नारायणगढ नपुग्दै टिकट काटेकालाई बसले खाना खुवायो। मैले आफ्नै पैसाले खाना खाइनँ। खानाको साटो दुई बोत्तल बियरले रमरम भएर गाडीभित्र छिरें। त्यसैपनि चक्कर आउलाजस्तो भइरहेको थियो, त्यसमाथि गाडी गुड्न थालेपछि रोक्नै सकिनँ। झ्यालतिर फाल्छु भन्दाभन्दै अघिल्लो सिटमा बसेकी महिलाको टाउको र सिटमा वमिट भइहाल्यो। बसभरि हल्लाखल्ला भयो। भिडियो हेरिरहेका, वाइफाई चलाएकाहरुले मलाई हेरे। ड्राइभरले ब्रेक लगायो। दुई बोत्तल बियरको नसा एकछिनमै उत्रियो।
‘पोलिथिन माग्न पर्दैन’ खलासी आएर थर्कायो। ‘यो जड्याहाँलाई बसबाट निकाल देऊ। डिलक्स गाडीमा जाँड खाएर हिन्दो रैछ।’ कुटौंला झै गरेर एक ज्यांगो केटाले भन्यो। अर्कोले थप्यो, बाटोभरि र्याक गर्ला जस्तो छ, यो सुड्डोलाई यतै झारिदिम। खलासी सिट सफा गर्दै थियो। ड्राइभरले मेरो मुखमा हेरिरहेको थियो। आज मार्ने भए सोचेर मेरो मुटुको ढुकढुकी बेस्सरी बढ्यो। ‘यत्रो राती जंगलमा काँ छोड्ने? भैगो जाम’ त्यही महिलाले भनी। ‘थ्यांक्यू दिदी।’ नतमस्तक भएर भनें। उसले मलाई आँखा तरी।
खलासीले मलाई सबैभन्दा पछाडिको खाली सिटमा लिएर राखिदियो। बसको उफ्राईले आन्द्रा भुँडीनै मुखबाट निस्कन्छ जस्तो गरी वमिट भयो। रातभरि बस कुदिरह्यो। बस कहाँ पुग्यो मलाई अत्तोपत्तो थिएन। अफिसबाट घर जान्छु भनेर विदा मागेको थिएँ। कोठामा भाइबहिनीलाई अफिसको कामले बाहिर जानुछ, हप्तादिन पछि मात्र आउँछु भनेको थिएँ। जाने ठाउँ पक्का थिएन। साँझ म कोठाबाट निस्केर कलंकी पुगें। पूर्व जाने जुन सबैभन्दा राम्रो गाडी आउँछ त्यसैमा चढ्ने। जहाँसुकै जाओस् हप्तादिनमा काठमाडौं फर्किहाल्छ, मलाई केको फिक्री। एकछिनमा ठूलो डिलक्स बस आयो, त्यसको अगाडि लेखेको थियो– हलेसी दर्शन।
खलासीलाई सोधें– सिट छ?
उसले कहाँ जाने हो नसोधी भन्यो –पछाडितिर छ।
म बसभित्र चढें र एक अनिश्चित यात्रामा निस्कें। हुने नहुनेटेन्सनले हो टाउको भारी थियो, त्यही भएर खानाको साटो बियर रोजें।
‘अनि नानीको घर कता?’ बुढो मान्छेले मलाई सोधे।
म अलमलिएँ। उतिर हेरें।
‘घर कहाँ हो रे तिम्रो?’ उसले सोधी।
हाम्रोतिर केटीहरुलाई नानी भन्थे यतातिर केटाहरुलाई पनि नानी भन्दा रैछन्। कुरो बुझेर म मनमनै हाँसें र भनें– सुर्खेत।
बुढाले भने– लु राम्रो। घुम्नु पर्छ है नानी। देश दुनियाँ घुम्यो भने बुद्धि आउँछ।
म फिस्स हाँसें। आभा लिम्बू मेरो घर पुग्दा आमाले त उसलाई बुहारी बनाइदिएकी थिइन्। तर यिनले त अलिकति पनि शंका गरेनन्। म छोरीको साथी हो कि होइन भनेर?
