निकै आश र भरोशाले त्यहाँ पूरै आधा दिन र एक बिहान कुरेपछि उसले मन्त्रीलाई नमस्कार गर्न पायो। के? कसो? को? पछि उसले मन्त्रीलाई आदरभावको उच्च अभिनयसहित भन्यो,‘हजुर बेकार छु, बिए पास गरेको छु, कतै जागिर दिलाइदिबक्से कल्याण हुन्थ्यो हजुर।’
दुवै आँखा छेउछाउका छाला खुम्च्याउँदै मन्त्रीले भन्यो, ‘घर कहाँ भन्नुभयो?’
‘सिन्धुली हजुर।’
‘तर, त्यो मेरो जिल्ला परेन, त्यसमाथि हेर्नुस् मैले आफ्ना सबै कार्यकर्तालाई समेत कतै झुलाउन सकेको छैन, बरु आफ्नू जिल्लाको मन्त्री वा माननीय कहाँ जानुस्, यो बेजिल्लाको मन्त्रीकाँ आएर के फाइदा?’
‘हजुरले गरिदिबक्सिन्छ भनेर हजुर।’
मन्त्रीले आफ्नो चार अंगुलको निधार खुम्च्याउँदै भन्यो, ‘के भनेर मैले तपाईंलाई गरिदिने? तपाईं मेरो जिल्लावासी हो कि? भोटर हो कि? कार्यकर्ता हो कि? वा कार्यकर्ताको छोरो, भाइ, भतिजो वा नाति के हो?’
‘तैपनि हजुर।’
‘के तैपनि? मैले आफ्नै जिल्लाका धेरैलाई गर्नु पर्नेछ…’ भन्दै मन्त्री उठेपछि एकाएक उसको अनुहारको मरकरी उड्यो। उसको अँधेरिएको अनुहार हेर्दै मन्त्रीले भन्यो, ‘के तपाईंको जिल्लाको कोही मन्त्री भएको छैन र?’
‘छैन हजुर,’ गलित स्वरमा उसले भन्यो।
‘प्रतिक्षा गर्नुस्, कोही होला,’ भन्दै मन्त्री हिँड्यो।
(राजवको यो कथा नेपाल प्रज्ञा प्रतिष्ठानले २०५० सालमा प्रकाशित गरेको ‘इतर जिल्लावासी’ कथासंग्रहमा संकलित छ।)