मैले विभिन्न स्तरमा स्कुल सञ्चालक, शिक्षक, योजनाकार र शैक्षिक अधिकारीहरूसँग कुरा गर्ने मौका पाएको छु। उनीहरूमध्ये धेरैजसो हाम्रा स्कुलको दशा देखेर चिन्तित छन्। सुधारको सही दिशा थाहा भए, र अलिकति हिम्मत भए, उनीहरू स्कुललाई केटाकेटीका निम्ति राम्रो ठाउँ बनाउन उत्सुक छन्।
तैपनि, हाम्रा अधिकतर स्कुलको स्थिति दयनीय नै छ; जस्तो सधैं थियो। केटाकेटी र अरूका निम्ति पनि, बस्न र सिक्नका निम्ति, स्कुल सधैं खराब ठाउँ रहिआएको छ।
पहिलो कुरा त के भने, स्कुलहरूमा आज पनि निष्ठुरता व्याप्त छ। बोस्टनको एउटा कलेजमा मनोविज्ञानका प्राध्यापकले मलाई एक घटना सुनाएका थिए, जसले परिस्थितिको प्रतिनिधित्व गर्छ। उनका थुप्रै विद्यार्थी नजीकैको अलिक सानो सहरमा शिक्षण अभ्यास (प्र्याक्टिस टिचिङ) का निम्ति जाँदा रहेछन्। केही दिनअघि एउटी विद्यार्थी त्यहाँको स्कुलमा पढाउन पुग्दा हेडमास्टरले उसलाई लठ्ठी दिएर भनेछन्, ‘तिमीले केटाकेटी पढाउँछ्यौ कि पढाउँदिनौ मलाई मतलब छैन, तर उनीहरूलाई हल्ला गर्न चाहिँ नदिनू।’
भन्नु परोइन, त्यस स्कुलका विद्यार्थी गरिब घरका थिए; धनी आमाबाबुले सामान्यतः यस्तो कुरा पचाउन सक्तैनन्। यो घटना अपवाद नभएर आम व्यवहार हो। प्राध्यापकका अरू पनि निकै जना विद्यार्थी, जसले केटाकेटीका बारेमा धेरै आदर्श र आशापूर्ण धारणा बोकेका थिए, यो दुःखद अनुभव पछि निराश भएर फर्किएछन् र भनेछन्, ‘हामी केटाकेटीलाई पिट्न चाहँदैनौं।’ तर, थुप्रै–थुप्रै स्कुलहरूमा यस प्रकारको अभ्यास आज पनि जारी छ।
मैले एक पल्ट कतै पढेको थिएँ, अमेरिका र इंगल्यान्डमा समेत जनावरमाथिको क्रूरता रोक्न काम गर्ने संस्थाहरूसँग केटाकेटीमाथिको क्रूरता रोक्न कार्यरत संस्थाहरूसँग भन्दा धेरै बढी पैसा छ। यो साँच्चै विचारणीय कुरा हो। तथापि, केही दक्षिणपन्थी सनकसिंहहरूलाई छोडिदिने हो भने, केटाकेटीमाथिको क्रूरतालाई एक्कादुक्काले मात्र खुल्लमखुल्ला ठीक मान्दा होलान्। क्रूरता केटाकेटीलाई स्वीकार्य हुने कुरै भएन; उनीहरू स्पष्टतः यसको विपक्षमा हुन्छन्। कतिले त खुलेर, सोझै विरोध गर्छन्। बच्चालाई कसैले सिर्कनाले हिर्कायो अथवा पूरै कक्षाका सामु अपमानित गर्यो भने आफूमाथि के भइरहेको छ र त्यो कसले गरिरहेको छ भन्ने उसले राम्ररी बुझेको हुन्छ। आफ्नो दुश्मनलाई उसले राम्ररी चिन्दछ। सबै भन्दा हानि चाहिं त्यस्ता स्कुलमा हुन्छ जहाँ केटाकेटीले प्रतिरोध गर्दैनन् वा गर्न सक्तैनन्, किन भने तिनलाई थाहै हुँदैन- आफूमाथि के भइरहेको छ र त्यो कसले गरिरहेको छ। अथवा तिनले त्यो दुव्र्यवहार हाम्रै भलाइका लागि हाम्रा दयालु शुभचिन्तकहरूले गरेको हो भन्ने सोच्छन्; उनीहरू त्यसरी सोच्ने वातावरणमा राखिएका हुन्छन्।
स्कुल भवनमा पहिलो चोटि पाइला राख्ता हरेक बच्चा बढी चैतन्ययुक्त, कुराहरू जान्न–बुझ्न अधिक चतुर, आफूले नचिनेकासँग कम डराउने, आत्मविश्वासी, धैर्यवान र स्वतन्त्र हुन्छ। त्यस पछिको स्कुल जीवनमा उसमा यति धेरै गुण, यति बढी मात्रामा कहिल्यै रहन पाउँदैनन्। ऊ असामान्य तवरमा भाग्यमानी रहेनछ भने आफ्नो समग्र बाँकी जीवनमै ऊ त्यति गुणहरूबाट सम्पन्न हुनेछैन। केटाकेटीले स्कुल जानु अघि नै आफू वरिपरिको दुनियाँलाई ध्यानपूर्वक हेर्दै, मानिसहरूसँगको सम्पर्क÷व्यवहारद्वारा निकै कठिन, जटिल र अमूर्त कुरा समेत सिकिसकेका हुन्छन्। त्यो कुरा न स्कुलमा सिकाइन्छ, न त तिनका शिक्षकलाई नै त्यसबारे थाहा हुन्छ। स्कुल जानु भन्दा पहिले नै केटाकेटीले भाषाको अत्यन्त रहस्यमय उल्झन सुल्झाइसकेका हुन्छन्।
