चित्रांगदा इमिग्रेशनको लाइनमा थिई ।
ऊ भन्दा अघिल्तिरकी महिलासँग सोधपूछ भैरहेथ्यो । ऊ सुनिरहेकी थिई ।
नाम ?
नन्दिनी...
वर्ण के हो तिम्रो ?
वैश्य ! श्रेष्ठ थर ।
पुरूषको जस्तो धोद्रो स्वरमा जवाफ दिइन् तिनले । फारम चेक गरिरहेको अफिसर ठिटो उनीतिर हेर्दै केही छक्क पर्यो ।
लिंग चाहिं के रे ? उसले जोक गरे जस्तो गरी आफैंसँग सोध्यो र ती महिलातिर एउटा आँखा झिम्क्याउँदै भन्यो— महिला त होला नि ?
होइन; शरीर पुरूष, यौनवृत्ति महिला... त्यही लेख... महिला पड्किइन् ।
हार्टअट्याक भए जस्तो देखियो अफिसर ठिटो । चकित भएर चश्मा फुकाल्यो र गडेर तिनलाई हेर्यो— तिमी पुरूष हौ ? बाहिरबाट त त्यस्ती देखिन्नौ ? उसका आँखा महिलाका छातीमा गए ।
क्या फसाद... यस्तालाई कुन खण्डमा राख्ने ? एक छिन पख है ?... यति भन्दै ऊ आफू भन्दा पछाडिको टेबिलमा सीसाको बार भित्र बसेको अफिसरकहाँ सोध्न गयो—
आइमाईमै राख्दे... सबै कुरा सुनिरहेको हाकिमले लापरबाहीपूर्वक भनेको सुनी उसले ।
हुँदैन... महिलाले दृढतापूर्वक भनिन् । म यमलोकमा झूटो बयान दिन्नँ । मेरा निम्ति अर्को खण्ड तयार गर । यो मेरो पहिचानको कुरो हो ।
ए रण्डी... कसरी आइमाई होइनँ भन्छेस् ! हामी त तेस्तै देख्छम् । होइनस् भने देखा न त ?
हाकिमको कुरो सुनेर वरिपरिका सबै गलल्ल हाँसे । चूप लागेर बसिरहेकी चित्रांगदा समेत तिलमिलाई... भनी— बोलीमा लगाम लगाऊ हाकिम, अर्कालाई इज्जत गर !
चित्रांगदा बोलेपछि अघिल्तिरकी महिलालाई भर भएछ, उनको डाँको झन् ठूलो भयो । उनी हाकिमलाई हात हाल्न गइन् । दूतहरुले तान्न खोजे उनलाई, उनले दूतहरुलाई पनि पछारिन् । हंगामा भयो त्यस पछि त्यहाँ...
म तेस्रोलिंगीकी अधिकारवादी हुँ नेपालदेशकी । घुस्याहा पाजी... मुद्रा खोजेको तैंले ? तँलाई मुद्दा नहाली कहाँ छोड्छु ?... ठूलो हाकिम लुसुक्क भाग्यो । कानूनी प्रतिनिधि आए आफ्नो कोठाबाट । धेरै नै वादविवाद भएपछि उनको लैंगिकता बुझाउन तत्काल एउटा अर्को कोठा थपियो तर यो मुद्दालाई अदालतमा लैजाने लिखत गरेपछि मात्रै ती पहलमान जस्ती महिला चूप लागिन् ।
चित्रांगदाहरु लाइनमा अगाडि बढिसकेका थिए, फेरि पछिल्तिर निकै वादविवाद भएको सुनियो ।
त्यतै गएको कृपासुरले एक छिन पछि आएर भन्यो—
नेपालदेशको भक्तपुर घुम्न गएका एक हूल विदेशीहरु भुइँचालोमा पुरिएर मरेछन् । तिनलाई आ–आफ्नो महादेशको इमिग्रेशनमा लैजानुपर्ने, भूलले सबै यहीं आइपुगेछन्... । त्यसैले विवाद भएको... भूकम्पमा परेर आइसकेको लटलाई एकफेरालाई छाडिदिने भएपछि कुरा मिल्यो... उसले भन्यो ।
अरु पनि विदेशी छन् भने तिनलाई उतैबाट तिनको आफ्नो मार्गमा लैजानू भन्ने परिपत्र गैसक्यो नेपालदेशको इमिग्रेशनमा, थप्यो उसले ।
तिनका मृत्युकर्ममा पिण्डदान लगायतको व्यवस्था छ त ? कसरी मिलाउने नि त्यो ? धूम्रकेतुले अप्ठेरो देखायो ।
त्यो सबै मिलिसक्यो... यात्राभर तिनको वास र भोजनको प्रबन्ध यतैको प्रशासनले गर्छ । अरु बाँकी सबै हिसापकिताप धर्मराजकहाँ पुगेरै गर्ने रे । धर्मराजका प्रतिहारहरुकहाँ सबै रेकर्ड इमेलबाट पुगिसक्यो । नत्र यहाँ सम्हाल्नै नसकिने भयो । आपतधर्ममा जे सजिलो हुन्छ त्यही गर्नू भन्ने छ संहितामा, कृपासुरले प्रष्ट्यायो ।
***
चित्रांगदाको पालो आएपछि कम्प्युटरमा उसका विवरण जाँच्तै गरेको अफिसरका आँखा ठूला भए । रिसाउँदै उसले माइकमा भन्यो— चित्रांगदा कपाली.... यिनलाई कसले ल्याएको यहाँ ?
