‘हेलो .... हेलो... फेरि एकचोटी गर्नुस न, यहाँ त केहि सुनिएन,’ यति भनेर चन्द्रकलाले मोबाईलको रातो बटन दबाई। फोन काटियो। फोन काटेको एकछिन भएको थिएन चन्द्रकलाको मोबाईल फेरि बज्न थाल्यो। ‘नेटवर्क राम्रो छैन छिट्टो भन्नुहोस् त के भन्नी हो?’, चन्द्रकलाले फोन उठाउँदै भनि।
‘ठिकै छ त्यसो भए, मलाई यहाँ सन्चै छ, फेरि फोन काटिएला, ल म अर्को महिना घर आउँदैछु। तलाई म त्यही भन्छु भनेर फोन गरेको’, खरर किताब पढे जसरी नन्देले भन्यो।
तीन वर्षदेखि परदेशिएको आफ्नो लोग्ने घर आउँछु भन्दा कुन चाही श्रीमतीको मनमा खुसीको मुल फुट्दैन र? तर, चन्द्रकलाको भने मुल फुट्न त बेग्लै कुरा बरू मुटु फुट्ला जस्तो भयो।
उसको खुसीको मुल एक्कासी सुक्यो। मुल मात्र होइन बोली पनि सुक्यो। बोल्नै सकिन।
‘होइन के भो तलाई किन बोल्दिनस्? नन्देले उतैबाट भन्यो। ‘बोलेकै छु त, सुनिएन र? यो नेटवर्क पनि उस्तै छ के’ चन्दकलाले दोष नेटबर्कको जिम्मा लगाईदिई। ‘ल ल ठीक छ। अहिले नेटवर्क राम्रो रैनछ। अर्को साताको छुट्टीमा फेरि फोन गर्छु है,’ यति भनेर नन्देले फोन राखिदियो।
फोन राखेपछि चन्द्रकला धेरैबेरसम्म टोलाईरही। लोग्ने अर्को महिना नै फर्किन्छु भन्ला भनेर त उसले सपनामा पनि सोचेकी थिईन।
आपसी माया र प्रेम बसेर नै नन्दे र चन्द्रकलाले आजभन्दा चार वर्षअघि बिहे गरेका थिए। बिहेपछिको समय उनीहरुको लागि यति सुन्दर थियो कि हरेक दिन बिहान घामले पनि सर्वप्रथम खुसीका किरण बोकेर उनीहरूकै घरमा ल्याएर खन्याउँथ्यो।
संसारकै सबैभन्दा खुसी महिला थिई चन्द्रकला। उनीहरू यसरी बस्थे, कुरा गर्थे, मानौं उनीहरूको जोडी देखेको भए ढुकुरहरू पनि डाहा गर्थे होलान्। सबै राम्रो चलिरहेको थियो तर यस्तैमा एकदिन अचानक नन्देले मलेसिया जाने कुरा गर्यो। चन्द्रकलाले उसलाई नजान धेरै कर गरी तर मानेन।
बिहे अघि चन्द्रकलाले जे भन्यो त्यही मान्ने नन्दे पछि बिस्तारै मान्न छोडेको थियो। भन्यो- ‘हेर चन्द्रकला पहिले त म एक्लै थिएँ त्यसैले बुढा बाआमालाई छोडेर जान सम्भव थिएन। तर अब त उनीहरुलाई हेर्न तँ छदै छस्। म निस्फक्री बिदेश गएर केही पैसा लिएर आउँछु। बढीमा दुई वर्ष मात्र हो त्यसपछि हामीसँग माया मात्र होइन पैसा पनि हुन्छ। अर्थात सुनमा सुगन्ध थपिन्छ।’ यस्तै कुरा गरेर ऊ फकाउन सफल भयो। र एक वर्ष नबित्दै मलेसीया हान्नियो।
नन्दे मलेसीया उडेपछिका दिन चन्द्रकलाले कसरी बिताई त्यो उसलाई मात्र थाहा छ। आगोबिनाको चुल्हो या पानी बिनाको कुवा जस्तो शून्य भएकी थिई ऊ। एकतिर जीवनसाथीको अभाव त्यसमाथि बुढा सासु ससुराको स्याहार चन्द्रकलालाई कम्ता गाह्रो भएन। नन्देको फोन आयो कि जहिले पनि ऊ भन्थी ‘मलाई तिमी भए पुग्छ चाँडै आउ, पैसा नकमाई आए पनि केही फरक पर्दैन।’ तर नन्दे भने अनेक बहाना बनाएर उसलाई फकाउन सफल हुन्थ्यो।