काखे शिशुलाई त भाषाको अस्तित्वबारे नै थाहा हुँदैन, तर स्कुल जानु भन्दा अघिसम्ममा उसले भाषाको कार्यपद्धति बुझेर त्यसलाई प्रयोग गर्न जानिसकेको हुन्छ। उसले आफ्नो खोज र प्रयोगबाट भाषाको व्याकरणको एउटा प्रारूप रचना गर्छ अनि हेर्छ- त्यसले काम गर्छ कि गर्दैन भनेर। भाषाले ठीकसँग काम गर्न नथालेसम्म उसले त्यसलाई बिस्तारै–बिस्तारै बदल्छ र सुधार्छ। यो सब गर्ने क्रममा उसले अरू पनि धेरै कुरा सिक्छ। उसले त्यस्ता कैयौं ‘अवधारणा’ आफैं सिक्छ, जुन ‘हामीले मात्र सिकाउन सक्छौं’ भन्ने स्कुलले ठानेका हुन्छन्। यति मात्र होइन, उसले त पछि स्कुलमा सिकाइने भन्दा निकै जटिल कैयौं अवधारणा पनि स्कुल जानु अघि आफैं सिकिसकेको हुन्छ।
पहिलो पल्ट स्कुल आएको बच्चा जिज्ञासु, सहनशील, ऊर्जाले भरिएको र कुशल सिकारु हुन्छ। हामी उसलाई एउटा बेन्च वा कुर्सीमा बसाइदिन्छौं। अनि के सिकाउँछौं? थुप्रै कुरा। पहिलो कुरा: सिक्नु र जिन्दगी जिउनु बिल्कुलै बेग्लाबेग्लै कुरा हुन्। हामी भन्छौं, ‘तिमी स्कुल सिक्नका लागि आउँछौ।’ मानौं उसले त्यस अघि केही सिकेकै छैन ! मानौं स्कुल सिक्नका लागि हो र बाँकी दुनियाँ जिन्दगी जिउनका लागि हो; यी दुई बीच कुनै सम्बन्ध नै छैन ! दोस्रो कुरा: हामी केटाकेटीले स्वयं सिक्ने कुरामा विश्वास गर्दैनौं; ऊ स्वयं सिक्न लायक छैन भन्ने ठान्छौं। त्यतिन्जेल उसले जे जति सिकेको हुन्छ त्यसको तुलनामा हामीले सिकाएको, पढाएको एकदमै सरल र सामान्य हुन्छ। तैपनि हामी उसलाई भन्छौं, ‘हामीले तिमीलाई पढ्न सिकाएनौं भने तिमीले त्यो सिक्नै सक्तैनौ। अनि हामीले भने अनुसार गरेनौ भने त झन् कहिल्यै सिक्न सक्तैनौ।’ यसबाट उसले सिकाइ प्रक्रियालाई एकदम निष्क्रिय गतिविधिका रूपमा बुझ्न थाल्छ- एउटा यस्तो गतिविधि, जो ऊ स्वयं ‘आफ्ना लागि’ गर्दैन, बरु अरूले ‘उसका लागि’ गरिदिन्छन्।
स्कुलमा हाम्रो व्यवहारबाट केटाकेटीले एउटा अर्को कुरा पनि सिक्छ। त्यो हो- ऊ आफैंमा बेकारको, अविश्वसनीय, आज्ञाकारी ‘सादा कागज’ हो, जसमा अरूले जे मन लाग्यो त्यो लेख्न सक्छन्। त्यसो त हामी स्कुलमा केटाकेटीप्रति सम्मान र उनीहरू बीचको भिन्नतालाई स्वीकार गर्नुपर्ने कुरा गरेर थाक्तैनौं। तर हाम्रो कथनी र करनीमा आकाश–पातालको फरक हुन्छ। वास्तवमा हामी केटाकेटीलाई भनिरहेका हुन्छौं: “तिम्रा अनुभव, तिम्रा चिन्ता, तिम्रा जिज्ञासा, तिम्रा आवश्यकता, तिम्रा आश्चर्य, तिम्रा कौतूहल, तिम्रा आशा, तिम्रा डर, तिमी के जान्दछौ, तिमी के चाहन्छौ, तिमीलाई के राम्रो र के नराम्रो लाग्छ, तिमी केमा राम्रा छौ र केमा खराब- यी सब बेकारका कुरा हुन्, यिनको कुनै महत्व छैन। महत्वको कुरो एउटा मात्र छ र त्यो हो- हामी के जान्दछौं अनि हामी केलाई महत्वपूर्ण मान्दछौं। तिमीले के गर्नुपर्छ, के सोच्नुपर्छ, त्यो हामीले तिमीलाई बताउने हो,” आदि।
केटाकेटीले कुरा बुझ्छ र छिट्टै प्रश्न गर्न छोड्छ। उसले बुझ्छ: शिक्षक उसका जिज्ञासा समाधान गर्नका निम्ति बसेको होइन। केटाकेटीलाई स्कुलमा स्वयंलाई पहिचान गर्ने, खोज्ने, आविष्कार गर्ने, विकसित गर्ने कुनै अवसर नै प्राप्त हुँदैन। फलस्वरूप ऊ क्रमशः आफ्ना बारेमा वयस्कहरूले गरेको मूल्यांकनलाई सही ठान्न र आफूलाई त्यस्तै मान्न थाल्छ। ऊ आफ्ना बारेमा त्यसैगरी सोच्न थाल्छ, जसरी एउटा सम्पन्न निजी स्कुलको आठौं कक्षाको विद्यार्थीले- जोसँग मैले कुरा गरेको थिएँ- सोच्थ्यो: “म केही पनि होइनँ। म केही हुँ भने पनि खराब हुँ। मेरा खासै रुचि र सरोकार छैनन्। जे छन् ती पनि निकै तुच्छ किसिमका छन्। जे जति कुरा मलाई मन पर्छ, त्यो मेरा लागि, र अरू कसैका लागि पनि, राम्रो छैन। मेरो प्रत्येक निर्णय अथवा मैले गर्न चाहेको कुनै पनि कुरा मूर्खतापूर्ण हुन्छ। यस दुनियाँमा जीवित रहन मेरा सामु एउटा मात्र विकल्प छ। त्यो के भने, मैले कुनै सत्ताको छहारी पाउनुपर्छ र त्यसले भनेको काम गरिराख्नुपर्छ।”
