जब आकाशबाट नेपाली हिमाल, पहाड र समथर फाँट देखिन थाल्यो मन ढक्क फुल्न थाल्यो। वास्तवमा मुखले कसैले आफ्नो देशको, जन्मस्थान र आमाको माया लाग्दै लाग्दैन भने पनि उसको त्यो भनाइ र सोचाइ पनि गलत साबित हुन्छ, त्यतिबेला जतिबेला ऊ राष्ट्रप्रेम र देशभक्तिको वास्तविक परीक्षामा उत्रिन्छ। अझ भनौं आफ्नो जन्मभूमिमा पाइला राख्छ।
दुई चार दिन पोखराको मनोरम सिनहरूमा रमाएर आफ्नो पुरानो घर तथा आफन्त भेट्न चितवन, नवलपरासी जाने सोचका साथ जापानको टोकियोबाट पोखराको डाइरेक्ट फ्लाइटमा सपरिवार आएका हामी तर एयर ट्राफिक जामले गर्दा भैरहवा विमानस्थलमा ‘डाइभर्ट’ भएछ प्लेन। प्लेनबाट बाहिर निस्कँदा तातो हावाले पुराना दिनहरूको याद गरायो।
तर, छ लेनको बाटोमा दोहोरै झ्वाम्म परेका आँप अनि नीमका रूखहरूको हरियालीले सूर्यलाई साँच्चै छेकिदिँदा त्यो मार्च महिनाको गर्मी पनि सामान्य लाग्दै थियो। पोखरा घुम्ने भनेर होटल बुक गरेका थियौं तर भैरहवा ओर्लेपछि पोखरा किन जानेरु लुम्बिनी घुम्दा के फरक पर्छ भनेर आमा छोरीले जिद्दी गरेपछि मेरो के लाग्थ्यो र, तुरुन्तै एउटा साइबर क्याफे पसेर पोखराको होटल क्यान्सिल गरेर लुम्बिनीको तारे होटेलमध्येको एउटा होटेल बुक गरें मैले पाँच दिनका लागि।
एयरपोर्ट बाहिरको वातावरण साँच्चै राम्रो। एकैछिनमा मनमनै बहकिएँछु म। झन्डै दस वर्ष बितेछ नेपाल छाडेको पनि। मनमुटुमा देशको माया भएर के गर्नुरु गरिखाने वातावरण पटक्कै थिएन त्यतिबेला। अहिलेजस्तो कहाँ थियो? छोरीले कहाँ हराउनु भो भनेपछि म झल्यास्स भएँ।
एकैछिनमा एउटा ट्याक्सी आयो।
‘कहा पुग्नु हुन्छ?,’ ट्याक्सीवालाले सोध्यो।
‘हामी लुम्बिनीको मायादेवी होटेलमा।’
‘आउनुस् मिटरमा जति उठ्छ त्यति दिनुहोला।’
म अचम्ममा परेँ। अनि सम्झें - १० वर्षपहिला मिटर बिगारेर जथाभवी हिँडाउन नपाउँदा ट्याक्सी ड्राइभरहरूले गरेको आन्दोलन। दङ्गदास परेर बाटो वरिपरिका फूल र हेज प्लान्ट हेर्दै थियौं हामी। अचानक ट्याक्सी रोकियो। किन रहेछ भनेको त ट्राफिकलाई पैसा बुझाउने ठाउँ आएको रहेछ। ‘मैले त ख्यालै गरेको रहेन छु, बाटोमा ट्राफिक पुलिस नभएको,’ बुढीले मतर्फ फर्केर भनी।
छोरीले थपिन्, ‘कमन मामु यस्तो सामान्य कुरा पनि।’
मैले भनें, ‘देख्यौ त कस्तो परिवर्तन भएको रै’छ नेपाल हामीले छाडेपछि।’
छोरीले बीचैमा मेरो गाला कोट्याउँदै बोलिन्, ‘पहिला कस्तो थियो र बाबा?’
