झरी झनै बाक्लिएको थियो। छाताले पनि नओत्ने त्यो झरीले म होटल पुग्नुअघि बाटोमा नै निथ्रुक्क भिजिसकेको थिएँ।
होटलभित्र त्यति जाडो थिएन। तर, बाहिरको मुसलधारे वर्षा गेटको सिसाबाट प्रष्टै देखिन्थ्यो। त्यसैले प्राय:विदेशीहरूका टेबलमा कफीका कप थिए। कतिका कप उनीहरुका हातमा थिए। ती विस्तारै ओठतिर उक्लिँदै थिए। कपबाट कफीको हावातिर फैलिइरहेको बाफको बासनाले होटल पूरै मगमग भइरहेको थियो।
भिजेको छाता हातमै थियो। तर, आँखाले भने म विष्णुजीलाई खोज्दै थिएँ। एउटा छेउमा गोरा छाला भएका दुई युवती थिए। उनीहरूको ठीक अगाडि नेपाली केटो थियो। त्यो केटाले मेरो नाममा ‘जी’ थपेर बोलायो। विष्णु त उही पो रहेछ।
केही दिनअघि प्रशान्तसँग उसलाई मैले पहिलोपटक भेटेको थिएँ। ऊ त्यतिबेला हेल्मेटमा थियो। त्यसैले,दोस्रोपटक देख्दा सजिलै ठम्याउन सकिनँ।
उसले ती दुई विदेशी युवतीसँग परिचय गराएन। यति मात्र भन्यो, ‘तपाईंले घुमाउने यिनीहरुलाई नै हो?’
एकछिनमा मैले आफ्नो नाम भनें र उनीहरूको पनि सोधें। एउटीको नाम सारा होवार्थ र अर्कीको क्रिस्टिना स्कल्ज रहेछ।
रोकिन्छ कि भनी केहीबेर कुर्दा झरी झन् बढ्न थाल्यो।
गेटमै आइपुगेको कारभित्र हतार-हतार छिर्यौं। बाहिरको चिसो र भित्रको तातोले कारको सीसामा वाफ पूरै पोतिएको थियो। ड्राइभर बाहिर केही नदेखिने गरी सीसामा लागेको बाफ रुमालले पुछेको पुछ्यै थियो। तर, पुछ्नेवित्तिकै वाफ आफैं पोतिइहाल्थ्यो। त्यो क्रम चलिरह्यो।
अघिल्लो साँझ प्रशान्तले भनेको थियो, ‘उनीहरु आइरिस् हुन्।’ त्यसैले मैले उनीहरुलाई भेट्न आउनुअघि आयरल्यान्ड र आइरिसबारे केही अध्ययन गरेको थिएँ।
‘आइरिस पुरुषको सरदर उचाई पाँच फिट आठ इन्च हो भने स्त्रीको त्यसभन्दा तीन इन्च कम। झन्डै नब्बे प्रतिशत आइरिस क्याथोलिक छन्। तर, मुस्किलले तीस प्रतिशत मात्र चर्च जान्छन्। मे त्यहाँको सबैभन्दा सुख्खा महिना हो। झन्डै सन्ताउन्न प्रतिशत आइसिरसले ग्लास (चश्मा) लगाउँछन्। वाद्ययन्त्र हार्प सर्पमुक्त आयरल्यान्डको राष्ट्रिय सिम्बोल हो।’
यी र यस्तै अनेक जानकारी हासिल गरेर म ती आइरिसहरुलाई घुमाउन तयार थिएँ। घुम्न तयार थिएँ।
बाटोमा मैले छोटकरीमा नेपाल परिचय दिएँ। छोटकरीमा किनभने मैले त्यसभन्दा बढी दिने परिस्थिति नै थिएन। म सुन्नमै व्यस्त थिएँ। ड्राइभर आफ्नो जीवन र जगतको महाभारत र रामायण सबै भन्दै थियो। म ऊतिर नहेरी …अँ’ …अँ’ मात्र भन्दैथिएँ। तर, पनि उसले मलाई छाडेन।