अरू पनि कैयौं कुरा सिक्छ केटाकेटीले। गल्ती, अनिश्चितता र अलमलिनु पनि अपराध हो भन्ने उसले बुझ्छ। स्कुललाई सही उत्तरसँग मात्र मतलब छ भन्ने चाँडै थाहा पाउँछ। र, आफ्नो शिक्षकबाट सही उत्तर निकाल्ने असंख्य तरीका अपनाउन थाल्छ। ऊ शिक्षकलाई झुक्याएर आफूलाई सही उत्तर थाहा छ भन्ने मनाउन कोशिश गर्न थाल्छ, जबकि उसलाई उत्तर थाहा हुँदैन। उसले झुक्याउन, झूट बोल्न, बहाना बनाउन र नकल गर्न सिक्छ। अल्छी बन्न सिक्छ। स्कुलमा भर्ना हुनु अघि ऊ कुनै पुरस्कार र प्रशंसाको प्रलोभन विना घण्टौंसम्म आफूलाई मन लागेको काम मग्न भएर गथ्र्यो। यस क्रममा दुनियाँलाई बुझ्थ्यो र आफ्नो क्षमता बढाउँथ्यो। स्कुलमा उसको हबिगत ज्यालादारी ज्यामी जस्तो हुन्छ, जो मालिकको आँखासामु पर्दा काम गरिटोपल्छ, आँखाबाट ओझेल हुनासाथ काम ठगिहाल्छ।
उसले सिक्छ- वास्तविक जिन्दगीमा घूस नदिई अथवा नहप्काई कसैले काम गर्दैन, कुनै पनि काम स्वयंमा गर्न लायक हुँदैन, गर्न लायक काम भए त्यसलाई स्कुलमा गर्न सकिंदैन; गर्न हुँदैन। यो सब घनचक्करबाट उसको मन मर्छ। ऊ आफ्नो मस्तिष्कको थोरै मात्र भागको उपयोग गर्न थाल्छ र आफू वरिपरिको कठोर वास्तविकताबाट पलायन गर्न बतासे सपना देख्न थाल्छ। यी स्कुल आउन थाल्नु अघि उसले देख्ने गरेका सपना जस्ता फिटिक्कै हुँदैनन्, जसमा ऊ स्वयंले सक्रिय भूमिका खेल्ने गरेको हुन्थ्यो।
आजभोलि स्कुलमा प्रजातान्त्रिक मूल्यहरूको शिक्षा दिने कुरा पनि उत्पातै सुनिन्छ। तर त्यहाँ केटाकेटीले वास्तवमा जे सिक्छन्, त्यो हो- गुलामी। ‘हाकिम’ को चापलूसी कसरी गर्ने, समस्याबाट कसरी भाग्ने र त्यसमा अर्कालाई कसरी फसाउने, अर्काको शिकायत कसरी गर्ने आदि। जस्तै ‘सर, हेर्नोस् न, अंकितले...।’ अन्य केटाकेटीसँग निकृष्ट प्रतिस्पर्धा गर्दागर्दै तिनले हरेक व्यक्ति अरूहरूको प्राकृतिक दुश्मन हो भन्ने सिक्न पुग्छन्। युद्धनीतिज्ञहरूका अनुसार जीवन ‘शून्य–योगको खेल’ हो। यसमा एउटाले जित्छ भने अर्काले हार्छ नै। हरेकलाई जित्नका निम्ति कुनै हार्नेवाला चाहिन्छ नै चाहिन्छ। अर्कालाई नहराई कसरी जित्ने? (अझ हाम्रा शिक्षाविद् र विश्वविद्यालय त यस भन्दा निकै अगाडि पुगिसकेका छन्। तिनले शिक्षालाई यस्तो खेलमा रूपान्तरित गरिदिएका छन्, जसमा एउटाले जित्दा कम्तीमा बीस जनाले हार्छन्।)
यो खेलबाट केटाकेटी आक्रामक र उदासीन बन्न पुग्छन्। ठीक त्यस्तै, जस्तो किटी जेनोभिसको हत्याको बेला भएको थियो। एउटाले अस्वाभाविक आवेश र क्रूरतापूर्वक किटीको हत्या गरिरहेको थियो र अन्य ३८ जना आधा घण्टासम्म हत्याकाण्ड हेरिरहेका थिए। एकदमै उदासीनतापूर्वक। न कोही किटीलाई जोगाउन अगाडि आयो, न त कसैले अरूसँग गुहार नै लगायो। बच्चा स्कुल आउँदा अरू मानिस, खास गरी अरू केटाकेटीका बारेमा एकदमै जिज्ञासु हुन्छ। उसका लागि कक्षामा सबै भन्दा रोमाञ्चक वस्तु अरू केटाकेटी नै हुन्छन्। तर त्यहाँ उसले यस्तो अभिनय गर्नुपर्छ मानौं उसका वरिपरि, ऊ नजिकै बसेका अरू केटाकेटी वास्तवमा त्यहाँ छँदैछैनन्। ऊ तिनीहरूसँग घुलमिल हुन पाउँदैन, तिनीहरूसँग कुराकानी गर्न पाउँदैन, उनीहरूलाई हेरेर मुस्कुराउन पाउँदैन, प्रायः उनीहरूतिर हेर्न पनि पाउँदैन। थुप्रै स्कुलमा घण्टी सकिएपछि कक्षा कोठा बाहिर, भर्याङ र बरन्डामा समेत अर्को बच्चासँग कुरा गर्न पाइँदैन। कैयौं महँगा, नाम चलेका स्कुलमा त टिफिनको छुट्टीमा पनि केटाकेटीलाई एकअर्कासँग कुराकानी गर्न अनुमति दिइँदैन। यो तालीम यस्तो समाज रच्नका निम्ति हो, जसमा तपाईं अरूलाई फसाउन र उसबाट फाइदा लिन मात्र उसमाथि ध्यान दिनुहुन्छ। अन्यथा तपाईं अरूको पूर्णतः उपेक्षा गर्नुहुन्छ।
