फेसबुकमा तस्बिर पोस्ट गर्नेबित्तिकै मलाई उसले अनफ्रेन्ड गर्यो।
पोखराको सराङकोटमा उसैले खिचेको सेल्फी मेरो फेसबुक इनबक्समा पठाएपछि मैले अपलोड गरेको थिएँ।
त्यो तस्बिर हाम्रा सामूहिक समयको सुन्दर सम्झना थियो। म्याथ्युले सेल्फी स्टिक प्रयोग गरेर आइफोनमा यो तस्बिर सुरक्षित गरेको थियो। यसमा ऊसँगै उसकी सहयात्री अल्मा पनि थिई। सेल्फीमा उसले मलाई पनि हार्दिकतापूर्वक अटाएको थियो। आल्माको अझ कडा आग्रह थियो, ‘माई डियर गाइड, तिमी त हुनै पर्छ नत्र नो फोटो।’
खासमा मलाई नै केन्द्र बनाएर खिचिएको त्यो तस्बिर नेपाल छाडेको भोलिपल्ट उसले मलाई पठाएको थियो।
उसले नेपाल छाडेको पर्सिपल्ट नै मैले त्यो तस्बिर फेसबुकमा पोस्ट गरेको थिएँ। त्यसपछि हो, म अनफ्रेन्ड भएको।
छुटि्नुअघि बौद्धनाथमा उसले मलाई कुनै औपचारिकता बिना प्रिय साथीलाई झैं पटकपटक अंगालो मारेको थियो। एयरपोर्टमा त ऊ अझ धेरै भावुक भएको थियो। आल्मा बरु त्यति भावुक देखिएकी थिइन।
पाँच दिनको नेपाल बसाइपछि त्यसरी उनीहरु आफ्नो देश फर्केका थिए। म उनीहरुलाई र उनीहरुसँग बिताएका दिन सम्झेर उनीहरुको आउने दिन अझ सुन्दर होउन् भन्ने कामना गर्दै थिएँ। त्यही भावनाको भूगोलबाट मैले त्यो तस्बिर पोस्ट गरेको थिएँ। तर, त्यसपछि म अनफ्रेन्ड भएँ।
अनफ्रेन्ड भएपछि हामी कसरी फ्रेन्ड भएका थियौं भनेर सम्झन थालें।
उनीहरु नेपाल आइपुगेको भोलिपल्ट मैले उनीहरुलाई भेट्नु थियो। ठमेलको एउटा होटलमा बिहान नौ बजे उनीहरुलाई भेट्नुअघि उनीहरु चाइनीज हुन् भन्ने मलाई थाहा थियो। किनकि, त्यसअघि उनीहरु चाइनीज हुन भनेर मलाई भनिएको थियो।
थाहा पाएँ, उनीहरु चाइनिजमुलका मलेसियन पो रहेछन्।
हामी पोखरा जाँदै थियौं। पछिल्लो सीटमा मलेसियन म्याथ्यु र आल्मा चाइनिज भाषामा कुरा गर्दै थिए।
म अघिल्लो बर्ष केही महिना चाइनीज पढ्दाको स्मृतिमा गएँ र पछाडि फर्केर भनें, 'साथीहरुसित कक्षा कोठामा छु।'
‘हँ’, आश्चर्य मिसिएको आँखा पार्दै हातमा हात समाएका उनीहरुले एक्कासी स्वर निकाले।
‘हो, मलाई अहिले तिमीहरुले चाइनीज बोलिरहेको सुन्दा लाओसी (शिक्षक) हङले बोलेजस्तै लागिरहेको छ,’ म अझै सस्पेन्स कायम गरिरहेको थिएँ।
उनीहरु अझै आश्चर्यमै थिए।
त्यसपछि मैले कुरालाई स्पष्ट पारें, ‘अघिल्लो बर्ष मैले केही महिना चाइनीज भाषा सिकेँ। दुई लेभल पास पनि गरेँ। त्यसपछि निरन्तरता दिन सकिनँ। तर, आज तिमीहरुको कुरा सुन्दा म विगत स्मृतिमा पुगेको हुँ।’
त्यसपछि ‘कुरा’ बुझेका उनीहरुले मलाई थप कुरा बुझाए, ‘चाइनिज क्राउडी हुन्छन्। साउटिङ हुन्छन्। हामीलाई त्यो मन पर्दैन। तिमीले थाहा पायौ होला, हामी कति सानो स्वरले बोलिरहेका छौं। हामी चाइनीज बोले पनि फरक तरिकाले बोल्छौं, आफ्नै तरिकाले।’
उनीहरू दुबै तीन भाषामा फरर रहेछन्। अंग्रेजी हाम्रो माध्यम भाषा थियो। उनीहरू दुई अधिकाँश समय चाइनीजमै सवांद गर्थे। यदाकदा मैले पनि चाइनीज बोलेँ।
‘तिमीहरु के गर्छौ?’