‘छन त यस्तै थियो छोरी तर धेरै कुरा चेन्ज भाका छन्,’ मैले छोरीको जिज्ञासा मेट्ने प्रयास गरें। हुन पनि उनलाई नेपालको बारेमा त्यतिधेरै थाहा भएन। बीच-बीचमा आउने जाने भए पनि नेपाल छोड्दा उनी छ वर्षकी थिइन्।
अझै आकर्षक बनेछ लुम्बिनी यो ८-१० वर्षमा। विभिन्न देशहरूको सहयोगमा भनेका लोभलाग्दा गुम्बा, चारैतर्फ बोटिङको व्यवस्था, थपिएका हरियाली गार्डेनहरू, ढल निकासको राम्रो प्रबन्ध, छिनछिनमा हाजिर हुने गरेर खटाइएका स्यवम सेवक र सुरक्षाकर्मी। दिनभर रमाइलो गरेर होटल फिर्यौं हामी। रातिको खानापछि एसीको हावामात्रै कति खाने भनेर घुम्न निस्क्यौं बाटोमा। कति शान्त र सुन्दर झन त्यो रात। त्यसमाथि पनि राति ११, १२ बजेसम्म केटाकेटी निर्धक्क हिँडिरहेका, माया साटिरहेका, सपिङ मल रातभर पनि खुल्ला रहेका। कहिलेकाहीँ त सपनाजस्तो लाग्थ्यो चौबिसै घन्टा बत्ती, बाटोभरि दायाँबायाँ उज्याला बत्तीहरू।
के दिन के रात एक/दुई बजेसम्म पनि मान्छेको चहलपहल उस्तै। छोरी त पाँच दिन सकिँदा पनि अझै दुई तीन दिन बसौं भन्दै थिइन्। कति शान्त ठाउँ, कति इमान्दार मान्छेहरू भन्थिन्। तर, मैले नै कर गरेर अर्कोपटक फेरि आउँला छोरी भनेर हिँड्ने बनाएँ त्यो ठाउँबाट।
फर्किने बेला छोरीले जिद्दी गर्दै थिइन् ट्रेनमा जाने भनेर। तर, मैले बुटवल-नारायणगढ खन्डको छ लेनको बाटो, त्यो बीचमा खोलिएको ठूलो औधोगिक क्षेत्र, तराईको ठूलो भू-भाग सिँचाइ गर्न बनेको परियोजना, दाउन्ने देवचुली पहाडहरूमा बनेको मिनी ग्रेटवाल गाडीबाटै भए पनि हेर्दै जाउँ भनेर ट्याक्सीमै जान जोड गरें। जब बुटवलबाट पूर्व लागियो मन चङ्गा भयो। बाटोको दायाँबायाँ रोपेका रुखको सितलताका अलवा ससानो पाइपमा पानीको छिटा फालेर ह्युमिडिटी मेन्टेन गरेकाले साँच्चै सितल भो ज्यान र मन पनि। एकैपटक रूख नै रोप्ने र अलिछिन स्लाइनबाट खाध्यपदार्थ दिने प्रविधि चाइना लगायतका देशमा देखेको थिएँ मैले। तर, नेपालमा पनि निकै फाइदाजनक भएछ। त्यो विधि जसले अर्बान फोरेस्टी र रेभिन्यू ट्रीको रूपमा खुबै राम्रो प्रगति देखाएजस्तो लाग्यो। त्यसैले, त आजभोलि काठमाडौं लगायतका सहरहरू ग्रीन सिटी भएका छन्।
छोरीको जिज्ञासा बढ्यो। उनले सोधिन्, ‘पहिला कस्तो थियो र बाबा नेपालरु मामु निदाइस्यो। मलाई त झन् इन्ट्रेस्ट जागिरा’छ।’
मैले सप्रसंग व्याख्या गर्न थालेँ।
‘सुन्छ्यौ? ल सुन।’
राजनीतिक अस्थिरताले गर्दा देश थिलोथिलो भा’थ्यो। चुनाव जित्ने र राजनीति गर्ने अरुहरूको पनि काम भनेकै सत्ता पल्टाउने र कुर्चीमा आफू पुग्नेमात्रै हुन्थ्यो। त्यसमाथि पनि सरकार फेर्ने साँचो अन्तै हुन्छ भन्थे। जनतामा अहिलेको जस्तो राजनीतिक चेतना नआएको र झन्डै दुईपटक दुई तिहाइभन्दा बढीको सरकार नबनेको भए त कहाँ यतिको प्रगति हुन्थ्यो होला र देशमा? जनता आक्रान्त थिए।
सामाजिक सुरक्षा नाजुक थियो। तिमी-1हामी अहिले हिँडेजस्तो कहाँ हिँड्न सक्थ्यौं र निस्फिक्री? त्यसमाथि पनि चोरी, हत्या, हिंसा, लुटपाट, अपहरणका समाचार सुनिएन भने समाचार निकै खल्ला लाग्थे। तिमीजस्ता हुर्केबढेका छोरीहरू धेरै असुरक्षित थिए। बाटोहरू धेरै कच्ची थिए। पक्की भएका बाटोहरूमा पनि ४-५ वर्षपछि पिच कहाँनिर छ खोज्नु पर्थ्यो। कर्मचारीतन्त्रमा राजनीतिक दलका आसेपासेले मात्रै फाइदा लिन्थे। भ्रष्टाचार मोलाउँदै थियो। अनि अर्कातर्फ कर्मचारीलाई राम्रोसँग खान पुग्ने तलब पनि थिएन। त्यसैले पहुँच बनाएर अवैध तरिकाले दुई चार पैसा बढी कमाउन सकिने ठाउँहरूमा जान कर्मचारीको हानथाप हुन्थ्यो। आर्थिक बृद्धिदर कहाँ अहिलेजस्तो दोहोरो अंकमा थियो र?
