उनी फेरि दायाँ कोल्टे फेर्छिन्। उनलाई निद्रा पटक्कै छैन। झ्यालमा पर्दा ढपक्कै लागेको भए पनि बाहिरको उज्यालो चियाउँछिन्। पर्दाको चेपबाट उनी आकाशको उज्यालो मात्रै भेटाउँछिन्। पृथ्वी चुक जस्तै अध्यारो नै छ। यो काठमाडौं शहर नै भएपनि फाट्ट फुट्ट भालेको डाँक सुनिन्छ। तर आज भाले पनि बासेको छैन। कि त चिर्बिर-चिर्बिर चराको आवाज सुनिनु पर्ने। त्यो पनि छैन। 'मतलब अझै अध्यारो नै छ।'
उनी अनुमान लगाउँछिन्। मोबाइल फोन हेर्छिन्। ३ बजेको थाहा पाउँछिन्। 'आ, निद नलागी नलागी के सुत्नु'- उनी जुरुक्क उठ्छिन्। बत्ति बालेर सुटकेस खोल्छिन्। सबै सामानहरु ओल्टाइ-पोल्टाइ हेर्छिन्। 'केही छुटेको छैन' सुटकेस बन्द गर्छिन्। 'अग्ला अग्ला गोरा मान्छेहरुको देश, विशाल विशाल भवनहरु भएको शहर, नयाँ नयाँ युरोको नोट, अत्याधुनिक सेवा, सुविधा तथा जीवनशैली' उनी झसङ्ग झस्किन्छिन्। यसो त्यसो गर्दा गर्दै समय बित्छ। भालेको डाँक सुनिन थाल्छ। चराहरुको चिर्बिराहट गुन्जिन थाल्छ। उनी उठेर आफ्नो तयारी गर्न थाल्छिन्।
*****
'मे आइ कम इन, सर?'
'ब्रान्डेड मेक अप किट्स' र 'स्टाइलिस ड्रेस-अप' ले सिंगारिएकी उनी कुनै फिल्मको शुटिङमा जानु लागेको आभास दिन्छ। उनले लगाएको कसिलो टी-सर्ट र पाइन्ट हेर्दा उनको शरीरको आकार स्पष्ट छुट्टिएको छ। केवल नग्नता छोप्ने प्लास्टिक लेमिनेशन जस्तै छ उनको वस्त्र धारण।
'एस्, प्लिज कम इन'। घुम्ने कुर्सीमा बसेको 'हाकिम साब' कुर्सीलाई हल्का अगाडि तानेर उसलाई बोलाउँछ।
राम्री युवती उसको अगाडि ठींग उभिएकी छ। 'हाकिम साब' शिरदेखि पाउसम्म नियालेर हेर्छ। लोभ उसको नजरमा छ। प्रभाव उसको जिब्रोमा छ। ऊ यसरी नियाल्छ कि ती युवती पानी पुरीकी भण्डार हुन्।
'बस्नुस् न'
'थ्याङ्क यु, सर'
'१७ वर्षकी हुनुहुन्छ है?'
'सर झुक्किनु भए जस्तो लाग्यो, म .....'
'तपार्इँ युरोपियन गर्ल'
'हजुर?'
'मलाई थाहा छ, तपार्इँ २२ वर्षकी भइसक्नु भयो तर तपार्इँको शारीरिक बनावटले कम उमेरकी जस्तो देखिनुहुन्छ।'
'सर पनि ....' केहीबेर दुवै जना हाँस्छन्।
'ल्याउनु भएको छ नि?' सम्हालिँदै 'हाकिम साब' बोल्छ।
युवतीले इशारा बुझ्छिन्। 'हजुर ल्याएको छु'। पाँच ओटा हजार-हजारको नोटको बिटो हाकिम सापको टेबुलमा राखिदिन्छिन्। पैसालाई टेबुलको घर्राभित्र राखिसके पछि 'हाकिम साब' पासपोर्ट झिकेर युवतीलाई दिन्छ।
'निकै अप्ठ्यारोको बाबजुद पनि हामी तपार्इँको काम गर्न सफल भयौं'।
'सरहरुकै सहयोगले मेरो सपना पुरा हुने भो'
'कहीं कतै इन्क्वाइरी भइहालेमा कल्चर युनिटको बारेमा भन्नु पर्ने कुरा त याद छ नि?'
