कंलकी चोकमा अस्तिसम्म आकाशे पुल थियो
पुलमाथि ओहोरदोहोर गर्थे हजार सपना।
म मिसिन्थें
रुमानी सपना देख्नेको भीडमा
झिसमिसे साँझमा
शरीरभरि अत्तर छर्केर
पुलको छेउमा उभिन्थें- ठिङ्ग
जसरी उभिएकी हुन्थी होडिङबोर्डमा मेरी मोडल संगिनी।
कोही हरेक सामान दशमा बेच्थे,
कोही फिक्स रेट भन्दै घाँटी सुकाउँथे
मसँग न लगानी थियो
न फिक्स रेट
अलिअलि राम्रो रुप थियो
पुलमाथि म त्यसैको व्यापार गर्थें
होर्डिङबोर्डकी मोडलजस्तै बन्ने कल्पनामा।
ठूलाठूला सपना बोकेर राजधानी छिरेकाहरू
हजार हण्डरठक्कर खाएर राजधानी छोड्नेहरू
चर्को आवाजले पाइताला ठोक्थे पुलमाथि
पुलमुनिका गाडी चढ्नेसँग कुन जुनीको रिस फेर्दै
पाइताला ठोक्नेहरूमध्ये
कोही तानिन्थे अत्तरको बासनाले
कोही मेरो सुगन्धले
तिनै त थिए मेरा भगवान
सपनाका सारथि।
हो, कलंकी चोकमा एउटा पुल थियो
पुलमाथि आहोरदोहोर गर्थे मेराजस्तै हजार सपना।
दुई तीन महिनाअघि
रातोदिन नभनेर भत्काइदिए
मोराहरूले त्यो पुल
अनि भत्काइदिए मेरी मोडल संगिनी।
पत्रिका बेच्ने दाइले भन्या-
कलंकीको पुलजस्तै
अघिल्लो सरकार भत्कियो
नयाँ सरकार पनि भत्किन्छ रे नौ महिनापछि।
साँच्चै हामीलाई नसोधिकनै
कसले भत्काउँछ होला है-
कलंकीको पुल
र यो देशको सरकार?