स्कुल मार्फत केटाकेटीलाई यस्तो जिन्दगी जिउने बानी बस्छ, जसमा आफू वरिपरिको कुनै पनि कुरालाई ध्यान दिएर हेर्ने आवश्यकता नै पर्दैन। अर्को शब्दमा भन्दा— स्कुलले केटाकेटीलाई आफ्नो ‘स्विच अफ’ गर्ने लामो तालिम दिन्छ। यसैकारण हुन सक्छ, थुप्रै किशोर र युवाहरू दुनियाँका बारेमा बालापनमा प्राप्त प्राकृतिक चेतना र त्यसमा रहँदा प्राप्त हुने खुशी गुमाउन पुग्छन् अनि त्यसलाई लागू पदार्थहरूमा खोज्न थाल्छन्। पट्यारलाग्दा हुनुका साथै अधिकांश स्कुल भद्दा, उदासीन र अमानवीय पनि हुन्छन्। ती स्कुल पनि, जो ज्यादै महँगा र तडकभडकवाला हुन्छन्। म आजसम्म सयौं नयाँ-पुराना स्कुल भवनमा गइसकेको छु तर ती मध्ये राम्रा स्कुल एउटा हातका औंलामा गन्न सक्छु। यी स्कुलहरूमा दलान, बार्दली, भर्याङ र कक्षा कोठाहरू बीचका हिंड्ने ठाउँका भित्तालाई केटाकेटी र अरूले बनाएका चित्र, कलाकृति र मूर्तिले सजाएर जीवन्त बनाइएको थियो। नत्र त, स्कुलका भित्ताहरूमा टाँसिएका पोस्टर र अंकित वाक्यहरूमा प्रायः वाहियात कुरा नै लेखिएको हुन्छ। जस्तै— ‘राक्षसी प्रवृत्तिको नाश होस्’, ‘पापीहरूलाई पृथ्वीमा स्थान छैन’, अथवा ‘गुरुको आज्ञा पालन गर’, ‘शान्त बस’, ‘हल्ला नगर’, ‘सधैं पढाइमा ध्यान देऊ’, आदि।
शान्त बस... चूपचाप बस... विद्यार्थीले स्कुलमा प्रायः यिनै शब्द सुनिराख्नुपर्ने हुन्छ। मानिलिनोस्, सुदूरवर्ती कुनै अज्ञात ग्रहको खतरनाक जासूस निकट भविष्यमा पृथ्वीलाई कब्जा गर्ने योजना बनाउँदैछ। त्यसका निम्ति पृथ्वीका भोलिका बासिन्दालाई ज्यादै मूर्ख, निष्क्रिय र कल्पनाशून्य बनाउने रणनीति अपनाउने हो भने आजका बालबालिकालाई हरेक दिन घण्टौंसम्म हलचल नगरी, नबोली चूपचाप बसाउनु जस्तो प्रभावशाली उपाय उसका सामु अर्को हुनै सक्तैन। यो उपाय अपनाउनासाथ उसको रणनीति पूरापूर सफल हुन्छ। केटाकेटीहरू जिन्दगी समग्रतामा जिउँछन्। उनीहरूका शरीर, मांसपेशी, आवाज, मस्तिष्क सबैले सँगसँगै काम गर्छन्। तपाईंले उनीहरूको कुनै पनि अंग, कुनै पनि गतिविधिमा अंकुश लगाइदिनुभयो भने उनीहरूको समग्र क्रियाकलाप कुण्ठित हुन पुग्छ, उनीहरू समग्र रूपमै निष्क्रिय हुन पुग्छन्।
केटाकेटीका आ–आफ्नै प्राथमिकता हुन्छन्। हुन सक्छ, कुनै बच्चाले सबै भन्दा जरूरी लाग्ने काम अहिले गर्न नसकिरहेको वा नचाहिरहेको होस्। ऊ अर्को कुनै काममा लागेको होस्, जसमा उसलाई उत्तिकै स्वाद र सन्तोष प्राप्त भइरहेको होस्। जुनवेला कुनै केटाकेटी असहजतामा हुन्छ त्यसवेला यस्ता प्राथमिकता निकै महत्वपूर्ण हुन पुग्छन्। त्यसवेला उसले आफूलाई सबै भन्दा मन लागेको काम गर्न पाएन भने उसबाट अरू काम पनि हुन सक्तैनन्। बच्चामा ब्रेक लाग्छ; ऊ रोकिन्छ। त्यसैगरी, जसरी मेन स्विच बन्द गरेपछि अरू स्विच स्वतः बन्द हुन पुग्छन्। चिल्ड्रेन्स कम्युनिटी र त्यस पछिका अरू ठाउँमा मैले जेजस्तो देखें, त्यसबाट मलाई के लाग्न थालेको छ भने केटाकेटीलाई उग्र/चर्को किसिमका शारीरिक र शाब्दिक क्रियाकलापहरूको आवश्यकता हुन्छ। तिनलाई गहिरा व्यक्तिगत सम्बन्धहरूको पनि अत्यन्तै आवश्यकता हुन्छ। यसको अर्थ केटाकेटी सधैं लडाइँ–झगडा गरिरहुन् भन्ने होइन। तर केटाकेटीलाई कक्षामा बढ्तै दबाएर राखिएपछि उनीहरू निराश भएर भित्रभित्रै क्रुद्ध हुन पुग्छन्। त्यसवेला तिनको आवेगलाई रोक्न कठिन हुन्छ। यस्तै वेला उनीहरू एकअर्कासँग लडाइँ–झगडा गर्छन्। तपाईंलाई लाग्दो होला, केटाकेटीलाई विना नियन्त्रण छोडिदिएपछि उनीहरू एक–अर्कासँग झगडा बाहेक अरू के नै गर्न सक्छन् त?
