बच्चालाई खोलीमा लगेर राखिएकै कारण मैले भाग्ने र आत्महत्या गर्ने कोसिस गरिनँ। बच्चा छोडेर कहाँ भागुँ ? म मरें भने बच्चाको के हाल होला? भय, चिन्ता र नियतिका यस्ता अनेक साङलाहरुले मलाई बाँध्दै लगे। म विस्तारै कोठीको बातावरणमा अभ्यस्त हुन थाले। किनकी त्यहाँ म मात्र एक्लै थिइनँ। मजस्ता धेरै केटीहरु त्यहाँ धन्दा गर्न बाध्य थिए।
दिनमा संसारलाई उज्यालो बनाउँने घाम हाम्रो आङ पर्नु पाप झैँ हुन्थ्यो। बाहिरी दुनियाँ देख्न कि त ग्राहकसँग कतै निस्केको हुनुपर्यो। कि त आँखा तानेर हेरेको अर्को घरको भित्तो। बस् यति नै थियो बाहिर र भित्रको देखादेख। हुन त म विश्वकै चर्चित केही सीमित महानगरको सूचीमा पर्ने बम्बईमा थिएँ। बम्बई अर्थात् वैभव र सपनाहरुको सहर। भारतको फिल्मनगरी। सुखी जीवन बिताउनेहरुको शहर। धनीहरुको त्यो स्वर्ग भूमिको कुनै कुनामा हामीजस्ता चेलीहरुले नारकीय जीवन ब्यतित गरिरहेका थियौं। बम्बई बाहिरबाट हेर्दा जतिसुकै कस्म्याटीक शौन्दर्यले भरिएको भए पनि त्यसको कुरुप र दुखान्त यथार्थलाई हामी स्वयंले साक्षात् अनुभव गरिरहेका थियौं। बम्बई सारा संसारका लागि एउटा महानगर थियो होला, तर हाम्रो लागि महानरक थियो। दिन भन्दा रात जुरुक्क उठ्थे कोठीमा। अझ चाडपर्वको बेलामा त के दिन के रात, के साँझ के बिहान ? सबै एकनास।
कोठीमा नपढेका केटीहरु मात्र बेचिन्छन् भन्ने हैन रहेछ। त्यहाँ म हुँदै आर्ई.ए. पास गरेका, खेलाडी, कलाकारलगायत विभिन्न क्षेत्रका प्रतिभाशाली र क्षमतावान् केटीहरुलाई पनि ल्याएर धन्दामा लाग्न बाध्य पारिएको थियो। म त्यहाँ हुँदै एउटी जीउ डाल परेकी केटीलाई ल्याएर बेचिएको थियो। उ मोटी, अग्ली अनि गहुँगोरो वर्णकी थिई। उसँग छोटो कुराकानी गर्दा पो थाहा भो, उ त कराँते खेलाडी रहिछ। उसलाई कराँतेको तालिमका लागि भनेर कसैले त्यहाँ ल्याएर बेचेको रहेछ। विचरीलाई त्यो धन्दा हुने ठाउँ हो भन्ने केही थाहा थिएन। हामीले पनि यो यस्तो गलत ठाउँ हो भनेर भन्न सकेनौं। उसलाई सही कुरा बताउन सकेनौं, किनभने घरवालीले कसैलाई केही नभन्नु भनेकी थिई। सबै पोल खोलेको थाहा पाएमा हामीमाथि घरवालीको यातना सही नसक्नुको हुन्थ्यो। ‘हामीले पनि यस्तै तालिम लिइरहेका छौं’ भनेर ढाँट्यौं। विचरी ! करातेको तालीम लिन भनेर आएकी ती खेलाडीको अवस्था कस्तो भयो ? उनी अहिले कहाँ छिन् ? भन्नेबारे मलाई केही थाहा भएन। उनी आएको केही समयपछि नै मेरो ‘रेस्क्यू’ भएकाले त्यसपछि उसँग भेटै भएन।
मलाई जुन कोठीमा लगिएको थियो, त्यो कोठीकी घरवाली आफै पनि बेचिएकी चेली रहिछ। उसको घर नेपालकै नुवाकोट रहेछ, नाम चाँही जुली। आफु बेचिएपछि मुख्य घरवालीको पैसा तिरेर जतिसक्दो चाँडो त्यहाँबाट उम्कीन जुुलीले अन्य चेलीहरुलाई धन्दामा लगाउने ठेक्का लिएकी रहिछ। उसकै कोठीमा मलाई बेचिएको रहेछ, जो आफै पीडित