कृपासुर अघि सर्यो— मैले ।
यता आइज... साले... हाकिमले कृपासुरलाई भित्र बोलाएर हप्काएको बाहिर सीसाबाट देखी चित्रांगदाले । कृपासुर हाकिमका छेउमा बसेर कम्प्युटर हेर्दै उसका कागतपत्र रुजु गरिरहेको देखियो । बारम्बार हाकिमसित ऊ केही सोध्थ्यो र हाकिम रिसाएर उसलाई जवाफ दिन्थ्यो ।
के भएछ कुन्नि ? उसले अचम्म मानी । निकै वेर पछि बाहिर आयो कृपासुर । चिन्तित देखिन्थ्यो, भन्यो— कागतपत्र मिलेन भन्छ, भोलि पनि आउनुपर्ने भयो ।
***
इमिग्रेशनबाट बाहिर निस्कँदा मध्यरात जस्तै भैसकेको थियो । कृपासुरले सुस्तरी बाटामा भन्यो उसलाई—
अर्की महिलाका लागि तिमीले हाकिमसँग झगडा नगरेको भए हुन्थ्यो । त्यो तिमीसँग निकै रिसाएको छ ।
सही कुरा किन नगर्ने ? यमलोकमा यति छाडा बोल्ने अफिसर हुँदारहेछन् भनेर थाहा पाउँदा बडो दुःख लागेको छ ।
त्यो त्यस्तै हो । कामको भने सिपालु छ, जत्रो भीडलाई पनि सम्हाल्न सक्छ। वीरगन्ज भन्सारको हाकिम थियो पहिला । तस्करसँग भागशान्ति नमिल्दा तस्करले हत्या गरिदिएपछि यहाँ आएको, कृपासुरले भन्यो ।
श्रीमती भर्खर सुत्केरी भएकी थिई रे, बच्चालाई राम्ररी हेर्न पनि नपाई यता आउन पर्यो भनेर चिन्ता गर्छ, त्यही निहुँमा रक्सी खूब खान्छ । तर हाकिम हो... रेकर्ड बिगारिदिन सक्छ । त्यसैले सतर्क हुनू । यिनै रेकर्डहरुमा बटुलिएको प्रमाणलाई हेरेर चित्रगुप्तले हिसाब निकाल्ने हुन्... कुरा टुङ्ग्यायो उसले ।
हो हो... त्यो बदमाशै हो... हामी यहाँ यतिका वर्ष जागीर खाँदा पनि दूतका दूतै छौं, त्यो पापी आउन नपाउँदै हाकिम पल्टेको छ... जँड्याहा... ! धूम्रकेतु समेत उत्तेजित भएको थियो ।
***
भोलिपल्ट कृपासुर चित्रांगदालाई लिएर पुनः इमिग्रेशनतिर हिंड्यो । धूम्रकेतु बजारमा साथी भेट्छु भनेर गएको थियो ।
बदमाश... केको साथी भेट्न जानु ? नगरवधूकहाँ गएको हो... उसकी मन परेकी छ एउटी, सधैं त्यसैकहाँ जान्छ... साÃै नराम्री छ । धूम्रकेतुलाई भने तीन लोक चौध भुवनकै सुन्दरी त्यही हो जस्तो लाग्छ रे... बाटामा कृपासुरले मस्किंदै भन्यो ।
छक्क परी चित्रांगदा— यमलोकमा पनि यस्तो हुन्छ ?
किन हुँदैन ? यमलोकमा हजारौं यमदूत छन्, आफ्ना पत्नीबाट बिछोडिएका छन् धेरैजसो । सधैं यात्रामै हुन्छन्— कामैमा खटेका । रुखासुखा जीवन बिताउने तिनलाई पनि त कहिलेकाहीं राम रमाइलो चाहिन्छ...