सानो उमेरको प्रत्येक केटाकेटी चाहन्छ- कसैले उसलाई महŒव देओस्, छोओस्, सुमसुम्याओस्, समातोस्, बोकोस्, उफारोस्, हातमा समातेर हाराबारा खेलाउँदै घुमाओस्। चिल्ड्रेन्स कम्युनिटीमा पहिलो पल्ट जाँदाखेरिको सम्झना आज पनि मेरो मनमा ताजा छ। बिल आइरस त्यसका संस्थापक प्रधानअध्यापक थिए र उनैले मलाई मिशिगन विश्वविद्यालयबाट त्यहाँ लिएर गएका थिए। हामी स्कुलको ठूलो हलमा गयौं। बिल सामान्य लुगामा थिए र मैले गाढा नीलो रंगको सूट लगाएको थिएँ। केटाकेटीले मतिर ध्यान दिएनन् तर बिललाई चारैतिरबाट घेरे। प्रत्येक बच्चा बिललाई केही न केही भन्न वा सोध्न आतुर थियो। सबै बच्चा एकै चोटि ‘बिल, बिल’ भनिरहेका थिए। एउटा सानो बच्चा चिच्यायो, ‘बिल, मलाई बोक।’ बिलले उसलाई बोके। अनि अरू बच्चा पनि चिच्याउन थाले, ‘मलाई पनि बोक, मलाई पनि बोक।’
बिलले भने, ‘म दुई जनालाई एकै चोटि बोक्न सक्तिनँ।’ त्यसैवेला अनायास मैले भनें, ‘म बोक्न सक्छु।’ केटाकेटीले मतिर मुन्टो फर्काए र मलाई बडो ध्यानपूर्वक हेरे। ‘खूबै होला... !’ केहीले भने। ‘म सक्छु। नपत्याएको?’, उनीहरूका आँखामा हेरेर मैले भनें। अनि दुई जना बच्चा हिचकिचाउँदै मतिर आए। म टुक्रुक्क बसें र दुवै जनालाई एक–एक वटा हातले च्यापेर उभिएँ। यसबाट केटाकेटी उत्तेजित भए। सबै जना खुशीले चिच्याउन थाले। म एकाएक उनीहरूको प्रिय हुन पुगें। त्यही वेला मैले अनुभव गरें, दुई जना बच्चालाई दुईतिर कम्मरमा च्यापे पनि मेरा दुवै हात लगभग मुक्त छन्। अनि भनें, ‘कोही आउने भए म अर्को एक जनालाई पनि बोक्न सक्छु।’ सबै केटाकेटी चिच्याए, ‘असम्भव !’ तर, मैले बोलाउन नछोडेपछि अर्को एक जना बच्चा अगाडि आयो। मैले अलिकति निहुरिएर उसलाई दुवै हातले समातेर उचालें र छातीमा टाँसें। त्यस पछि त केटाकेटीको खुशीको सीमा रहेन। उनीहरू मसँग पूरै झ्याम्मिए। कहिले कुनै बच्चा मेरो पिठ्यूँमा चढ्थ्यो त कोही मेरो काँधमा अथवा हातमा झुन्डिने प्रयास गथ्र्यो। एक छिन पछि म थाकें।
अधिकतर स्कुलमा त वास्तविक दुनियाँ र वास्तविक वस्तु तथा मानिसहरूसँग केटाकेटीको सम्पर्क हुँदै हुँदैन। यस्ता दिक्कलाग्दा, भद्दा र अमानवीय स्थलहरूमा- जहाँ कसैले कहिल्यै सच्चा कुरा बोल्दैन, जहाँ सबै जना कृत्रिम अभिनय गरिरहेका हुन्छन्, जहाँ शिक्षक र केटाकेटी आपसमा इमानदारीसाथ संवाद गर्न स्वतन्त्र हुँदैनन्, जहाँ हरेक व्यक्ति शंका र चिन्ताको छायामा बाँचेको हुन्छ- केटाकेटी निश्चेष्ट र जड हुन पुग्छन्। उनीहरू आफ्नो ऊर्जा ती ससाना क्षणहरूका निम्ति बचाएर राख्छन्, जो तिनका नितान्त निजी हुन्छन् तर जसलाई वयस्कहरू एकदमै तुच्छ ठान्छन्। जुन केटाकेटी यस व्यवस्थासँग लड्छन्, यसलाई हराउँछन् अथवा यससँग घृणा गर्छन् ती पनि अन्ततः आफूलाई यसै व्यवस्थाको अंगको रूपमा पाएर आफैंप्रति घृणा गर्न थाल्छन्। यस्ता केटाकेटी विरलै हुन्छन्, जो स्कुलको पढाइ पूरा गरिसक्ता पनि आफ्नो जिज्ञासा र स्वतन्त्रता, आफ्नो स्वाभिमान र क्षमता अनि आफ्नो दृष्टिमा आफ्नो महत्वलाई जोगाएर राख्न सफल हुन्छन्।
...
हामीले के गर्नुपर्छ त? धेरै थोक। कति कुरा त एकदमै सरल छन्, हामी तुरुन्तै गर्न सक्छौं। केही कठिन छन्, तिनका लागि अलिक समय लाग्न सक्छ। पहिले एउटा कठिन कुरालाई नै लिऊँ। हामी स्कुलमा हाजिरीको अनिवार्यतालाई समाप्त पारौं। कम्तीमा त्यति परिवर्तन त अवश्यै गरौं, जसबाट केटाकेटीले वर्षमा पचास-साठी दिनको आधिकारिक छुट्टी (सप्ताहान्त बाहेक) पाउन सकुन्। स्कुलमा अनिवार्य हाजिरीको नियमले कुनै वेला उपयोगी र मानवीय भूमिका खेलेको थियो। यसका कारण केटाकेटीको स्कुल जाने अधिकार सुरक्षित भयो। नत्र असंख्य वयस्कहरूले खेत, पसल, उद्योग, खानी र कारखानामा तिनको श्रम शोषण गर्नेथिए। तर आज यो नियम स्कुल, शिक्षक र विद्यार्थी कसैको पनि हितमा छैन। जो केटाकेटी स्कुल जान चाहँदैनन् तिनलाई स्कुलमा राख्ता स्कुलले अनेक समस्या र कठिनाइ झेल्नुपर्छ। जबर्जस्ती स्कुलमा राख्ता क्रुद्ध भएका र चिढिएका यी ‘साना कैदी’ हरूले मौका पाउनासाथ जे गर्छन्, त्यसको क्षतिपूर्तिका निम्ति चुकाउनुपर्ने मूल्यको हिसाब अझ बेग्लै छ।