गाडी चलाउने पनि उही र गफ दिने पनि उही भइरहेको थियो। भन्दै थियो, …सर! मेरो नाम प्रवीन प्रधान हो। यो मेरै कार हो। घर यहीँ छाउनीमा हो। अहिले नयाँ घर बनाएर बनस्थलीमा बस्छु। आनन्दकुटी स्कूलबाट एसएसली गरें। १२ कक्षासम्म पढेपछि पढ्नमा मन लागेन। कामतिर लागें। इन्डियाबाट सामान मगाएर काठमान्डुमा बच्ने गरें। नाकाबन्दीपछि बोर्डरमा सामान रोकियो। उताको पुलिसलाई टन्नै पैसा खुवाएर माल छुटाउनु पर्ने भयो। त्यसपछि बरु आफ्नै कारलाई टुरिस्ट कार बनाएर चलाउँछु भनेर यो नयाँ काम सुरु गरेको हुँ। यो काम सुरु गरेको धेरै भएको छैन।’
उसको कथाको त्यो त सुरुवात मात्रै थियो।
‘श्रीमती स्कुल पढाउँछे। काठमान्डुको सडक खत्तम छ। यो देशको सिस्टम नै खराब छ। आज कस्तो पानी परेकोपर्यै गरेको! हिजो विदेशीलाई लिएर नगरकोट गएको थिएँ। पानी परेर धेरै जाडो भयो। पूरै जाडो महिनाजस्तो लाग्यो मलाई त। नगरकोटबाट फर्कँदा कारको एसी बिग्रिएछ। आज चाँडै ड्युटी सकियो भने एसी बनाउँछु। यसअघि कहिल्यै पनि एसी बिग्रेको थिएन। एसी नभएपछि मलाई कार चलाउनै मन लाग्दैन।’
ऊ अविरल बगिरहेको थियो। न ऊ रोकिन्थ्यो न झरी। झरी र ड्राइभर एकै भएका थिए। अगाडिको सीसाको बाहिरपट्टि वाइफर चलेको चल्यै थियो। भित्रपट्टिबाट एउटा हातले ऊ सीसामा पोतिएको वाफ पुछेको पुछ्यै थियो।
स्वयम्भू पुगेपछि एक छिनलाई भए पनि ड्राइभरसँगको साथ छुट्यो।
‘मैले आइरिसहरुबारे बिहान गुगलिङ गरेको थिएँ,’ स्वयम्भूको टुप्पोतिर उक्लदै मैले भनें।
‘किन?’ मेरो कुरालाई असान्दर्भिक र अप्रत्याशित मान्दै उनीहरुलाई सोधेँ।
‘किनभने, तिमीहरु आइरिस हौ,’ मैले स्वर थोरै बढाएरै भनें।
‘कसले भन्यो?’
‘मेरो साथी प्रशान्तले।’
‘को प्रशान्त?’
‘तिमीहरु विष्णुको ट्राभल कम्पनीबाट नेपाल घुम्दै छौ। प्रशान्त विष्णुको साथी हो। प्रशान्तले मलाई यो यात्रामा जोड्दै तिमीहरु आइरिस हौ भनेको थियो,’ मैले बेलीबिस्तार लाएँ।
‘तिम्रो साथीले गलत भनेछ। हामी आइरिस होइनौ।’
‘सरी है? मैले तिमीहरुलाई आइरिस भन्ठानेर पापै त गरिनँ। तर, भूल भने गरें।’
‘इट्स ओके,’ उनीहरुको त्यत्ति शब्दले मात्र पनि मलाई ठूलो राहत भयो तर उनीहरुबारे जान्ने जिज्ञाशा बाँकी नै थियो।
‘म म्यानचेस्टरमा जन्मेर लन्डनमा हुर्केकी हुँ र पछिल्लो एक वर्षदेखि युएईको अबुधावीमा अंग्रेजी शिक्षकको रुपमा काम गर्दैछु,’ चश्मा लगाएकी अलि बढी गोरी साराले भनी।
‘अनि म पनि पछिल्लो एक वर्षदेखि अबुधावीमा अंग्रेजी शिक्षकको रुपमा नै काम गर्दैछु। हामी अझै दुई वर्ष त्यहीँ हुनेछौं। र, म साउथ अफ्रिकाकी जोहानेसवर्गकी हुँ,’ क्रिस्टिनाले थपी।
रिम टापुको साराले पढाउने स्कुलमा असी जना त शिक्षक नै छन् भन्ने थाहा पाएपछि सोधें, ‘विद्यार्थी त?’
