बजारमा अचेल सजिलै क्रय-विक्रय हुन्छन् जीवन सिध्याउने जिनिसहरु
औषधि, सब्जी, धुलो, धुवाँ, आशा, भरोसा, महत्वकांक्षा
सस्तो, सुलभ र आकर्षक मूल्य-मान्यतामा
यहाँ आफूमा घृणा, घमण्ड, इर्श्या, द्वेष नघुसाएसम्म
जीवन जीउन अभ्यस्त भइन्न
बुद्ध, सगरमाथा, वीर-गोर्खाली मन्त्र नजपेसम्म
मात्र नागरिकताले स्वस्थ्य भइन्न
यहाँ अभ्यस्त हुन सजिलो छ, एकदम सजिलो
सस्तो, सुलभ र आकर्षक मूल्य-मान्यतामा
प्रविधिको क्रान्तिले सजिलो छ विश्व चिन्न
अत: सजिलैसर्फ गर्न सक्छन् केटाकेटीहरुले
ब्रेजर्स, पोर्नहब र एचडिपोर्न डटकम
सजिलै चिन्छन् मिया खलिफा र अलि हेजहरुलाई
उता आमा-बा चकित छन् सन्तानको प्रविधि पोख्तता देखेर
हर्षविभोर छन् उनीहरु कहिले नसुनेको नाम सुनेर
यहाँ खुसी पार्न सजिलो छ, एकदम सजिलो
सस्तो, सुलभ र आकर्षक मूल्य-मान्यतामा
ज्ञानको दायरा आकाशझैं फराकिलो छ हिजो-आज
अत: अचेल सबै-सबैमा सजिलै निपूर्ण भएका छन्
तर्क, सूचना, विश्लेषण, उपदेश, कटाक्षको क्षेत्रमा
राजनीति दिमागदेखि दिमागसम्मको पानी पधेरो भएको छ
अत: कालो, दलित, भैया, अधर्मी, देशद्रोही, पहाडे-मधेसी आदि इत्यादि
ट्याग नलगाई अस्तित्व स्विकार नगर्न सजिलो भएको छ
यहाँ मपाई हुन सजिलो छ, एकदम सजिलो
सस्तो, सुलभ र आकर्षक मूल्य-मान्यतामा
के सजिलो छैन अचेल?
के गाह्रो छ र अचेल?
प्रेममा लगानी र प्रेमको मुनाफा ट्याली गरिन्छ अचेल
अत: क्याफेका भित्ताहरुमा प्रेम कार्यक्रम पोत्ने समय हो यो
फर एग्जाम्पल: ‘माई बेब वाज हेयर, एण्ड सो वाज मी’
यहाँ प्रेम गर्न सजिलो छ, एकदम सजिलो
सस्तो, सुलभ र आकर्षक मूल्य-मान्यतामा
के सजिलो छैन अचेल?
के गाह्रो छ र अचेल?
गाह्रो त बरु,
गाह्रो मान्नु छ कदम कदममा
सजिलो त बरु,
गाह्रो नमान्नु छ कदम कदममा
सन्तानलाई असल भन्दा ठूलो नबनाउन
आमाबालाई अरुको आश्रयमा नछाड्न
फेसबुकमा पूर्व-प्रेमीलाई ब्लक नगर्न
व्यापारीलाई कालोबजारी नगर्न
लेखकलाई दोस्रो कृतिमा पहिलेको क्रेज राख्न
र शास्त्र नमानिने संविधान संशोधन गर्न
...यी पो गाह्रो, यी पो असजिलो!
तर यो त सजिलोहरुको देश हो
सजिलो खोज्ने, सोच्ने, रोज्नेहरुको देश यो
सस्तो, सुलभ र आकर्षक मूल्य-मान्यतामा
यो सजिलोहरुको देश हो
र सजिलो खतरनाक हुन्छ!