प्रत्येक शिक्षकलाई राम्रोसँग थाहा छ- जुन बच्चा स्कुल आउन चाहँदैन उसले स्कुलमा आफू त केही सिक्तैन नै, अरूलाई पनि सिक्न मुश्किल तुल्याइदिन्छ। जहाँसम्म केटाकेटीलाई शोषणबाट जोगाउने कुरा छ, आज स्कुल केटाकेटीको शोषणको मुख्य र वास्तवमा एकमात्र संस्था बन्न पुगेको छ। राम्रो कलेजमा प्रवेश पाउने र त्यसनिम्ति उच्च अंक हासिल गर्ने होडमा केटाकेटी हप्तामा झण्डै सत्तरी र कहिलेकाहीं अझ बढी घण्टा काम गर्छन्। यो काम मुख्यतः कागजी हुन्छ। जसलाई कलेज जानु छैन तिनका निम्ति त यो घनचक्कर पूर्णतः समयको बर्बादी नै हो। यसमा होमिदिएपछि उनीहरू न आंशिक समय काम गरेर दुई-चार पैसा जोरजाम गर्न सक्छन्, न कुनै उपयोगी काम गर्न सक्छन्, न त वास्तवमा केही सिक्न नै सक्छन्।
धेरैलाई लाग्न सक्छ, केटाकेटी स्कुल गएनन् भने काम न काज घुमिरहने आवारा हुन्छन्। अहँ, त्यस्तो हुँदैन। तीन कारणले। पहिलो कुरा; स्कुलहरूको अवस्था अहिलेकै जस्तो रहिरह्यो भने पनि अधिकतर केटाकेटीले केही समय त्यहीं बिताउन रुचाउनेछन्, किन भने त्यहाँ उनीहरूले आफ्ना साथीसँग भेट्न, कुरा गर्न पाउनेछन्। स्कुल केटाकेटीको भेटघाट हुने स्वाभाविक ठाउँ हुँदै हो। दोस्रो कुरा; स्कुलहरू अवश्य बदलिनेछन्- ती क्रमशः राम्रा हुँदै जानेछन्। हामीले आजैदेखि स्कुललाई रमाइलो ठाउँ बनाउन थाल्नुपर्छ, जसले गर्दा केटाकेटीलाई त्यहाँ जान मन लागोस्। तेस्रो कुरा; अलिकति प्रयास गरेर, अलिकति दिमाग खेलाएर र अलिकति उनीहरूलाई मदत गरेर, स्कुल जान नचाहने बच्चालाई हामीले अरू त्यस्ता काम गर्न प्रेरित गर्न सक्छौं- जुन काम केटाकेटी सामान्यतः स्कुलमा लामो विदा भएको वेला गर्छन्।
अब केही सरल उपायको कुरा गरौं। हामीले केटाकेटीलाई स्कुलको चौघेराबाट बाहिर निकालेर वास्तविक दुनियाँलाई प्रत्यक्ष रूपमा, सीधै बुझ्ने अवसर दिनुपर्छ। केटाकेटीलाई भित्ताहरूका बीचमा जकड्याएर नै उनीहरू रहने दुनियाँका बारेमा बुझाउन-सिकाउन सकिन्छ भन्ने ‘आधुनिक’ विचार एउटा भद्दा, अशोभनीय धारणा हो। एकदमै काम नलाग्ने, अर्थहीन। खुशीको कुरा के भने, कतिपय शिक्षाविद्ले अब यो कुरा बुझ्न थालेका छन्। फिलाडेल्फिया, पोर्टल्यान्ड जस्ता कैयौं ठाउँमा यस अनुरूप शैक्षिक योजना बनिरहेका छन्। यी स्कुलहरूको आफ्नो भवन नै हुनेछैन; स्कुलले आफ्ना विद्यार्थीलाई शहर लैजानेछन् र त्यहाँ रहेका वस्तु तथा मानिसलाई सिकाइको संसाधनका रूपमा उपयोग गर्नेछन्। अमेरिकाकै कैयौं शहरमा थुप्रै निजी स्कुलहरूले यो काम पहिल्यैदेखि गरिरहेका छन्। यो राम्रो तरीका हो, हामीले यसलाई प्रोत्साहित गर्नुपर्छ।
यसरी, एकातिर केटाकेटीलाई सिकाइका निम्ति असली दुनियाँमा लैजान सकिन्छ भने, अर्कातिर असली दुनियाँको केही अंश स्कुलमा पनि ल्याउन सकिन्छ। अधिकतर केटाकेटीले आफ्ना आमाबाबु, नातेदार र शिक्षकहरू बाहेक अन्य वयस्कसँग भेटघाट, कुराकानी गर्ने मौका प्रायः पाउँदैनन्। स्वाभाविक छ, तिनलाई वयस्कहरूको जीवनशैली, काम र कार्यशैली बारे केही थाहा हुँदैन। हामीले स्कुलमा केटाकेटीसँग भेटघाट, कुराकानी गर्न यस्ता थुप्रै मानिसलाई ल्याउने गर्नुपर्छ, जो शिक्षण पेशामा छैनन्। मलाई यस्तो एउटा स्कुल बारे थाहा छ- जो चित्रकार, मूर्तिकार, काठ र माटोका कलाकार, संगीतकार र अन्य सृजनशील मानिसहरूलाई केटाकेटी बीच रहन आमन्त्रित गर्छ। स्कुलले उनीहरूसँग अनुरोध गर्छ, ‘कृपया केही हप्ता (अथवा केही महीना) का लागि हाम्रो स्कुलमा पाल्नुहोस्।
यहीं रहनुहोस् र स्कुललाई आफ्नो कार्यशाला जसरी उपयोग गर्नुहोस्। आफ्नो काम ढुक्कसँग यहीं गर्नुहोस्। काम गरेको वेला केटाकेटीलाई हेर्न दिनुहोस्। त्यसवेला केटाकेटीले कुनै प्रश्न गरे भने, तपाईंलाई मन लागेको खण्डमा, त्यसको उत्तर पनि दिनुहोस्।’ न्यूयोर्कमा ‘टीचर्स एन्ड राइटर्स कोल्याबोरेटिभ’ नामको एउटा संस्था छ। यो लेखक, पत्रकार, कवि, कथाकार, नाटककारहरूको समूह हो। यसका सदस्य नियमित रूपमा विभिन्न स्कुलमा जान्छन् र केटाकेटीसँग आफ्नो काम र त्यससँग जोडिएका समस्याका बारेमा चर्चा गर्छन्। यसमा केटाकेटी खूब रमाउँछन्। गाउँको एउटा स्कुलमा चाहिं नजिकैको शहरबाट एक जना सफल वकील प्रत्येक महीना आउँछन् र विभिन्न कक्षामा कानूनका विषयमा चर्चा गर्छन्। उनी किताबी कुरा भन्दा दिन–प्रतिदिन आफूले बहस गर्ने मुद्दाहरूमा आएका जटिलता बारे कुरा गर्छन्, जसमा केटाकेटी अत्यन्त उत्सुकतासाथ भाग लिन्छन्। घटनाहरू वास्तविक हुन्छन्, केटाकेटीका लागि भनेर काटछाँट गरिएका वा कपोलकल्पित हुँदैनन्।