अनि... नगरवधूहरु कताबाट आउँछन् ?
दलालले नजीकै गाउँतिरका महिलालाई काममा लगाइदिने भन्दै ल्याउँछन् । पृथ्वीलोकबाट आफूले ल्याएका कतिपय रुपवती तरूनीका आत्माहरुलाई यमदूतले नै मुद्रा लिएर बेचिदिन्छन् । यसपल्ट भुइँचालोमा आएका धेरैलाई बेचे । पुष्ट शरीर भएका नाबालिगहरुलाई पनि बेचे... अधमहरु...
ओहो... आश्चर्य मानी चित्रांगदाले ।
इमिग्रेशन पुग्दा हाकिम आगो भएको रहेछ । उसले कृपासुरलाई ठाडै गाली गर्यो— मेरो जागीर खाइदिने मन छ ?
के भयो सर ? डराउँदै सोध्यो कृपासुरले ।
ल... हेर् गधा । यो आइमाईका शरीरबाट निस्केको आभामण्डल र यो कागजातमा लेखिएका उसका पाप मेल खाँदैनन् ।
चित्रांगदाको तस्वीर भएको पेजमा उसलाई लगाइएका पापहरु इन्टर गर्ने बित्तिकै कम्प्युटर कराउँथ्यो र रातो बत्ती पिलिकपिलिक गथ्र्याे ।
खै सर, हामीले त सरकारी ओकिलले दिएका कागजातकै आधारमा काम गरेको हो...
कामका छन् सरकारी ओकिल ? सब नेपालदेशबाट आएका... भुतभुतायो हाकिम ।
चित्रांगदाको फोटो फेरि खिचे उनीहरुले र कम्प्युटरमा हाले । ठूलो बनाएर हेरेपछि पुनः हाकिमले भन्यो— अहँ... मिल्दैन ।
अब यहाँ हामीले गर्न सक्ने केही छैन । सौरीपुरमा महाराज जंगमसामु सबै बेलिविस्तार लगाउनू । उनले नै निर्णय लिन्छन् । यो कुरो यस आइमाईलाई चाहिं थाहा नदिनू । अलि राम्रो व्यवहार गर्नू योसँग, कुरो लाइदेली । कृपासुरलाई सुटुक्क यति भनेपछि सीसाको क्याबिनबाट बाहिर निस्केर चित्रांगदातिर फक्र्यो हाकिम—
देवी, बाटो अप्ठेरो थियो, गाह्रो त परेन होला ? मैले ठिटाहरुलाई राम्ररी लैजानू भनेको छु ।
यसै बीच लन्च बक्स र जुसका प्याकेट आइपुगे ।
तिमी मासु पसलेकी भान्जी भए पनि मासु चाहिं खान्नरैछ्यौ होइन ? भन्दै उसले जुस एउटा गिलासमा खन्यायो र उनीतिर सार्यो । एउटा प्याकेट पनि राखिदियो अगाडि ।
भेजिटेरियन हो...
चित्रांगदालाई सपना हो कि बिपना जस्तो लाग्यो । उनीहरु भने प्याकेट खोलेर मज्जाले कुखुराका रोस्टेड फिला चपाउन थाले । बियरका क्यान थिए तिनका अगाडि ।
के हेरेकी ? खाऊ... मुखमा बुजो लिईलिई हाकिमले भन्यो चित्रांगदालाई ।
***
धर्मशालातिर फर्कंदै गर्दा एक ठाउँ सडकको पेटी ढाक्ने गरेर सल्बलाइरहेको विशाल समूह देखियो । सडकमा पनि बाक्लै हिंडिरहेका थिए । पिठ्यूँका पखेटाले ती यमदूत हुन् भनेर चिनिन्थे । कृपासुर भेटेजतिका सँग हात मिलाउँदै भलाकुसारी गर्दै हिंडिरहेथ्यो ।
कता हिंडेको साथी, आउने होइन ? उसलाई सोधिरहेथे उनीहरुले ।
ड्यूटीमा छु यार ! ग्राहकलाई टुङ्गोमा पुर्याएर आउँछु... चित्रांगदालाई देखाउँदै भन्यो उसले ।
एकथरी पाल टाँगेर पेटीमा ओछ्यान लाएर सुतिरहेथे, कृपासुरले उनीहरुलाई पनि भेटेर आयो ।
के हो यो तमाशा ? चित्रांगदाले सोधी ।
हक अधिकारको लडाइँ हो देवी । हामी यमदूतहरु धेरै जोखिममा काम गरिरहेछौं । राष्ट्रको सुरक्षाको जिम्मेवारी पनि हाम्रै हो । गन्धर्व देशसँग सीमा जोडिएको भागमा यतिखेर आन्दोलन चर्केको छ । त्यहाँ सुरक्षा निम्ति खटिएका यमदूतका हतियार खोसेर शरीरमा आगो सल्काइदिए आन्दोलनकारीले । बडो दारूण अवस्थामा अस्पतालमा