थिई। आफै पीडित भएकाले जुलीले त्यहाँ केटीहरुका लागि सहज बातावरण बनाइदिएकी थिई। जसका कारण नयाँ कोठीको वातावरण केही फरक थियो। त्यहाँ ‘कण्डम’ अनिवार्य थियो। हाम्रो कोठामा एउटा बट्टामा पर्याप्त संख्यामा कण्डम राखिएको हुन्थ्यो। ग्राहकले कण्डम नलगाई सम्पर्क राख्न खोजेमा मान्दै नमान्नु भनेर हामीलाई ‘घरवाली’ले नै भनेकी थिई। उ बारम्बार भन्थी, ‘कण्डम नलगाई ग¥यौँ भने निको नहुने रोग लाग्ला है ?’ त्यो ‘निको नहुने रोग’ भनेको ‘एचआइभी पोजेटीभ’ रहेछ, त्यो हामीलाई पछि मात्र थाहा भयो। सायद कण्डम लगाएकै कारण विभिन्न यौन रोगहरुबाट म बच्न सकेकी हुँ।
कामका हिसाबले कोठीमा रात र दिनमा खासै फरक हुँदैनथ्यो। चिटिक्क परेर बस्ने अनि आएका ग्राहकलाई सन्तुष्ट पार्ने नै केटीहरुको दिनचर्या हुन्थ्यो। सुरुसुरुमा त म अलमल परें। घृणा लाग्यो। म यस्तो काम गर्ने केटी होइन भन्ने अभिमान जाग्यो। आएका ग्राहकलाई अरुनै कुरामा फकाएर तर्काउन पाए हुन्थ्योजस्तो लाग्यो। यो मेरो नौलोपनको मनगढन्ते लुकामारी थियो। यथार्थ त त्यसरी कहाँ चल्थ्यो र ? घरवालीले चियोचर्चो गरेकै हुन्थी। कोठाको बाहिर आएर कान थापेर सुइँको लिन्थी।
धन्दा स्वीकारेपछि एक दिन घरवालीले आएर मलाई कोठीका नियम र तौर तरीकाहरु सिकाई। ग्राहकसँग गर्नुपर्ने व्यवहार (नखरा) र अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिई। त्यो किसिमको अराई सिकाई मेरा लागि त प्रशिक्षण भयो। घरवाली भन्थी ‘हेर ! जसले सोधे पनि उमेर बीस बर्ष भन्नु। आफ्नै खुशीले धन्दा गर्न आएकी भन्नु। कसैसँग पनि मन खोलेर कुरा नगर्नु ! विश्वास र भर भनेको झन् गर्दै नगर्नु ! तिनीहरु त आफ्नै परिवारको विश्वास तोडेर हामीसँग तिर्खा मेट्न आउँछन् भने हाम्रा विश्वासका लायक ति कसरी हुन्छन् ? त्यसैले यहाँ कोही पनि आफ्ना हुँदैनन्। मात्र ती ग्राहक हुन्।’
म पनि सुँगाझैँ त्यसै भन्थें। बीस वर्ष पुगेको भनेर भन्न किन लगाइएको थियो भने भारतको कानूनमा बीस वर्ष पुगेकी केटीलाई स्वेच्छाले यौन धन्दा गर्न छुट रहेछ। मलाई त के थाहा ? ग्राहक आउँथे, मलाई कलिलै देखेर सोध्थे, ‘आपका उम्र कितना है, दिखने मे तो बहुत छोटी उम्र कि लगती हो।’ (तिम्रो उमेर कति भयो, हेर्दा निकै कम उमेरकी देखिन्छौ ?) म उनीहरुलाई आफु बीस वर्ष कटिसकेको बताउँथें। मैले आफु बीस वर्ष भएको भनेर भन्दा ग्राहक केटाहरु पत्याउँदैनथे। भारतमै हुर्र्किएकाले मेरो रुप, रङ्ग र बोलीचाली सबै भारतीयजस्तै थियो। मलाई मराठी मजाले बोल्न आउँथ्यो। लोकल भाषा जानेकी थिएँ। उनीहरु मलाई ‘तिमी कहाँबाट आएको ?’ भनेर सोध्थे, म उनीहरुलाई भारतकै कुनै ठाउँबाट आएको भनेर ढाँटथें। तर उनीहरु पत्याउँदैनथे। भन्थे– ‘तिमी नेपाली हो।’