'हजुर सर, म झट्टै बिर्सिन्न'
'तपार्इँ हामी कसैलाई पनि समस्या पर्नु भएन'
'सर, उता पुगेपछि उताको पार्टीले काम त अवश्यै मिलाइदिन्छ नि?'
'आजसम्म उताको एजेन्सीले धोका दिएको छैन, त्यस्तो हुँदैन'
'ठीकै छ, सर'
'शुभ यात्रा। आफ्नो ख्याल गर्नुहोस्। प्रगति गर्नुहोस्'
युवती गइसकेपछि 'हाकिम साब' घर्रा खोलेर फेरि एक पटक पैसाको बिटो हेर्छ अनि बन्द गर्छ र चाँबी लगाउँछ। त्यसपछि टेबुलमा रहेको फोन डायल गरेर कोहीसँग कुरा गर्छ।
****
बर्लिन शहर। एयरपोर्टमा आगमन द्वारबाट निस्केपछि सांस्कृतिक टोली आफ्नो प्रस्तुतिका लागि आयोजकसँग जान्छन्। उनी 'सेटिङ' अनुसार एउटा 'प्ले कार्ड'को प्रतिक्षामा बस्छिन्। केहीबेर उभिएपछि एउटा 'प्ले कार्ड' बोकेर अधवैंशे मान्छे आइपुग्छ। त्यो नेपालीभाषी व्यक्तिसँग उनी ट्याक्सीमा जान्छिन्।
अब एउटा रंगिन दुनियाँमा उनको वास्तविकताले प्रवेश पाइसेकेको छ। उनले कल्पना गरे जस्तै 'अग्ला अग्ला गोरा मान्छेहरु' सडकमा आ-आफ्नै व्यस्ततामा हिंडिरहेका हुन्छन्। उनी दंग पर्छिन् किनकि यो उनको विपना उनकै सामुन्ने उपस्थित छ। विभिन्न आकार प्रकारका मोटरगाडीहरु सडकमा गुडिरहेका छन्। सफा चिटिक्क परेको फराकिलो सडक, 'विशाल विशाल भवनहरु' सडकको दायाँ बायाँ अनि भिन्न संरचनाको व्यवस्थित शहर उनको लागि साँच्चिकै स्वर्गतुल्य छ। यो दृश्यहरु उनलाई स्वदेशको परिवेश बिर्साउन लायक छ।
'कामको व्यवस्था नमिलुन्जेल तपाइँ यहीँ बस्नु पर्ने हुन्छ।' एउटा अपार्टमेन्टमा पुर्याएपछि उक्त नेपाली भाषीले भने।
'कति दिन लाग्ला?'
'एक हप्ता। बढिमा दुर्इ।'
'तपार्इँ चैं?'
'म स्टाफ'
'कहाँबाट?'
'म आसाम, इन्डिया।'
त्यति नै बेला अग्ला अग्ला दुई जना व्यक्तिहरु आइपुग्छन्–एकजना कालो अनि अर्को गोरो। त्यो नेपालीभाषीले तिनीहरुकै भाषामा के–के भन्छन्। युवतीले केही बुझ्दिनन् 'तिनीहरुलाई इंग्लिश नआउने रहेछ क्यारे'।
उनलाई अर्कै कोठामा लगेर राखिन्छ। त्यहाँ अरु पनि युवतीहरु देखिन्छन्, विभिन्न रंग तथा वर्णका। तिनीहरुको अन्यौलता देख्दा यस्तो भान हुन्छ–कसैले कसैको भाषा पनि बुझ्दैनन्। फाट्टफुट्ट अंग्रेजी बोल्नेहरु भने कुराकानी गरिरहेका छन्। उनी अनुमान गर्छिन्, तिनीहरु पनि उनी जस्तै 'युरोपियन गर्ल' हुन्। त्यो ठूलो कोठामा अस्थायी सामुहिक बसोबासको व्यवस्था रहेछ।
राति सुतिरहेको बेला एउटा टर्चलाइटको प्रकाशले उनी झसँग भएर बिउझिन्छिन्। त्यो टर्चलाइट उनकै आडको एउटी युवतीमाथि बलिरहन्छ। एकजना पुरुषले ती युवतीलाई लिएर जान्छ। केही बेरमा पल्लो कोठामा ती युवतीको चिच्याहट सुनिन्छ। करिब आधा घण्टापछि त्यो युवती सुँक्क-सुँक्क गर्दै आइपुग्छिन्। ती युवती किन चिच्याएकी थिइन् भन्ने अनुमान उनले लगाइन्। अब भने उनलाई एकदमै डर लाग्न थाल्छ। उनको मनमा आशंकाले जरा हाल्न शुरु गर्छ।