समय बित्यो। उ मलेसीया गएको पनि एक वर्ष बित्यो। तर नन्देको घरमा भने समय मात्र बितेन। समयसँगै एक दिन यस्तो आयो दमका रोगी उसका बा पनि बिते। तर दूर्भाग्य ऊ भने बाउको किरिया गर्न समेत आएन। भन्यो- ‘कम्पनीले बिदा दिएन।’
ससुराको काज किरीया सकियो। घरमा अब सासु-बुहारी मात्र भए। केही समय पछि सासु पनि थलिईन्। सासु जतिखेर पनि नन्देलाई नै सम्झेर रुन्थिन्। नन्देले आमालाई सम्झाउँदै फोन गर्थ्यो -‘आमा नरोउ, तिमीलाई काठमाडौं लगेर उपचार गराउन म जसरी पनि आउँछु।’ नन्देले भन्यो मात्र तर आएन। सासुको गुहु-मूत चन्द्रकला आफैंले सोहोरी।
एक्ली आईमाई, बिरामी सासु, लोग्ने परदेशमा। गाउँका गिद्दे मनहरु बेलाबेलामा चन्द्रकलामाथि सलबलाउन नखोजेका पनि होईनन्। तर, चन्द्रकला भने कतै कसैको बहकावमा लागिन। त्यति हुँदाहुँदै पनि कहिलेकाँही धेरथोर खतराको सामना भने उसले गरिरहनु परेको थियो।
एक रात सासु निकै बिरामी भईन्। साँझको बेला ऊ सासुका लागि डाक्टर बोलाउन जाँदै थिई। नन्देकै मिल्ने साथीले डक्टरकोमा पुर्याईदिन्छु भनेर बाटोमै बलात्कार गर्न खोजेको थियो। तर कसो कसो ऊ जोगीई। यो कुरा उसले नन्देलाई, कान्छा ससुराको परिवारलाई र आफ्नो माईतीमा भनी तर माईत बाहेक अरु कसैले पत्याएनन्। बरू उल्टै चन्द्रकलालाई ‘नभएको कुरा बनाई’ भने।
बिरामी सासु सबैकुरा जान्दथिन तर गर्न केही पनि सक्तिनन्। वर्ष दिन पनि नहुँदै उनी पनि बुढालाई पछ्याउँदै बुढा गएकै बाटो हिंडीन्।
सासु ससुरा दुबै बितेपछि चन्द्रकला घरमा एक्ली भई। अब त झन चन्द्रकलालाई गाउँमा एक्लै बस्दा गिद्दे मनहरुलाई मलजल पुग्ने भयो। नन्देले कहिलेकाही फोन त गर्थ्यो तर फोनले मात्र के हुन्थ्यो र?
मौसम फेरियो। शिशिर गयो, बसन्त आयो तर चन्द्रकलाको जीवन भने शिशिरमै अड्कियो। एक्लो घर रुंग्नु भन्दा बरू माईत मै गएर बस्न उसलाई उपयुक्त लाग्यो अनि नन्देसँग र कान्छो ससुराको परिवारसँग पनि सल्लाह गरी र तीन घन्टा परको माईतीमा गएरै नन्दे आउने बाटो कुरेर बसी।
माईतिमा चन्द्रकलालाई अलि सहज भयो। चन्द्रकलाको जीवन अरुकुरा त ठिकै थियो तर एकदिनको घटनाले चन्द्रकलाको जीवनमा नै अर्कै मोड ल्यायो।
त्यस दिन नन्देसँगै मलेसीयामा काम गर्ने उसको एउटा साथी आएको थियो। ऊ नन्देले चन्द्रकलालाई पठाएको पैसा लिएर आएको थियो। केहीबेर कुराकानी भए। उसले पैसा दियो र जाने बेलामा सोध्यो- ‘भाउजु तपाईँलाई थाहा छ नन्दे किन यतिका वर्षसम्म घर नआएको?’