‘बाह्र सय।’
‘ठूलै स्कुल रहेछ। अनि तिमी पनि त्यही स्कूलमा पढाउँछ्यौ होला। होइन त?,’ साराबाट क्रिस्टिनातिर आँखालाई सार्दै सोधें।
‘होइन। म त्यो स्कूलभन्दा अलि परको अर्को स्कुलमा पढाउँछु। तर, हामी त्यहाँ १० जना मात्र शिक्षक छौं। उसको भन्दा मेरो स्कुल निकै सानो छ,’ क्रिस्टिनाले उत्तर दिई।
‘त्यसो भए तिमीहरु कसरी भेटियौ र नेपालसम्म सँगै आउने मिल्ने साथी भयौ?’
‘पहिले म पनि साराले पढाउने ठूलो स्कुलमै थिएँ। त्यही स्कुलले मलाई अहिले मैले पढाइरहेको स्कुलमा पठाएको हो।’
‘ए, त्यसरी एउटै स्कुलमा पढाउँदापढाउँदै साथी भएका रहेछौं।’
‘एउटा कारण त त्यो हो तर त्यसभन्दा बढी चाहिँ अबुधावीको दिक्दारीले हामीलाई एकअर्कासँग नजिक्याएको हो,’ क्रिस्टिनाले भनी। साराले पनि त्यसमा सहमति जनाई, ‘यस्।’
मुस्लिमहरुको महान पर्व बकरइदको अवसरमा उनीहरुले झन्डै एक हप्ताको बिदा पाएका रहेछन्। त्यसैलाई सदुपयोग गर्न यहाँ आएका रहेछन्।
‘अबुधाबीबाट नेपाल नजिक छ। धेरै घन्टा लाग्दैन। त्यसैले यो छोटो अवधिमा नेपाल आउनु उपयुक्त ठानेर हामी आएका हौं,’ नेपाल आउनुको कारणबारे उनीहरुले त्यसभन्दा बढी केही भनेनन्। जस्तो कि भन्ने गरिन्छ नि्, ‘नेपाल प्रकृतिको स्वर्ग हो। नेपाल बुद्ध जन्मेको देश हो। नेपालमा सगरमाथा छ। नेपाल विश्वको घुम्नपर्ने एक नम्बरको देश हो। त्यसैले हामी यहाँ आएका हौं।’
‘कस्तो छ त त्यहाँ?,’ मैले उनीहरुको अबुधावी बसाइबारे सोधें।
‘कस्तो छ भन्नु? भन्ने कुरै केही छैन।’
‘किन र?’
‘किनभने, त्यहाँ जीवन भन्नु सम्पत्ति र विलासिता मात्र हो। तेलबाट स्वत यथेष्ट पैसा आउँछ। त्यहाँका स्थानीय अरु कुनै काम गर्दैनन्। बस्यो, खायो, सुत्यो। बस्। मुख्य कुरा के हो भने स्थानीयहरु निकै धनी छन्।’
‘कुनै दिन तेल सकिएला। त्यसपछि त्यहाँको जीवन कति कठिन होला?,’ मैले भनें।
‘त्यही भएर होला, उनीहरु अहिले आफ्ना बच्चाहरुलाई अंग्रेजी पनि पढाइरहेका छन्। ताकि भोलि जुनसुकै अवस्थामा पनि बाँकी विश्वमा अनेक तरिकाले प्रतिस्पर्धा गर्न सकुन्। भूगोल र भाग्यले स्वत प्राप्त तेलमा मात्र जीवन आश्रित नहोस्,’ साराले भनी।
‘विलासिताग्रस्त जीवन, चालीस डिग्रीवरपरको गर्मी र उदाहरणीय कृत्रिम विकास मलाई त्यहाँको मन नपर्ने विशेषता हुन्। जहाँ मैले अरु दुई वर्ष बस्नु पर्नेछ,’ जोहानेसवर्गकी क्रिस्टिनाले अनुहार बिर्गादै भनी।
मैले प्रसंगलाई मोडें, ‘भयो उताको कुरा नगरौं। तिमीहरु अंग्रेजीका टिचर। बरु मलाई राम्ररी अंग्रेजी सिकाऊ।’
‘हामीले सिकाउनु पर्ने गरी तिम्रो अंग्रेजी खराब छैन।’
‘खराब छैन भन्नुको मतलब असल छैन भन्ने बुझिन्छ। हो नि। होइन र?’