यी भन्दा पनि सरल उपायहरू हेरौं। केटाकेटीलाई आपसमा मिलेर काम गर्न दिऊँ, एकअर्काको मदत गर्न दिऊँ, एकअर्काको गल्तीबाट सिक्न दिऊँ। शहर र गाउँका, धनी र गरीब स्कुलहरूको समान अनुभव के छ भने, केटाकेटीहरू सामान्यतः अन्य केटाकेटीका सर्वश्रेष्ठ शिक्षक हुन्छन्। आफैं कनीकुथी पढ्ने पाँचौं–छैटौं कक्षाको बच्चाले जब पहिलो कक्षाको बच्चालाई पढ्न सिकाउन थाल्छ; त्यसवेला सानो बच्चाले त सहजतासाथ सिक्छ नै, ठूलो बच्चा स्वयंको पढ्ने क्षमता पनि अकस्मात् राम्रो हुन थाल्छ। यो असाध्यै महत्वपूर्ण कुरा हो। अब कैयौं स्कुलले, अलिकति डराउँदै र अलिकति आत्मविश्वास सँगाल्दै, केटाकेटीको जोडी बनाएर सिक्ने–सिकाउने प्रक्रिया अघि बढाएका छन्। यस्तो जोडी शिक्षकले बनाइदिने होइन, केटाकेटीलाई नै आफ्नो जोडी छान्न दिनुपर्छ। उनीहरूले सँगसँगै पढ्छन्, सिक्छन्, काम गर्छन् र सँगसँगै परीक्षा दिन्छन्। नम्बर पनि उनीहरूले, आफ्नो काम अनुसार, जोडीमै पाउँछन्। जोडीमा काम गर्न दिनु सिकाइको निकै प्रभावशाली तरीका हो। ‘मन्दबुद्धि’ बच्चाहरूलाई पढाउने एक शिक्षकका अनुसार, यसरी जोडीमा काम गर्न दिंदा केटाकेटीले हासिल गरेको सिकाइ–उपलब्धि एक्लाएक्लै काम गर्दाको भन्दा निकै उम्दा थियो। हामीले यस्तै उपलब्धि, यस्तै परिणामको अपेक्षा गर्नुपर्छ। यो तरीका अपनाएर शिक्षकहरूले एउटा अर्को निकै जटिल समस्याको समाधान पनि प्राप्त गर्न सक्छन्। थुप्रै केटाकेटी आफ्नो स्वाभिमान र आत्मसम्मान जोगाउन जानीबुझी फेल हुने रणनीति अँगाल्छन्। जोडीमा काम गर्न पाएपछि उनीहरूले यो रणनीति छोडेर चुनौतीको सामना गर्न तयार हुने सम्भावना बढ्छ।
केटाकेटीलाई आफ्नो मूल्यांकन स्वयं गर्न दिनुहोस्। बोल्न सिक्तै गरेको बच्चालाई घरीघरी ‘त्यसरी होइन, यसरी’ भन्न थाल्नुभयो भने उसले सिक्न सक्तैन। बारम्बार भनिराख्नुभयो भने बरु उसले बोल्न नै बन्द गर्छ। ऊ दिनभरिमा हजारौं पटक आफू स्वयंको, अनि आफ्ना वरिपरिका अरूले बोलेको भाषाको तुलना गरिरहेको हुन्छ। बिस्तारै–बिस्तारै ऊ आफ्नो भाषा अरूको जस्तो बनाउने प्रयास गर्छ। यसैगरी केटाकेटीहरू अरूले नसिकाई स्वयं थुप्रै कुरा सिक्छन्; जस्तै हिंड्ने, दौडिने, भर्याङ चढ्ने, सुसेल्ने, साइकल चलाउने, स्केटिङ गर्ने, उफ्रिने, डोरी नाघ्ने, विभिन्न खेल खेल्ने आदि। यी सबै क्रियाकलापमा उनीहरू आफ्नो कामको तुलना कुशल व्यक्तिको क्रियासँग गर्छन् अनि क्रमशः आफ्नो क्रियाकलाप सुधार्दै जान्छन्। तर, स्कुलमा हामी केटाकेटीलाई आफ्ना गल्ती चिन्ने–थाहा पाउने मौकासम्म दिंदैनौं, स्वयं गल्ती सुधार्न मौका दिने त कुरै छाडौं। हामीलाई लाग्छ, हामीले नभनिदिएसम्म केटाकेटीले आफ्नो गल्ती नै थाहा पाउँदैनन् अनि हामीले नभनिदिने हो भने तिनले आफ्नो गल्ती कहिल्यै सुधार्दैनन्। यस प्रकार केटाकेटी छिट्टै विशेषज्ञमा निर्भर हुन पुग्छन्।
केटाकेटीलाई आफ्ना गल्ती आफैं सुधार्न दिनुहोस्। उनीहरूलाई मन लाग्यो भने अरू केटाकेटीको सहायताले स्वयं शब्दको अर्थ खोजुन्, समस्याको समाधान खोजुन् अनि कुराकानी गर्ने सही तरीका सिकुन्। विज्ञान र गणित जस्ता कतिपय विषयमा मात्र, जहाँ एउटा मात्र सही उत्तर हुन्छ र त्यो अनिवार्य हुन्छ, तिनलाई सही उत्तर उपलब्ध गराउनुहोस्। होमवर्क, परीक्षाको कापी आदि उनीहरूलाई स्वयं जाँच्न दिनुहोस्। यस्ता निरर्थक काममा शिक्षकले आफ्नो समय किन खेर फाल्ने? शिक्षकले त, बच्चा स्वयंले ‘मलाई सही उत्तर खोज्ने तरीका आएन’ भन्यो भने, त्यसवेला उसलाई मदत गर्ने हो। गर्नैपर्छ। परीक्षा र परीक्षाफल जस्ता बेकारका कुुरालाई शिक्षकले बिर्सिदिए हुन्छ। कुन बच्चाले के जान्दछ र के बुझ्दछ भन्ने कुरा हामी न जान्दछौं न त कहिल्यै जान्न नै सक्छौं। प्रश्न सोधेर त यो कुरा झन् जान्नै सक्तैनौं। कसलाई के आउँदैन, हामी त्यो मात्र जान्न सक्छौं। सबै परीक्षाहरू केटाकेटीलाई यसैगरी फसाउने जाल हुन्। यस जाललाई लुँड्याएर भर्सेलामा हालिदिनुहोस् र केटाकेटीलाई त्यो सिक्न दिनुहोस्, जुन कुरा हरेक शिक्षित व्यक्तिले एक दिन सिक्नुपर्छ- आफ्नो ज्ञान र सिकाइलाई स्वयं मापन÷मूल्यांकन गर्ने अनि आफूलाई के आउँछ र के आउँदैन भनेर स्वयं पत्ता लगाउने।