छिमेकीले कर्तव्य बिर्सेंर दादागिरी देखाएका बेला अनि भूकम्पले थला परेको बेला त एकभन्दा नि तल झर्यो नि१ सम्झिँदा पनि मन अमिलो भएर आउँछ छोरी, त्यही भूमरीले त हामीलाई पनि परदेशी बनायो नि।
‘अनी अरु भन्नु न बाबा?’
खै के भनम् छोरी। गरिबहरू महंगीले ढाड सेकिएर उठ्न सक्ने अवस्थामा थिएनन्। त्यसमाथि पनि मनमा हरि नभएका कालो बजारियाहरूले न गरिब भने, न भूकम्पपीडित। गरिब झन् गरिब हुँदैथिए, धनी झन् मोटाउँदै थिए। अनि अहिलेजस्तो जहाँतहीँ कार्ड सिस्टम कहाँ थियो र रु त्यतिबेला क्यास पैसा नै लेनदेन हुन्थ्यो, त्यसैले गर्दा पनि कर्मचारीले घुस खाने मौका पाउँथे। जब देशका ठूला-ठूला विध्युत परियोजना सफल भए अनि बिजुलीमा देश आत्मनिर्भरमात्रै बनेन, निर्यात पनि गर्न थाल्यो। बस, कार, मोटरसाइकल सबै बिजुलीले चल्न थाले। खाना बिजुलीमै पाक्न थाल्यो। पेट्रोल, ग्यास किन्ने अर्बौ रुपैयाँ जोगियो। तब पो हाम्रो अर्थतन्त्र बलियो हुन थाल्यो र देश उकालो लाग्यो।
छोरीले सायद सबै बुझिनन्जस्तो लाग्दैथियो। मैले धेरै बोलेजस्तो मान्दै थिएँ, छोरीले बीचैमा कुरा काटिन्।
‘बाबा हेर्नुस् त त्यो ठूलो ड्याम के को हो?’
तराईको समथर भूमि तथा अन्नको भन्डार सिँचाइका लागि बनाएको ठूलो परियोजनाको ड्याम हो छोरी त्यो।’
प्रत्येक प्रान्तमा यस्ता हेर्नलायक परियोजनाहरू छन् अहिले।
‘अनि भन्नु न बाबा के भन्दै हुनुहुन्थ्योरु’
अँ छोरी राजनीतिक चेतना बढ्दै गएपछि र स्थिर सरकार भएपछि वैदेशिक निकाय, निजी, सहकारी क्षेत्र र अन्य मान्छेले पनि लगानी गर्न थाले। फलत: बन्द भएका सबै उध्योग खुल्न थाले। अनि प्रत्येक सहरमा साना ठूला उध्योग खुल्न थाले। देशले के-के आयात गर्छ, त्यही-त्यही उत्पादान गर्न ठाउँ-ठाउँमा उध्योग खोल्ने योजना ल्यायो सरकारले। विदेशमा श्रम गर्नेहरूले पनि घर घडेरीभन्दा उत्पादनमुखी क्षेत्रमा लगानी गर्न थाले। खुसीको कुरा बन्दहडताल सधैंका लागि बन्द भो। यो बीचमा मैले बुझेको छोरी, जनताका आधारभूत कुराहरू पूरा भएपछि बन्द हड्तालका पछि लाग्न आफैं छाड्दा रहेछन्। अहिले त मैले सुनिरा’छु, विरोध गर्नैपरे एउटा ठूलो चौरमा जम्मा भएर मात्रै गर्न पाइन्छ। सरकार दिगो र बलियो भएपछि पेलेर पनि जान सक्दो रहेछ।
‘अनि अरु बाबार?’