हुन पनि कोठीका अठार वर्ष मूनीका केटीहरु आफुलाई अलि बढी उमेरको देखाउन खोजिरहेका हुन्थे भने तिस कटीसकेका महिलाहरु आफुलाई तरुनी देखाउने कोशीस गरीरहेका हुन्थे। र, त्यसका लागि मलाई घरवालीले के भनेर डर देखाएकी थिइ भने कोठीमा आउने ग्राहकहरुको बहकाउमा लागेमा झन् डरलाग्दो ठाउँमा जाने खतरा हुन्छ। घरवाली भन्थी, ‘हेर यो ठाउँ त जमीन माथि छ, यसो झ्यालबाट तैले बाहिरको दृश्य पनि हेर्न सक्छेस्। तर यो बम्बईमा यस्तो ठाउँ जमीनमूनि पनि छ। त्यहाँ पुगीस् भने तँ काल कोठरीमा नै पुग्छेस्। त्यसैले यहाँ आउने ग्राहकहरुले बाहिर लैजान्छु भनेर फकाए भने पनि विश्वास नगर्नु ! हामीले भने अनुसार गर्नु र भन्नु। हैन भने तेरो जीवन झन् नर्कमा भासिने छ।’ डर पनि लाग्थ्यो। न त्यो भन्दा अर्को अकल्पनीय एवं कष्टकर ठाउँ पो छ कि !? भन्ने भयका कारण मैले घरवालीले जे जे भन्थी, त्यही त्यही गर्र्दै गएँ। ग्राहकलाई सत्य कुरा कहिल्यै बताइनँ।
यौन सम्पर्क मेरो लागि दिनहुँको, व्यर्थको व्यायाम सरह थियो। त्यहाँ भोग त थियो, तर ‘सम भोग’ अर्थात् सम्भोग थिएन। ग्राहकहरुलाई मेरो शरीर गिजोल्दा मजा आउँथ्यो होला, तर त्यो संसर्गप्रति म मानसिक रुपमा निश्पृह नै थिएँ। यौन आनन्दका रुपमा मैले त्यसलाई ग्रहण गरिनँ। ग्राहक आउँथे, आफ्नो काम गर्थे अनि जान्थे। यौन आर्कषण भनेको भित्रैदेखि जागृत हुने संवेदना हो। दुईतर्फी आकर्षण भयो भने मात्र त्यसको अर्थ रहन्छ। ग्राहकसँग बस्दा ममा त्यस्तो कुनै फिलीङस् हुँदैनथ्यो। मेरो शरीर जिउँदो भए पनि रोबोट झैं थियो। म गुडीया झैं थिएँ। जता घुमाए पनि, जता पछारे पनि, जे गरे पनि त्यो गुडीयालाई केही थाहा हुँदैन। यो केटा मलाई एकदम मनप¥यो। अब यहीसँग मजाले यौन आनन्द लिन्छु भन्ने पनि हुँदैनथ्यो। बरु जिन्दगी भनेको केही होइन रहेछ भन्ने लाग्थ्यो। जसले जति बेला आएर लुछे पनि हुन्छ जस्तो लाग्थ्यो। मभित्र घृणाको ज्वालामुखी थियो। दिनमा थुप्रै व्यक्तिसँग समय गुजार्नुपर्छ। कुन कुनसँग हुँदा हामीले आनन्द लिने ? फेरि यो मधुर मिलनको प्रेमालिंगन सहवास हो र ? त्यसमा दुबै जना हराउँने। अँह ! मभित्र कुनै त्यस्तो कामेक्षासहितको हार्दिक आव्हान छँदै थिएन। बरु हरेक ग्राहक मेरा लागि घृणाका पात्र थिए। कुनै पनि ग्राहकप्रति ममा कुनै आकर्षण, प्रेम या लगाव भएन। बस म उनीहरुका लागि केहीबेर मनोरञ्जनको साधन भैदिन्थें। उनीहरु गएपछि पुनः आफुभित्रको एक्लोपन र निराशाले मलाई गाँजी हाल्थ्यो।
