शायद धेरै त भएको छैन मलाई यहाँ उभ्याएको र २२० -को करेण्ट पर्खेर म सधैँ त्यसै-त्यसै दिन र रातहरु विताइदिन्छु। सुन्छु यहाँबाट २२०-को लाइन लगिन्छ तर अहिलेसम्म तारसार पनि जडिएको छैन, जस्तो सिमेण्टीको शरीर र प्राणमा टालिएको थिएँ र त्यस्तै छु। मेरो अघि सर्लक्क पस्त्रिएको सडक फराकिलो छ तर पीच लाउन बाँकी नै छ, मेरो घनिष्टतामा यही सडक मात्र होइन मेरो छेवैबाट काटिउर गएको एउटा गोरेटो,यसैको आलीमा फुल्ने गरेको एउटा राजवेलीको झाङ, मेरो सामुन्नेमा म भन्दा वर्षौँ अघि उभिएको एउटा लहरे पीपलको रुख, बस त्यति नै।
मध्याह्न बतास चल्छ, म घामले बेस्सरी तातिएको छु र चिसिने मेरो अरु कुनै उपाय हुँदैन। मुख लाउँदै गौँथलीको बथान टाउकोभरि बसिदिन्छन् र उनीहरुलाई धपाउने पनि मेरो कुनै उपाय हुँदैन। प्रत्येक मध्याह्न मेरो सधैं यस्तै कथा हुन्छ।
क्षमता नहुनु पनि गहकिलो पाप रहेछ। लहरेपीपल...आह! कस्तरी उ आफूलाई प्रत्येक ओहोर-दोहोर हावाको वेगमा उल्टाएर र सुल्टाएर देखाउँछ कति सहजसंग गर्छन यी कामहरु उ र कत्रो क्षमता छ उसमा। मसंग कुनै आवरण छैन, नाङ्गो छु असाध्य लज्जाहीन नग्नता। वसन्त र पतझड दुईटै भरिसकेको मेरो सिमेण्टीको शरीरमा क्षमता छैन र साथै सामर्थ्य पनि एउटा सिमित आयतनमा ढालिएर सीमित क्षेत्रमा गाडिएको मेरो अस्तित्व देखी कहिलेकाहीँ मलाई यो लहरे पीपलसंग ईर्ष्या हुन्छ। म यहाँ स्थापना हुँदा यो म भन्दा केही तल थियो अब यसले केही तल हेर्छ। यो आयतन र नेत्रले मलाई एउटा कुण्ठा दिएको छ।
उफ यसरी उभिँदा-उभिँदा कति थकाइ लाग्छ,कति झर्को लाग्छ मलाई। सुनेको छु,यो सम्पूर्ण विश्वलाई कर्मठ अवतारले आफ्नो आङमा उचालेको छ र उ आफू शून्यमा बसेको त्यसको दाँजोमा म... म पृथ्वीमाथि गजधम्म उभिएको छु क्ही नबोकेर आफूमा केही नबिसाएर र सधैं-सधैं सम्झन्छु कति निरर्थक छु म,कति निष्क्रिय छु म। उफ्... यो निरर्थकताको बोझ यो थकानको निचोड एकपल्ट पर्लक्क पल्टिन मन लाग्छ यही फाँटमा, त्यसैले त अघि भनिसकेको छु क्षमता नहुनु कत्रो अभिशाप।
साँझको पहेँलो घाममा पीपलका पातहरु पर्लक्क-पर्लक्क पल्टन थालेका छन्, एक किसिमले टल्कन थालेका छन्। मेरो रंगहीन रंगमाथि आएर घामका किरण पोतिन्छन्, म बलजफ्ती रंगिन खोज्छु तर त्यसको कुनै प्रतिक्रिया हुँदैन। कति उच्चाट लाग्छ यो एकलास गोरेटो हेर्दा-हेर्दा। चिनचा पनि कति अबेर गरेर आएकी। कि आज उसलाई आउनै पर्दैन? प्रश्न उठ्छ तर उसको आउनु नआउनुमा मलाई के ? चिनचा मेरो होइन उ हिराकाजीको हुनसक्छ, राजवेली झाङको हुनसक्छ तर मेरो ...सम्झदा-सम्झदै विरक्त लागेर आउँछ।