‘म इभेन्ट म्यानेजर हुँ।’
‘त्यसो भए हरेक खालका मानिससित तिम्रो संगत होला?’
‘हो, अनेक प्रकृति, स्तर र क्षेत्रका मान्छेको सामना गर्नुपर्छ।’
आल्मा पनि त्यहीँ काम गर्दिरहिछ। र, यो उसको दोस्रो नेपाल यात्रा रहेछ। म्याथ्युले भने पहिलो पटक नेपाल टेकेको थियो। मैले जिस्किएर भनें, ‘आल्मा! तिमी पहिलो पटक आउँदा तिमी पर्यटक थियौ। दोस्रो पटक गाइड। हुन्छ?’
मैले त्यसो भन्दा धारिलो आँखा मतिर फ्याक्दै ऊ हाँसी मात्र।
‘अघिल्लो पटक किन र कसरी नेपाल छानेकी थियौ?,’ मैले सोधें।
‘बिदाको समयमा साथीहरूले नेपाल जाने प्लान बनाएका रहेछन्। उनीहरूले मलाई पनि प्रस्ताव गरे। कुरा त्यत्ति हो।’
‘कुन महिना थियो?अक्टोबर?’
‘होइन। अप्रिल।’
‘ओके। तर, नेपाल घुम्न अक्टोबर सबैभन्दा राम्रो मौसम हो। तैपनि हरेक मौसमका आफ्नै विशेषता छन्। वर्षा यामको सुन्दरता के हो भने, तिमी जताततै हरियाली देख्न सक्छौँ। यो याममा तिमी चञ्चल बादल फैलिएको अस्थिर आकाश हेरेर मोहित भइरहन पाउँछौ। नदीहरू जोड जोडले बग्दा उत्पन्न हुने ध्वनी अझ प्रिय लाग्न सक्छ। एकै दिन तिमी अनेक अनुभुति गर्न सक्छौ। टन्टलापुर घाम। एकै छिनपछि बादलले छोपेको आकाश। अर्को एकै छिनमा मुसलधारे बर्षा वा सिमसिमे झरी। अझ विशेष त तिमी छिनछिनमा इन्द्रेनी देख्न सक्छौ।’ यति भनिसकेर म चुप लागेँ। आँखा बेस्सरी चम्किए पनि आल्मा चुप थिई। म्याथ्यु र ड्राइभर श्रीलाल पनि चुप नै थिए।
कंलकीदेखि नै म उनीहरुलाई अनेक तरिकाले नियाल्दै थिएँ। आल्मा कि त किताब पढ्थी, कि मोबाइलमा गेम खेल्थी। होइन भने निदाउँथी। ऊ निदाएपछि म्याथ्यु पनि निदाउँथ्यो। तर, हातमा हात भने अटल हुन्थ्यो।
उति टाढादेखि पैसा तिरेर यहाँ आएका उनीहरू यसरी छिनछिनमा निदाउनु राम्रो हो? यस्तै सोच्दै मैले हल्का पछाडि फर्केर हेरेँ। उनीहरू दुवैले आँखा चिम्लेका थिए। तर, म्याथ्युले आल्माको हात छोडेको थिएन।
त्यसपछि मैले पछाडि हेर्नै छाडिदिएँ।
‘सर! यिनीहरु बाबुछोरी हुन्?,’ श्रीलालले सोध्यो।
म हाँसे मात्र।
‘केटी भर्खरकी देखिन्छे। केटो भने निकै बुढो। होइन र सर?’
