बुढाहरू आइरहन्छ कुरा बुझदैनन् ल्याङ मात्रै गर्छन्। कुरा त सरहरूले बुझाउनु प¥यो नि, म दुईचार अक्षर चिनेकोलाई त यतिबेर झुलाउनुहुन्छ भने ती बाजस्ता सेवाग्राहीको हालत के होला? उनीहरूलाई थाहा नभएको कुरा सिकाउने दायित्व पनि होला नि सरहरूको । कि तलब मात्रै पचाउने हो? जे होस् उनीसँग केही लेनदेन थिएन भनिदिएँ। दिक्क मान्दै झ्यालतिर नजर लगाए र भने – के काम हो बा? बडो नम्र स्वरमा दुबै हात जोडेर ती पुरुषले आफ्नो समस्या बताए।
‘ऊ त्यो पल्लो ११ नम्बर कोठामा जानुस्।’ यत्ति भन्नको लागि ती हाकिमले आधा घण्टा कुराए। पल्लो कोठामा जाऊ भन्न पनि यतिबेर कुर्नु पर्ने सर?
मेरो प्रश्नमा उनी केही नबोली मुस्कुराए मात्र। नेपालको प्रशासन यस्तै हो।
एकैछिनमा एक जना जवान केटो आएर बाहिरबाटै थर्कायो – ए सर के हो कुरा? आज हुन्छ कि हुँदैन काम? पुरै प्रश्नै नसुनी हाकिम एकाएक जाँगरिलो भए। ‘ए भाइ, तपार्इँको काम भइसक्यो। यी यो फाइल लानुस्, ११ नम्बरमा जानुस्, तुरुन्तै हुन्छ।
फाइल बोकेर हतारहतार त्यो युवक ११ नम्बर कोठामा पुग्यो। त्यहाँ कर्मचारी फोनमा व्यस्त थिए, झ्यालबाटै थकार्यो– के हो पारा? सरकारको भत्ता खाने दिनभरि फोन थिचेर बस्ने? यो काम तुरुन्त गर्दिनुस्, ए म्याम सुन्नुभएन?
फोनमा मस्किँदै बोलेकी म्यामले रिसले चुर भएर उसको फाइल समातेर भनिन्– राष्ट्र सेवक कर्मचारीसँग बोल्ने सोमत छैन भाइ? अलि बोल्न सिक । भाइ पनि के कम? भन्दिए– राष्ट्र सेवक भन्न लाज लाग्दैन? काम पनि राष्ट्र सेवकको जस्तो गर्नुप¥यो नि म्याम? सम्मान पाउन सेवा पनि दिन जान्नुपर्छ।
त्यतिबेलासम्म उताको झ्यालबाट यताको झ्यालमा पठाइएका बा बाहिरै उभिएका थिए । उनले त्यही युवालाई समस्या बताए। फेरि युवाले थर्कायो– के हो? यस्ता सोझा बुढाखाडा आए भने भाउ नदिने? कति दिन मृत्युदर्ताको प्रमाणपत्र बनाउनको लागि यी बा धाइरहने? आमा मरेको एक वर्ष हुन थाल्यो प्रमाणपत्र बनाउन तीन वर्ष लाग्ने हो ?
