हाम्रा स्कुल कसरी चलेका छन्? सहरका पढाइमा के अन्तर छ? बालबालिकाले कसरी पढाइ अघि बढाएका छन्? कसरी सिकिरहेका छन्? बुझ्न म सरकारी र नीजी स्कुल गइरहें। बालबालिका भेटिरहें। शिक्षक भेटिरहें। अभिभावक भेटिरहें।
काँडाघारीको अक्षरा स्कुलमा सूचना तथा प्रविधि संमेलन चलेको थियो। प्रविधि संमेलनमा अतिथीको रुपमा म पनि सहभागी थिएँ।
सम्मेलन सकियो।
बाहिर विद्यार्थीले खानेकुराका स्टल राखेका थिए।
‘हाम्रा बाबु नानीहरुले बाहिर खानाको स्टल राखेका छन्,' पिन्सिपल अञ्जु भट्टराइले सबै अभिभावकलाई आग्रह गरिन्, ‘कस्तो खाना बनाएछन् हेर्नुस्। खाइदिनुस्। हौशला बढाइदिनुस्।'
स्कुलसँग ८ हजार रुपैया लिएर संचालन गरेका रहेछन् फुडफेस्टिबल।
‘नाफा भयो भने सामाजिक काममा लगाउनेछन्,' उनले जानकारी दिइन्, ‘घाटा भयो भने स्कुलले विद्यार्थीलाई श्रम गर्न लगाउँछ।'
आफ्ना छोरा छोरीले गरेको काम कसलाई रमाइलो नलाग्ला? छोराछोरीको मेहनतलाई कसले प्रोत्साहन नगर्ला?
खाना स्टलमा अभिभावकको घुँइचो लाग्यो। मम, चाउपिन लगायत खानेकुरा बनाएका थिए। सोचेको भन्दा राम्रै विक्रि भएछ। ११ हजार रुपैया उठेछ।
आठ हजार स्कुलको ऋण तिरे। तीन हजार बाँकी बस्यो। त्यो स्टुडेन्ट काउन्सिललाई आम्दानी भयो।
घरमा काम नलगाइएका बालबालिका हुन् यि। यिनीहरुले स्कुलमा पकाउने अभ्यास गरे। अभिभावक मक्ख परे।
एक दिन खाना पकाउँदा मक्ख पर्ने अभिभावक पनि यहीं छन्। विद्यार्थीलाई व्यवहारिक बनाउनु पर्छ भनेर अनेक कोणबाट अभ्यास गराउने स्कुल पनि यही छन्। आर्थिक रुपमा सम्पन्न अभिभावक यहीं छन्।
हामीलाई चाहेको यही हो। अभिभावक सम्पन्न होउन्। बालबालिकाले श्रम गर्नु नपरोस्। श्रम नगरीकन सिप पनि सिकुन् बालबालिकाले। त्यो सिप पछि गरिखाने माध्यम होस्। सानामा सिकेको सिपले पछि उसको उन्नती हुने बाटो खुलोस्।
हामीले चाहे जस्तो भएको छ र?
छैन।
छिट्टै हुने संभावना पनि देखिंदैन। किनभने खाडल गहिरो छ। खाडले पुरिंदै जानु पर्ने हो। तर खाडल झन् बढिरहेको छ।
एक दिन खाना बनाउँदा मक्ख पर्ने अभिभावक पनि यहीं छौं। सधैं खाना बनाएर स्कुल जाने (श्रमिक) पनि यहीं छन्। खाने बनाउने मात्रै होइन, भाँडा माझ्छन्, लुगा धोइदिन्छन्। बजार जान्छन्। अर्थात् पूरै श्रम गर्छन्। अनि स्कुल जान्छन्।
कसरी पढ्दैछन् यि श्रमिक?