फेरि पनि मैले शब्दले कुनै प्रतिक्रिया जनाइनँ।
ट्राभल एजेन्सीको नविनले बिहानै मलाई ‘जोडी’ भन्दै यी दुईजनासँग परिचय गराएको थियो। हुन पनि यिनीहरु जोडिएका जोडियै थिए।
मैले श्रीलाललाई हतारिएर भनें, ‘यहाँ गाडी रोक्नोस्।’ सडक छेउको खेतमा दुई, चार हल गोरु नारिएका थिए। असारे खेत जोत्दै-सम्याउँदै रोपाईं चलिरहेको थियो।
अभिनीत निद्राबाट व्युँझाउँदै उनीहरुलाई त्यो दृश्यतिर तान्न खोज्दै भनें, ‘हेर त।’
आल्माले भनी, ‘इटस् ओके। इटस् नट स्टे्रन्ज फर अस। नट फर एसियन। अन्ली फर युरोपियन।’ (ठीक छ। यो हाम्रालागि अनौठो कुरा होइन। हामी एसियनका लागि। युरोपियनका लागि मात्रै अनौठो हो।)
केटाले थप्यो, ‘हामीकहाँ पनि मेसिन, मानिस र गोरुबाट पनि यस्तो काम हुन्छ।’
‘गाडी अगाडि बढाउँ,’ दुवैले एकैसाथ भने।
कार अघि बढ्दा मैले कुरो अगाडि बढाएँ, ‘यसअघि नेपाल आउँदा तिमीलाई कुन चीजले बढी आकर्षित गरेको थियो?’
‘एक्टिभिटि्ज।’
मैले यी र यस्ता अनेक प्रश्न गरें तर उनीहरुले मलाई खासै प्रश्न गरेनन्।
केटोले जम्मा एउटा प्रश्न गरेको थियो, ‘यहाँ सबैतिर यस्तै घुमाउरो बाटो हो?’
उनीहरुले नेपाल नम्बर लिएका रहेछन्। बेला बेला मोबाइलको घन्टी बज्थ्यो। अरु सबै चाइनीजमा बोले पनि हेलो, ओके र बाई भने अंगैजीमै भन्थे। आल्माको स्वर निकै मीठो र स्पस्ट थियो।
पोखरा पुगेलगत्तै बोटिङका लागि हामी फेवाकिनार निस्कियौं।
मैले आल्मालाई भनें, ‘तिमीहरु जोडी हौ। त्यसैले तिमीहरुमा जाऊ। म यतै किनारमा तिमीहरुलाई कुरेर बस्छु।’
‘होइन। तिमी पनि हामीसँग जानै पर्छ।’
‘आर यु स्योर?’
‘यस आइ एम स्योर।’
त्यसपछि हामी डुङ्गाबाट तालबीचको बाराही मन्दिर जाँदै थियौं। म्याथ्यु ‘हिरो स्टाइल’मा डुङ्गामा एकापटि्ट टाउको र अर्कोपटि्ट खुट्टा तेर्साएर बस्यो। डुङ्गाको सन्तुलन गुम्यो र यताउता हल्लिन थाल्यो। हत्तपत्त म उसको खुट्टापटि्ट बसेँ। मेरो परिवर्तित बसाइले हल्लिएको डुङ्गाको व्यालेन्स मिल्यो।
घाम डुब्दै गरेको समयमा हल्लिरहेको पानी माथि चलिरहेको डुङ्गाबाट मैले भनें, ‘डुङ्गा पल्टिन सक्छ। नहल्लन यसरी।’
हुन त मैले डुङ्गा चढ्नासाथ सुरुमै हाँस्दै भनेको थिएँ, ‘आइ कान्ट स्वीम एन्ड यु आर नट् अलाउ टु डान्स इन अ बोट।’
त्यति भन्नेबित्तिकै फेरि सोधेको थिएँ, ‘तिमीहरू दुबैलाई स्विमिङ आउँछ।’
‘यस्,’ दुबैले भने।
‘राम्रोसित आउँछ?,’ मैले फेरि सोधेँ।
‘डुङ्गा पल्टियो भने पनि बाँच्न सक्छु,’ म्याथ्युले भन्यो।
‘बचाउन सक्दैनौ?,’ मैले सोधेँ।
‘हो, म बाँच्न सक्छु,’ उसले उत्तर दियो।
‘अनि तिमीलाई कस्तो र कति आउँछ?,’ आल्मातिर हेरेर सोधें।
‘म तिमीलाई बचाउन सक्छु,’ उसले भनी।
‘थ्याङ्क्यु!,’ मुख र मन दुवैदेखि मैले भनें।
म्याथ्यु हिरो स्टाइलमै थियो। भन्न थाल्यो, ‘आई मिस्ड् बियर। भेरी कुल एन्ड काल्म। आई मिस्ड् ...।’
अर्को दिन बिहान रेस्टुरेन्टमा वेटरले सोध्दै थियो, ‘तपाईंको गेस्ट हो?’