बम्बईका कोठीहरु विभिन्न खालका हुन्थे। एउटा चाँही कस्तो भने ठूलो आकारको कोठामा पर्दाले बारिएका थुप्रै बेडहरु लहरै हुन्थे। बेड–पर्दा–बेड–पर्दा लहरै, जसलाई ‘पिलोज्’ भनिन्थ्यो। त्यहाँ एउटा बेडमा बोलेको कुरा अर्को बेडमा भएको मानिसले सुन्थ्यो। एउटा बेडमा भइरहेका सारा क्रियाकलाप अर्को बेडमा भएकाले थाहा पाउँथे। त्यहाँ ग्राहकको उदण्डताले कोही कसैलाई केही यातना भयो भने कोही बोल्दैनन्। तैँ चुप् मैँ चुप् हुन्छन्। त्यस्ता पिलोजहरुमा अलि उमेर कटी सकेका, हेर्दा खासै राम्रा नदेखिने र ग्राहकले खासै मन नपराउने केटीहरुलाई लगेर राखिन्थ्यो। पिलोज्मा ग्राहकले केटी छान्ने हैन, केटीहरुले ग्राहकलाई तानातान गर्थे। केटीहरु मेकअप गरेर रोडमा लहरै बसीरहेका हुन्थे। बाटोमा कुनै केटालाई देख्नासाथ उनीहरु ‘अरे मेरे साहरुख खान आजा ना, सिर्फ बीस रुपय तो है, मेरे जाने मन, जाने जिगर, आजा ना’ भन्दै तान्न जान्थे। बाटोमा हिँडीरहेका केटाहरुलाई उनीहरु तान्न गएको त्यो दृश्य बडा अचम्मको हुन्थ्यो। ग्राहक र केटीहरुवीच बीस रुपैयाँदेखि पचास रुपैयाँसम्म बार्र्गेनिङ हुन्थ्यो। तिनमा माग्नेदेखि रिक्सावालासम्म ग्राहक हुन्थे। कुरा मिलेपछि केटीहरुले ग्राहकलाई माथि आफ्नो पिलोज्मा लैजान्थे।
पिलोज खासमा निम्न बर्गको यौन अखाडा हो। त्यहाँ ग्राहक पनि निम्न बर्गका र केटीहरु पनि त्यस्तै खालका हुन्थे। त्यहाँ जोखीम पनि धेरै हुन्थ्यो। विभिन्न खालका यौन रोगको संक्रमण हुने जोखिम पनि पिलोज्हरुमा बढी हुन्थ्यो। सुरक्षित यौन सम्पर्क हुँदैनथ्यो र केटीहरु सहजै कन्डम नलगाई सम्पर्कका लागि तयार हुन्थे। त्यहाँका केटीहरु त्यही कारण गर्भवती पनि हुन्थे र त्यहीँ बच्चा पनि जन्माउँथे। अवस्था कहाँसम्म दर्दनाक हुन्थ्यो भने पिलोज्को बेड मुनी सानो बच्चा सुतीरहेको हुन्थ्यो। माथि बेडमा आमा यौन धन्दा गर्न बाध्य हुन्थीन्।
हामी जुन ठाउँमा थियौं, त्यसलाई चाँही ‘बंगला’ भनिन्थ्यो। त्यहाँ निकै राम्रा राम्रा केटीहरु हुन्थे। बंगला अलि ‘हाइ लेभल’को मानिन्थ्यो, जहाँ १८ वर्ष मूनीका केटीहरु राखिन्थ्यो र उनीहरुका लागि छुट्टाछुट्टै (सेपरेट) रुमहरु हुन्थ्यो। ठूलो बिल्डीङमा गेटबाट भित्र छिर्नासाथ दुई तिनवटा ‘चेनल गेट’ हुन्थे। हरेक चेनल गेटमा बाउन्सर हुन्थे। ति सबै चेनल गेट पार गरेर गएपछि एउटा ठुलो ‘सिटिङ रुम’ हुन्थ्यो। जहाँ ठूलठूला सोफाहरु वरिपरी सजाएर राखिएका हुन्थे। त्यहाँ श्रृगार पटार गरेका केटीहरु आ–आफ्नै धुनमा बसी रहेका हुन्थे। कोही टि.भी. हेरिरहेका हुन्थे। ग्राहक सिटिङ रुममा आएर बस्थे, त्यहाँ भएका केटीहरुलाई हेर्थे। अनि जुन केटी मनप¥यो, उसैलाई छान्थे। कति घन्टासम्म बस्ने हो, सोही बमोजिमको ‘चार्ज’ घरवालीलाई तिर्थे र बेग्लै कोठामा लैजान्थे।