छन् ती ।
उसले त्यहाँको स्थिति बुझाउन खोज्यो— यमलोकको त्यस भागमा गन्धर्वदेशसँग खुला सीमाना छ । गन्धर्वदेशबाट आएर नागरिकता लिनेको संख्या धेरै बढेपछि सरकारले नागरिकताको नयाँ र कसिलो नीति बनाउन खोजेको थियो । त्यसैलाई रोक्न गन्धर्वदेश लागिपरेको छ । यमलोकका केही अधिकारीलाई गन्धर्वदेशका अधिकारीहरुले खरीदै गरेका छन् । सीमाक्षेत्रमा अव्यवस्था र अस्थिरता पैदा गर्न तिनै अधिकारी सक्रिय छन् । आन्दोलन गर्दा अङ्गभङ्ग हुनेलाई पचास लाख मुद्रा दिन्छौं भनेर तिनले घोषणा नै गरे । हामीलाई सुखले बस्न नदिने भए देवी... दिक्क मानेर उसले भन्यो ।
यस्तो संवेदनशील बेलामा हाम्रा याम्यनगर प्रदेश–नायक विक्रमले भने आफ्ना साढुभाइ नर्सिंगेलाई यमदूत–श्रेष्ठ नियुक्त गरे । हामी त्यसको पनि विरोध गरिरहेछौं ।
किन ? उसका आँखामा प्रश्न थियो ।
हेर देवी । प्रदेश नायक विक्रमका साढुभाइ नर्सिंगे यमदूत हुन् हामी जस्तै; अधिकृत तहका, हामी भन्दा पनि जूनियर । उनको योग्यता अरु प्रतिस्पर्धीको भन्दा धेरै कम छ । तर, यमदूत बढुवाको पुरानो नियमावली परिमार्जन गर्दा शैक्षिक योग्यता र तालीमको नम्बर गणना नहुने नियम बनाए विक्रमले ।
विरोध गरेनन् अरुले ? उसले सोधी ।
सौरीपुर महाराज जंगमका अति प्रियपात्र हुन् देवी, विक्रम । याम्यपुर लगायत यस पूरै क्षेत्रको राजकाजको केन्द्र सौरीपुर हो, सबै कुराको अन्तिम निर्णय गर्ने अधिकार सौरीपुर महाराजकै हुन्छ । त्यसैले याम्यपुर प्रदेश बैठकमा कोही बोल्न सकेनन् विक्रम विरूद्ध । त्यसरी नै पास भयो नियमावली ।
अनि ?
अग्रज र योग्य जतिलाई पाखा लगाएर साढुभाइ नर्सिंगेलाई यमदूत–श्रेष्ठ नियुक्त गरे विक्रमले, तर कसले टेर्ने उनलाई ? विक्रमको साढुभाइ हुनु बाहेक उनको कुनै योग्यता छैन ।
तालीमको, योग्यताको मूल्य नै नहुने थिति बसाल्दा लोकले के भन्ला भन्नेसम्म लज्जा राख्तैनन् ठूला अधिकारीहरु... विक्रमको झन् कुरै नगर देवी... स्वाँठ हुन् उनी । यमदूतहरुले यस्तो अवस्थामा कुन प्रेरणाले काम गर्ने ? प्रश्न गर्यो कृपासुरले ।
त्यसैले हामीले रिले अनशन गरेका हौं । यमदूतको सुरक्षा ग्यारेण्टी सुनिश्चित गर्ने र नर्सिंगेको पदोन्नति खारेज गरी नियमावली सच्याउनुपर्ने, यी दुई वटा माग हुन् हाम्रा । म पनि पालो मिलाएर आउनु छ एकपल्ट...
कृपासुरको गुनासो सकिएको थिएन—
याम्यपुर प्रदेश–सभाको बैठकमा कुनै गतिला एजेण्डा हुँदैनन् । पहुँचवालाका निम्ति एयर–एम्बुलेन्स र औषधि उपचार खर्च, कर्मचारीका अन्तर्लोक भ्रमण, आर्थिक सहायता... सरूवा बढुवा, चन्दा पुरस्कार लगायत नियुक्तिमा आ–आफ्ना मान्छे पार्ने जुक्ति मात्र चल्छ । यस्तो गरेर कहीं प्रदेशको विकास हुन्छ देवी ?
शारदा शर्माको कम्प उपन्याशको अंश