थर्काएपछि म्यामले हतारहतार फाइल खोजेर काम अगाडि बढाइन । त्यो युवक नभएको भए ती बुढा बाले कहिले बनाउँदा हुन् आफ्नी आमाको मृत्यु दर्ताको प्रमाणपत्र? यस्तो छ हाम्रो कर्मचारीतन्त्र। यस्ता छन्, हामी राष्टसेवक भन्न रुचाउने कर्मचारीहरु।
नेपालको निजामती सेवामा करिब ८२ हजार ४ सय ९६ कर्मचारी कार्यरत छन्। त्यसमध्ये पुरुषको सख्या ६६ हजार ५ सय ७५ छ भने महिला १५ हजार ९ सय २१ जना। यो आँकडा अनुसार महिलाको प्रतिनिधित्व करिब १९ प्रतिशतको हाराहारीमा देखिन्छ । यो बाहेक सेना, प्रहरी , विभिन्न सार्वजनिक संस्थानमा कार्यरत सम्पूर्ण कर्मचारीको सख्या हिसाब गर्ने हो भने राज्यको ढुकुटीबाट तलबभत्ता खाने कर्मचारीको सूची लामो बन्छ। यी विभिन्न निकायमा कार्यरत तल्लो तहदेखि उच्च ओहोदासम्मका सम्पूर्ण कर्मचारीलाई सरकारी परिभाषा अनुसार राष्ट्र सेवक कर्मचारी हुन भनिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९मा उल्लेख भएबमोजिम प्रचलित कानुन बमोजिम सार्वजनिक पद धारण गरेको मानिने व्यक्तिलाई राष्ट्र सेवक भनिएको छ। नेपाल सरकार वा सार्वजनिक संस्थासमक्ष लिइएको सपथबाट नेपाल सरकार वा सार्वजनिक संस्थासँग गरेको सम्झौता, शर्त वा कबुलियत बमोजिम सार्वजनिक कर्तव्य पालना गर्नको लागि नेपाल सरकार वा सार्वजनिक संस्थानबाट तलब, भत्ता, सुविधा एवं हैसियत पाउने वा नपाउने गरी नियुक्त, मनोनित तथा निर्वाचित व्यक्तिलाई पनि राष्ट्र सेवक कर्मचारी मानिएको छ। त्यस्तै कुनै विवादको निरूपण वा समाधान गर्न प्रचलित कानुन बमोजिम नियुक्त भएको मध्यस्थ वा सोही हैसियतको व्यक्ति, प्रचलित कानुन अनुसार नियुक्त, निर्वाचित वा मनानित लिक्विडेटर, सर्भेयर वा सोही हैसियतमा काम गर्ने व्यक्ति तथा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको व्यक्तिलाई समेत राष्टसेवक कर्मचारीको दर्जा दिइएको छ ।
सरकारी ढुकुटीबाट तलब भत्ता खाँदैमा राष्ट्र सेवक भइन्छ कि राष्ट्र सेवकको दायित्व निर्वाह पनि गर्नुपर्छ? यस बारेमा सरोकारवालको ध्यान गएको छैन । पौने चार वर्षको अवधि भयो पंक्तिकार पनि राष्ट्र सेवक कर्मचारीको सूचीमा सामेल भएको । यो अवधिमा राष्ट्र सेवा कति गरें वा गरिन् यसको मापन गर्ने कुनै संयन्त्र छैन तैपनि आफूलाई राष्ट्र सेवक भन्नमा गर्व गर्नु पर्ने अवस्था छ। लगभग पाँच वर्ष प्राइभेट कम्पनीमा काम गरेको अनुभवले तोकिएको काम तोकिएको समयमा सम्पन्न गर्न, समयको व्यवस्थापन सही तरिकाले गर्न, सेवाग्राहीसँग सम्बन्ध स्थापित गर्न धेरै ज्ञान दिलायो । सेवा सुविधाभन्दा पनि कसरी काम चाँडो गर्ने र कार्यालयमा राम्रो देखिने भन्नेमा मात्रै ध्यान केन्द्रित गर्न पनि सिकायो तर पनि आर्थिक रूपमा भने मुस्किलले जिविका चलाउन पनि सिकायो।
शनिबारको विदा उपयोग गर्न पनि नपाउने अवस्था थियो कुनैबेला । सरकारी क्यालेन्डरमा हप्तैपिच्छेजसो विदाका संकेत देखिन्थे शनिबार बाहेक पनि । वर्षमा १ सय ४० दिनभन्दा बढी त सरकारी विदामात्रै हुन्छ, यो विश्वमै दुर्लभ रेकर्ड हो । सरकारी जागिर खानुमात्र राष्ट्र सेवा हो कि राष्ट्रको लागि केही योगदान पनि दिनुपर्छ जस्तो लाग्थ्यो। अन्ततः सोही कोटामा स्वयं सामेल हुन पुगें।