‘खै कहिले छुट्टी मिलेन भन्छ कहिले कम्पनी चेन्ज गरे भन्छ,’ उसले भनि।
‘त्यो सब नाटक हो भाउजु कुरा अर्कै छ। भन्न त मैले नहुने हो तर तपाईँको यहाँ यो अवस्था देखेर मलाई नभनी बस्न सकिनँ।’
‘कुरा के हो ? भन्नुहोस न?’, चन्द्रकलाको डराउँदै सोधी।
नन्दे उतैको केटीसँग मायाजालमा छ। दुबैजना सँगै बस्छन्। नन्देले यो कुरा हजुरलाई लुकाएको छ। उसले त मलाई हजुरसँग केही नभन्नु भन्थ्यो तर हजुरको यो बिजोग देखेर नभनिरहन सकिनँ।’
एउटी आईमाईका लागी यो भन्दा ठूलो घट्ना के हुन्छ? जसको लागि सर्वस्व त्यागेर बसेको हुन्छ उसैबाट यस्तो धोका होला भनेर कसैले कल्पना समेत गर्दैनन्। हुन त पहिले पहिला पनि गाउँमा उस्लाई फकाउन खोज्नेहरु भन्थे ‘तँ यहाँ सति सावित्री भएर नबस उता नन्देले अर्कै ल्याईसकेको छ।’ तर उसलाई लाग्थ्यो सबैले उसको मन भाँड्न तेसो भन्छन्।
मेरो नन्देले त्यसो कदापी गर्न सक्दैन। तर आज नन्देसँगै बस्ने साथीले समेत यसो भन्नु र आजभोलि नन्देलाई केही सोध्यो कि झर्किनु र पहिले जस्तो मायालु नहुनु उस्लाई जस्ता कुराले भने उस्लाई पत्याउनै कर लाग्यो।
वास्तवमा साथीले भनेजस्तो भने नन्देको अवस्था थिएन। नन्देको समस्या अर्कै थियो। ऊ सँग पासपोर्ट थिएन। मलेसीया जाने बित्तिकै दलालले राखेको थियो र ऊ गैरकानुनी रुपमा काम गर्दै आईरहेको थियो। चर्को काम जहाँ छुट्टी पनि मुस्किले पाईन्थ्यो। यिनै कारणले बेला बेलामा बिरामी पर्दथ्यो र फोन समेत गर्न सक्दैन थियो।
तर यी सबै कुरा चन्द्रकलालाई भन्थेन। र उसलाई थाहा नहोस् भनेर अनेक बहाना बनाएर कुरा गर्थ्यो र सम्झाउन खोज्थ्यो। तर चन्द्रकला नन्देका समस्या बुझ्दिनथी, नन्दे चन्द्रकलाको । बिस्तारै चन्द्रकलाले पनि कहिले आउने भनेर भन्न पनि छोडिदिएकि थिई।
चन्द्रकलालाई नन्देको विश्वासघातको घाउ बढ्दै र पाक्दै जान थाल्यो। यस्तोमा उसको घाउमा मलम लगाउने एउटा साथी भेटियो -दिर्घ।
जो उसलाई हरेक अप्ठेरोमा सहयोग गर्रेको थियो। उसकी सासु ससुरा बिरामी हुँदा ऊ मात्र त थियो उस्लाई सहयोग गर्ने। नन्देको साथीले बलात्कारको प्रयास गर्दा पनि बचाउने उही थियो। ऊ स्कुल पढ्दाको साथी पनि थियो।
केही दिनअघि दिर्घले उसलाई ख्याल ख्यालमा भनेको पनि थियो ‘चन्द्रकला म तिमीलाई स्कुल पढ्दा कति मनपराउँथे नि तर के गर्नू? चरीले जुन डाली बलियो छ त्यही डालीमा गएर बस्दो रैछ,’ चन्द्रकलाले उसको कुरा हाँसेर उडाईदिएकि थिई र भनेकी थिई- ‘आफ्नो आफ्नो भाग्य हो। चरीले जस्तो डाली चहार्दै हिड्न मान्छेले पाईदैन क्यारे।’