थुप्रै श्रमिक बालबालिका भेटें। तिनका समस्या बुझें।
एक रुपैया उठाएर छात्रामैत्री शौचालय संचालन गर्ने राजाराम बस्नेत पनि श्रमिक बालक हुन्। यस्ता श्रमिकले कसरी अर्काको घरमा काम गर्न आइपुगे? पढ्ने समय कसरी मिलाएका होलान्? पढाइ कस्तो छ? घर छाडेर सधैं अर्काको घरमा बस्नु पर्दा कस्तो अनुभूति होला? यिनै सेरफेरोमा रहेर कुराकानी गरें।
दोलखा जखै—९ का हुन् बस्नेत। दुई दाजुभाइमा कान्छा राजाराम ७ वर्षमा भागेर काठमाडौं आए। घर छेउकै चनौटे निमाविमा २ कक्षामा पढ्दै थिए।
बुबा काठमाडौं बानेश्वरमा अर्काको घरमा बसेका थिए। बुबा घर आउजाउ गरिराख्थे।
सहर कस्तो होला? जिज्ञासा लाग्यो राजारामलाई।
सहर जाने रहर जाग्यो। बुबालाई लैजानुस् भने। मानेनन्। धेरै कर गरे। मान्दै मानेनन्।
‘एक्लै घरबाट निस्किएँ,' सुनाए, ‘गाउँकै बस पार्क गएँ। गाडी चढें।'
यो २०६२ सालको कुरा। पैसा जम्मा ५० रुपैया बोकेका थिए। त्यो पनि आमासँग झगडा गरेर मागेको। गाडीमा पैसा माग्यो भने के गर्नु? समस्या थियो।
‘उपाय लगाएँ,' सुनाए, ‘ठूलो मान्छेसँग बसें। उ जता जान्छ, त्यतै गएँ। उसकै छोराछोरी होलान भनेर पैसा नमाग्ला भन्ने अनुमान लगाएँ। सानालाई पैसा लाग्दैनथ्यो। तैपनि माग्यो भने के गर्नु भनेर डराएको थिएँ। धन्य, मागेन। मागेको भए आपत पर्थ्याे।'
बुबाले काम गर्ने घरको फोन नम्बर पनि बोकेका थिए। बानेश्वर झरेर बुबालाई फोन गरंे।
‘बुबा छक्क पर्नु भो,' सुनाए, ‘तैपनि लिनचाहिं आउनु भयो। त्यही घरमा काम गर्न बसें।'
भोलिपल्टै देखि काम शुरु गरिहाले। काम थियो— कुचो लगाउने, फुलमा पानी हाल्ने, भुईं पुछ्ने, झयालको ग्रील पुछ्ने आदी इत्यादी।
घरबेटी मनकारी परेछन्। पढाइदिनु पर्छ भन्ने भावना भएका। बोर्डिङ स्कुलमा भर्ना गरिदिए कक्षा १ मा। एक वर्ष पढे बोर्डिङमा।
पढाइदिनु पर्छ भन्ने भावना त थियो घरवेटीको। फि पनि तिर्ने पैसा दिन्थे साहुजीले। पैसा आफैं तिर्थे राजाराम।
‘त्यत्रो उमेरको बच्चाको खल्तीमा पन्ध्र सय बोकेर आउने भन्थे सरहरु,' सुनाए, ‘सबै छक्क पर्थे। प्रशंसा गर्थे। फि तिरेर बाँकी आएको पैसा फिर्ता दिन्थें साहुलाई। साहु पनि मक्ख पर्थे। किनभने अरुले बाँकी आएको पैसाले केही किनेर खाइदिंदा रहेछन्।'
फि तिर्न पैसा दिइराख्थे। पढाइमा सहयोग गरेर के गर्नु? घरको काममा चाहिं साह्रै कडा। टिक्नै मुस्किल भयो।
‘दुई घन्टा कुचो लगाउनै लाग्थ्यो,' सुनाए, ‘अनि कसरी पढ्नु? होम वर्क कतिबेला गर्नु? फि मात्रै तिरिदिएर के गर्नु? पढ्ने वातावरणै भएन।'
