मेरो एउटा मित्रले
अक्सिजनका बारेमा पढ्नुसम्म पढेछ
त्यसका अणु-परमाणु केलाउने भएछ
अर्काले हेमोग्लोबिनका बारेमा पीएचडी गरेछ
अर्को फोक्सोको पण्डित, पल्मोनोलोजिस्ट भएछ
अर्को महायोगी
प्राणायाम सिकाएरै संसार घुमेछ,
थाहा छैन, यी गतिला मान्छेसित सङ्गत हुनु
मेरो सौभाग्य हो वा दुर्भाग्य
एकदिन,
चारैजनाले मलाई जाँचे र भने
"तँ सास फेर्नै जान्दैनस्,
मेसिन लगाएर हेर्ने हो भने
तैँले सास फेरेको भन्नै मिल्दैन"
मैले भनेँ, "हेरौँ न त, लगाओ तिमीहरूको मेसिन,"
उनीहरूले भने,
"हामीले भनिसकेपछि केको मेसिन?
लाए पनि जान्दैनस्, नलाए पनि जान्दैनस्
हामी पण्डित, हामीले भनेको किन मान्दैनस्?"
एकताल त "लौ त" भनेँ, सिक्नै खोजेँ
तर मैले उनीहरूले भनेजस्तो गर्न जानिँन
अनि अलि झर्को लाग्यो,
अनि मैले उनीहरूले भनेजस्तो गर्न मानिँन
अहिले उनीहरू मसित रिसाएका छन्
भन्छन्,
"मूला अज्ञानी, सास फेर्न पनि ढङ्गले जान्दैनस्
बाबुबाजेले जसरी फ्याँ फ्याँ धक्छस्
सास तान्दा कामै नलाग्ने नाइट्रोजन पनि तान्छस्
सास छाड्दा काम लाग्ने अक्सिजन पनि फ्याँक्छस्
सास फेर्नै नजानेर मर्लास्!"
म हात जोडेर भन्छु,
प्रिय मित्रहरू,
श्वास-प्रश्वास
तिमीहरूका लागि विज्ञान होला, मेरालागि जीवन हो
यो मेरालागि दैनिक धपेडी
स्याँस्याँफ्याँफ्याँ र सुसेली पनि हो
तिमीहरूको विज्ञानमा मुठीको नापै चल्दैन होला
म त दुईमुठी सासको ज्यान मात्र हुँ
तिमीहरूको ज्ञान र मेरो अज्ञानका बीचमा
कुनै विनिमय चल्ला जस्तो छैन प्रिय मित्रहरू
तिमीहरूको विज्ञानको पसल अन्तै,
अस्पताल, कलेज, विश्वविद्यालयतिर चलोस्
म यही अड्डाका छेउमा
कागज सागजको पसल चलाउने
साधारण लेखन्दास
म आफूखुसी सास फेरेर बाँच्छु,
जान्दै जानिएन भने सास फेर्न
यत्तिकै मर्छु,
हुन्छ?