‘हो।’
‘बाबुछोरी हुन्?’
‘होइनन्।’
ब्रेकफास्टपछि सुरुमा सराङकोट गयौं। डा.केआई सिंह पुल गयौं। त्यसपछि डेभिजफल।
दिउँसोको घाम चर्किसकेको थियो। म्याथ्युले चीसो बियर खायो। त्यसपछि विश्व शान्ति स्तुपातिर गयौं। गाडीबाट ओर्लेपछि केही सय सिंढी उक्लनु थियो। हामी उकालो लाग्यौं। म्याथ्यु भने आएन। ऊ तल कारमै बसिरह्यो।
उकालोमा उकालिंदै गयौं हामी। घाम अझ चर्कंदै थियो। माथि पुग्यौं। उसले स्तुपा र स्तुपाबाट देखिने दृश्यहरुको प्रशस्त फोटो खिची। मैले स्तुपाका अनेक दृश्य देखिने गरी उसको फोटाहरु खिचिदिएँ।
झर्दै गर्दा पानी पर्यो। कार नेर आइपुग्दै गर्दा म्याथ्यु त आल्माको लागि रेनकोट लिएर माथितिर आइरहेको रहेछ।
साँझ लेकसाइडतिर डुल्न निस्किएका थियौं। उसले आफ्नो ज्याकेट खोलेर आफ्नै ज्याकेट खोलेर लगाइदियो। ऊ आल्मालाई अलि बढी नै केयर गरिरहेको थियो। आल्मा स्वीकार वा अस्वीकार कुन मनस्थितिमा थिई? मैले छुट्याउन सकिरहेको थिइनँ। म्याथ्युको व्यवहारलाई ऊ स्वीकारिरहेकी त थिई तर उसको अनुहारमा भावनाको कुनै रङ मैले देख्न सकेको थिइनँ।
रात अबेर होटल फर्केको उसले सुत्नुअघि मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँदै भोलिपल्ट उनीहरु प्लेनबाट काठमाडौं फर्कने निणर्यमा पुगेको बतायो।
बिहान सबैरै कार लिएर आएका हामी ११ बजे काठमाडौं आइसकेका थियौं। उनीहरू पनि दश बजेपछि प्लेन चढेका थिए। एउटै र उस्तै समयमा हामी काठमाडौं आइपुगेका थियौं।
काठमाडौंदेखि पोखरासम्मको बर्षाको बाटोले ऊ आत्तिएको थियो वा थिएन? तर, पोखरा जाँदा उसले आल्माको हात भन समाइ नै रहेको थियो। के त्यो डरको अभिव्यक्ति थियो? के त्यो आशक्तिको अभिव्यक्ति थियो?
तर, उसको ताल्चा आशक्ति भने पाटनमा उसले मज्जाले एउटा बन्द ढोकाको ताल्चा सुम्सुम्याएबाट मैले बुझिसकेको थिएँ। कारको पछाडि सीटमा बसेर आल्माको हात अकन्टक समाते झै ऊ जीवनका अनेक सुन्दरतालाई त्यसरी नै कैद गर्न चाहन्छ? नत्र किन ऊ त्यसरी ताल्चा सुममुम्याइरहेको थियो?