चिनचा एउटा खोपिल्टे गाला,कालो रोगन,कस्ती हिस्सी परेकी यो चिनचा। साँच्चै साँझ झमक्क परिसकेछ। उ चिनचा गोरेटोमा उफ्रँदै आउन लागेकी छ। यो मानिको जात,हरे...यो मानिसको जात। चिनचा मलाई हेर्दैहेर्दीन,छुँदै छुँदिन। छुवोस पनि किन? मेरो मान्यता नै के छ र?म करेण्ट जडान नभइसकेको एउटा सिमेण्टीको लट्ठा,गाडिएँ कुनै दिन र कुनै दिन ढालिन पनि सक्छु,मेरो म्याद कति सीमित छ,कति प्रत्यक्ष छ।
खोपिल्टे गालामा जीवनको निचोड हाँस्दा-हाँस्दै चिनचा मेरो नजीक आइसकेकी छ। तेल लगाएरर सिपिक्क पारेकी एक लर्कन चूल्ठोमा उ नि:संकोच एउटा राजवेली फूल टिपेर घुसार्छे। मेरो आङ सिरिङ्ग हुन्छ, सम्झन्छु कत्रो अन्तर छ म र ... राजवेली। राजवेली फूल उसको कालो चूल्ठोभित्र बाँधिएर एकपल्ट गम्किन्छ,एकपल्ट हाँस्छ मानौं उसले उत्कृष्ट स्थान पाएको छ। मेरो सिमेण्टीको आङभरि एउटा अशक्त वेदना दौडिन्छ। सम्झन्छू बाहिरदेखि आफूभित्रसम्म सिमेण्टी छु, केवल सिमेण्टी र राजवेली... आफूभित्रपनि त एउटा फूल नै हो,स्वीकार गर्नुपर्ने हो मैले नि आफ्नो प्रारब्धलाई आफ्नो अस्ततित्वलाई। कस्तो लाछी म!
रजवेलीको बास्ना हावाभरि फँजिन्छ,कस्तो चर्को बास्ना हो? मष्तिष्कलाई एकछिन विचलित पारिदिन्छ। किन यो राजवेली मेरो अघि हुर्किनु परेको होला? तर होइन, यो त यथास्थानमा फुलेको छ, अभाग्यवश म यो मोडमा गाडिएको हुँ।
चिनचालाई थकाइ लागेको छ आज। त्यसैले त उ सडकपारिसम्म हेरिसकेपछि ममा आफ्नो आङ बिसाउन आउँछे। म चाहेरै र नचाहेरै पनि उसलाई थापिदिन्छु, यसैले कि ममा सामर्थ्य छैन। उ ढस्सिएर बसेकी छ र आफ्नो ठूलो विश्वासलाई मजाले ममाथि बिसाएकी छ। शायद धेरै विश्वासयुक्त छु। हो पनि त म उसको प्रत्येक छटपटी बुझ्छु र कसैलाई भन्दिनँ पनि। चनचा मलाई विश्वास गर्छे, आह... मेरो सान्त्वना। हरे, यो चिनचाको शरीर कति गर्मी! तातो बाफ आउँछ। मेरो चिसो आङमा उसलाई चाहिने कति शीतल भइरहेको होला। क्रमश: चिनचाको भार मलाई खपिसक्नु हुँदैन। चिनचाको शरीर आफैमा एकपल्ट आत्मसात गर्न मन लाग्छ। म छट्पटिन्छु एउटा अव्यक्त छट्पटाइ तर मेरो केही सीप लाग्दैन। बिस्तारै म भित्र एउटा विद्रोह उठ्छ,बल्छ,खरानी हुन्छ र अन्त्यमा चिसिन्छ।
रात पर्छ, अँध्यारो आकृति लिएर म पनि अँध्यारोमा आफूलाई छर्लङ्ग्याउन खोज्छु। पीपलका पातहरु सरर हावामा पल्टन्छन्। जून उदाउँछ, नाङ्गा पातहरु बिस्तारै टल्कन थाल्छन्। चिनचाको मन अत्तालिँदै छ। आज यति नै बेला उसले हिराकाजीसंग भेट्ने कुरा मिलाएकी छ तर हिराकाजी आएको छैन। म उसको मुटु चलेको स्पष्ट सुनिरहेको छु। रातको निख्खर बतासले राजवेलीको सुगन्ध जताततै सस्तो भावमा बाँट्न थालेको छ। म चिनचाको चूल्ठो हेरिरहन्छु, त्योभित्र एउटा राजवेली हाँसिरहेको छ।
हिराकाजी आउँछ आफ्नै अल्लारे हिँडाइमा। चिनचा मिरिरि दाँत देखाएर हाँस्छे। सारा खुशियाली उसको गालाको खोपिल्टामा एकाग्र हुन्छ। हिराकाजीले उसलाई मदेखि छुट्टाएर लान्छ। म एकलास हुन्छु, रित्तो हुन्छु। उनीहरु अलिक पर मोडमा हराउँछन्। म विवश त्यहीँ उभिरहन्छु।