ग्राहकहरु कोही एक घन्टाका लागि समय किनेर आउँथे। कोही दुई घन्टा त कोही तिन घन्टाका लागि आउँथे। कोही चाँही ‘होल डे’ र ‘होल नाइट’कै लागि समय किनेर आउँथे। समय अनुसार रेट पनि फरक फरक हुन्थ्यो। एक घन्टा बिताएबापत भारतीय ग्राहकले तीन सय भारु तिर्नुपथ्र्यो भने विदेशी नागरिकसँग एक हजार भारु असुलीन्थ्यो। ‘होल डे’ या ‘होल नाइट’ बस्नेहरुका लागि स्वदेशी ग्राहकलाई पाँच हजार भा.रु. लिइन्थ्यो भने विदेशीलाई पन्ध–विस हजार भा.रु. लिइन्थ्यो। ग्राहक अनुसार रेटको मोल मोलाई हुन्थ्यो। दिउँसो ग्राहकहरु कम् कमै हुन्थे। तर, राती प्याक हुन्थ्यो। चाडपर्वका बेलामा भने रात दिन व्यस्त हुनुपथ्र्यो। चौबिसै घन्टा ग्राहकको ताँती लाग्थ्यो। अरुबेला पाँचदेखि दश जनासम्मलाई झेल्नुपथ्र्यो भने चाडपर्वका बेलामा तीस जनासम्मलाई झेल्नु परेका उदाहरण छन्। त्यो पिडाको बयान शब्दमा गर्न सकिन्न।
होल नाइट बस्ने ग्राहकप्रति मलाई झन बढी ‘इरिटेशन’ हुन्थ्यो। सुरु सुरुमा उनीहरुलाई काबुमा ल्याउने तरीका मलाई थाहा भएन। रातभरी सुत्न दिदैनथे। केही समयपछि मैले एउटा जुक्ती लगाएँ। होल नाइट बस्न आउनेलाई म धेरैभन्दा धेरै रक्सी खुवाइदिन्थें। ‘म पनि खान्छु, तिमी पनि खाउ’ भनेर सँगै खान बसिन्थ्यो। म चाँही खाएझैं गर्थें, अनि ग्राहकलाई चाँही थपेको थप्यै गरिदिन्थें। अत्याधिक मदिरा सेवनका कारण ग्राहक एकातिर लम्पसार परेर निदाइहाल्थ्यो, म आफ्नो हिसाबले बस्थें।
कसैले जर्बजस्ती गर्न खोजेमा त्यो ग्राहकलाई तत्काल रुमबाट बाहिर निकाल्ने घरवालीको निर्देशन थियो। त्यसबाट हामीलाई के सजिलो हुन्थ्यो भने कुनै ग्राहकले दिक्क लगाएको छ भने घरवालीलाई खबर गरी दिए पुग्थ्यो। घरवालीले नै उसलाई जुत्ताले हानेर धपाउँथी। धेरै ग्राहक आइरहेका छन् र आफुलाई एकदमै ‘इरिटेशन’ भइरहेको छ भने हामी आफुलाई त्यस ढंगले पनि बचाउँथ्यौं। ग्राहकलाई सोझै एक झापड हान्थ्यौं। उ रिसाउँदै घरवालीकहाँ गुनासो गर्न पुग्थ्यो। घरवालीले हामीलाई बोलाउँथी। हामी भन्थ्यौं, ‘यसले कण्डम लगाउन मानेनँ।’ अनि घरवाली उल्टै त्यो ग्राहकलाई ‘जा साला मादरचोद’ भन्दै त्यहाँबाट लखेट्थी। कतिपय ग्राहकलाई म गफैगफमा मस्त बनाइदिन्थें। गफै गफमा एक घन्टा बित्थ्यो र घरवाली ढोका ढकढक गर्न आउँथी। कतिपय ग्राहक मेरो गफ मात्रै सुनेर त्यहाँबाट रफुचक्कर हुन्थे।
हाम्रो दैनिकी नियमीत थिएन। दिनको बाह« बजेपछि हाम्रो धन्दा सुरु हुन्थ्यो। राती कति बजे सुत्ने र कति बजे उठने भन्ने निश्चित समय हुँदैनथ्यो। विहान सात बजेतिर चिया पाउरोटी दिइन्थ्यो। घरवालीलाई खुशी बनाउने र उसले भने अनुसार गर्नेहरुले मिठो मिठो खान पाउँथे। हैन भने तरकारीको झोंल र भात या रोटीमै चित्त बुझाउनुपथ्र्यो। विहान एघार बजेसम्म हामी नुहाई धुवाई, साथीहरुसँग भेटघाट, खानपीन गरेर बिताउँथ्यौं।