पाटनबाट बौद्ध पुगेपछि हामी एउटा गुम्बामा छिर्यौं। गुम्बाको बाहिरपटि्ट एउटी केटी थिई। उसका अगाडि अरु सामानसहित ताल्चा पनि थियो। ऊ त्यहाँ व्यापार गर्न बसेकी थिई।
म्याथ्यु ताल्चातिर आँखा गाड्दै अगाडि बढ्दै थियो। मैले उसलाई भनें, ‘त्यो पसल्नी केटी तिमीले जसरी आँखा देख्न सक्दिन। ऊ दृष्टिबिहिन छे।’
त्यसपछि म्याथ्यु सरासर त्यता गयो। अलि ठूलो ताल्चा देखाउँदै कति मूल्य हो भनी सोध्न मलाई भन्यो।
केटीले दुई सय भनी।
उसले खुरुक्क दुई सय रुपियाँ निकालेर मेरो हातमा राखिदियो। मैले केटीको हातमा हालिदिएँ।
एउटा हातमा ताल्चा समाएर हिंड्दै भन्यो, ‘त्यो केटीलाई सहयोगको आवश्यकता छ र मलाई ताल्चाको।’ त्यसपछि उसले बाहिर रोडमा होर्डवोयर पसलबाट अरु चारवटा विभिन्न आकारका ताल्चा किन्यो।
‘किन यति धेरै ताल्चा किनेको?,’ मैले सोधें।
‘ताल्चा मित्रताको प्रतीक (संकेत) हो।’
‘मलेसियामा?’
‘होइन। फ्रान्समा एउटा नदीको पुलमा असँख्य ताल्चाहरु झुन्ड्याइएका छन्। म तिम्रो नाममा पनि एउटा ताल्चा झुन्ड्याउने छु।’
उसले त्यसो भनेर मेरो गाइड–गेस्टको सम्बन्धमा मित्रताको ईंट्टा थपेको थियो।
त्यसअघि जीवनमै पहिलो पटक बौद्धकै एउटा रेस्टुरेन्टमा मैले चपस्टिक चलाउन प्रयास गरें। खासगरी चाइना, ताइवान, भियतनाम र मलेसियामा चपस्टिकको चलन छ। दुईटा स्टिकलाई औंलामा च्यापेर कसरी चलाउन सकिन्छ भन्ने म्याथ्युले एकै छिनमा सिकाएको थियो।
त्यसरी पहिलो पटक चपस्टिकले चाउचाउ खाँदै गर्दा ठिक सामुन्ने रहेकी आल्माले हात तन्काएर उसको आइफोनस्त्रि्कनमा भूकम्पअघिको सकुशल बौद्धनाथ स्तुपा देखाई। र, मेरो हातमा आइफोन राखिदिँदै भनी, ‘एकपछि अर्को गर्दै अघिल्लो पटकको मेरो नेपाल यात्राका सबै फोटाहरु तिमी हेर्न सक्छौ।’
हर्दै जाँदा नेपाली अनुहारसँग मिल्दोजुल्दो केटालाई फोटोमा देखें। मैले सोचें, ‘अघिल्लो पटकको नेपाली गाइड रहेछ।’
सोधें, ‘यो अघिल्लो यात्राको गाइड हो?’
‘होइन।’
‘को त?’
‘मेरो साथी। अघिल्लो पटक म उसैसँग नेपाल आएको थिएँ।’
अघिल्लो पटक त्यो साथीसँग आइछ। यो पटक म्याथ्युससँग आइ। अर्को पटक कोसँग आउली? मैले मनमनै सोच्न भ्याइसकेको थिइनँ। तर, मसँग निकै नजिकिइसकेको म्याथ्युको अनुहारमा भने मैले नसोचेको उदासीनता देखापर्दै थियो।
म पछिल्ला केही दिनका खास क्षणहरु सम्झन थालें। म्याथ्युले आल्माको हात दह्रोसित समातेको, आफुले लगाइहेको ज्याकेट खोलेर आल्मालाई लाइदिएको। किताब पढ्दै वा मोबाइलमा गेम खेल्दै वा इयरफोनमा कुनै गीत सुनेर हराइरहेकी आल्मा। हात पुरै म्याथ्युलाई दिएर उदासीन भइरहेकी आल्मा।
म्याथ्युको त्यति गहिरो आशक्ति र आल्माको त्यति गहिरो उदासीनता कारण के थियो होला?
तस्बिर पोष्ट गर्दा पनि म यी कुरामा गम खाइरहेको थिएँ। तर तस्बिर पोस्ट हुनेबित्तिकै म अनफ्रेन्ड भएँ। एककिसिमले उनीहरूको सम्बन्धबारे मेरो जिज्ञासा समाधान भएजस्तो लाग्यो तर माथ्युसँगको मेरो मित्रताबारे सोच्न बाध्य भएँ।
म्याथ्युले मेरो नाममा किनेको ताल्चा फ्रान्सको पुलमा झुन्ड्याउला?
के आल्मा फेरि नेपाल आउँछे? आइ भने कोसँग आउँछे होला?