एकाबिहानै मोवाइलको घण्टी बज्यो। निद्रामै थिएँ। आँखा नै नखोली फोन रिसिभ गरेँ। कुनै पुरुषको मीठो आवाज सुनेँ।
‘ह्यापी बर्थडे टु यु मिस।’
मैले हेलो नै भन्न नपाउँदै उसले बर्थडे वीस नै गर्न भ्याइसकेको थियो। मैले यसो मोवाइलमा आएको नम्बरतिर नजर लगाएँ। नम्बर नयाँ थियो।
‘थ्याङक यू। तर, मैले हजुरलाई चिन्न सकिन नि?’
उताबाट हाँस्दै जवाफ आयो, ‘म हजुरलाई चिन्छु नि। अनि आज हजुरको बर्थडे पनि हो। भैगो हजुरले नचिने नि म रिसाउँदिनँ।’
कस्तो खालको मान्छे होला मेरो जन्म दिनको शुभकामना दिन्छ अनि मैले नचिने नि हुन्छ भन्छ। मलाई कसैले जानेर नै बहाना झिकेजस्तो महसुस भयो।
मैले अलि झर्किँदै भनेँ, ‘को हो तपाईं? किन बेकारमा मेरो दिमाग भुट्नु हुन्छ? मलाई धेरै मजाक गरेको मन पर्दैन। भन्ने भए खुरुक्क आफ्नो परिचय दिनू अन्यथा फोन राख्नू।’
उसले मन्द हाँसोमा भन्यो, ‘बिहानै हजुरको मुड खराब बनाएँ, सरी है। तर, हजुरले मलाइ चिन्नु नै हुँदैन नाम भनेर के गर्नु? त्यसैले हो मिस । हाम्रो भेट भएको बेला म मेरा तीन पुस्ताको बायोडाटा नै पेश गर्छु बरु। प्लीज म हजुरलाई एकपटक भेट्न चाहन्छु। के आज हामी भेट्न सक्छौं?’
रिसको सीमा नाघिसकेको थियो। मलाई चिन्छ अनि मैले नै बिर्सिसकेको बर्थडे उसलाई थाहा छ। फेरि भन्छ, मैले चिनेको नै छैन। अनि भेट्ने कुरा सुनेर म झन् आक्रोशित भएँ।
मैले उसलाई भनेँ, ‘तिमी को हौ? मलाई चिन्न नि आवश्यक छैन। अनि म नचिनेको मान्छेलाई किन भेटुँ? अबदेखि यहाँ फोन गरेर मेरो र तिम्रो समय खेर नफाल।’ मैले फोन काटिदिएँ।
कस्ता–कस्ता मान्छे हुन्छन्। एकाबिहानै मुड अफ बनायो। यस्तो सोच्दै उठेँ। अनि नित्यकर्म सकेर अफिस पुगेँ। अफिसमा पुगेर केही काम गरेँ अनि चिया पिउँदै गर्दा बिहानको फोन गर्ने मान्छेलाई सम्झेँ।
अनि मेरो जन्म दिन पनि। म कुन दिन र कति गते जन्मे भन्ने कुरा मेरा भएका एक दुई जना आफन्तलाई नै थाहा छैन। मलाई झन् के थाहा हुनु र? मैले थाहा पाउन जरुरी पनि ठानिनँ। जब मलाई जन्म मिति चाहिने दिन आयो त्यस दिन राखिदिएँ असोजको कुनै गते। साल चाहिँ परिवारले नै जुराएका रहेछन्। त्यसपछि आफ्नो न्वारान नै वर्थडे निर्धारण गरेको थिएँ। सायद त्यही दिन परेको रहेछ आज।
जन्म मिति याद नहुनु पनि परिवारको दोष हैन। म जन्मँदै अलि अप्ठेरो परिस्थितिमा जन्मेको रे। कसरी याद हुन्छ त! अनि मेरो न कुनै चिना टिपन नै बनाउनु परेको थियो घरमा कहिल्यै। आजसम्म मैले कुनै जन्मोत्सव मनाएको नै छैन। म सम्झिन पनि चाहन्न मेरो जन्मोत्सवलाई किनकि म जन्माउन नचाँहदा नचाँहदै जन्मेको मान्छे थिएँ। बिचरा त्यो मान्छेलाई के थाहा मेरो जन्मकथा। म एकोहोरो सोचिरहेको थिएँ। त्यहीबेला मोवाइलमा म्यासेजको घण्टी बज्यो।
बिहान फोन आएकै नम्बरबाट आएको म्यासेजमा लेखिएको थियो, ‘सरी है मैले हजुरको अतीत सम्झाएँ। यतिबेला हजुर आफ्नै अतीत सम्झिरहनु भएको छ।’
म झसंङ्ग भएँ। कोही मेरो नजिकै छ र मलाई नियालिरहेको छ। यताउता हेरेँ तर कोही देखिनँ। पूर्ण म्यासेजमा आँखा दौडाएँ।
‘म तपाईंको नजिकै छु। मलाई थाहा छ तपाईं मलाइ भेट्न चाहनुहुन्न। तर, एकचोटी मेरो नजरबाट सोच्नुस् त कोही मान्छे तपाईंसँग भेट्नकै लागि धेरै टाढाबाट यो सहरमा आएको छ। के ऊ निराश भएको तपाईंलाई पक्कै मन पर्दैन होला।’
म म्यासेज एकदमै ध्यानपूर्वक पढिरहेको थिएँ।