रात पर्छ र छिप्पिँदै जान्छ र सुत्नु शायद नियमबद्धता होइन। मेरा आँखाहरुमा सधैँ इनसोमनिया सुत्छ र म टड्कारै बस्छु। यतिमात्र मेरो विवशता होइन,म हेरेर सचेत हुन सक्दिनँ र नहेरेर विस्मत हुन पनि सक्दिनँ। हेर्नु नहेर्नु दुईटै मेरा बाध्यता हुन्। मलाई आँखा चिम्लिन मन लाग्छ तर यसको तात्पर्य पनि त छैन। नाङ्गो स्थापना भएको मलाई आँखाको के महत्व।
राजवेलीको झाङमुनि खासखुस कुरा गरेको आवाज आउँछ। आज चिनचा घर फर्किन र हिराकाजी पनि। हिराकाजी पनि चिनचाको नरम पाखुर समातेर आफूतिर तान्छ र उ हाँस्छे। चुरा बज्छ,मसिनो खित्का छुट्छ, चूल्ठोबाट राजवेलीको फूल झरेर बालुवामा पछारिन्छ। म झस्किन्छू र सम्झन्छु मान्छेहरुको संघर्ष र विचरा राजवेली। मलाई आत्मसन्तोष लागेको जस्तो हुन्छ। उनीहरु माया गर्न थाल्छन्। प्रत्येक राजवेलीका फूलहरु आफैमा खुम्चिन्छन्, सक्दो लजाउँछन्। मलाई नतमस्तक हुन मन लाग्छ तर आफ्नो नाङ्गो अस्तित्वले रोक्छ। भाग्न मन लाग्छ तर सिमेण्टीले बाँध्छ। विचार गर्छु एकपल्ट गर्लम्म ढल्न पाए यी दुईटै लगायत राजवेलीको झाङलाई कथामा केवल अव्यक्त कथामा पुरिदिन सक्थेँ।
आह!... ढल्ने पनि मेरो क्षमता हुँदैन।
खेल्दा-खेल्दै हाँस्दा-हाँस्दै उनीहरु निदाउँछन्, राजवेलीको झाङमुनि ओसिलो धरतीमा। यो दृश्य मेरो अघि यस्तरी केन्द्रिभूत भएको यस्तरी... मेरो कल्पना प्वाँख फट्फटाएर उड्छ। इतिहासको पल्लो छेउ र वल्लो छेउ स्थगित हुन्छ। मुगलकालीन इतिहासको एक रात। त्यो रात क्रमश:व्याप्त हुँदै जान्छ। अँ उक रात... शायद यसरी सारा युग,शक्ति र सार्वभौमिकताको विरुद्ध सलीम र अनारकली यस्तै राजवेलीको झाङमुनि निर्धक्क सुतेर एका-अर्काको समावेश हुनुको प्रमाण दिएका थिए। त्यो जिउँदै गाडिने अनारकलीले एकरात यसरी सलीमलाई आफ्नो बनाएकी थिई। चिनचा अलिअलि चल्मलाउँछे र शायद सपनामा बर्बराउँछे। उसले आफ्नो मुण्टो हिराकाजीको छातीभित्र घुसारेकी छ र हिराकाजीले उसलाई बाँया हातले अंगालेको छ। चिनचाको चूल्ठो सर्पजस्तै भुइँमा लर्केको छ।
झिसमिसे हुन्छ। राजवेलीका फूलहरुले झरेर दुइटैलाई लुकाइदिने निष्फल प्रयत्न गरेका छन्। धमिलो उज्यालोमा दुइटैको उपस्थिति मलाई ठीक सपना जस्तो लाग्छ, आफू बिउँझे बिर्सनपर्ने सपना। चिनचा उठ्छे,हिराकाजीलाई उठाउँछे र अल्छे हाई काड्छे,मानौँ उठ्न उसलाई जाँगर छैन। त्यो बिहानी हिराकाजी चिनचालाई लिएर मोड उता हराउँछ र फर्केर आउँदैन। सधैंको मध्याह्न दोहोरिन्छ,सधैं घाम चर्किन्छ। म नीरस,निरुद्देश्य उभिरहन्छु।
एक फौज केटाहरु आउँछन् र मलाई हेर्दै एकजना कराउँछ,'यो लट्ठा यहाँ राख्दैन रे पायक परेन भन्छन्।'
म झस्किन्छु, मेरो आयतन, मेरो नेत्र र यो पायक नपरेको ठाउँ। लहरे पीपल मलाई हियाएर हेर्छ र हावामा एकपल्ट जोडसंग सल्बलाउँछ।