एउटा गाउँ थियो। गाउँमा किसानहरु बस्थे। किसानका खेतालाहरु पनि थिए। किसानबीच र खेतालाबीच एकापसमा एकता र मेल थिएन। किसानको जस्तै खेतालामा पनि विभिन्न गुटहरु थिए।
थोरै काम गर्ने र धेरै ज्याला लिने कुरामा भने खेतालाबीच एकता थियो। उनीहरुसँग माथिको शक्ति यतिसम्म थियो कि आफूले मजदुरी गर्न गएको खेत नै आफ्नो हो भनेर दाबी गर्न सक्ने सामथ्र्य उनीहरुमा थियो। किसानले खेतालालाई ‘मुसा’को उपनाम दिएका थिए। किसानको बाली काटेर खेतखेतमा दुलो बनाएर लुकाउँछन् भन्ने आरोप थियो किसानको।
खेतालाहरु किसानको आरोपको खण्डन गर्दैन्थें। बरु बाली काटेर दुलोमा लुकाउनुलाई आफ्नो अधिकार ठान्थे। एकातिर काम गरेको राम्रै ज्याला लिने अर्कोतिर बाली समेत चोर्ने प्रवृत्तिबाट किसान आजित थिए। उनीहरु किसान मैत्री पटक्कै थिएनन्। किसानलाई उल्टै दास ठान्थे। आफुले अभिवादन गर्नु त कता हो कता किसानले गरेको नमस्कार समेत फर्काउँदैन्थें। बोल्न समेत गारो मान्थे। केही खेताला इमान्दार पनि थिए। तर तिनले संगठित भएर किसानलाई सेवा दिन पाउँदैन्थें। चोर खेतालाले तिनलाई किसान भड्काएको आरोप लगाएर किसानकोमा मेलापात गर्न सकेसम्म रोक्थे।
त्यत्रो खेती भएर पनि किसानलाई परिवार पाल्नै धौधौ हुन्थ्यो। वर्षभरि खानै पुग्दैनथ्यो।
किसान र खेतालाबीच बिचौलिया ठेकेदारहरु पनि थिए। ठेकेदार पनि खेतालासँग आजित थियो। तर असन्तुष्टि पोख्न सक्दैनथ्यो। उनीहरुकै बसमा थियो ठेकेदार पनि। खेताला आफूसँग रिसाए भने किसानसँग मिलेर आफूलाई एक्ल्याउलान् भन्ने पीर थियो उसलाई। तैपनि किसानको गुनासो थेग्न नसकेर एकदिन ठेकेदारले नम्र भएर खेतालालाई भन्यो। ‘हे अन्नदाताहरु तपाईँहरु धेरै गुटमा बाँडिदा तपाईँहरुकै हक अधिकारमा समस्या भएको छ। चोरेको धनको पोल खुलेको छ र किसान रिसाएका छन्। किसान रिसाउँदा तपाईँ हाम्रो व्यवसायमा असर पर्छ। बरु चुनाउ गरेर एउटै गुट बनाऔँ। त्यसको लागि खर्चको ब्यवस्था म गरिहाल्छु, किसान छँदैछन् दुहुना गाईँ।’
खेताला राजी भए। परम्परागत लोकतान्त्रिक खेताला, आधुनिक लोकतान्त्रिक खेताला, क्रान्तिकारी खेताला र उत्तर आधुनिक खेताला गरी चार गुटमा विभक्त थिए उनीहरु। एक गुटले अर्को गुटलाई आरोप प्रत्यारोप गर्ने गर्थे। आफूलाई लोकतन्त्रको इतिहास ठान्ने परम्परागत अलोकतान्त्रिक खेतालालाई बाली चोरर किसानको अहित गर्ने आरोप थियो। आफ्नो र किसानको बराबर हित गर्ने भनेर आफूलाई मानेका परम्परागत लोकतान्त्रिक खेतालालाई आफ्नो खेत अधिया दिएर दुबैतिर फाइदा लिन आएको भन्ने आरोप थियो।