‘सरकारी काम कहिले जाला घाम’ भन्दै उखान गरेको थाहा थियो तर आफूले त्यसको अनुभुति गर्न पाइएको थिएन। म पनि सरकारी कर्मचारी हुँ तर आफूलाई राष्ट्र सेवक कर्मचारी भन्न संकोच लाग्छ। हजारौं कर्मचारी छन् जो भित्तामा झुण्ड्याइएको क्यालेन्डरको आधारमा तलब भत्ता खान्छन्, उनीहरूलाई कामसँग केही मतलब छैन, केवल महिना कहिले मर्छ र आफ्नो नाममा चढाइएको तलब गोजीमा पर्छ बस् योभन्दा धेरै महत्व राख्नु आवश्यक देखिँदैन ।
अझ क्यालेन्डरमा घोषणा नभएको तर सरकारले यति गते सार्वजनिक विदा हुन्छ रे भन्ने समाचार सार्वजनिक गरेको खण्डमा त्यो समाचार सेयर गर्ने सरकारी कर्मचारी नै बढी हुन्छन । यसको ठिक उल्टो विदाको दिन पनि एकदिन कर्मचारीले अत्तिरिक्त काम गर्नु पर्ने सूचना जारी गर्ने हो भने कर्मचारीहरु सायद आन्दोलनमा उत्रन्थे होलान् तैपनि आफूलाई राष्ट्र सेवक भन्नचाहिँ धक मान्दैनौं। यस्तो मानसिकताले ग्रसित सरकारी क्षेत्र मेरो अनुभवमा नाम निकाल्न कठिन जागिर खान सबैभन्दा सजिलो रहेछ। म राष्ट्र सेवक हुँ तर मैले राष्टका लागि के गरें? वर्षदिनमा मैले सेवाग्राहीलाई कस्तो सेवा दिएँ? सेवाग्राही मेरो सेवाबाट सन्तुष्ट छन् कि छैनन्? खै यसबारेमा मूल्यांकन गर्ने संयन्त्र? आफैंले आफूलाई राष्ट्र सेवक भनेर भत्ता पचाउने काम कर्मचारीले आफंै गर्ने कि कुनै मूल्यांकन गर्ने निकाय पनि हुन्छ?
सरकारी कर्मचारीलाई नियुक्त भएपछि परीक्षणकालको अवधि तोकिएको हुन्छ। सो अवधिमा सन्तोषजनक काम गर्न नसकेमा सेवाबाट हटाउन सक्ने सम्मको व्यवस्था छ तर आजसम्मको इतिहासमा परीक्षणकालमा सन्तोषजनक काम गर्न नसकेकोमा सेवाबाट हटाइएका कर्मचारी कोही पनि छैनन्। किनकी सरकारी सेवामा छिरेपछि काम जस्तो गरोस् या नगरोस् कसले हटाउन सक्छ? भन्ने भ्रम छ।
सरकारी जागिर हुत्याउन कसैको केही लाग्दैन भन्ने अहंका कारण सेवाग्राही मारमा पर्ने र कर्मचारीमा उदण्डता बढेको पाइन्छ । आफ्नो भविष्य सरकारी जागिरमा देख्ने तर आफ्ना छोराछोरीको भविष्य सरकारी स्कुलमा नदेख्ने परिपाटी छ।
कार्यालय समयमा गए पनि कसैले किन यतिबेला आएको सोध्दैन, चाँडो निस्किए पनि खोजीनीति हुँदैन। आक्कलझुक्कल छड्केको नजर परेछ भने त्यो बेलामा सोधीखोजी हुन्छ अरु बेलामा हुँदैन। सरकारले पोसाकको लागि पैसा दिन्छ। कर्मचारी लाउँदैनन्। साना नर्सरी पढ्ने बच्चा त स्कुलको पोसाक लगाएर जान्छन् तर राष्ट्र सेवकलाई यति पैसा सरकारले दिन्छ, तिमी ड्रेस लगाऊ बनेर बिन्ति गर्नुपर्छ। तैपनि आफू महान राष्ट्रसेवक भएको ढोंग फुक्न पछि पर्दैनौं हामी। सरकारले वर्षेनी ठूलो सख्यामा सरकारी कर्मचारी नियुक्त गर्छ, नियुक्त भएका कर्मचारीले काम पाउँदैनन्। हाजिर गर्न र तलब खुवाउनकै लागि नयाँ भर्ना लिने हो कि काम पनि गराउने? यस्तो अवस्थामा म आफूलाई कसरी राष्ट्र सेवक कर्मचारी भनौं?