धन्दाबाट फुर्सद पाएको बेला कहिलेकाँही हामी सबै साथीहरु कुनै गीत घन्काएर डान्स गथ्र्यौं। त्यहाँ भएका केटीहरुमध्ये मैले एकजनासँज मितेरी साइनो गाँसेकी थिएँ। अली उदार र रसीक पाराका ग्राहक आएका छन् भने ‘आज सबै मिलेर इन्जोय गर्ने’ भन्दै बाहिरबाटै रक्सी, मासु मगाएर खाने, नाच्ने गरिन्थ्यो। ग्राहकले बाहिरबाट खानेकुरा मगाएर त्यसरी रस रमाइलो गर्दा घरवाली पनि खुशी नै हुन्थी। किनकी, सबै खर्च ग्राहकले नै गर्थे। दुईवटा बियर मगाएको छ भने चार वटा भने पनि भयो। मातेको ग्राहकलाई जसरी लुटे पनि भयो।
बंगलामै बफ मम बेच्नेहरु आउँथे र कोठा कोठामा गएर मम बेच्थे। चना चटपटे बेच्नेहरु पनि भित्रै गएर बेच्थे। पोशाक र श्रृगार प्रशाधनका सामान पनि भित्रै किन्न पाइने व्यवस्था थियो। मलाई बेलाबेलामा घरवाली जुलीले नै मेकअप गरी दिन्थी। कपालको स्टाइल बनाइदिने र लिपस्टिक लगाइदिने काम गर्थी। हरेक दिन मेरो मेकअप गर्नुपर्दा जुलीलाइ दिक्क लाग्थ्यो। भन्थी, ‘आफै मेकअप गर्न सिक न।’ म भन्थें, ‘प¥या छैन मलाई राम्री हुन। म त आफै गर्दीन। तिमीले गरिदिए गर, नत्र म गर्दिन।’ अनि बाध्य भएर ऊ आफै मेकअप गरिदिन्थी। म हरेक कुरामा आफ्नो स्टाण्डमा चाँही हुन्थें। त्यसैले त्यहाँका केटीहरु आपसमा कुरा गर्दा भन्थे, ‘यो उषा जस्तो घमण्डी त कोही पनि छैन।’
डाक्टरहरुसँग समेत घरवालीको कन्ट्याक्ट थियो। कसैलाई केही भएमा डाक्टर पनि त्यही आएर जाँच गर्थे। धन्दाको सञ्जाल चारैतिर फैलीएको थियो। त्यो त संगठित व्यवसाय बनेको थियो। ग्राहकले टिप्स दिएको पैसा हामीले घरवालीबाट लुकाएर राखेका हुन्थ्यौं। त्यसैबाट आफुलाई मन लागेको चिज किन्थ्यौं। हो, घरवालीलाई खुशी बनाउन सक्ने हो भने त उसले सुनकी सिक्री पनि बनाइदिन्थी। कपडाहरु पनि किनिदिन्थी। बस ! उसलाई धन्दामा नाफा दिलाइदिन सक्नुपथ्र्यो। धेरैभन्दा धेरै ग्राहकसँग बसेर धेरै आम्दानी गराइदिएमा घरवाली मख्ख पर्थी।
नाच्न र गाउनबाहेक केटीहरुलाई आपसमा धेरैबेरसम्म बोल्न र संवेदना साटासाट गर्न भने दिइदैनथ्यो। केटीहरु आपसमा कुराकानी गर्लान् र सल्लाह गरेर भाग्लान् भनेर होला घरवाली हामीलाई कुनै विशेष पार्टीमा बाहेक अरुबेला आपसमा सँगै धेरैबेर बस्नै दिदैनथी। आ–आफ्नो कोठामै बसेर धन्दामा व्यस्त रहनुपथ्र्यो। सिटिङ रुमबाट भित्र छिरेपछि विभिन्न कोठाहरु हुन्थे। ति हरेक कोठाहरु प्लाइउडले बारीएका हुन्थे। त्यसैले कुन कोठामा के के कुराकानी भइरहेको छ भनेर घरवाली चियो गरीरहेकी हुन्थी। शंका लागेमा घरवाली गएर ग्राहक र केटी दुबैलाई बाहिर निकालेर झपार्थी। वातावरण कस्तो भने मानौं हामी सम्पूर्ण केटीहरु घोडी हौं र घरवाली ति सबै घोडीको लगाम समातीरहेकी छ। घरवालीका लागि हामी पैसा बनाउने यस्तो मेसिन थियौं। जसले दिनरात केही नभनी तलमाथि चलीरहनुपथ्र्यो।