एक हप्ता बितिसक्दा पनि कामको अत्तोपत्तो नहुँदा उनी एकदम छट्पटाइरहेकी छिन्। त्यो नेपालीभाषी पनि त्यसपछि फेरि कहिल्यै देखिएको छैन। उनलाई शंकाले चिथोर्न थाल्छ 'कतै म फस्न त फसिनँ?' त्यो अपरिचित ठाँउमा उनको छट्पटाहट सुनिदिने उनको मन बाहेक अरु को नै छ र ! त्यस्तै चित्कारित मन अरु १२-१५ जना युवतीहरुसँग पनि छ। टुटे-फुटेको अंग्रेजीमा उनीहरु एक-अर्काको प्राप्ति शुन्य वेदना साटिरहेछन्। त्यहाँ हरेक रात पालैपालो युवतीहरु रुने-चिच्याउने क्रम रोकिएको छैन। न त त्यहाँ प्रतिकार गर्ने आँट नै कसैसँग छ। संयोग बलियो मान्नु पर्छ–उनले अहिले सम्म चिच्याउने दुर्भाग्यको सामना गर्नु परेको छैन।
'तपार्इँको काम पक्का भयो' आठौं दिनमा त्यो नेपालीभाषी आइपुग्छ। उनलाई आगोले पोलेको ठाँउमा घ्युकुमारी लगाए जस्तै भयो। अथवा भनौं कन्चटभित्र अड्किएको बमको छर्रा झिके जस्तै भयो। उनको खुसीका कणहरु ज्वारभाटाको उचाइ बनेर छचल्किन थाल्छ। उनी अनुमान लगाउन थाल्छिन् 'सायद मैले काठमाडौंमा छाडेको हजारको पाँच ओटा बिटाहरु मध्ये केही बिटो यहाँको एजेन्सीको हातमा पनि पर्यो होला; त्यसैले त मेरो काम कन्फर्म भयो।'
****
सुटकेस बोकेर 'एजेन्सी' कै अर्को मान्छेसँग उनी हिंड्छिन्। उनलाई 'सेटिङ' मै अर्को देशको सीमा पारि पुर्याइन्छ। त्यो देश हुन्छ–रोमानिया। सोधखोज गर्दै एजेन्सीको मान्छेले एउटा ठूलो अपार्टमेन्टमा पुर्याउँछ। एउटा वृद्ध व्यक्तिसँग एजेन्सीको मान्छेको केहीबेर कुराकानी हुन्छ। त्यो भाषा उनी बुझ्दिनन्।
'हि इज् योर बोस। यु विल स्टे हेयर विथ हिज् फ्यामिली। यु ह्याव टु वर्क सिन्सियर्ली एज पर हिज डिरेक्शन। गुड लक्।' युवतीलाई यति भनेर 'एजेन्सी' को मान्छे दुवै जनासँग बिदा मागेर जान्छ।
वृद्धले उनको लागि एउटा सानो कोठाको व्यवस्था गरिन्छ।
उनी प्रसन्न मन लिएर युरोपियन समय गुजारेको हप्ता दिन भइसक्छ। वृद्ध र वृद्धाको हेरचाह अनि घरको सरसफाई–उनको दिनचर्या यति नै हो। उनको स्वप्निल दुनियाँको वास्तविकता अहिले उनकै सामुन्नेमा छ।
केही दिनमै उनको झोलामा युरोको बिटो थुप्रिनेछ। पालुवा पलाइसकेको जीवनमा अब नयाँ रंग भर्भराउन मात्रै बाँकी छ। अब उनी 'युरोपियन गर्ल' हुन पुगेकी छिन्–यो उनको बुझाइ हो।
एकदिन वृद्ध उसकी वृद्धालाई घरबाट कहीं बाहिर पुर्याएर आएपछि युवतीसँग केही कुरा गर्न चाहन्छ। समस्या भाषाको हुन्छ। दुवै एक-अर्काको भाषा बुझ्दैनन्। तैपनि वृद्धको हातको इशारा अनुसार उनी अर्थ लगाउँछिन् -'तिमीलाई अब यस्तो रुमालको जरुरत पर्दैन। तिम्रो दु:खको दिन अब सकियो। तिमीले अब प्रत्येक दुई महिनामा घरमा पैसा पठाउन सक्छौं। बुझ्यौ नि?'
