‘म सुबिनलाई व्यक्तिगत रूपमा चिन्दिनँ। तर तिमीले उसलाई बनेपाकै माइक्रो फाइनान्सबाट बाइक किनिदिएको कुरा मलाई थाहा छ। त्यतिमात्र होइन महिनाको पाँचहजार दुई शय पैंसट्ठी रूपैयाँ फाइनान्सको किस्ता पनि तिमीले नै तिरिदिन्छौ। उसको मोबाइलमा महिनाको एकहजारको रिचार्ज तिम्रै पैसाबाट हुन्छ। उसले आउँदै गरेको आफ्नो जन्मदिनका लागि तिमीसँग सामसुङ ग्यालेक्सी एसफोर मागेको कुरा पनि मलाई थाहा छ। तर उसले तिम्रो पछिल्लो जन्मदिनमा तिमीलाई एउटा पश्मीना जस्तो देखिने सल उपहार दिएको थियो । त्यो सलको प्याकिङ्मा चौध हजारको बिल पनि थियो । यति कुरा थाहा पाएको मैले एउटा कुरा चाहिँ थाहा पाउन सकेको छैन।’
प्रायः सबै कुरा उसले थाहा पाएको थियो । थाहा नपाएको एउटा कुरा के रहेछ भन्ने भयो निरुलाई। उसले सोधी, ‘यतिका कुरा थाहा पाएको तपाईँले के चाहिँ थाहा पाउन सक्नु भएन?’
‘तिमीलाई त्यो चाइनिज सलको बजार मूल्य सात शय पचास पर्छ भन्ने थाहा छ कि छैन चाहिँ भन्न सक्दिन म ।’
सुबिनबाट उपहार स्वरुमप पाएको इटालियन पश्मीना सल देखेर त्यतिबेला निरु मख्ख परेकी थिई । अझ चौध हजारको बिल पनि देखेपछि ऊ निकै खुशी भएकी थिई । आज त्यही सलको मूल्य सात शय पचास, त्यो पनि इटालियन नभएर चाइनिज भनेको सुनेपछि उसलाई साह्रै दिक्क लाग्यो । दिक्क भन्दा बढी आफ्ना बारेमा अर्पणले त्यति धेरै कुरा थाहा पाएको देखेर उसलाई डर पनि लाग्यो। अर्पणले कति बेला सुबिनका बारेमा यति धेरै जानकारी पायो होला ? यति धेरै जानकारी हासिल गर्न थोरै समयले पुग्दैनथ्यो । अर्पण आफ्नै काममा यति व्यस्त हुन्थ्यो कि, कहिलेकाहीं टेबलमा भएको चिया पिउन बिर्सन्थ्यो। कामको चाप हुँदा कहिलेकाहीं बिहानको खाना दिउँसो अरु सहकर्मीले खाजा खाने बेलामा खान्थ्यो। उसको यस्तो व्यस्तता देखेर नै निरूले उसको काम व्यवस्थित गरिदिन थालेकी थिई। यति व्यस्त रहने अर्पणले त्यति गोप्य राखेको सम्बन्ध र त्यससँग जोडिएका नितान्त व्यक्तिगत जानकारी कोबाट र कसरी थाहा पायो होला? अर्पणको अन्तरयामी रुप देखेर निरूका मनमा अनेक तर्कनाहरु नाच्न थाले।
प्रायः आफ्नै काममा व्यस्त र मस्त हुने अर्पण अरुका व्यक्तिगत कुरामा चासो दिने खालको मान्छे थिएन । त्यसो त ऊ आफ्नो व्यक्तिगत कुरामा अरुले चासो राखेको पनि मन पराउँदैनथ्यो । यस्तो मान्छेले त्यति गोप्य सम्बन्धका बारेमा कसरी थाहा पायो होला? अर्पणको व्यस्तता र आनीबानी नबुझेसम्म जोकोहीका लागि ऊ आफ्नो दक्षताले बनाएको एक घमण्डी केटो थियो। काम गर्दै जाँदा सहयोगी बन्ने उसको बानी सबैलाई रहस्यमय लाग्थ्यो। जोकसैलाई सकेको सहयोग गर्दथ्यो। सिक्ने उत्साह हुनेलाई आफूले जानेको कुरा सिकाउँथ्यो । सबैलाई अगाडि बढ्न प्रेरणा दिन्थ्यो। त्यही भएर पनि निरूले उसलाई काममा सहयोग गरेकी थिई। तर आज अर्पणले आफ्नो अर्को रुप पनि देखायो । अर्पणको यस्तो रुप देखेर निरूको सातो हरायो ।
निरूसँग यति बेला दुई विकल्प थिए । पहिलो अर्पणलाई उसको व्यक्तिगत कुरा कसरी थाहा भयो भनेर सोध्ने, दोस्रो अर्पणलाई आफ्नो जागीर जिम्मा लाएर त्यहींबाट घर फिर्ता हुने। पहिलो विकल्प उसका लागि तुलनात्मक रुपमा सहज थियो। अर्पणले पाएको सूचनाको स्रोतका बारेमा थाहा पाए उसको मन सधैंका लागि हलुका हुने थियो। दोस्रो विकल्पले उसलाई जीवनभर तनाब दिने मात्र होइन अरु धेरै समस्या थपिदिने सम्भावना थियो।
अर्पणले थाहा पाएका कुराको स्रोत थाहा नपाई जागीर छाड्दा त्यो झन् घातक हुने पक्का थियो । निरुले जागीर छाड्नाको कारण अफीसका सबैले थाहा पाउँथे । उनीहरुले थाहा पाएको कुरा बाहिर आए त्यसको परिणाम निरुले सोचे भन्दा भयानक हुन सक्थ्यो । निरुलाई दोमन भयो ।
निरूले पहिलो विकल्प छानी । पहिलो विकल्पमा सीधै प्रवेश गर्ने अवस्था थिएन । उसले वातावरण सामान्य बनाउने कोशिश गरी । उसले आइपुगेको खाजा खाँदै अर्पणलाई सोधी, ‘सर तपाईँले यी सब कुरा कसरी थाहा पाउनु भयो? तपाईँलाई मेरा बारेमा अरु के–के थाहा छ?’