सुरुको गल्लीको कोठीमा एक महिना र पछि बेचिएको कोठीमा ५ महिना गरी मैले मुम्बईमा ६ महिना नारकीय जिवन बिताउनुप¥यो। त्यो अवधिमा अनेक भाव भङ्गीमाका ग्राहकहरु आए। कोही भर्खरका तन्नेरी हुन्थे भने कोही घरमा श्रीमती भएका पुरुषहरु हुन्थे। अनि कोही अधवैशे पनि हुन्थे। धेरैजसो उद्यमी–व्यवसायी हुन्थे। जो कारोबारका सिलसिलामा मुम्बई आएका हुन्थे। जसको परिवार मुम्बईभन्दा टाढा अर्को कुनै शहर या गाउँमा हुन्थ्यो। त्यसैगरी शहरमा पढ्न बसेका त्यस्ता विद्यार्थी पनि हामीकहाँ आउँथे, जसका श्रीमती या केटी साथी हुँदैनथे। गाउँबाट रोजगारीका लागि शहर आएका मानिसहरु पनि मोजमज्जाका लागि आउँथे। कति चाँही त्यो ठाउँका बारेमा थाहा नपाएका तर साथीले झुक्याएर ल्याएका पनि हुन्थे, अनि आइसकेपछि फँस्थे र बारम्बार आइरहन्थे।
सेना र प्रहरीका हाकिमहरु पनि सुटुक्क आउँथे। नेताहरु पनि आउँथे। समाजमा ‘सफेदपोश’ कहलीएका नैतिकवान पुरुषहरु पनि आउँथे। घरमा श्रीमती हुँदाहुँदै पनि ‘बंगला’मा आउनेहरुको उद्देश्य चाँही फरक तनसँग भोगको फरक अनुभूति लिनु नै हुन्थ्यो। श्रीमतीसँग घरमा रमाइलो गर्दा र कोठीमा रमाइलो गर्दा फरक अनुभव हुने नै भयो। मानिसहरु ‘फुल्ली इन्जोय’का लागि हाम्रो बंगला’मा आउँथे। उनीहरु मसँग भन्थे, ‘घरमा बुढीले मैले चाहे अनुसार सन्तुष्टी दिंदैन, यहाँ पैसा तिरेपछि जुनसुकै स्टाइलमा मजा लिन सकिन्छ।’
बृद्ध ग्राहकहरुले निकै दुःख दिन्थे। उनीहरुलाई सन्तुष्ट पार्न नै हम्मे हम्मे पथ्र्यो। बुढाहरु कस्ता भने आफै यौन दुर्वल हुन्थे। ‘यसरी पनि भएन, उसरी पनि भएन’ भन्दै सताउँथे। उनीहरुले भनेकोजस्तो भएन भने कतिपय बुढाहरु त चिमोटने, चुरोटले पोली दिने खालका पनि हुन्थे। तर मसँग आउने ग्राहक भनेका अधिकांश युवा हुन्थे। वृद्ध ग्राहकको अप्ठयारोपनको सामना मैले खासै गर्नुपरेन। यौन शोषणको पिडा त थियो नै, त्यसबाहेक मैले ग्राहकबाट अन्य विविध यातना चाँही सहनु परेन।
कतिपय ग्राहकका लागि बाहिर उनीहरु बसीरहेकै होटलसम्म पनि केटीहरु पु¥याइन्थ्यो। निश्चीत समयको लागि बाउन्सरहरुले गाडीमा हालेर केटीलाई होटलसम्म पु¥याउँथे अनि समय बितेपछि पुनः होटलबाट गाडीमा हालेर ‘बंगला’ फर्काउँथे। म त्यहाँ हुँदै खबर आयो, ‘पल्लो बंगलाको एउटी केटीलाई होटलमा लगेका थिए, त्यही मारेर झुण्डयाएछन्।’ पाँच महिनासम्म त्यो कोठीमा रहँदा मैले त्यस्ता खबरहरु धेरै सुनें। होटलमा लगेपछि ग्राहकले भनेजस्तो नगरेमा पिटने र मार्नेसम्मका घटना हुँदारहेछन्। त्यस्ता खबरहरु सुन्दा हाम्रो पनि मुटु ढुकढुक हुन्थ्यो। कुनै केटीलाई मारेको छ भने पनि उसको लास बेवारिसे हुँदो रहेछ। कसैलाई मतलब नै नहुने रहेछ। यौन धन्दा गर्ने केटी रहिछ भनेर समाज र राज्यले बेवास्ता गर्दारहेछन्। घरवालीले नयाँ केटीलाई चाँही होटलहरुमा पठाउँदिनथी। ६–७ वर्ष पुराना केटीलाई पठाउँथी। पुरानो केटीलाई
बाहिर पठाउँदा भाग्दैनन् भन्ने हुन्थ्यो। तर पुरानालाई पठाउँदा भागीहाली भने घरवालीलाई घाटा हुन्थ्यो। म नयाँ भएकाले उनीहरुले मलाई चाँही बाहिर कतै होटलमा पठाएनन्।
कतिपय ग्राहक आउँथे र होल नाइट बस्थे, अनि रातभरी यौन सम्पर्क राखी रहन खोज्थे। सायद भियाग्रा या कुनै औषधि खाएर आएका हुन्थे। कोही हामीलाई रक्सी र चुरोट खानैपर्छ भन्ने खालका आउँथे। ‘म पनि इन्जोय गर्न आएको, तँ पनि इन्जोय गर, रक्सी चुरोट खा’ भनेर निकै कर गर्थे। ग्राहक अनेक थरीका हुन्थे। कतिपय ग्राहकहरु मुख मैथुन गराउन खोज्थे। हामी उनीहरुलाई भनिदिन्थ्यौं, ‘तिमी जुन कामका लागि आएका हौ त्यो काम गरेर गइहाल। दायाँ बायाँ अरु हर्कत गर्ने कोशीस नगर।’
एक पटक एउटा सुटेड बुटेड भिआइपी ग्राहक आयो। उसले मलाई रोज्यो र भित्र कोठामा लग्यो। भित्र लैजानासाथ उसले सोझै मुख मैथुनका लागि दबाब दियो।
‘साला मादर चोद, यही बात तु अपनी मा से बोल, क्या तु इसी के लिए पैसा दे के आया है, जिस काम के लिए पैसा दिया है, वही कर, नही तो तेरा पैसा ले के वापस जा’, मैले कडकिदै भनें।
उ रिसले आगो भयो। जाने बेलामा उसले भन्यो, ‘साली रण्डी, अपने आपको बहुत सति साबित्री समझती है। अगर तु सावित्री होती तो क्यों यहाँ आती ?’
रिसाएर जानेहरु तथानाम गाली गर्थे भने खुशी हुनेहरु ‘आप बहुत अच्छी हो’ भन्दै टिप्ससमेत दिएर जान्थे। कतिपय ग्राहकको व्यवहार वास्तवमै सहज हुन्थ्यो। कतिपय ग्राहकलाई म कुरामै लठ्ठ पारिदिन्थे। म स्पष्ट कुरा गरिदिन्थें, सोही कारण मसँग गफ गर्दा नै उनीहरु मख्ख पर्थे। गफ गर्दागर्दै उनीहरुले किनेको समय सकिन्थ्यो र ‘अर्को पटक आउँछु है’ भनेर फर्कन्थे।
यस्ता उदारमना ग्राहक बाहेक धेरैजसो वासनाले ग्रस्त मानिसहरु नै आउँथे, जो अरु कुरा गर्नुअघि फटाफट यौन प्यास मेट्न नै उद्यत हुन्थे। किनकी, कोठाभित्र छिर्नासाथ उनीहरुको लिंग उत्तेजित भइसकेको हुन्थ्यो। कतिपय ग्राहक त कोठामा छिर्नासाथ अति उत्तेजित भएर सम्पर्क हुनुअघि नै स्खलीत भइसक्थे। फेरी तम्तयार हुन उनीहरुलाई समय लाग्थ्यो र त्यतिबेलासम्म उनीहरुले किनेको समय सकिन्थ्यो।
सुनीता दनुवारको पुस्तक आँसुको शक्तिको अंश