किसान र खेताला सबैको बराबर हित गर्न, बिचौलिया हटाई किसानको उत्पादनको मोल पाउने अवस्था सिर्जना गर्ने भनेर औजारसहित खेतमा आएका क्रान्तिकारी खेतालालाई आफैँ किसान आफैँ खेताला र आफैँ बिचौलिया हुने गरेको भन्ने आरोप थियो। र, अर्काथरी सानो समूहका खेतालाले तीनैथरी खेतालाबाट आफू हेपिएको, भनेजति कमाइ गर्न नपाएको, किसानले समेत विश्वास नगरेकोले आफूले अन्न उत्पादन गर्ने छुट्टै खेत पाउनु पर्ने, अरु खेताला बराबर ज्याला र खाजा पाउनु पर्ने माग सहित अघि बढेका उत्तर आधुनिक खेतालालाई आरोप थियो। उनीहरु किसान ठग्न अन्तैबाट आएका हुन्। उनीहरुले कमाएर अन्तै लान्छन्।
ठेकेदारले किसानबाट उठाएको छ कोटी रकम खर्चेर चुनाउ गराए। किसानलाई पाडो पाए नि पाडी पाएनि हर्ष न विष्मात जस्तै थियो। पात्र र प्रवृत्ति नफेरिएपछि गुट घटेपनि बढेपनि उनीहरुको बाली नष्ट हुन रोकिनेवाला थिएन। परम्परागत लोकतान्त्रिक खेताला धेरै भएकाले किसानको बाली धेरै चोरिने गरेको, उनीहरुकै मुसे प्रबृत्तिले गर्दा किसानलाई खान नपुगेको हो भन्ने सबैले बुझेका थिए।
संख्या धेरै भएकाले तिनैले जित्छन्। र, झन ठूलो मनोबलका साथ बाली चोर्छन् भनेर चिन्तामा थिए किसान। अनि उनीहरुलाई झिनो आशा के पनि थियो भने अरु साना तीन गुटले हारेपछि उनीहरु किसानका पक्षमा आउँलान्। जब मत परिणाम आयो किसान आश्चार्यले जिब्रो टोके। चोरको धेरैसंख्या अन्तै रहेछ। जो किसानको हित गर्न भनेर आए, जसलाई श्विास गरेर किसानले खलो र भकारी जिम्मा लगाए तिनै पो चोर रहेछन् धेरै संख्यामा। तिन्कै कारण किसान भोकभोकै परेका रहेछन्।
यी चुनाब जित्ने इमान्दार भएका भए त चोरी नै हुँदैनथ्यो, यिनले चोरी रोक्न सक्थे। किसानको हितमा काम गर्न सक्थे। चोर फटाहा भनेर चिनिएकाको संख्या कम पो रहेछ। तिनले मात्रै एक्लै चोरेकोभरमा किसान भोकै नपर्न सक्थे। किसान लुट्न सबैको एकमत रहेछ। इमान्दार हुँ भन्नेहरु नै नामी चोर पाउँदा किसान झन चिन्तित भए।
र, चुनाब गरिदिएर आधुनिक लोकतान्त्रिक र क्रान्तिकारीहरुलाई चिन्ने मौका पाएकोमा मनमनै धन्यवाद दिए चुनाउ गराउने ठेकेदारलाई। त्यसपछि किसानको चेत खुलेछ। तुरुन्त आफूलाई गुटउपगुटबाट अलग राखेर एउटै बैठक गरेर निर्णय निकाले–कमाउन विदेश गएका छोराछोरी फिर्ता बोलाउने, आधुनिक ढंगबाट व्यवसायिक खेती गर्ने, लुटतन्त्रमा लिप्त सबै खेतालालाई बहिस्कार गर्ने र इमान्दार खेतालाको सहयोग लिएर कृषि उत्पादन गर्ने। पछि आवश्यकता परे नयाँ खेताला नियुक्त गर्ने। यसमा सर्वसम्मत भयो।
थोरै संख्यामा रहेका कुनै गुटमा नलागेका, कसैलाई चुनाउमा मत नदिएका इमान्दार खेतालालाई सम्मान गर्ने र पुनः नियुक्ति दिने निर्णय समेत गरे उनीहरुले।चुनाउ जितेका खेतालाहरु अबिरमालासहित मेला आउनेक्रममा अचम्मको दृश्य देखें। किसानमारा खेताला प्रवेश निषेध भनेर गौँडागौँडामा ब्यानर टाँगिएको थियो। सबै किसान मानव साङ्लो बनाएर उभिएका थिए।