बालक त हुन्। एक दिन साथीसँग खेल्न थालेछन्। खेल्दा खेल्दा ५ बज्यो। घर ढिला पुगे।
‘किन ढिला आएको भनेर साहुजीले सोधे,' सुनाए, ‘म केही बोलिनँ।'
साहुजीको पारो चढ्यो। चप्पल फुकालेर गालामा चड्काइदिए।
‘अब बस्न मनै लागेन,' सुनाए, ‘त्यतिबेलै निस्किएँ। दिदी बौद्धमा बस्नु हुन्थ्यो। त्यहीं गएँ।'
दिदि होटलमा काम गर्थिन्। दिदिले त्यही होटलमा काम लगाइदिइन्।
होटल छेउमा प्रहरी चौकी थियो। त्यही चौकीमा चिया पुर्याइदिन्थे। भाडा माझ्थे। होटलको टेबुल पुछ्थे। चियाको पैसा उठाउन गइदिन्थे।
‘होटलको दिदीको छोरी थिइन्,' सुनाए, ‘तिनलाई पनि हेर्नु पर्थ्याे।'
स्कुल पनि जान्थे। होटलको दिदीले कुमारीगालको श्रम राष्ट्रिय माविमा भर्ना गरिदिएकी थिइन्। २ मा पढ्थे राजाराम।
‘स्कुलमा म ट्यालेन्ट थिएँ,' सुनाए, ‘कोही विषयमा त ६० मा ६० नै ल्याइदिन्थें।'
दिदीलाई पैसा दिन्थे। उनलाई दिंदैनथे। खान वस्नचाहिं सित्तैमा पाएका थिए। उनको सेवा देखेर चौकीका कैदी बन्दी मक्ख पर्थे। घर कहाँ हो भनेर सोध्थे। कोहीबेला दस/पन्ध्र रुपैया दिन्थे। होटलमा आउनेले पनि दिन्थे कोही बेला।
‘साह्रै बाठो रहेछ भनेर पैसा दिन्थे,' सुनाए, ‘त्यो पैसा खुत्रुकेमा राख्थें।'
साहुनीले माया गर्थिन्। घुमाउन पनि लैजान्थिन्।
अरुले जति माया गरेपनि आमा जस्तो किन हुन्थ्यो?
‘याद आइरह्यो। घरै सम्झन्थें,' सुनाए, ‘घर सम्झेर रोइराख्थें।'
माया गरे पनि दुख थियो। काम धेरै गर्नु पर्थ्याे। पढ्ने समय पनि हुँदैनथ्यो। धेरै दुख पाएको अनुभूति भयो। अब सहर विरक्त लाग्न थाल्यो। बस्न मनै लागेन। अब गाउँ फर्कने निधो गरे।
‘खुत्रुके फुटाएँ। पन्ध्र सय भएछ,' सुनाए, ‘त्यही पैसा लिएर घर फर्किएँ।'
आमा खुशी भइन्।
पहिला पढेकै स्कुलमा तीन कक्षामा भर्ना भए।
‘गाउँमा प्रगती भयो,' सुनाए, ‘कक्षाको मनिटरै भएँ।'
सहरमा बसेर आएको। फुर्ति नै बेग्लै भयो गाउँमा।
‘सधै सफा लगाएर जान्थें,' सुनाए, ‘थोत्रै कपडा भएपनि धोएर लगाउँथें।'
३ बाट फर्स्ट भए। विभिन्न प्रतियोगितमा भाग लिन थाले। प्रतियोगितमा पनि फर्स्ट भए। रेडियोले नामै फुक्यो। खुशीको सिमा रहेन।
‘पुरस्कार लिएर घर छिर्दा सानै बेग्लै,' सुनाए।
आर्थिक अवस्था कमजोर भएको परिवार। आफ्नो खेतबारीको कमाइले ६ महिनापनि खान पुग्दैनथ्यो। त्यस्तो परिवारका उनलाई गाउँमा पकेट मनी कसले दिने? सहरमा पो ग्राहकले दिन्थे। २/४ पैसाको दुख थिएन।
स्कुलले पिकनिक लाने भयो। त्यसका लागि ५० रुपैया तिर्नु पर्ने भयो। आमालाई मागे। भए पो दिनु आमाले। रोए। कराए। रुँदैमा कहाँबाट आवस्?