‘उलाई रातभरि गाडीमा बान्ता भयो। गाह्रो भएको छ,’ उसले मेरा बारेमा थप खुलाई।
‘लु, नानीलाई आराम गर्न पठाईदेऊ’, बाबुले भने।
उसले मलाई कोठामा लिई र भनी– सुत। नुहाउने भए बाथरुम यता छ।
‘ऊ तपाईँको छोरो होइन?’ मैले सोधें।
‘त्यति बुढी देखिन्छु र’ ऊ बेस्सरी हाँसी र भनी ‘त्यो त मेरो भाइ हो।
म पलङमा पल्टिएँ। काम, पेशा, मान्छे, शहर, दुनियाँ अनि जीवनदेखि विरक्त लागेर काठमाडौंबाट निस्केको थिएँ। कहाँ पुगें। आफैंलाई अचम्म लाग्यो। बिहान आठ बजेतिर बस रोकियो। सबैजना बसबाट ओर्लिए। बस रोकियो तर कुन ठाउँमा? झ्यालबाट बाहिर हेरें। पसलका साइनबोर्डमा लेखिएको थियो, बसपार्क धरान। ओहो! धरान आइएछ।
‘ब्रो झर्ने कि बसमै सुत्ने’ खलासीले मलाई जिस्कायो।
झोला खोजें। सबै झरिसकेपछि ढोकाबाट निस्कें। नजिकै त्यही महिला एक फुच्चेको हात समाएर उभिएकी थिई। यसले मार्ने भई । मैले उसको अनुहार हेर्नै सकिन। ‘फस्ट टाइम हो धरान आको?’ उसले सोधी।
मैले भूइँतिरै हेरेर हो को संकेतमा टाउको हल्लाएँ। ‘आऊ, तिमीलाई राम्रो होटलमा लगिदिन्छु’ उसले भनी।
हुन्न भन्न सकिनँ। चुपचाप उसको पछि लागें। फुच्चेले यसरी हेरिरहेको थियो मानौं ऊ ठूलो भएको भए मलाई एक मुक्का हानेर ढाली दिन्थ्यो। पुतली लाइनको बाटो पाँच मिनेट हिँडेपछि फुच्चेले घरको ढोका खोल्यो। तीनै जना भित्र छिर्यौं। उसले बुढाबुढीलाई नमस्कार भनी।
फुच्चे दौड्दै बुढीको काखमा गयो। ‘बाबा ऊ मेरो साथी, पहिलोचोटी धरान घुम्न आएको। उसले बाबुसँग मेरो झुठो परिचय दिई। फुच्चेले भन्यो– बाबा, जाँड.....। उसले फुच्चेलाई आँखा तरेर हेरी। फुच्चेले बाँकी कुरा बोल्नै सकेन।
***
दिउँसो १ बजेतिर ब्युझें। भोक लागेको थियो। शरीर पनि गन्हाइरहेको थियो। टाबेल निकालेर बाथरुमतिर गएँ। सोचें, बेकारमा बाटोमा जाँड खाएछु।
‘अब म जान्छु’, नुहाएपछि मैले भनें।
‘खाना नखाई?’ उसले सोधी।
‘बजारतिर खाइहाल्छु नि।’
‘घरमा आएको मान्छेलाई बजारतिर खाना खान पठाउने धरानको चलन छैन’ उसले भनी, ‘किचनमा खाना रेडी छ। जाउँ।’
मैले फेरि नाइँ भन्न सकिनँ।
खाना पस्किरहेकी उसलाई हेर्दा लाग्यो, यो केटी त मभन्दा पनि कान्छी हो कि क्या हो बियरले रमरम भएको तालमा दिदी भनेछु। उसले दुई ठाउँमा खाना पस्की।
एक गासमात्र भात के खाएको थिएँ, उसले सोधी –कति वर्ष भयौ?
