सम्झन्छु ती दिनहरू
जब म बुवालाई
मन पराउँदिन थिएँ
बुवा देख्ने बित्तिकै
म आफ्नो कोठामा छिर्थें
मेरा स-साना उपलब्धिमा
बुवाले कहिल्यै
प्रोत्साहन दिनुभएन
न त कहिल्यै
ताली बजाउनुभयो
मैले दस रूपैयाँ माग्दा
सधैं पाँच मात्र दिनुभयो
कतै जाँदा
हिँड्न गाह्रो भए
सुस्ताउन लगाउनु भयो तर
ट्याक्सी चढाउनु भएन
घाममा हिँड्दा होस्
वा पानीमा रूझ्दा
सधैं उहाँले
नदेखे झैं गर्नुभयो
मलाई मन मनै
बुवासँग रीस उठ्थ्यो
म खेल्दा खेल्दै लड़थें
मलाई नदेखेको झैँ गरेर
बुवा अखबार पढेर बस्नुहुन्थ्यो
म आँसु पुछ्दै उठ्थें
बुवाको माया नपाएको चोटले
लड्दाको पीडाभन्दा बढी दुख्थ्यो
तर आज,
जीवनको उत्तरार्द्धमा पुगेर
फर्केर हेर्दा बल्ल बुझ्दैछु
बुवाका
अर्थहीन लाग्ने,
रीस उठाउने,
निरास बनाउने
साना साना प्रयास त
मेरा लागि बुवाले कोर्नु भएको
जीवन दर्शन पो रहेछन्,
यात्रामा थाक्दा सुस्ताए हुन्छ
तर छोटो बाटो लिनुहुन्न,
थाहै नपाई
मैले बुझेको रहेछु,
संघर्ष गर्दा
घाम-पानी
खेप्न सक्ने भएछु,
अघि बढ्दा लडेर पनि
उठ्न सक्ने भएछु,
पैसाको महत्व बुझेको रहेछु,
बुवाको प्रोत्साहन स्वरुप
एउटा धाप पाउने आसमा
मैले यति धेरै परिश्रम गरेछु कि,
जीवन यात्रामा
धेरै अघि बढ्न
सफल भएछु ।
म लडेको पीडासँगै
बुवाको मन कति पोल्थ्यो होला
देखेर पनि नदेखे झैं गर्दा
बुवाको आँखा
कति बिझाउँथ्यो होला
तर मलाई जीवन बुझाउन,
बाँच्ने सूत्र सिकाउन
बुवा कति कठोर
हुनु भएको रहेछ
आफ्नो मुटुमा ढुंगा राखेर
मलाई ढुंगा जस्तै बलियो
बनाउनु भएको रहेछ,
त्यो सबै
जिन्दगी बाँच्नकालागि गराएको
अभ्यास पो रहेछ
त्यो बेलाको
मेरो उहाँ प्रतिको सारा द्वेष
उहाँको आदर र सम्मानमा
सधैं यी आँखामा टल्किन्छन्
बुवाको त्यो स्नेह
जीवनको तिर्नै नसकिने
ऋण बनेको छ ...