उनले अंग्रेजीमै भए पनि "एस्" भनिन्। यतिबेला वृद्ध पनि खुसी – उनी पनि खुसी। तर वृद्धको भनाइको अर्थ अर्कै थियो - 'तँ मेरो लागि रुमाल जस्तै हो भन्ने सायद थाहा छैन होला। अब तैंले मैले जे भने पनि मान्नु पर्छ। तँलाई मैले दुई हजार युरो तिरेर किनेको हुँ। बुझिस् ?'
'युरोपियन गर्ल'को 'एस्' भन्ने उत्तरले दंग वृद्ध उनको हात समाउन पुग्छ। उनी अन्यौलमा पर्छिन्। उनको कुनै प्रतिरोध नभेटेपछि वृद्धको हात उनको शरीरतिर सल्बलाउन थाल्छ। तनाब र त्रासको सम्मिश्रणको उर्जाबाट उनी वृद्धलाई धकेल्छिन्। रिस र यौन-उन्मादले सक्रिय वृद्ध झनै झ्वाँक्किएर आउँछ। क्रोधले मुर्मुरिएकी उनी वृद्धलाई जोडले धकेलिदिन्छिन्। वृद्ध लड्खडाउँदै हुत्तिएर कुनामा सजाइराखेको मूर्तिसंगै पछारिन्छ। मूर्ति टुक्रा– टुक्रा भएर भुइँभरि छरपष्ट छ। वृद्ध भुन्भुनाउँदै अर्को कोठामा छिर्छ। युवती त्रासले रुन थाल्छिन्।
केही घण्टापछि वृद्धाको आगमनले त्यहाँ रडाको मच्चिन थाल्छ। आफ्नो अमूल्य मूर्ति फुटेको झ्वाँकमा वृद्धाले रिस युवतीमाथि खनाउन थाल्छिन्। उनको जिउ भरि नीलडाम भरिन्छ। उनी सहन बाध्य छिन्। युरोपमा यो उनको पहिलो क्रन्दन हो अथवा भनौं अब क्रन्दनको शिलान्यास हुन पुगेको छ। वृद्धको यौनिक लुछाइ अनि वृद्धाको पाशविक कुटाइ उनको वेदनायुक्त दैनिकी हुन पुगेको छ। आँखा नओभाएको दिन छैन। पैसाको आसमा वैंशको धरापले उनी हरेक दिन भक्कानिएर रुने गर्छिन्।
दैनिक आधा पेट खाना, उस्तै शारीरिक यातना, मानसिक त्रासदी अनि चिथोरिएको वैंशको संग्राममा उनी मृत्युतुल्य जीवन बिताउन बाध्य छिन्। धेरै पटक आत्महत्याको प्रयास गर्छिन् तर असफल हुन्छिन्। घर, समाज अनि साथी-संगीको सम्झनामा अर्धमुर्छित् अवस्थामा पनि बाँच्ने झिनो आसा भेटाउँछिन्। उनी पटक-पटक भाग्छिन् तर समातिन्छिन्। अनि फेरि मरणासन्न हुने गरी पिटाइ खान्छिन्। एकदिन वृद्धाको मोबाइल चोरेर फेसबुक खोली आफ्नो दयनीय अवस्थाको बारेमा फेसबुक स्टाटसमार्फत् गुहार माग्छिन्। नेपालमा यो खबरले निकै हल्ली-खल्ली मच्चिए पनि तत्काल कुनै पहलको सम्भावना नदेखिएपछि अन्तत: उनी ज्यानको बाजी थापेर सफलतापूर्वक भाग्छिन्।
*****
अचेत भएर सडकमा ढलिरहेकी उनी 'हेइ' आवाजले बिउँझिन्छिन्। भोक, प्यास, थकान, त्रास अनि वेदनाले लोलाएको उनको आँखा प्रष्टसँग खुल्दैन। सामुन्नेको एक गोरो युवकले पानीको बोत्तल हातमा थमाइदिन्छ। पानीले उनको प्राण थामिन्छ।
'हु आर यु?', ह्वाट्स योर नेम्?' 'ह्वेर आर यु फ्रम्?'...अनगिन्ती प्रश्नहरुको वर्षालाई "नेपाल" उत्तरले साम्य पारिदिन्छ। त्यो गोरो युवकले मोबाइल फोनमा कोहीसँग कुरा गर्न थाल्छ। अंग्रेजी प्रष्ट बुझ्ने हुनाले उनी त्यो युवकसँग भयभित छैनन्। केहीबेरमा एकजना अधवैंशे मान्छे आइपुग्छ–संयोग बलियो; नेपाली नै पो रहेछ।