२७।
म २६ भएँ। मलाई अब दिदी नभन्नु।
मैले हाँसेर भने– हवस्।
नाम के हो?
भानुभक्त।
बाहुन क्षेत्रीजस्तै देखिन्छौं, राई लिम्बू त पक्कै होइनौं।
मैले हो को संकेतमा फेरि टाउको हल्लाएँ।
के गर्छौ?
पत्रकार हुँ।
‘जाँडले फिट्टु भएर बसमा अरुको सिटमा वमिट गर्ने पनि पत्रकार हुन्छन्? पत्रकार त अलि जिम्मेवार पो हुनुपर्छ,’ उसले भनी।
‘पत्रकारले जाँड खान पाइन्न भनेर संविधानमा लेख्या छ र?’ मैले प्रतिप्रश्न गरें।
‘धरान किन आएको?’ उसले प्रसंग मोडी।
‘त्यत्तिकै।’
‘त्यत्तिकै भन्या, रिर्पोटिङ गर्न?’
‘त्यत्तिकै घुम्न।’
‘बसमा जाँड किन खायौ?’ उसले फेरि सोधी?
‘ह्या त्यत्तिकै।’
‘त्यत्तिकै भन्या, टेन्सन भएर हो?’
मैले जवाफ फकाईन।
खाना खाइसकेपछि मैले भने– म जान्छु।
‘काँ?’
‘काठमाण्डु।’
‘घुम्न आको भन्या होइन त धरान?’
‘झ्याउ लागीसक्यो।’ मैले उसलाई नहेरेरै भनें।
‘गाडीमा तिमीलाई गाह्रो हुन्छ आज नजाऊ’, उसले आदेशको शैलीमा भनी।
सोचें– बसिदिउँ न त एकदिन यसले के के गर्दी रैछ।
साँझ उसले मलाई धरान घुमाउने भई। ‘तिम्रै नामको चोक छ जाउँ हिँड भानु चोक।’
फेरि पुतली लाइनको बाटो भएर हामी भानु चोक गयौं। बाटोमा उसले धेरै मानिससँग कुरा गरी। कुराबाट मैले बुझें मास्टर्स सकेपछि ऊ प्लस टु पढाउन धरान फर्किएकी रैछ।
‘केमा मास्टर्स गरेको?’
‘आर्टस् इंग्लिसमा।’
‘फेमिनिज्म दिमागमा घुसेन जस्तो छ’ मैले भनें, ‘तिमी साह्रै सिम्पल छौ।’
‘किन?’
‘यहाँका धेरै केटीहरु च्यातिएको पाइन्ट लगाएर नाइटो देखाउँदै हिँडेका छन्। तिमीचाहिँ कुर्ता सुरवाल त्यसमाथि दोपट्टा।’
‘तिम्रो बुद्धि रहेनछ’, उसले भनी।
‘किन?’
‘धरानमा नाइटो र तिघ्रा देखाएर हिँड्नु त सामान्य हो। सुरवाल कुर्तामा दोपट्टा ओढेर हिँड्नु पो एक्स्ट्रा। फेरि फेमिनिज्म र फेशन अलग कुरा हुन्’, उसले थपी, ‘म अलि अर्कै खालकी छु, जसले गाडीमा मेरै टाउकोमा वमिट गरेको थियो उसैसँगै घुमिरहेकी छु।’
‘खतरा कुरा गर्यौ यार।’
‘यार!’ उसले टक्क रोकिएर मलाई यसरी हेरी मानौं मैले अश्लील गाली गरें।
मेरो सामु विकल्प नै थिएन, भनें– सरी।
***
‘अनि नानी नापिन नगको?’ साँझ खाना खाने बेलामा बुढाले सोधे।
म अलमलमा परें। के उत्तर दिने भनेर।
‘बाबा बाहुनहरु डरछेरुवा हुन्छन्, भर्ती हुन जाँदैनन्’, उसले भनी।
मैले नापिन जाने भनेको अर्थ बुझें।
‘हैन हाउ, काँ त्यस्तो हुन्छ? हाम्रो पल्टनमा मेजरसाब अधिकारी बाहुन हुनुहुन्थ्यो। अचेल सबै नापिन जान्छन्’, बुढाले नै मेरो उत्तर भनिदिए। उनले द्वन्द्वकालमा रोल्पासम्म पुगेका कहानी सुनाए।
***
अर्को दिन बिहानै उसले स्कुटरमा राखेर मलाई बुढासुब्बा मन्दिर लगी। दर्शन गरेर निस्केपछि सोधी – वर के माग्यौ?