दिर्घलाई भेटेपछि उसले नन्देको बारेको सबैकुरा सुनाई। दिर्घ पनि एक्लो थियो। उसले चन्द्रकलाको आशय बुझिहाल्यो। बिरक्तिएकी चन्द्रकलाको बैसको भारी सजिलै आफ्नो चौतारीमा बिसाउन दियो। चन्द्रकला आँखा चिम्लेर दिर्घको हात समाई। अब नन्देको उपस्थिति चन्द्रकलालाई बाधक मात्र हुन्थ्यो ।
उता फोन राखिसके पछि भने नन्दे फुरूङग भयो। चन्द्रकलालाई आफू आउने कुरा कहिले सुनाउँ भन्ने लागिरहेको थियो। उसले पैसा नपाए पनि कागजात फिर्ता पाएको थियो। तर काम भने गरिरहेको थियो किनभने उसलाई नेपाल जाने बेला चन्द्रकलाका लागि सामान र प्लेन भाडाका लागि पैसा जम्मा गर्नु थियो। अर्को महिना घरपुगेपछि चन्द्रकलालाई भेटेरनै मलेसीयाका दुःखका कथा सुनाउनु थियो जुन अहिलेसम्म उसले भन्न सकिरहेको थिएन।
चन्द्रकलालाई अब एक महिनाको समय थियो। नन्देसँगै बस्ने कि दिर्घसँग जाने। तर उसले निर्णय भने गरिसकेकी थिई किनकि उसको मनमा नन्देले रोपेको मायाको रुख फेदबाट मात्रै काटेकी थिईन, जरैदेखि उखेलेर फालेकी थिई।
एक साता बित्यो। नन्देले फोन गर्छु भन्थ्यो गरेन। ‘ठीकै गर्यो’ चन्द्रकलाले मनमनै भनी । दुईसातासम्म पनि फोन गरेन। आफैंले एकचोटी मलेसीया फोन लगाई तर उसको फोन लागेन। दिर्घलाई भनि।
दुबैजना नन्दे आउनु अघि नै गाउँबाट भाग्न चाहन्थे तर समयले दुबैलाई साथ दिईरहेको थिएन। अब भने तुरुन्तै निर्णय लिनुपर्ने भयो। उनीहरु भाग्नु भन्दा अघि नै नन्दे आईपुग्ला भन्ने डरले मन हुडल्न थाल्यो।
नभन्दै उनिहरुको शंका तव साँचो भो जब दुई दिन पछि नै कान्छो ससुराको छोरा उसको माईतीमा आयो र भन्यो ‘भाउजु दाई आउनु भएको छ। हजुर तुरून्त घर जानु पर्यो।’ चन्द्रकलालाई आफ्नै अगाडि बाघ उभिए जस्तो भयो। रिंगटा लाग्न थाल्यो।
चन्द्रकला निकै डराई । सोची ‘नन्देले उस्को सबैकुरा थाहापाईसकेको छ तेसैले त ऊ यसरी हत्तारींदै घर फर्कदै छ। नन्देको सामु उभीने आँट चन्द्रकलामा थिएन। तै पनि मनलाई एउटा दह्रो साड़लोले बाँधेर ऊ घर तिर लागि। दिर्घलाई पनि केही भन्न भ्याईन। चन्द्रकला आगन टेकी। नन्देलाई बिचमा राखेर छिमेकीहरु गफ गर्दै थिँए । चन्द्रकला नन्देको छेवैमा पुगी। तर नन्देलाई देख्ने बित्तिकै ऊ त एकाएक प्रफुल्ल पो देखीई।
अघी देखीको डर त एकैचोटी कता बिलायो कता। घाँटीमा फूलको माला लगाएर र खादा भीरेर नन्दे त काठको बाकस भित्र सुतिरहेको थियो।