भोलिपल्ट हाजिर जवाफ प्रतियोगितामा भाग लिने भए। भाग्य पनि कस्तो भयो भने त्यो हाजिरीजवाफ जिते। ३ सय रुपैयाँ पुरस्कार पाए।
‘बल्ल पिकनिक जान पाइयो,' सुनाए, ‘ढुंगा खोज्दा देउता मिले झैं भयो।'
कपी, कलम किन्न पैसा माग्थे आमासँग। आमा छैन भन्थिन्। कपी कलम किन्न कसरी जुटाउने पैसा?
तनाव भयो।
अब हलो जोत्न गए। मेला जाने थाले। दाउरा चिर्न थालें। विदाको समय गिटी कुट्न गए। अरुको बाँस बोकिदिन थाले। एउटा बाँस बाटो सम्म ल्याइदिन्थे। १० रुपैया पाउँथे। डेढ घन्टा लाग्थ्यो बाटो सम्म
ल्याइपुर्याउन।
‘१० वर्षमै हलो जोत्न थालें,' सुनाए, ‘सानालाई आधा ज्याला दिन्थे। मैंले सय रुपैया पाउँथें।'
एक टिन गिटीको २० रुपैया दिन्थे। तीन महिना कुट्दा दुई हजार भएछ। त्यो पैसाले कपडा किनेर लगाएँ।
‘पहिलो पल्ट आफ्नो कमाइले कपडा किनें। फिल्म हेरियो। सानै बेग्लै नि।'
बाँस बोक्ने ठेक्कै लिए। दिन विराएर स्कुल जान थाले अब। बास बोकेको कमाइ पनि दुई हजार भएछ।
‘त्यो पैसा मध्ये एक हजार आमालाई दिएँ,' सुनाए, ‘त्यो पैसाले चामल किन्नु भयो। मसँग भएको एक हजारले चरिकोट झरेर जुत्ता किनें।'
***
उमेर बढ्दै गयो। दुख बुझ्ने भएँ। गाउँमा दुख। सहरमा दुख। सहरमा कामको दुख भए पनि पैसाको दुख भएन। किनभने स्कुलको फि साहुले तिरिदिन्थे। कपी कलम किनिदिन्थे। गाउँमा त यसैकेा लागि संघर्ष गर्नु पर्ने।
अब सहरै जाउँ जस्तो लाग्यो।
दाजुभाइमा बुबा नै गरिब। काकाहरु कोही इन्सपेक्टर थिए। कोही अदालतमा कर्मचारी। कोही तराइमा थिए। बुबा अर्काको घरमा काम गर्ने। तलब १२ सय मात्रै हुन्थ्यो। त्यो पैसा भाइलाई पढाउँदै सकिन्थ्यो।
काकाका छोराछोरी राम्रो लुगा लगाउँथे। त्यो देख्दा उनलाई पनि रहर लाग्थ्यो।
‘कमजोर भएपछि आफन्तले पनि हेप्दारहेछन्,' सुनाए, ‘हेप्ने गाउँमा किन बस्नु? हेपिएर कति बस्नु? गाउँमा प्रगती हुँदो रहेनछ भन्ने लाग्यो। अब सहरै फर्किएँ।'
१२ वर्षका थिए त्यतिबेला।
‘गाउँका एकजना अंकलसँग काठमाडौं आएँ,' सुनाए।
यो २०६८ सालको कुरा। अहिले पढिरहेकेा महेन्द्र माविमा ५ कक्षामा भर्ना भए।
घरबेटी असल परेछन्। घरको काम सबै लगाउँछन्। तर आफनो काम सकेर समय उब्रियो भने यता उता हिंड्न पाउँछन्। काम उही हो—खाना बनाउने, भाँडा माझ्ने, कपडा धुने, घर सरसफाइ गर्ने, सामान किन्न बजार जाने।