अब फेरि कठिन सुधारका कुरा। अनिवार्य, निश्चित पाठ्यक्रमलाई हटाइदिनुहोस्। मानिसहरू रोचक र उपयोगी कुरा मात्र याद राख्छन्। यस्ता कुरा; जसबाट तिनलाई दुनियाँ बुझ्न मदत मिल्छ अथवा दुनियाँको आनन्द लिन वा त्यहाँ आफ्नो काम चलाउन सहयोग पुग्छ। बाँकी सारा कुरा, कुनै दिन सिकेका नै रहेछन् भने पनि, तिनले छिट्टै बिर्सन्छन्। यो दुनियाँ जटिल छ र तीव्रतासाथ बदलिंदैछ। स्कुलमा कुनै निश्चित ‘ज्ञानको भण्डार’ लाई सिकेर जिन्दगीभर त्यसको उपयोग गर्ने भन्ने कुरा निरर्थक कल्पना सिवाय केही होइन। तीतो सत्य के हो भने, दुनियाँका सबै भन्दा ज्वलन्त प्रश्न र समस्याहरू स्कुल, कलेज र विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिंदै गरिंदैनन्। कुनै पनि विश्वविद्यालयको ब्रोसर पढ्नुहोस् त, तपाईंलाई पीडित गर्ने सर्वाधिक ज्वलन्त समस्यालाई त्यहाँ सम्बोधन गरिएको छ कि छैन?
वर्षौंको गलत शिक्षापछि पनि केटाकेटी जुन कुरा सबै भन्दा बढी चाहन्छन्, त्यो हो- यस दुनियाँलाई, आफू स्वयंलाई र अरू मानिसलाई बुझ्न। उनीहरूले चाहेमा यस कार्यमा तिनलाई मदत गर्नुहोस्। तर तपाईंको मदत त्यस्तो हुनुपर्छ, जस्तो तिनले चाहन्छन्। चिन्ताग्रस्त अभिभावक र शिक्षकको प्रश्न हुन सक्छ, ‘यसो गर्दा पनि केटाकेटीले दुनियाँमा बाँच्न आवश्यक कुनै सार्थक कुरा सिकेनन् भने के होला?’ तपाईं यसको चिन्ता नगर्नुहोस्। यदि कुनै कुरा दुनियाँमा बाँच्न आवश्यक रहेछ भने केटाकेटीले त्यसलाई पत्ता लगाएर सिक्ने नै छन्। वयस्कहरूको जिज्ञासा हुन सक्छ, ‘केटाकेटीले भविष्यका लागि उपयोगी कुरा सिकेनन् भने के होला?’ कुनै पनि कुरा त्यसवेला सिकिन्छ जब त्यसको आवश्यकता महसूस गरिन्छ।
भविष्यमा के सिक्नुपर्ने हुन्छ, त्यो आज कसैले पनि जान्न सक्तैन। बीस वर्ष पछि हामीलाई जुन ज्ञानको आवश्यकता पर्ला, त्यस मध्ये अधिकतर आज शायद उपलब्ध नै नहोला। वयस्कहरू भन्न सक्छन्, ‘केटाकेटीलाई स्वतन्त्र छाडिदिने हो भने तिनले खराब कुरा मात्र चुन्नेछन्।’ अवश्य पनि, केटाकेटीले चुनेका मध्ये कतिपय निक्कै खराब कुरा पनि हुन सक्छन्। तर, उनीहरूले राम्रा कुरा चुन्न त्यसवेला मात्र सक्छन् जब स्वयं तिनलाई चुन्नेछन् र तिनको सहारामा बाँच्नेछन्। मानिसले आफ्नो गलत चयन थाहा पाउनु र त्यसलाई बदल्नु महत्वपूर्ण कुरा हो। कसैले कहिल्यै कुनै गल्ती नै गर्न पाएन भने उसले त्यसलाई कसरी सुधार्ला? अनि, उसका गल्तीलाई अरूले नै सुधारिदिइराख्ने हो भने उसले कसरी सिक्ला? ध्यान दिनुपर्ने सबै भन्दा महत्वपूर्ण कुरा के हो भने, जुन बच्चाले वास्तवमा कहिल्यै चयन गर्ने मौका पाएको छैन, उसलाई सही चयन गर्ने र निर्णय लिने आफ्नो क्षमतामाथि विश्वास कसरी उत्पन्न होला? र, आफ्नो जिन्दगी आफ्नो निर्णयका आधारमा स्वयं अघि बढाउन सक्ने विश्वास छैन भने ऊ कसको शरणमा जाला?
मूल प्रश्न एकदमै सरल छ। हामी केटाकेटीलाई भीरू, आज्ञाकारी, डरछेरुवा, कायर, भेडा जस्ता बनाउन चाहन्छौं कि मुक्त, स्वतन्त्र, आत्मविश्वासयुक्त, मानिस जस्ता? हामीलाई भेडा चाहिएको हो भने हाम्रा स्कुलहरूको वर्तमान अवस्था त्यसका लागि एकदमै उपयुक्त छ। होइन, हामीलाई मुक्त, स्वतन्त्र, आत्मविश्वासयुक्त र सृजनशील मानिस चाहिएको हो भने हामीले केही ठूलठूला परिवर्तन गर्नैपर्छ।
(शरच्चन्द्र वस्तीद्वारा अनूदित ‘असफल स्कुल’ नामक पुस्तकको अंश। विख्यात अमेरिकी शिक्षाविद् जोन काल्डवेल हल्टको पुस्तक ‘द अन्डरअचीभिङ स्कुल’ को यो नेपाली संस्करण सिकाइ समूहले प्रकाशन गरेको हो। यो पुस्तक यही भदौ २५ गते विमोचन हुँदैछ।)