‘मलाई थाहा भएका सबै कुरा भनौं त?’, अर्पणले ठट्यौली पाराले भन्यो।
‘तपार्इंले के भन्न खोज्नुभएको? अरु के थाहा छ तपार्इंलाई मेरा बारेमा?’ प्रश्न सकिँदा नसकिँदै निरूको अनुहार फेरि कालो नीलो भइसकेको थियो। अर्पणले निरुले खाँदै गरेको खाजा हेर्यो । त्यो आधा पनि भएको थिन । उसले कुरामा अरु रहस्य थप्दै भन्यो, ‘तिमीलाई अरु जिस्क्याएँ भने तिमीले यो खाजा खान्नौ भन्ने मलाई थाहा छ।’
अर्पणको कुरा सुनेर निरूको हाँसो आँफै खुस्कियो । त्यहि हाँसोले उसलाई अलिकति राहत मिल्यो । त्यत्तिले दुवैलाई खाजा खाने आधार मिल्यो । भोक लागेकाले अरु कुरा नगरी दुवै जनाले खाजा खाए । खाजा सकेपछि कफी आयो । कफी पिउँदै गर्दा अर्पण निरुको अनुहार हेरेर मुसुमुसु हाँस्यो । निरूलाई उसको हाँसो कुटिल लाग्यो। उसले अर्पणको जानकारीको स्रोतबारे फेरि सोधी, ‘तपार्इंले सुबिन र मेरा बारेमा यतिका कुरा कसरी थाहा पाउनुभो भन्नुस् न प्लीज!’
‘भनें नि, मलाई तिम्रा बारेमा अरु धेरै कुरा थाहा छ।’
‘के थाहा छ त्यस्तो?’
‘तिमी मेरो कुरा पत्याउन्नौ होला, मलाई साउदी अरबको अल हाफिज कम्पनीमा सुपरभाइजरका रुपमा काम गर्ने तिम्रो लोग्ने रमेशका बारेमा पनि थाहा छ।’
अर्पणले रमेशको कुरा गरेपछि निरूका हातगोडा लुला भए। रमेशको नाम सुन्ने बित्तिकै निरूलाई कसैले छातीमा ताकेर गोली हाने बराबर भयो। भर्खरसम्म एकजना गर्लफ्रेण्ड पनि नभएको स्वाँठ लाग्ने मान्छेले आफ्नो ब्वाइफ्रेण्डलाई किनिदिएको बाइक, उसलाई गरिदिने खर्च मात्र हैन उसको लोग्नेले अरबमा काम गर्ने कम्पनी र उसको पदका बारेमा समेत भनेपछि निरुको शरीर चिसो हुनु अस्वाभाविक थिएन।
निरूलाई निकै असहज भयो। भित्रभित्रै उकुसमुकुस भयो । सासै रोकिएला जस्तो भयो । चिट्चिट पसिना आउन थाल्यो। उसको हातले समातेको कफीको कप यति गह्रुँगो भयो कि त्यो टेबलबाट माथि उठ्नै सकेन । निरुले कफीको कपबाट हात हटाई। उसको शरीर थरथरी काँप्न थाल्यो। अर्पणले निरुको अवस्था देखिरहेको थियो । निरूको प्रतिक्रिया जान्नहोला उसले केही पनि भनेन। आफ्नो कप समातेर कफी पिउँदै उसले निरुलाई हेरिरह्यो।
घिमिरेको उपन्यास मौनताको पुस्तक अंश