‘ल त्यसो भए, तिम्रो अंग्रेजी राम्रो छ भन्छौं। हुन्छ?’
‘सिकाउनु पर्छ भनेर? त्यसो भन्या हो कि के हो?’
‘होइन। होइन। तिम्रो अंग्रेजी साँच्चै राम्रो छ।’
त्यसपछि हामी तीनै जना मजाले हाँस्यौं।
झरी परेकोले स्वयम्भूमा अरु बेला जस्तो बाँदरहरु यताउता जतासुकै देखिएनन्। मन्दिरका कुना काप्चामा पानी छलेर बसेका बाँदरहरु देखेपछि उनीहरु निकै रोमाञ्चित भए।
‘मैले यसरी खुलेआम बाँदरहरुको जीवन हेर्ने मौका पाएकी थिइनँ। यो मेरो जीवनको एउटा सुन्दर सम्झना भइरहने छ,’ साराले अनुहार चम्किलो पार्दै भनी। साथीको चम्किएको अनुहार हेर्दै क्रिस्टिना पनि उज्यालिई।
‘झरीले गर्दा घामको मुख देख्न पाइन भनेर दु:खी थिएँ। तर, तिमीहरुको उज्यालो अनुहार घामभन्दा कम छैन,’ अलिअलि उडाउँदै मैले उनीहरुको प्रशंसा गरें।
‘हामी बुझ्छौं, तिमी हामीलाई उडाउँदै छौ। तर, गम्भीर भएर हामी तिमीलाई धन्यवाद दिन्छौं,’ उनीहरु दुईतिरबाट मेरो एकदम नजिक आएर हाँस्दै भने।
‘प्रिय सारा एन्ड क्रिस्टिना! तिमीहरु मेरो धेरै नजिक नआऊ। थाहा पाए भने फेरि तिमीहरुको बुढाले गाली गर्लान नि्।’
‘किन गाली गर्ने? यो हाम्रो जीवन हो। र, जीवनमा सबैभन्दा ठूलो कुरा स्वतन्त्रता हो। त्यसमाथि हामीले बिहे नै गरेका छैनौं।’
‘ब्वाइफ्रेन्ड त होलान् नि?’
‘छैनन्।’
‘साँच्चिकै तिमीहरु दुवैको ब्वाइफ्रेन्ड छैनन्?’
‘छैनन्।’
‘त्यसो भए ... ,’ म त्यतिमै अड्किएँ।
‘त्यसो भए के? भन,’ उनीहरुले खोतलेरै जान्न चाहे।
‘त्यसो भए ...?,’ मैले फेरि पनि त्यसभन्दा बढी केही भन्न सकिनँ। तर, मनमा आइरहेको थियो, ‘त्यसो भए तिमीहरु होमो (समलिंगी) हौ?’
सायद उनीहरुले मेरो अपूर्ण प्रश्नको पूर्ण आशय बुझे। तर, कुनै प्रतिकृया जनाएनन्।
म पनि चुप भएँ। सोच्दै नसोची फ्याट्ट बोलेको अपुरो वाक्यको मौन असरले म चुपचाप भइरहेको थिएँ।
स्वयम्भूलाई एक चक्कर लगाइसकेपछि ओर्लेर तल पार्किङमा हामीलाई कुरिरहेको कारभित्र छिर्यौं। ड्राइभरको अविरल कथायात्रा सुरु भइसकेको थियो। स्वयम्भुबाट बौद्ध पुग्दासम्म म थाकिसकेको थिएँ।
पछाडि सिटमा सारा र क्रिस्टिना गुनगुन गरिरहेका थिए। मैले लुकिङ ग्लासबाट देखें, हातमा हात राखेर उनीहरु एक अर्कालाई गहिरो गरी हेर्दैथिए।