‘हे प्रभु! धरानतिर घरज्वाईँ बस्न पाइयोस्।’
‘हुँदा हुँदा मलाई लाइन पनि मार्न थाल्यौ?’
‘चप्पल हान्छ्यौ त? दुबै गाला खाली छ।’ मैले हात गालामा लगें। ‘यता हानेपनि हुन्छ। यता हानेपनि हुन्छ।’
‘हान्दिनँ। तिमी त मेरो पाहुना हौं।’
‘घरमा कि मनमा?’ मैले आँखा झिम्काएँ।
‘दुबैमा।’
‘बाउसँग हात मागिदिन्छु अनि चाल पाउँछौ।’
‘जाँड खाने मान्छेसँग त हुँदैन।’ उसले यसरी भनी मानौं जाँड नखाने सर्तमा ऊ राजी छ।
‘तिमीहरुको त्यसै पनि हात माग्न आउँदा जाँड सगुन ल्याउनैपर्छ। म आफैं फिट्टु भएर आएपछि सक्किएन्त।’
उसले मुख बिगारी। जवाफ फकाईन। बरु स्कुटरमा चाबी घुसाई। पूजा थाली मलाई समाउन दिई।
एक्सिलेटर बटारेर सोधी– भेडेटार जान्छौ?
‘नाइँ, काठमाण्डु फर्किन्छु।’
‘किन?’
‘अर्कोचोटि आउने बहाना पनि त राख्नुपर्यो।’ मैले उसको कानमै मुख लिएर साउती गरें।
‘जाँड खाएर वमिट गर्दै आयौ भने खलासीले तिमीलाई बसबाट निकालिदिन्छ, कसरी आउँछौं?’ उसले हाँस्दै भनी।
‘अब खान्नँ।’
‘प्रमिस!’ उसले स्कुटरमा झ्याप्प ब्रेक लगाई र फेरि सोधी– प्रमिस?
‘तिम्रो अनि बुढासुब्बा दुबैको कसम।’
‘अर्को चोटी आउँदा घुम्ने ठाउँ धेरै छन्। यो पालि भेडेटार घुमेर जाऊ’ उसले घर पुगेपछि भनी– धरान आएर भेडेटार नगए त के मज्जा। म पनि नगएको धेरै भयो। आज उतै बसौंला। बरु म पर्सीबाट मात्र पढाउन जान्छु।
कलेजमा कुरा गर्ने भनेर ऊ निस्की। भाइ स्कुल गइसकेको थियो। बुवा पनि घरमा थिएनन्। आमा केही काम गर्न लागेकी थिइन्।
झोला निकालें। कोठाको टेबुलमा एउटा भिजिटिङ कार्ड राखिदिएँ। पुतली लाइन, भानुचोक हुँदै बसपार्क पुगें र काठमाडौं जाने गाडी चढें।
बस इटहरी, इनरुवा हुँदै कोशी ब्यारेजमा गुड्दै थियो। मोबाइल बज्यो। सेभ नगरेको नम्बरबाट आएको म्यासेजमा लेखिएको थियो– बाटोमा जाँड नखानु वमिट आउला नि फेरि।