जिन्दगीमा यतिधेरै कुराको चासो राखेको मैले थाहा पाइन् मेरी छोरीले। म बोलेर थाकें होला उनको जिज्ञासा अझै थियो। बुढीले निद्रा पुराइसकेकी थिन्।
‘भन्नु न बाबा कसरी चेन्ज भए त मान्छेर?’
मैले थपें। आजभोलि सबै इमानदार भएका छन्। सबैले आफूले गर्ने काम मेरो लागिमात्रै हैन, देशको लागि हो भन्न थालेका छन्। कुरा काटेर बस्ने, चिया गफ गरेर बस्ने चलन हराएको छ। जति पढे पनि कामको सम्मान गर्न थालेका छन् मान्छेहरु। पहिला बाँझो छाडिएका सबै जग्गामा खेती बाली र बहुमूल्य जडिबुटी लगाएका छन्। यूवाहरूलाई तालिम दिएर व्यावसायिक कृषिमा लगाइएको छ। विदेशमा सीप सिकेकाहरू लाई उचित पारिश्रमिक दिएर सरकारले देश फिर्ता बोलाएको छ। अवकासप्राप्त कर्मचारी, प्राध्यापक, वैज्ञानिक, इन्जिनिएर र देशविदेशमा डिग्री हासिल गरेका सबै विद्वानहरूको ज्ञानको पहिचान गरेर सरकारले पारिश्रमिक दिएर सदुपयोग गरेको छ। ठूला-ठूला टेक्निकल विश्वविध्यालयहरू खुलेका छन्। मैले यतै भन्दैथिएँ।
छोरीले भनिन्, ‘अब म जापान नजाने बाबा। यहीँ पढ्छु।’
छोरीको यस्तो कुरा सुनेर होला, अलिअलि बुझेएकी छोरीकी आमा जुरुक्कै उठिन्।
‘किन नजाने छोरी जापानरु हामी जान्छौं तिमी मात्रै बस।’
छोरीले भनिन्, ‘बाबा सम्झाइस्यो न मामुलाई । किन बाबा, मामु यति निर्दयी भएको आफ्नो देशप्रति।’
‘तिम्री मामुको पनि आफ्नै कथा छ छोरी नेपाल बस्न नखोज्नुमा।’
मैले पिआर, डिभी भरेर विदेश जाउँभन्दा पनि पैसा फल्ने रूख छ र त्यहा भन्थी१ मरे पनि बाँचे पनि आफ्नै देशमा भन्थी। तर, ७२ सालतिर होला नाकाबन्दीको बेला मामुको व्यवसाय चौपट्ट भयो। भारतलगायत अन्य देशका पर्यटकलाई पोखरा, मुस्ताङ लाने ल्याउने गर्थी। अफिस तराईतिरै थियो। नाकाबन्दीले पर्यटक आउन छाडे। तेल ग्यास पाउन छाडेपछि न होटेल चल्यो न टुर। त्यसमाथि पनि बन्दमा चलायो भनेर गाडी तोडफोड गरेपछि उनले मलाई के भनिन थाहा छ छोरी?
‘कि मलाई छोड्नुस् कि मलाई लिएर यो देश छोड्नुस्। त्यसपछि
मैले नि मेरो जागिर छाडेर हामी पलायन भयौं छोरी। तर, अहिले परिस्थिति फरक छ, म सम्झाउछु तिम्री मामुलाई।’
‘हामीले आजसम्म कमाएको पैसामात्रै आफ्नै देशमा लगानी गर्यौं भने पनि ठूलो होटल या अरु केही गर्न सकिन्छ,’ छोरी फुरुङ फुरुङ्ग हुन थालिन् आफ्नै देशमा पढ्न पाएर होला। छोरीकी आमा नि मुस्कुराउन थालिन्।
मैले थपें, ‘यति ठाउँ घुम्दा त तिम्रो मामु मुस्कुराइछन्। अझै फास्ट ट्र्याक, सुरुङ मार्ग, सुदूरपश्चिमको खप्तड भ्याली, चीन र भारत जोड्न बनाएको रेल मार्ग पूर्वको आधुनिक इलाम पनि घुमिन् भने के हुने हो?’
‘मम्मी गए नि म त यहीँ पढ्छु बाबा,’ छोरीले थपिन्। चितवन पुगेर आफन्तको मा बास बस्ने निधो गरियो।
एउटा संकल्प गरेर छोरी र छोरीकी आमालाई नेपाल छाडेर एक महिनापछि म भने जापान लागें। जापानमा चलाइराखेको होटेल बेचेर नेपालमै होटेल व्यवसाय गर्नलाई।