‘कामको लोड हुन्थ्यो,' सुनाए, ‘म रुन्थें बेला बेला। अंकल मेरो पनि जीवन यस्तै थियो, नरोउ भनेर सम्झाउनु हुन्थ्यो। अंकल पनि यस्तै घरेलु श्रमिक हुनु भएको रहेछ। पछि प्रगती गर्नु भयो। होटल चलाउनु भयो।
अहिले राजधानीको धनीमानी मध्येमा पर्नु हुन्छ।'
कता कताबाट बालक्लबको सम्पर्कमा पुगे दुई वर्ष अघि। २०७२ सालमा त बालक्लब काठमाडौं संजालको संयोजकै भए। संजालमा २१ स्कुल छन्। १ सय ५० बालक्लब छन्।
संयोज भएपछि तालिम अवसर पाए। त्यसले व्यक्तित्वमा धेरै परिवर्तन आयो।
‘पहिला बोल्न डर लाग्थ्यो। कक्षामा अगाडी गएर बोल्नै सक्दैनथें,' सुनाए, ‘अब बोल्न सक्ने भएँ। निडर भएँ।'
अध्यक्ष भएपछि काम थपियो। कामले जिम्मेवार बनाउँदै लग्यो।
‘गफाडी थिएँ। हल्ला गर्दै हिंड्थें। त्यही भएर पहिला सबैले फटाहा भन्थे,' सुनाए, ‘जिम्मेवारीले परिवन्धमा पारिदियो। के वदमासी गर्नु? के हल्ला गर्नु? अब जिम्मेवार भइयो। मैंले नराम्रो गरे कसले मान्छ मलाई? एक वर्षमै आमूल परिवर्तन आयो मेरो व्यक्तित्वमा।'
जिम्मेवारी पनि कति धेरै छ उनको। बालक्लबको अध्यक्ष छँदै छन्। जिल्ला बालकल्याण समिती काठमाडौंको सदस्य छन्। अब बालअधिकारको पक्षमा वकालत गर्दै हिंड्न थालेका छन्।
‘श्रमिकको लगत तयार पारिरहेको छु,' सुनाए, ‘बालश्रमिकको पक्षमा फाइव स्टार होटलमा प्रोग्राम हुन्छ। तर समस्या घटेको छैन। झन् बढेको छ। यसलाई कसरी हटाउने भनेर आफ्नो तर्फबाट लागिरहेकेा छु।'
१४ वर्ष मुनिकालाई काममा लगाउनु गै्रह कानुनी मानेको छ नेपालको श्रम कानुनले। बालश्रमिक प्रयोग गरेमा ५ देखि २० हजार रुपैया सम्म जरिवानाको व्यवस्था छ। श्रममा ल्याइदिनेलाई समेत जरिवानाको व्यवस्था छ। कानुन भएर के गर्नु? कार्यान्वयन भए पो।
घरेलु श्रमिकको संख्या ५५ हजार रहेको अनुमान छ।
श्रमिक राख्ने तर पारिश्रमिक नदिने। आफ्ना सन्तान महंगा नीजी स्कुलमा पढाउने तर श्रमिकलाई सरकारीमा भर्ना गरिदिने। यस्तै छ प्रवृत्ति।
‘सरकारीमा भर्ना गरिदिएपनि फि समेत तिरिदिंदैनन्,' महेन्द्र उच्च माविका प्राचार्य देवराज गुरुङ भन्छन्, ‘त्यही भएर गरिबका छोराछोरीलाई छुट दिन्छौं तर श्रमिक विद्यार्थीलाई छुट दिंदैनौं। किनभने श्रमिक राखेपछि तिनीलाई पैसा तिरिदिन बाध्य पार्नु पर्छ।'
राजाराम एउटा प्रतिनिधि पात्र हुन्। राजाराम जस्ता कथा भएका थुप्रै भेटिए श्रमिक विद्यार्थी।
सबै गरीबीले गर्दा सहर छिरेका हुन्। कोही घरमा दुख भएर सुख पाउन सहर छिरे। घरमा भन्दा झन् दुख पाए यहाँ। साहुको पिटाइ खानु पर्छ।