‘प्लीज मलाई नराम्रो नसोच्नु होला। मैले हजुरको जीवनबाट जिउन सिकेको छु। यदि कुनै दिन तपाईंसँग मेरो भेट नभएको भए आज हजुर यो म्यासेज पढ्न पाउनुहुन्न थियो होला।’
सँगै स्याड स्टिकर पनि थियो। अनि फेरि म्यासेज। ‘म यो सहरको लागि पाहुना मात्र हुँ। मेरो गन्तव्य अन्तै कतै होला। म एकचोटी तपाईंसँग भेटेर मेरो यात्रा तय गर्दैछु। यो हाम्रो अन्तिम भेट पनि हुनसक्छ। त्यसैले आज बेलुका ६ बजे (नजिकैको कुनै होटलको नाम लेखिएको थियो)मा रुम नम्बर १०५ मा कुरिहरन्छु। हजुरले मलाई १० मिनेट समय दिँदा हुन्छ। मलाई आशा छ हजुर कसैको दिल दुखाउनु हुन्न।’
म्यासेज पढिसकेर टेवलमा भएको एक ग्लास पानी पिएँ। अचम्म लाग्यो, को होला यो मान्छे? मेरो जीवनवाट जीउन सिकेँ भन्दैथियो। कस्तो होला यो मान्छे! कोही मलाई भेट्नको लागि नै टाढाबाट आएको भन्दै छ, कसरी नकारौं उसको कुरा! मेरो घमण्डी स्वभावले नभेट भन्दै थियो भने मभित्र भएको दया र कोमलताले भेटेर कुरा गर भन्दै भित्रभित्रै द्वन्द्व मच्चाइरहेको थियो। अन्त्यमा मैले भेट्ने निर्णय गरेँ।
करिब ५ बजेर ४० मिनेट जाँदा म अफिसबाट निस्केँ। उसले भनेको होटल मेरो अफिसबाट नजिकै घर जाने बाटैमा थियो। म होटलमा टाइममै पुगेकी थिएँ। सरासर १०५ कोठा अगाडि गएँ। अनि अडिएँ। शरीर फुलेर आयो के मैले गलत त गरिनँ? यहाँ आएर सोचेँ तर भेट्छु भनेर आइहालेँ भेट्छु भन्दै डोका ढकढक... पारँे खुलेन। यसो धकेलेको ढोका खुल्लै रहेछ। म ढोकाभित्र छिर्नासाथ मेरो टाउकोभरि फूलका टुक्राहरू बर्सिए। म एकछिन त आत्तिएँ पनि।
यताउता हेरेँ, कोही देखिनँ। कोठा निकै सजिएको थियो। थरीथरीका बत्ती बलेका थिए। तर, मान्छे कोही थिएन। अलि अगाडिको टि टेवलमा एउटा रंगीन पेपरले बेरिएको पोको थियो। बाहिरपट्टी लेखिएको थियो, खोल्नु न। तपाईंकै लागि हो।
मैले विस्तारै पोको खोलेँ। पोकोमा पिङ्क कलरको सिम्पल र राम्रो सारी रहेछ। सारीसँगै कागजमा लेखिएको थियो यो कलर हजुरलाई खुब सुहाउँछ। नफाल्नू होला है मेरो उपहारलाई!
मलाई हरेक क्रियाकलापले चकित बनाइरहेको थियो। भेट्न बोलाउने अनि अगाडि नआउने के खालको मान्छे होला! उसले मेरो लागि यतिधेरै तयारी किन गरेको होला? सोच्दै गर्दा टि टेवलमा सानो बट्टामा नजर पुग्यो। त्यो बट्टा उचालेँ। त्यहाँ एउटा चिठी थिचिएको थियो। पत्रमा लेखिएको थियो, ‘सरी, मैले हजुरलाई धेरै सताएँ। म तपाईंको अगाडि आउन चाहन्न। सायद मलाई हजुरले देख्नुभयो भने कदापि माफ गर्नु हुनेछैन। त्यसैले म हजुरको नजरमा पर्न चाहन्न। सरी मिस।’
बट्टा खोलेँ। त्यसभित्र चमकदार सिक्री र त्यसमा मेरो बच्चाबेलाको फोटोको लकेट राखिदिएको थियो। मैले अनुमान समेत गर्न सकिनँ। को थियो त्यो जसले मेरो लागि यो बर्थ डे गिफ्ट दियो। उसले दिएको सारीको पोको बोकेर काउन्टरमा गएँ र सोधे १०५ कोठा कसले बुकिङ गरेको भनेर। उत्तर आयो- अपरिचित मान्छे रे!
फोन ट्राई गर्दा अफ थियो। मेरो कुनै त्यस्ता सत्रु छैनन् जो मैले माफ गर्न नसकूँ। आखिर मेरो के बिगारेको रैछ त्यो व्यक्तिले र मेरो अगाडि आउन चाहेन। मैले म्यासेज पठाएँ, प्लीज तिमी जो भए नि म भेट्न चाहन्छु मेरोसामु आऊ।
तर, न म्यासेजको रिप्लाई आयो न मैले नै उसलाई चिने। अहिले नि डायल गर्छु त्यो नम्बरमा तर फोन अफ भन्छ र मेरो मुड पनि अफ बनाइ दिन्छ। पहिलो र अन्तिम दुबै होला डेटबिना बर्थडे मनाएको त्यही दिन थियो।