बृद्ध सासुसँग सधैँको किचलो थियो जानकीको। राम भने आजित भैसकेको थियो श्रीमतीले आमालाई गर्ने व्यवहार देखेर। बिचरा गर्न पनि के नै सक्थियो र ! न आमालाई त्याग्न सक्थ्यो न त श्रीमतीलाई नै।
एकदिन अचाक्ली भो भनेर रामसँग घुर्की लगाउन थाली जानकी– हेर है बुढा भन्दिया छु मैले कि तिम्री आमालाई घरबाट निकाल कि म घरबाट निस्कन्छु!
सधैंको किचलो देखेर वाक्क भएको रामले बृद्ध अनि रोगले थलिएकी आमालाई वृद्धा आश्रममा छोड्ने निर्णय ग¥यो। र भन्यो –मलाई माफ गर आमा! मैले तिम्रो लागि सबै व्यवस्था मिलाएको छु वृद्धाआश्रममा। तिमीलाई दुःख हुन्न त्यहाँ। सबै सुविधा छन्।
अामाले भनिन्- मैले मेरो कर्तव्य पुरा गरे बाबू। तिमीलाई नौ महिना पेटमा बोकें। तीन दिन प्रसव पिडामा दुखें आफ्नो ज्यानै बाजीमा हारेर तिमीलाई जन्म दिए्ँ। दाउराको भारीमाथि राखेर पनि तिमीलाई तीन वर्षसम्म बोकेँ। दुःख गरेर हुर्काएँ। पढाएँ। तर मेरो कुनै गुनासो छैन बाबू। डाँडामाथिको घाम म कुन बेला अस्ताउँछु , मेरो पिर नगर्नु! भगवानसँग प्रार्थना छ। तिम्रो छोराको कारण तिम्रा आँखा नभिजुन्। तिमीले दुःख गर्नु पर्दैन बाबू म आफैं जान्छु। आँखामा छछल्किएको आँशु लुकाउँदै पार्वती आफैं बाटो लागिन्।
समय बित्यो। बुहार्तन झेल्नु नपरेकोमा जानकी खुसी थिई। जानकीले सम्पत्ति सबै सासूकै नाममा छ भन्ने छिमेकीबाट थाहा पाई।
एकदिन उसले रामसँग भनी –सुन्नुस त हजुर, आमा बिना सागर पनि खुसी छैन। घर पनि शुन्य लागेको छ। न्यास्रो पो लाग्यो आमाको जाउँ हिँड्नुस आमालाइ लिएर आउँ!
जानकीले सासूको खुब सुसार गर्न थाली। स्वार्थमा देखावटी मायाको लेप लगाउन थाली। श्रीमतीको स्वार्थबाट बेखबर राम पनि धेरै खुसी थियो श्रीमतीसँग।
कुरै कुरामा एकदिन सम्पत्ति पास गर्ने कुरो उठ्यो। ‘आमा अब सम्पत्ति हजुरको छोराको नाममा गरिदिनु पर्यो। केही व्यवसाय गर्नु हुन्छ, उहाँले सागरलाई पनि अब धेरै पढाउनु छ।’ ख्वाक्क ख्वाक्क खोक्दै पार्वती बोलिन्– सबै भएको सम्पती मैले बृद्धा आश्रमको नाममा गरिदिए बुहारी। भोलि तिम्री बुहारीले तिमीलाई हेला गर्दा तिम्रो जाने ठाउँको बन्दोबस्त गरिदिएकी छु मैले!