साथमा पैसा, सुटकेस, पासपोर्ट अनि मोबाइल फोन केही नभएकी उनी यो राजदूतावास पनि नभएको देशबाट नेपाल फर्काउन निकै गाह्रो देखिन्छ। उनको बसाइ नै अवैद्ध छ। अधवैंशे नेपालीले ठूला भनाउँदाहरुको नम्बरमा फोन डायल गर्छन् तर आशातीत सफलता भेटिदैन। एन. आर. एनको एक सदस्यको नम्बर भेटिन्छ तर ऊ व्यस्त छ। अर्को सदस्यको नम्बरमा फोन लाग्दैन। त्यो एक इमान्दार नेपाली प्रयासरत छ आफ्नो स्वदेशी चेलीको उद्दारको निम्ति। करिब दुई हप्ता जतिको त्रासदीपूर्ण बसाइपछि नेपाल फर्किने उनको बन्दोबस्त मिल्छ।
हवाइजहाजको सिटमा उनी हलचल नगरी टोलाइरहेकी छिन्। उनलाई लाग्छ–उनी जाँदा दुलही बनेर जन्तीको हुलमा गएकी थिइन्। अहिले उनलाई लागेको छ–उनी लास बनेर मलामीसहित फर्किदैछिन्। अझै गहिराइमा पुग्छिन्–त्यो जहाज एउटा मुर्दा बोक्ने बाकस हो अनि उनी त्यसभित्रको लास। एउटा जीवित लास।
*****
नेपालको अध्यागमन विभागमा उनी एक टकले टोलाइरहेकी छिन्। पल्लो पट्टि कुनामा खासखुस आवाज सुनिन्छ। उनको ध्यान त्यतातर्फ खिचिन्छ। एउटा व्यक्तिलाई अकस्मात फोन आउँछ। फोन वार्तालापमा त्यो व्यक्तिको एकतर्फी ध्वनि– 'यो केटीलाई अब केही गर्दा पनि हामीले लुकाउन सक्दैनौं .... पुरै मिडियामा खबर गइसकेको छ ....बरु तपैँ'हरु बेलैमा सचेत भएर आफ्नो सुरक्षा गर्नुस् ...वहाँ? ... वहाँ त अहिले बिदामा बस्नुभएको छ ...मुख चैं नछाड्नु ल।' फोन काटिन्छ सायद। उनको आगमन र प्रस्थानसँग कुनै सम्बन्ध भएजस्तै लाग्ने शब्दहरुले उनी झसँग झस्किन्छिन्। सायद उनले दिएको बिटोको केही भाग यता तिर पनि 'सेटिङ' को लागि बाँडिएको पो थियो कि? यो उनको अनुमान मात्रै।
*****
पहाडको खुला चौरमा उभिएर पर हिमालतर्फ हेरिरहेकी उनलाई चिसो बतासले मलमको काम गर्न खोजिरहेको छ। शरीर चिसो भइसक्छ। तैपनि मन अशान्त छ। त्यो चिसो बतास उनको छाती छेडेर मुटु र मस्तिष्कसम्मै पुगिदिए पनि हुँदो हो। तर मुटु र मस्तिष्कको बीच भागमा युरोपको एउटा काँढा अड्किन पुगेको छ। अहिलेको प्रविधिले झिक्न निमल्ने काँडा।
संसारमा सबै खराब छैनन् तर सबै असल पनि छैनन्। पैसाको व्यग्र चाहनामा हामी आफ्नै सपना लुटाइरहेका छौं। हामी अरुको सपना लुटिरहेका छौं। पैसा कहिले महत्वकांक्षा बनेर खडा हुन्छ। पैसा कहिले प्राणतुल्य आवश्यकता बनेर चुनौती दिन्छ। पैसा यो दुईमध्ये एक बनेर सबैको जिन्दगीमा धराप बनी आइदिन्छ। उनको एकाग्रता भंग हुने गरी एउटा म्यासेज आउँछ उनको मोबाइल फोनमा। अघिसम्म चिसिएर हिउँ बनेको शरीर एकाएक तातिएर आगोको भुंग्रो हुन पुग्छ। एक अपरिचित मोबाइल नम्बरबाट आएको म्यासेजमा लेखिएको हुन्छ-'हाइ, युरोपियन गर्ल'।