कोही गाउँमा बिग्रिए भनेर राम्रो शिक्षा पाउलान् भनेर सहर पठाइदिएका छन् अभिभावकले। राम्रो शिक्षाको आशाले पठाए पनि सहरमा भने जस्तो भएको छैन।
दयनीय छ श्रमिक बालबालिकाको अवस्थामा। इटाभट्टामा काम गर्ने, घरेलु र होटलमा काम गर्ने गरी सामान्यतया तीन प्रकारका श्रमिक छन्। ति मध्ये भट्टामा र होटलमा काम गर्नेले पढ्ने अवसर कम पाएका छन्।
घरेलु श्रमिकले तुलनात्मक रुपमा स्कुल जान पाएका छन्।
त्यही भएर सहरका सरकारी स्कुल श्रमिक बालबालिकाले भरिएका छन्।
‘हाम्रो स्कुलमा ८० प्रतिशत श्रमिक विद्यार्थी छन्,' गुरुङ भन्छन्, ‘अरु सार्वजनिक स्कुलको अवस्था पनि यही हो।'
यो स्कुलमा ३ सय विद्यार्थी छन्। हरेक वर्ष नयाँ नयाँ विद्यार्थी देखिन्छन्। विद्यार्थी फेरिए पनि संख्या चाहिं उस्तै रहन्छ।
‘यसको अर्थ श्रमिक बालबालिका फेरिइरहन्छन भन्ने हो,' सुनाए, ‘एउटा गएपछि अर्काे ल्याइहाल्छन्। ल्याएर पढाउने चाहिं यही सरकारी हो।'
२०१३ सालमा स्थापना भएको हो यो स्कुल। त्यतिबेला बालुवाटर बिकट थियो। यो क्षेत्रमा शिक्षाको ज्योति फैलाउन पाटीबाट शुरु भएको हो यो स्कुल। शुरुवाती दिनमा टोलका जाने बुझेका मान्छेले निशुल्क रुपमा शिक्षा दान गर्थे। २०३० सालतिरबाट यसले आधिकारीकता पायो।
स्कुल अहिले सुविधाजन बनेेको छ। आफ्नो सुविधाजनक भवन छ। कम्युटर ल्याब छ। विज्ञान ल्याब छ। अंग्रेजी माध्यममा पढाइ हुन्छ। खानेपानीको राम्रो सुविधा छ। डब्लुएच ओ को मापदण्ड अनुसारको मेशिनले पानी तान्छ। दिनमा ३७ हजार लिटर पानी तान्छ। स्कुलमा छेलोखेलो छ पानी। दिनमा १० हजार लिटर ट्वाइलेटमा प्रयोग हुन्छ। ५ लिटर पिउन खर्च हुन्छ। बाँकी पानी खेरै जान्छ। स्कुल सफाचट छ।
यही वर्षदेखि सिभिल इन्जिनियरिङ पढाइ शुरु भएको छ। यति भएर पनि श्रमिक बाहेक अरु विद्यार्थी तानिएका छैनन्। किनभने सहरमा देखासेखी बढेको छ। सरकारी स्कुलमा पढायो भने कमजोर देखिइन्छ भन्ने मनोविज्ञानले सताएको छ सहरवासीलाई।
सहरका सरकारी स्कुल श्रमिक पढ्ने स्कुलमा परिणत हुँदै गएछन्। मैंले केही स्कुलको अध्ययन गर्दा पाएका तथ्य र त्यहाँका शिक्षकसँगको कुराकानीको आधारमा यो निचोड निकालेको हुँ।
गाउँका स्कुलचाहिं गरिब पढ्ने स्कुलमा परिणत हुँदै गएका छन्।
न्यौपानेको पुस्तक आज(शनिबार) राजधानीमा एक कार्यक्रममाझ सार्वजनिक हुँदैछ।